English

यसो भन्छन् : जिल्ला हाँक्ने ५ महिला प्रजिअ



प्रमुख जिल्ला अधिकारी (प्रजिअ) निजामती प्रशासनको निकै चुनौतीपूर्ण पद मानिन्छ । जिल्ला भित्रका हरेक गतिविधिको निगरानी सिडियोकै हातमा हुन्छ । नेपालका ७७ जिल्लामध्ये हाल ५ जिल्लामा महिला सिडियो छन् । चुलोचौकादेखि जिल्ला सुरक्षा समेतको महत्वपूर्ण जिम्मेवारी सम्हालेका पाँच सिडियोको अनुभव यस्तो छ :

लक्ष्मी देवी हुँमागाई खतिवडा, सल्यान

म इलाममा जन्मे । त्यहाँबाट बसाई सरेर झापा आयौँ । २०३९ सालमा झापाबाट एसएलसी पास गरे । कक्षा ११ र १२ धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट प्रथम श्रेणीमा पास भएँ । त्रिभुवन विश्वविद्यालयबाट छात्रवृद्धि पनि प्राप्त गरेको थिएँ । स्नातक तहपछि मेरो बिहे र जागिरसँगसँगै भयो । २०४६ सालमा नायब सुब्बाबाट निजामति सेवा सुरु गरेकी हुँ । मेरो पहिलो पोस्टिङ सूचना विभागमा भएको थियो ।

मैले जुन समयमा सेवामा प्रवेश गरे त्यो समयमा महिलाहरु लोकसेवा दिनलाई आँट गर्दैन थिए । २०५५ सालमा अधिकृत भए । त्यसपछि विभिन्न उताव–चढाव सँगै २०४९ मा व्यवस्थापन संकायमा स्नातकोत्तर गरे । पढाई र काम सँगैसँगै गरे । पढ्दै र दुई छोरा हुर्काउँदै स्नातकोत्तर अध्ययन गर्न मेरो लागि चुनौती थियो , तै पनि पहिलो श्रेणीमा उत्तिर्ण गरे । यसबाट मलाई एकदम सन्तुष्टि मिल्छ ।

‘उमेर सानो र जिम्मेबारी ठुलो भएकाले मलाई बलियो बनायो’

जागिर, घरपरिवार, आफ्नो र छोराहरुको पढाईलाई कसरी निरन्तरता दिन सकिन्छ शब्दमै भन्न सक्दिन । मेरो परिवारले पनि पढाईको लागि एकदमै सहयोग गर्नुभयो । एलएलबी र बिएड पनि गरे । यसरी पढाई र काममा सहयोग गर्ने मेरो श्रीमान (डा. पुष्पलाल हुँमागाई) ले पनि पिएचडी गर्नु भएको छ । रथका दुई पांग्रा भने जस्तै आफुपनि पढ्यौं र छोराहरूलाई पनि पढायौँ ।

कलिलै उमेरमा सहकारीको प्रमुख (झापा २०५८) भएर काम गर्दा मैले मान्छेसँग कसरी बोल्ने पिआर कसरी बढाउने भन्ने कुरा सिके । उमेर सानो र जिम्मेवारी ठूलो भएकाले मलाई बलियो बनायो । २०६९ सालमा उप–सचिवमा बढुवा भए ।

‘महिला भएर अनुगमन शाखामा काम गर्न सक्लिन र ?’ केहीलाई प्रश्न थियो

२०७३ सालमा हो । निर्वाचन आयोगमा अनुगमन परिवेक्षण शाखाको प्रमुख भएर काम गर्ने अवसर पाए । ‘महिला भएर अनुगमन शाखामा काम गर्न सक्लिन र !’ भन्ने केहीलाई प्रश्न थियो । मलाई पनि सङ्घीयबाट जिल्लातिर जान मन लाग्यो । २०७२ सालमा भक्तपुरमा सहायक–प्रमुख जिल्ला अधिकारी भए । त्यहाँ केही अनुभव भइसकेपछि २०७४ सालमा पाँचथरको जिल्ला प्रमुख भए । त्यो समयमा पनि स्थानीय तहमा निर्वाचन भएको थियो । त्यो सफल भयो । २०७५ सालमा तेह्रथुमा एक वर्ष काम गरे । पाँचथर र तेह्रथुमको पहिलो महिला सिडियो हुँदैअहिले सल्यानमा पनि ४६ औँ नम्बरको पहिलो महिला सिडियो नै छु ।

कामकै सिलसिलामा थाइल्याण्ड, जापान ,नर्बे, मलेसिया, श्रीलंका लगायत देशको भ्रमण गर्ने अवसर मिल्यौं । यस क्षेत्रमा लाग्नका लागि धैर्यता आवश्यक पर्छ । तर पछिल्लोसमय निजामति सेवातिर आकर्षण घट्दै छ । धेरै युवाले विदेश जाने सोच बनाएका हुन्छन् । तर गर्न सक्ने आफ्नै देशमा पनि प्रशस्त सम्भावना छन् ।

‘कार्यालयमा अझै पनि पुरुषको खोजी हुन्छ’

कुनै नेतृत्वको विषय आए अझैपनि पुरुष प्रदान सोच पाएको छु । सेवाग्राहीहरू पुरुष हाकिम कै खोजीमा हुन्छन् । पछिल्लो समय यसमा धेरै नै सुधार आएको छ । अहिले त महिला कर्मचारीलाई पनि सहज वातावरण छ । यसले पनि महिलाहरूको सहभागिता बढेको देख्छु । सक्ने जिम्मेवारी महिलाले बहन गर्नुपर्छ । कार्यालय प्रमुख भएर काम गर्छु भन्ने हुनुपर्छ । सरकारले पनि महिलालाई सक्ने जिम्मेवारी दिनुपर्छ । मैले पुरै इमान्दारिताका साथ काम गरेको छु र आगामी दिनमा पनि गर्नेछु ।

देवी पाण्डे खत्री, पर्वत

मेरो जन्मथलो गुल्मी हो । विवाह पनि गुल्मीमै भयो । एलएलसी दिएर १६ वर्ष नपुग्दै विवाह भयो । विहे भईसकेपछि काठमाडौँ आए । १८ वर्षको उमेरमा बच्चा भयो । काठमाडौँको पद्मकन्याबाट स्नातक गरे । बच्चालाई पढाउनका लागि स्कुलमा शिक्षकको काम गरे । तर निजी क्षेत्रमा काम बढी, पैसा थोरै र समयमा परिश्रमिक नपाउँदा अनेक समस्या झेले । यसकारण सरकारी जगिर खानु पर्छ भनी प्रेरित भए ।

बच्चा हुर्काउँदै कलेज पढ्दै गरे । पढाई सक्काएर २३ वर्षको उमेरमा म अधिकृत भएँ । स्नातकोत्तर पनि गर्दै थिएँ । २०६३ सालमा शाखा अधिकृत भएर पर्यटन मन्त्रालयमा पहिलो पोस्टिङ भएको थियो । त्यहाँ शाखा अधिकृतकै रुपमा २ वर्ष रहे । अनि महिला कार्यालय प्रमुख भएर विरगंज गए । त्यो बेला स्थानीय तहका मान्छेले एकदमै डर धम्की दिन्थे । जिल्ला निर्वाचन अधिकारी भएर दोलखामा पनि काम गरे ।

पुरुषलाई मात्रै नमस्कार

सेवाग्राहीहरु भेट्न आउँदा कोेही–कोहीले पुरुषलाई मात्रै नमस्कार गर्थे । ‘महिला पनि कार्यालयको प्रमुख हुन्छन् र ?’ जस्ता प्रश्न सोध्थे । समाजले यस तहमा महिलालाई अझै स्वीकार गर्न सकेको छैन भन्ने लाग्थ्यो । २०७४ सालमा उप–सचिव भए । प्रदेश ५ मा (लुम्बिनी प्रदेश ) महाशाखा प्रमुखको रुपमा पोस्टिङ भए । सुरुमा त्यहाँ जाँदा होटेलमा १५ दिनसम्म डेरा लिएर बसे । त्यही कार्यरत हुँदा एक वर्षको स्नातकोत्तर कोर्स पढ्न कोरिया गए । त्यहाँबाट आएर राष्ट्रिय योजना आयोगमा पोस्टिङ भयो । ९ महिनापछि गृह मन्त्राललमा पठायो । अनि गोरखामा सहायक प्रमुख जिल्ला अधिकारी भए ।

‘ड्रेसमा पनि गुनासो’

समाजमा सहज तरिकाले महिला ठूलो पोस्टमा भएको स्वीकार गर्नै गाह्रो पाएको छु । ड्रेसमा पनि गुनासो गरेको अनुभव छ । पर्वत जिल्लामा सिडियो भएर आएको पाँच महिना भयो । हाम्रो जस्तो पुरुषप्रधान समाजमा महिला नेतृत्व सहजै स्वीकार गर्नसक्ने अवस्था थिएन । तर पर्वतमा म अघि नै महिला सिडियो आईसक्नु भएकाले खासै अप्ठ्यारो महसुस भएन । महिला भनेपछि सरोकारवालाले अलि बढी नै निगरानी गर्ने गर्छन् । त्यसैले पनि निकै होसियारीपूर्वक काम गर्नुपर्ने चुनौती छ ।

महिलाहरुमा विहेपछि अब पढ्न सकिन्नँ भन्ने सोच छ । विहेपछि पनि परिवारिक जिम्मेवारी सँगसँगै पढाईलाई निरन्तरता दिन सकिन्छ । विहेपछि सबै सकिएको सोच्नु हुँदैन । हाम्रा सपना बाँकी नै हुन्छन । त्यो पुरा गर्र्न संघर्ष गर्नुपर्छ । कुनै पनि काम गर्दा हरेस नखाई उच्च मनोबल र आटका साथ निरन्तरता दिनसके सबै कार्य गर्न सकिन्छ ।

मनमायाँ भट्टराई पंगेनी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व )

म नवलपरासीमै जन्मिएर, यही ठाउँको सेवा गर्न पाउँदा एकदमै भाग्यमानी ठान्छु । मैले २०५० सालमा एसएलसी दिए । त्यो बेला एसएलसीपछि वर्गीय हिसाबले कोटा हुन्थ्यो । त्यहीबाट मैले सिएमए पढे र त्यसपछि गाउँघरमै स्वास्थ्य सेवा दिन थाले । यसरी बाहिर फिल्डमा जाँदा मैले कलेज गएर पढ्न पाइन । प्राइभेट नै भएपनि पढाईलाई निन्तरता दिएँ । प्राईभेटबाटै प्लस टु देखि स्नाकोत्तर गरे । कलेज जाने एकदमै रहर भएपनि स्नातकोत्तर गर्दासम्म त्यो रहर पुरा भएन ।

विवाहपछि बाहिर स्वास्थ्यकर्मी भएर फिल्ड जान समस्या भयो । काठमाडौँ आई सकेकाले महिला सशक्तिकरणका लागि महिला मन्त्रालयले लोकसेवाको तयारी गराउने जनकारी पाएँ । कक्षा लिन थालें । परिवार सबै सुतेपछि ध्यान विधिबाट पढ्थें ।

२०६३ सालमा लोकसेवा आयोगबाट अधिकृतमा नाम निकाले । तत्कालिन महिला विकास शाखा अधिकृतमा पहिलो पोस्टिङ भयो । त्यसपछि सरकारले नै पढ्न पाउने योजना ल्याएको थियो । त्यहीबाट सेन्ट जेभियर्स कलेजमा सोसल वर्क पढ्न पाएँ । सरकारकै छात्रवृद्धिमा भारतको गुरु गोबिन्द युुनिर्भसिटीबाट पब्लिक पोलिसी विषयमा स्नाकोत्तर उत्तिर्ण गरे ।

आपाङ्ग, महिला, बालबालिका र वृद्धवृद्धा जस्ता क्षेत्रमा म एकदमै संबेदनशील छु । महिला विकासमा काम गर्दा महिलाहरुको पक्षमा विभिन्न अनुसन्धात्मक कामहरु गर्ने मौका पाएँ । बादी समुदायका महिलाहरुको सशक्तिकरण लागि काम गरे । २०६५ देखि ०६८ मा दाङ, बाँँके, बर्दिया, सुर्खेत र कञ्चनपुरमा बादी समुदायबारे राम्रो रिपोर्ट बनाएको थिएँ । जसबाट १ हजार ४ सय ३६ घरधुरी पत्ता लागेको थियो ।


सरकारले बादी समुदाय व्यवास्थापन समिति बनायो, नागरिकताको समस्या समाधान भयो । त्यसपछि राष्ट्रिय सर्तकता केन्द्रमा सरुवा भयो त्यहाँ पनि वैदेशिक रोेजगारमा जाने महिलाहरुका बारेमा अनुसन्धान गरे । त्यो विदेशमा रोजगारीका लागि जाने महिलाको रोजगार सुरक्षित हुनुपर्छ र महिला शोषण हुनु हुँदैन भन्ने थियो । सह–सचिवको परीक्षा दिँदा मेरो सासु र श्रीमान अस्पतालमा भर्ना हुनु भएको थियो । बेडमा उहाँहरुलाई छोडेर परीक्षा दिन गएको थिएँ । २०७४ सालमा सह–सचिव भए ।

सिडियो भन्ने वित्तिकै ठुलो जुङ्गा भएको समाजको सोचाई

सिडियोका रुपमा मेरो पहिलो पोस्टिङ नै आफ्नै जन्मथलो बन्यो । यहाँ आएको ११ महिना भयो । गाउँका पाका आमाबुबाहरु भेट्न आउनु भएको थियो । ‘कस्तो हुनु हुन्छ सिडियो नानी भनेर सोध्नु भएको थियो ?’ त्यो मलाई सधैँ याद आउँछ ।

सिडियो भन्ने बित्तिकै ठुलो जुङ्गा भएको पुरुष मान्छे भन्ने समाजको सोच रहेको पाएँ । सिडियो भएर काम गर्दा मेलै पँहुच नभएकालाई सहजै पँहुच दिने कोशिस गरेकी छु । मेरो प्राथमिकता महिला, वृद्धा र बालबालिका नै हुन् । धेरैको पहुँच नभएर नागरिकता नबनेको रहेछ, त्यसका लागि पहल गरे ।

‘पुस्तक नै पढ्न नपाए पनि परिवेशलाई पढ्नु पर्छ’

महिलाले सृष्टिकर्ता हुन् । जसले आफूलाई कमजोर ठान्नु हुँदैन । सबैलाई जितेर जान्छु भन्ने सोच बनाउनुपर्छ । जस्तोसुकै कष्ट आइपरेपनि अगाडी बढ्ने चाहना छोड्नु हुँदैन । विहेपछि पढ्न नपाएको भनेर चिन्ता गर्नु हुँदैन म जस्तै ध्यान विधिबाट पनि पढ्न सकिन्छ । पुस्तक नै पढ्न नपाए पनि परिवेशलाई पढ्नु पर्छ । आँट बालियो बनाउनु पर्छ । महिला अगाडी बढेमा हिंसा कम हुन्छ । अरुका लागि उदाहरण बन्न सकिन्छ ।

‘पढ्नु पर्छ है सिडियो हुन पाइन्छ’ भनेको सुन्दा आनन्द लाग्छ

म बसेको बाटो भएर हिड्ने वृद्धा बा, आमा स–साना नानीहरुलाई ‘पढ्नु पर्छ है सिडियो हुन पाइन्छ’ भनेको सुन्दा आनन्द लाग्छ । यसरी महिला सिडियो आउँदा उहाँहरुको घर–घरमा छोरीलाई सिडियो बनाउनुपर्छ वा पढाउनुपर्छ भन्ने जुन धारणा बनेको छ । त्यो मेरो लागि एकदमै खुसीको कुरा हो । महिलामा घर–परिवार चलाएर सिमित स्रोत साधनबाटै काम गर्न सक्ने क्षमता हुन्छ । पाएको जिम्मेवारीबाट कहिल्यै पछि हट्नु हुदैन ।

रुद्रदेवी शर्मा, गुल्मी

मेरो जन्म थलो बाग्लुङ हो । विवाह पनि उतै भयो । पृथ्वी माध्यमिक विद्यालयबाट एसएलसी पास गरे । त्यसपछि पोखरामा आइएससी पढ्दै काठमाडौँ ट्रान्सफर भए । बिएड र कानून विषयमा मैले स्नातक गरेकी छु । निजामती सेवामा आउन पुस्तक मात्र पढ्नु पर्छ भन्ने होइन अन्य विभिन्न कुराको ज्ञान पनि आवश्यक छ ।

यस क्षेत्रमा आउनुभन्दा पहिला विभिन्न गैरसरकारी कार्यालयमा ८–१० वर्ष काम गरे । विषेश गरी लैंगिङ क्षेत्रमा विभिन्न कार्य गरें । यस क्षेत्रमा नीति निर्मणमा महिला सहभागिताको विषय पनि उठ्थ्यो । त्यो हिसाबले यस श्रेत्रमा जानुपर्छ लागेको थियो ।

परिवारबाट पनि गैर–सरकारी क्षेत्रमा जगिर खानुभन्दा सरकारी तिरको लागि नै हौसाला दिनुभयो । निजामति सेवामा २०६६ सालमा अधिकृत तहबाट प्रवेश गरेँ । राष्ट्रिय योजना आयोगमा मेरो पहिलो पोस्टिङ थियोँ । त्यहाँ ६ वर्ष काम गरेँ । २०७२ सालमा उप–सचिवमा बढुवा भएँ । संचार तथा सूचना प्रविधि मन्त्रालायमा पोस्ट भएँ । २०७५ सालमा सह–सचिब भएँ ।

यस सेवामा प्रवेश गर्दा मेरो छोरा छोरी पनि जन्मि सकेका थिए । उनीहरुलाई हुर्काउँदै, पढाउँदै, पहिलाको गरेको काम र घरको व्यवास्थापन गरेर बाँकी भएको समयलाई यता तिरको अध्ययनमा खर्च गरेँ । २०७६ सालमा रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा मेरो पहिलो पोस्टिङग हो । त्यहाँ ११ महिना काम गरेँ ।

‘हरेक कुराको निगरानी हुन्छ ’

गुल्मीको ३९ औँ सिडियो मध्ये पहिलो महिला सिडियो भएर आएको म नै हो । लामो समयसम्म पुरुष साथीहरुले जिल्लामा नेतृत्व गरि रहँदा एकै पटक महिला सिडियो देख्दा सेवा गा्रहीहरुमा देखिने एक किसिमको व्यवहार स्वाविकै हो । हरेक कुराहरु परिवर्तन भइसकेपछि केही प्रभाव देखिन्छ र म त्यसरी नै लिन्छु । पुरुषले गरिरहेको काम महिलाले कसरी गर्छ भन्ने देखि हरेक कुराको हाम्रो मुल्याङ्कन हुन्छ । कतिपय कुराहरु बाहिर प्रस्फूटन हुन्छ त कतिपय हुँदैन । तर पनि समान्यरुपले हेर्दा सजिलै अनुमान लगाउन सकिन्छ ।

सिडीयो भएपछि १० देखि ५ मात्र खाटेर हुँदैन जुनसुकैको समय पनि दिनु पर्ने हुन्छ । यस क्षेत्रमा कहिले अलोचना हुन्छ कहिले प्रशंसा । हामीले लगनशिलता, सहनशिलता, धैर्याता लगायत विभिन्न कुराले तयारी भएर बस्नु पर्ने हुन्छ । सबैसँग सहकार्य गरेर अगाडी बढ्नु पर्ने हुन्छ । जसकारणले आफ्नो आत्माविश्वस र मेहनतले काम गर्नुपर्ने हुन्छ ।

गर्ने आफूले नै हो । महिला र पुरुष भएका कारणले कुनै पनि काममा रोकिनु हँुदैन । आफूले रोजेको क्षेत्रमा लगनशिल, ईमान्दार, निरन्तारता, मेहनती र प्रथामिकता दिनुपर्छ । आत्माविश्वास बढाउनु पर्छ र अरुले सहयोग गरेनन् भने पनि सहयोग पाउने वातावरण मिलाउनुपर्छ । जुनसुकै कार्यका लागि भित्रैदेखिको अत्माविश्वास हुनु एकदमै जरुरी हुन्छ ।

दश वर्ष विभिन्न मन्त्रलायमा काम गरें तर सिडीयो भएर काम गरेको करिब ढेड वर्ष भयो । ढेड वर्षमा गरेको काम सायद मैले दश वर्षमा गरिनं होला । धेरैलाई सेवा दिने ठाउँ र आफूलाई चिन्ने ठाउँ जिल्ला नै हो ।

विजया कुमारी प्रसाइ, जुम्ला

मेरो जन्म थलो रामेछाप हो । बिए पास भएपछि छोरी मान्छे अगााडि बढ्नुपर्छ , जागिर खानु पर्छ भन्ने मेरो बुवाको चहाना थियो । सच्चो कुरा भन्दा मैले जागिर नै खोजेको थिएँ । जागिरका लागि लोकसेवाको तयारी गर्न काठमाडौँ आएँ । तीन वर्ष पछि २०६१ सालमा शाखा अधिकृतमा नाम निकाले । मेरो पहिलो पोस्टिङ राष्ट्रिय योजना आयोगमा भएको हो । त्यसपछि स्थानीय विकास मन्त्रालयमा हुँदै २०७० मा उप–सचिव भएँ । समाजिक सुरक्षा कोषमा ८ महिना र महिला तथा बालबालिका विभागमा तीन वर्ष बसें ।

जुम्लामा सिडियो भएर आएको १ महिना भयो । यो भन्दा अगाडी सिन्धुली जिल्लामा २० महिना सहायक जिल्ला प्रमुख अधिकारी भएर काम गरि सकेकाले मलाई ती जिम्मेबारीहरु दोहिएको छ । त्यसैले खासै चुनौती छैन । कामको क्रममा जिल्लाको सिडियो र त्यसपछि महिला हो भनेर हेर्ने गर्छु । यसमा काम गर्दा महिला भनेर कुनै कुरा जोडिन्छकी भनेर एकदमै चनाखो भएर काम गर्नु पर्ने हुन्छ । किनकीमा म महिला वर्गको पनि नेतृत्व गर्दे छु ।

जिम्मेबारी लिने क्षमता विकास गर्नुपर्छ । फ्रन्टलाइनमा आउनका लागि २४ घण्टा नै खटिएर जिम्मेबारी बहन गर्नु पर्ने हुन्छ । यहाँ म भन्दा पहिला दुर्गा बन्जाडेले काम गर्नु भएकाले यहाँका सेवाग्राही एकदमै सकरात्मक हुनुहुन्छ ।

‘भवनामा डुबेर प्रशासन चलाउन सकिदैन’

यस क्षेत्रमा काम गर्दा फराकिलो सोच बनाउनुपर्छ । तर एउटा पक्षले महिला सिडियो भनेर आशा गरिरहेको हुन्छ । त्यो पुरा गर्न नसकिने हो की कतै–कतै सोच आउँदो रहेछ । भवनामा डुबेर प्रशासन चलाउन सकिदैन । शान्ति सुरक्षा, समन्वयन सहजीकरण गर्ने लगायतका जिल्लाभर नै सेवा प्राबह गर्ने कार्य जस्ता जिम्मेबारी हुन्छ । महिला भएकै कारणले काम सजिलो र गाह्रो हुँदैन । कुनै पनि कामको एउटा सिस्टम हुन्छ । त्यही अनुसार आफ्नो क्षमताको विकास गर्नुपर्छ । जिम्मेबारी लिएर महिला भनेर कुनै पनि मुद्धा जोड्नु हुदैन ।

प्रशासनमा मात्र होइन महिलाले जुनसुकै क्षेत्रमा राम्रो गर्नुहुन्छ । हामीमा आन्तरिक शाक्ति हुन्छ तर त्यो प्रयोग गर्न सकेका छैनौँ । मेरो अनुभवमा जिल्ला चलाउनु भन्दा घर चलाउन गाह्रो हुन्छ । घरमा सूक्ष्म तहको व्यवास्थापन गर्न सकिन्छ भने जिल्लामा एउटा नीति हुन्छ त्यही अनुसार काम गर्नु पर्ने हुन्छ । तर केही फरक क्षेत्रमा काम गर्न सकेमा अरु महिलाको लागि उदाहरण बन्न सकिन्छ ।

यो पनि पढ्नुहोस् :
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
जुवामा जितेको १ लाखले बनेको केशर बगैंचा, यसरी बन्यो ‘गार्डेन अफ ड्रिम्स’
महिला पवित्र हुन तीजमा व्रत बस्नुपर्ने, पुरुष पवित्र हुनै नपर्ने !




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested