डा. शेरबहादुर पुन भन्छन्– ‘अन्नपूर्ण सर्किट स्वर्गको टुक्रा हो’
कोरोना महामारीपछि फ्रन्टलाइनमा रहेर काम गर्ने डाक्टरहरुमध्ये एक हुन्– सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन । उनी अध्ययन अनुसन्धानको क्रममा थुप्रै राष्ट्र घुमेका छन् । डा. पुन प्रकृतिप्रेमी, जनावरप्रेमी र घुम्नमा एकदमै रुची राख्ने गर्छन् । जनावरप्रेमी भएकै कारण शाकाहारी भएको उनी बताउँछन् । स्वास्थ्य उनको पेसा हो भने यात्रा पहिलो हबी हो । उनको अनुभवमा यात्रा ज्ञान बटुल्ने एउटा माध्यमको हो । यात्रा गर्दा विभिन्न मान्छे तथा सँस्कृतिलाई नजिकबाट नियाल्छन् । त्यहीबाट उनी ज्ञान बटुल्छन् । यही सन्दर्भमा पुनसँग मेरोलाइफस्टाइलले गरेको घुमघाम वार्ताः

अहिलेसम्म कति ठाउँ घुम्नु भयो ?
थाइल्यान्ड, सिंगापुर, रुस, फिनल्याण्ड, भारत, हङकङ, बेलायत, अष्ट्रेलिया लगायत १० राष्ट्र घुमिसकेको छु । साथै, नेपालका थुप्रै जिल्ला पुगिसकेको छु ।
तपाईंको घुमघाम गन्तव्य कहाँ–कहाँ हुन् ?
मलाई प्रकृतिप्रेमी भन्दा फरक नपर्ला । शान्त मनमोहक दृश्यहरू भएको ठाउँहरू नै मेरो घुमघामका गन्तव्य हुन् । नेपाल आफैँमा सुन्दर देश छ । यसकोबारेमा केही भन्नु पर्दैन जस्तो लाग्छ । त्यसैगरी ८ देखि १० राष्ट्र घुमेँ तिनीहरु पनि आ–आफ्नो ठाउँमा राम्रो छन् । म अलि जिज्ञासु छु । त्यसैले पुरानो र प्राकृतिक कुराहरू भएको ठाउँ नै गन्तव्य बनाउँछु ।

घुमघामका लागि कसरी समय मिलाउनुहुन्छ ?
जहाँ इच्छा त्यहाँ उपाय भनिन्छ । इच्छा भयो भने वास्तवमा समय मिलाउन सकिनेरहेछ । व्यस्तताका बावजुत साथीहरूलाई समय मिलाउन भन्छु । स्वास्थ्य क्षेत्रमा मात्र होइन । जुनसुकै क्षेत्रमा काम गरे पनि छुट्टी सबैले पाउँछन् । त्यही बेलाको मौका छोपेर घुम्ने समय मिलाउँछु ।
अहिलेसम्मको अविस्मरणीय घुमघाम कहाँको हो ?
नेपालको अन्नपूर्ण सर्किट, अस्ट्रेलिया र इङ्ल्याण्डको घुमघाम अविस्मरणीय छ । अन्नपूर्ण सर्किट मेरो एकदमै वेस्ट ठाउँ हो । केही समय अघि त्यहाँ पुगेको थिएँ । त्यहाँ पुग्दा स्वर्गिय आनन्द प्राप्त हुन्छ । त्यसैगरी इङ्ल्याण्डमा म दुर्गम क्षेत्रमा बसेको थिएँ । त्यहाँ शान्त हरियाली पानी परिरहने भएकाले एकदमै रमाइलो गरेको थिएँ । यसैगरी अष्ट्रेलियाको मेलबर्न र सिड्नी यि दुई सिटीमा झोला भिरेर, खुट्टामा चप्पल लगाएर हिँडेको थिएँ ।
घुमघामको योजना कसरी बनाउनु हुन्छ ?
घुमघामको लागि जानु पर्ने ठाउँकोबारेमा इन्टरनेटमा सबै अनुसन्धान गर्छु । त्यसरी गर्दा कहाँ खाना खाने, कहाँ किनमेल गर्ने, कहाँ घुम्ने सबै जानकारी लिन्छु र त्यही अनुसार योजना बनाउँछु । एक दिन घुमिसकेपछि अर्को दिनको योजना त्यसरी नै तयार पार्छु ।

घुमघाम गर्दा के–के बोक्नुहुन्छ ?
म त्यति भारी बोक्न रुचाउँदिन । मेरो यात्राका झोलाहरू हलुंगो नै हुन्छन् । ठाउँअनुसार मौसम फरकफरक हुन्छ । तै पनि सामान्यतया आफूलाई आवश्यक पर्ने सामानहरू बोक्छु । पानी, सफ्ट ड्रिंक्स र सामानहरू किनेर राख्नका लागि सानो झोला बोकेको हुन्छु ।
अरुलाई घुम्न जानका लागि कुन–कुन ठाउँ सिफारिस गर्नुहुन्छ ?
नेपालमा घुम्न जाने ठाउँ अनगिन्ती छन् । अन्नपूर्ण सर्किट स्वर्गको टुक्रा हो त्यहाँ नछुटाई जान सिफारिस गर्छु । त्यही अनुसार देश अनुसार आआफ्नै विशेषता छन् । साथै अस्ट्रेलिया र इङ्ल्याण्डका विभिन्न ठाउँ घुम्न सक्नुहुन्छ ।
घुमघामलाई रमाइलो कसरी बनाउन सकिन्छ ?
प्रकृतिसँग एक्लै आफैमा रमाउँछु म । कुनै पनि ठाउँमा घुम्न जाँदा त्यो ठाउँलाई हेरेर कल्पना गर्छु । अलिअलि लेख्ने भएर पनि होला । त्यसैमा मलाई आनन्द महसुस हुन्छ । कसरी रमाउने भनेर फरकफरक हुन्छ । कहिलेकाँही साथीहरूसँग खानपानमै पनि रमाइलो गर्छु । तर म प्राय एक्लै घुम्ने गर्छु ।

घुम्न मन लागेको तर जान नसकेको ठाउँ कुन–कुन हुन् ?
रारा तालको बारेमा धेरै सुनेको छु तर जान सकेको छैन । पक्कै पनि राम्रो होला जस्तो लाग्छ । त्यहाँ कुनै दिन अवश्य जानेछु । त्यसैगरी नेपालको नौलो सुन्दर ठाउँहरू अध्ययन गर्न बाँकी त्यहाँ अध्ययन गरेर जानेछु । त्यसैगरी चितवनको सौरहा त्यहाँ पनि म जाने तयारीमा छु ।
नेपालमा घुमघामलाई प्रवर्द्धन गर्न के–के गर्नुपर्ला ?
घुमघाम प्रवर्द्धनका लागि पहिलो कुरा त थाहा नभएका भनौँ या गुमनाम रहेका नेपालका सुन्दर ठाउँहरू धेरै छन् । ती ठाउँहरूको प्रचारप्रसार गर्न जरुरी छ । हालको परिस्थितिमा आन्तरिक पर्यटन घुम्नमा एकदमै उत्साहित हुन्छन् । उहाँहरुका लागि गुमनाम ठाउँलाई बाहिर ल्याउनुपर्छ ।
यो पनि पढ्नुहोस्
कैलाश मानसरोवर पुग्ने इच्छा छ
मन मिल्ने साथीसँग घुम्दा रमाइलो हुन्छ
रुकुम, रोल्पा घुम्ने रहर छ : वर्षा राउत
गाउँले वातावरणमा छोराछोरीसँग घुम्न मन छ तर, जुरेको छैन –सञ्चिता लुइटेल










Mozelle
We're a gaggle of volunteers and opening a brand new scheme in our community. Your site provided us with helpful information to work on. You have done an impressive job and our whole neighborhood shall be thankful to you. Check out my website: بهبود کیفیت زندگی