English

गुणस्तरमा लापरबाही गरे कारवाही गर्छौं

विश्व उपभोक्ता अधिकार दिवस


नेपालमा पाइने विभिन्न खानेकुराको गुणस्तरको विषयमा लापरबाही भइरहेको जनगुनासो आइरहन्छ । नेपालमा पाइने खानेकुराहरूको गुणस्तर कस्तो किसिमको छ । आम उपभोक्ताले खानेकुराहरूको गुणस्तर पहिचान कसरी गर्ने जस्ता विविध विषयमा खाद्य प्रविधि र गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनसँग मेरो लाईफस्टाइलले गरेको कुराकानीको सम्पादित अंश ।

खानेकुरामा विभिन्न किसिमका मिसावट भइरहेका घटनाहरू सार्वजनिक भइरहेको अवस्थामा विभागले के कस्तो किसिमको काम गरिरहेको छ ?

विभागको मुख्य उद्देश्य भनेको देशमा उत्पादन भएका खानेकुराहरूको गुणस्तर निरीक्षण, खाद्य सुरक्षा सुनिश्चित गर्ने र खाद्य सम्बन्धी बनेका ऐन तथा नियमहरू लागू गरेर देशमा खाद्य उत्पादनहरूको गुणस्तर कायम राख्नु नै हो ।

विभागले खाद्य सुरक्षा र गुण नियन्त्रण, खाद्य प्रविधि विकास, खाद्य र त्यसको गुणस्तर विकास, खाद्य बजार अनुगमन र निरीक्षण, नमुना सङ्कलन जस्ता उपभोक्ताहरूको स्वास्थ्य सुरक्षामा केन्द्रित कार्यहरू गर्दै आएको छ । साथै खाद्य उद्योगहरूलाई उत्पादन, प्रशोधन देखि बिक्री वितरणको लागि लाइसेन्स पनि प्रदान गर्दै आएको छ ।

केही वस्तुहरू तुरुन्तै बिग्री नहाल्ने किसिमका पनि हुन्छन्, जस्तै सुख्खा चिजहरू । तर केही खाद्य वस्तुहरू भने बढी जोखिमयुक्त हुन्छन्, जस्तै दुग्ध वस्तुहरू, पानी र मासु ।

विदेशबाट आउने खाद्य पदार्थहरूको निरीक्षण कसरी गरिन्छ ?

नेपालमा पाइने सबै खाद्यवस्तु नेपालमै मात्र उत्पादन भएका हुँदैनन् । विदेशबाट समेत आयात गरिने भएकोले यसरी आयात भएका खाद्य पदार्थको आयात निर्यात नियमन गर्ने, विदेशबाट आउनु भन्दा अगाडी आयात गर्न मिल्ने नमिल्ने कुराको निरीक्षण गर्ने, आयात परमिट दिने, आयात भई बजारमा आइसकेपछि बजार अनुगमन गर्ने र राजपत्रमा तोकिएका मापदण्ड पालना गरिएको छ कि छैन ? त्यो भन्दा घटी बढी भएको भए कारबाही गर्ने जस्ता कार्य गर्दै आएका छौँ ।

विभागले कस्ता किसिमका खाद्य पदार्थको निरीक्षणमा विशेष जोड दिने गरेको छ ?

कुनै पनि खाद्य वस्तुहरू शतप्रतिशत गुणस्तरीय हुन्छ भन्ने हुँदैन । विभागको काम नै त्यही अनुगमन गर्ने हो । केही वस्तुहरू तुरुन्तै बिग्री नहाल्ने किसिमका पनि हुन्छन्, जस्तै सुख्खा चिजहरू । तर केही खाद्य वस्तुहरू भने बढी जोखिमयुक्त हुन्छन्, जस्तै दुग्ध वस्तुहरू, पानी र मासु । यस्ता खाद्य पदार्थहरूमा चाँडै नै सङ्क्रमण हुने गर्छ । यस्ता खाद्य बस्तुहरूको अनुगमनमा विभागले अलि बढी जोड दिने गरेको छ ।

यस्ता खाद्य बस्तुहरूको अनुगमन कसरी गर्छ ?

हाम्रो अनुगमनलाई अझ विश्वसनीय बनाउन केही वर्ष देखि विशिष्ट निर्देशिका जारी गरिएको छ । जस्तै पानी उत्पादन गर्ने हो भने पानी उद्योगहरूको भवन संरचना, भुईँ, भित्ता, सिलिङ, प्रशोधन गर्ने उपकरण, आदि कस्तो हुनुपर्छ भनेर प्रावधानमै तोकिएको छ ।

उक्त निर्देशिका अनुसार उद्योगले काम गरिरहेको छ कि छैन भनेर हामी निरीक्षण पनि गर्छौ । केही वर्ष देखि हामीले पानी र दुग्ध उद्योगमा अलि बढी ध्यान दिएका छौँ । मापदण्ड भन्दा घटिबढी गर्ने उत्पादनहरू मध्ये पानी र दूध नै रहेका छन् । यदि तपाईँले पछिल्लो १० वर्ष देखिको ट्रेण्ड हेर्नुहुन्छ भने पानी र दूधमै हाम्रो निरीक्षण बढी रहेको छ । जसको कारण ५–६ वर्ष अगाडीको भन्दा दूध र पानीको गुणस्तरमा धेरै सुधार भएको छ । पानीकै कुरा गर्ने हो भने उपत्यकामा मात्रै अहिले ३ सय भन्दा बढी उद्योग होलान् । पहिला जस्तो पानीको कारण झाडापखाला, जन्डिस, सङ्क्रमण भएको कमै सुनिन्छ । उद्योगहरूमा कमजोरी नै छैन भनेर अझै भन्न मिल्दैन । तर निर्देशिका जारी गरेपछि पहिलेको भन्दा अहिले सुधार आएको छ ।

कुनै वस्तुको प्याकेजीङमा वेस्ट बिफोर सिक्स मन्थ लेखिएको छ भने ६ महिना अवधिभरको लागि सो वस्तुको गुणस्तर कायम हुन्छ । प्याक भएको मितिबाट ६ महिनासम्म सो वस्तुको जिम्मा उत्पादकले लिन्छु भन्न खोजेको हो । तर ६ महिना पछि पनि सो वस्तु खानै नहुने भन्न खोजेको होइन ।

प्याकेजिङ भएर आउने खानेकुराको गुणस्तरको अवस्था अहिले कस्तो छ ?

प्याकेजिङ भएर आउने खानेकुराको प्याकेटमै मिति तोकिएको हुन्छ । त्यो नै उक्त खानेकुराको सेल्फ लाइफ हो । सेल्फ लाइफ भनेको कुनै वस्तुको उपभोग वा बिक्रीको लागि अयोग्य नहुँदा सम्म भण्डार गर्न तोकिएको समय बुझ्नु पर्छ । विभागले कुनै पनि खानेकुराको यति नै सेल्फ लाइफ हुनुपर्छ भन्दैन । किनभने त्यो खानेकुराको उत्पादन, प्रशोधन र भण्डारणमा भर पर्ने कुरा हो ।

खाद्य वस्तुहरूको सेल्फ लाइफ कति हुने भन्ने कुरा खानेकुराको प्रकृतिमा निर्भर गर्छ । उक्त खानेकुरा कसरी प्रशोधन गरिएको हो र कस्तो किसिमको प्याकेजिङ गरिएको छ भन्ने कुरामा पनि भर पर्छ । सामान्यतः भन्नु पर्दा सेल्फ लाइफ कम भएका वस्तुहरूमा एक्सपाइरी डेट राखिएको हुन्छ । जस्तै कुनै वस्तु ३ महिना मै बिग्रिने खालको छन् भने सो वस्तुको एक्सपाइरी डेट राखिएको हुन्छ ।

तर, सुख्खा उत्पादनहरू जस्तै बिस्कुटहरू, हर्लिक्स यी उत्पादनहरूको सेल्फ लाइफ बढी राखिएको हुन्छ । यदि यस्ता वस्तुहरूको सेल्फ लाइफ ३ महिना भन्दा बढी छ भने त्यस्ता वस्तुहरूको एक्सपाइरी डेट राख्नु पर्छ भन्ने हुँदैन ।

कुनै वस्तुको प्याकेजीङमा वेस्ट बिफोर सिक्स मन्थ लेखिएको छ भने ६ महिना अवधिभरको लागि सो वस्तुको गुणस्तर कायम हुन्छ । प्याक भएको मितिबाट ६ महिनासम्म सो वस्तुको जिम्मा उत्पादकले लिन्छु भन्न खोजेको हो । तर ६ महिना पछि पनि सो वस्तु खानै नहुने भन्न खोजेको होइन । तर ६ महिना पछि पनि विष नै हुने भन्ने पनि होइन । अब भने यो वस्तु बिग्रने जोखिम बढ्दै जान्छ र उत्पादकले यसको जिम्मा लिन सक्दैन भन्न खोजेको बुझ्नु पर्छ ।

यद्यपि एक्सपाइरी डेट भएका वस्तुहरू भने म्याद नाध्ना साथ प्रयोग गर्नु हुँदैन भनेर बुझ्नु पर्छ ।

उत्पादकले १० वटा विभिन्न परीक्षण गर्दा कुनैको ९ महिना, कुनैको ८ महिना र कुनैको ६ महिना गुणस्तर कायम भयो भने उसले सबैभन्दा नजिकको सेल्फ लाइफ छनोट गर्नुपर्छ । जसअनुसार उसले ६ महिनाको म्याद तोक्छ पाउँछ ।

कसरी उत्पादकहरूले सेल्फ लाइफ वा एक्सपाइरी डेट राख्छन् ?

कुनै पनि खानेकुरा उत्पादन गर्ने कम्पनीले हचुवाको भरमा ६ महिना वा ९ महिना भनेर तोक्न पाइन्न । उत्पादकले अनुसन्धान, परीक्षण र प्रशोधन गरेको आधारमा उक्त वस्तुको गुणस्तर कहिले सम्म कायम हुन्छ त रु भनेर वैज्ञानिक परीक्षण अपनाएर मात्र तोक्नु पर्ने हुन्छ ।

उदाहरणका लागि उत्पादकले १० वटा विभिन्न परीक्षण गर्दा कुनैको ९ महिना, कुनैको ८ महिना र कुनैको ६ महिना गुणस्तर कायम भयो भने उसले सबैभन्दा नजिकको सेल्फ लाइफ छनोट गर्नुपर्छ । जसअनुसार उसले ६ महिनाको म्याद तोक्छ पाउँछ ।

एक्सपाइरी डेट अगावै पनि किन बिग्रन्छ खाद्य वस्तु ?

कुनै खाद्य वस्तु एक्सपाइरी डेट अगावै बिग्रेको पनि पाइएको छ । म्याद हुँदा हुँदै पनि वस्तु बिग्रनु भनेका उत्पादकको त्रुटि हो वा भण्डारणको असावधानी नै हो । यदि पसलहरूमा भण्डारण ठिक किसिमले गरिएको छ तर पनि वस्तु बिग्रिएको पाइयो भने उक्त वस्तुको उत्पादनमा त्रुटि छ भन्ने बुझिन्छ । यस्ता उत्पादकलाई कारबाही हुन्छ । तर भण्डारणमा नै त्रुटि देखियो भने बिक्रेतालाई कारबाही हुन्छ ।

एक्सपाइरी डेट अगावै खाद्य वस्तु बिग्रेको भेटिए पछि बजार अनुगमन र नमुना सङ्कलन हुन्छ । विभागले सो नमुनाको कोडिङ र परीक्षण गर्छ । विभागको सार्वजनिक विश्लेषकको परीक्षण पश्चात् तोकिएको मापदण्ड भन्दा कम देखिए पछि कानुनी प्रक्रिया अघि बढ्छ । सो प्रक्रियामा जहाँबाट उक्त वस्तु खरिद भएको हो, सो पसल देखि उत्पादकसम्म तानिन्छन् । उनीहरूलाई कानुनी प्रक्रिया अनुसार जसको कमजोरी हो उसमाथि विभागको सरकारी वकिलको परामर्श अनुसार मुद्दा दायर गर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested