English

छ महिनापछि खुल्यो टीकापुर पार्कः व्यवसायी उत्साहित



कोरोना भाइरसको सङ्क्रमणका कारण विगत ६ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेका टीकापुर पार्क खुल्ला गरिएको छ । आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक लाखौं पर्यटकले अवलोकन गर्दै आएको छ । लामो समयदेखि टीकापुर पार्क खुल्ला गर्नुपर्ने आवाज उठ्दै आए पनि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गत भदौ १९ गतेदेखि खुला गरिएको हो ।

कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाखबाट पार्क बन्द भएको थियो । निषेधाज्ञा खुलेसँगै गत भदौ १९ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकहरूको अवलोकनका लागि पार्क खुला गरिएको नगरपालिकाले जनाएको छ ।

पछिल्लो समय फोटो खिच्ने र टिकटक बनाउनेको पार्कमा भीड नै लाग्ने गरेको छ । पार्क खुला भए पनि विगतका वर्षहरु जस्तो पर्यटकको भीडभाड भने निकै कम भएको छ । दशैँतिहारको समयमा पार्क अवलोकनका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने अनुमान गरिएको छ । पार्कमा कार्यरत विनोद चौधरीका अनुसार अहिले दैनिक एक सयसम्म पर्यटकहरु पार्क अवलोकनका लागि आउने गरेका छन् । ‘पर्यटकको सङ्ख्यामा निकै कमी आएको छ । विगतमा दशैंतिहारको समय सुरु भएपछि पार्कमा पर्यटक थेग्न गाह्रो हुन्थ्यो’, उनले भने, ‘यसपछि के हुन्छ थाहा छैन । अहिलेसम्म पर्यटकमा वृद्धि भएको छैन । शनिबारका दिन भने केही बढी पर्यटक आउने गरेका छन् ।’

पार्कमा कार्यरत कर्मचारीबाहेक अन्य ४० जना कामदार लगाएर पार्कको सरसफाइ लगायतका काम सम्पन्न भएको उल्लेख गर्दै पार्कको आन्तरिक व्यवस्थापनको बाँकी काम पनि जारी रहेको चौधरीले बताए ।

बर्दियाको राजापुरबाट टीकापुर पार्क अवलोकनका लागि आएका राजेश चौधरीले लामो समयपछि टीकापुर पार्कको अवलोकन गर्न पाउँदा खुसी लागेको बताए । उनले कोरोनाका कारण भएको बन्दाबन्दीले लामो समयसम्म घरभित्र गुम्सिनु परेको बताउँदै पर्यटकीय क्षेत्रहरु खुला भएसँगै घुमघामका लागि सहज भएको बताए ।

राजेशले पार्कमा सरसफाइको काम भएको भनिए पनि सरसफाइको काम हुनुपर्ने जति नभएको बताए, ‘बन्दाबन्दीले पार्कभित्रको सौन्दर्यतामा ह्रास आएको रहेछ । सरसफाइमा नभएको हुँदा होला पहिलेको जस्तो रौनक पार्कमा देखिएन’, चौधरीले भने, ‘अब चाडपर्व नजिकिएसँगै आन्तरिक पर्यटकहरूको वृद्धि हुने भएकाले पार्कको सरसफाइ अनिवार्य छ । पर्यटकलाई आकर्षण गर्ने गरी नगरपालिकाले काम गर्न सके पार्कबाट ठूलो लाभ लिन सकिनेछ ।’

पार्क खुल्दा अब व्यवसायीमा केही आशा पलाएको छ । ‘यसअघि साहु र बैंकको ब्याजसमेत तिर्न सक्ने अवस्थामा थिएन’, व्यवसायी विष्टले भने, ‘पहिले यो मौसममा दैनिक एक लाख रुपैयाँ सम्मको व्यापार हुन्थ्यो । अहिले सुनसान छ तर पनि लामो समय पछि पार्क खुल्दा अब केही आश थपिएको छ ।’

पार्क छेउमा होटल व्यवसाय गर्दै आएका रवीन्द्र बिष्टले बिस्तारै पार्क क्षेत्रमा चहलपहल बढ्न थालेपछि व्यवसायमा पनि सुधार हुन थालेको बताए । ‘दुई वर्षदेखि पर्यटकको भरोसामा सञ्चालन गरेका व्यवसायी उठ्नै नसकिने गरेर थाला परेका छन् । कतिपयले व्यवसाय बन्द नै गरेर विस्थापित भइसकेका छन् , गत वर्ष पनि लामो समयको बन्दाबन्दीपछि केही राहत हुने होला जस्तो भयो, अन्तिममा अवस्था त्यही’, उनले भने, ‘स्थानीय सरकारले पनि पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र समयमै आम नागरिकलाई थाहा हुने गरी काम गर्न सकेको भए पार्क अवलोकनका लागि पर्यटकमा वृद्धि हुने थियो ।’

पार्क खुल्दा अब व्यवसायीमा केही आशा पलाएको छ । ‘यसअघि साहु र बैंकको ब्याजसमेत तिर्न सक्ने अवस्थामा थिएन’, व्यवसायी विष्टले भने, ‘पहिले यो मौसममा दैनिक एक लाख रुपैयाँ सम्मको व्यापार हुन्थ्यो । अहिले सुनसान छ तर पनि लामो समय पछि पार्क खुल्दा अब केही आश थपिएको छ ।’

टीकापुर पार्कसँग जोडिएको क्षेत्रमा ५० भन्दा बढीले व्यवसाय गर्दै आएका छन् । लामो समयको कोरोना कालमा केही व्यवसायी विस्थापित भएका छन् भने पार्कसँगै रहेको बनना रिसोर्ट, मुद्रा सङ्ग्रहालय र विज्ञान सङ्ग्रहालयको स्थापना भएको छ । जसका कारण टीकापुर पार्क अवलोकनका लागि आएका पर्यटकले ती क्षेत्रको पनि अवलोकन गर्न सकिने विज्ञान सङ्ग्रहालयका सञ्चालक गणेश शाहीले बताए।

गत वर्ष मङ्सिर १९ गतेदेखि टीकापुर पार्क खुला गरिएको थियो । पाँच महिनाको अवधिमा नगरपालिकाले पार्क घुम्न आउने पर्यटकबाट २१ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको थियो । पूरै महिना पार्क सञ्चालनमा आएको खण्डमा भने ५० लाखभन्दा बढी राजस्व सङ्कलन हुने गरेको पार्कमा कार्यरत चौधरी बताउँछन् ।

टीकापुर पार्कमा दसैँतिहार र नयाँ वर्षको दिन सबैभन्दा बढी पर्यटकहरू आउने गरेका छन् । उक्त सिजनमा मात्रै ३० लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन हुने गरेको बताइएको छ । गत वर्ष तिहारको समयमा पार्क खुला नभएका कारणले पनि राजस्व सङ्कलनमा कमी आएको चौधरीको भनाइ छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली