English

विश्व उपभोक्ता दिवस

खाद्यान्नमा हुने मिसावट यसरी थाहा पाउनुस्



आज विश्व उपभोक्ता अधिकार दिवस । यो दिवस प्रत्येक वर्षको मार्च १५ मा विश्वभर विभिन्न उपभोक्ता हितसँग सम्बन्धित कार्यक्रमहरू गरेर मनाइन्छ । विश्व उपभोक्ता अधिकार दिवसमा खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछन् ।

यद्यपि बजारमा दैनिक उपभोग्य तथा खाद्य पदार्थहरूमा विभिन्न किसिमका मिसावट गरिएको भेटिन्छ । यसका लागि उपभोक्ता आफै सचेत हुनु जरुरी पनि छ । तपाईँले दैनिक प्रयोग गर्ने विभिन्न खानेकुराहरूमा के कस्तो किसिमको मिसावट भइरहेको छ भन्ने कुरा आफैँले परीक्षण गरेर पनि थाहा पाउन सक्नुहुन्छ ।

दूध, ध्यू र तेलमा हुने मिसावट

दूध शुद्ध छ कि छैन भनेर स्वादले नै थाहा पाइन्छ । व्यापारीहरूले बढी फाइदाका लागि दूधमा पानी मिसाएर समेत बिक्री गरेको पाइन्छ । दूधमा पानीको मात्रा कत्तिको छ भन्ने कुरा ल्याक्टोमिटरवाट थाहा पाउन सकिन्छ । यस्तै गाई भैँसीको ध्यूमा आलु वा पिँडालु उसिनेर पनि मिसाइन्छ । यदि ध्यूमा मिसावट भएको शङ्का लागेमा ध्यूलाई खारेर मिसावट पत्ता लगाउन सकिन्छ ।

तेलमा मिसावट भएको छ कि छैन भनेर थाहा पाउन तेललाई तताएपछि आउने खारबाट थाहा पाउन सकिन्छ । यदि गन्हाउने खार आएमा तेलमा मिसावट भएको थाहा पाउन सकिन्छ ।

महमा हुने मिसावट

व्यापारीहरूले चिनीको चास्नी वा सख्खरको प्रयोग गरेर महमा मिसावट गरेको पाइन्छ । महमा पानीको मिसावट भएको पनि भेटिन्छ । महमा मिसावट भए नभएको र मह शुद्ध छ कि छैन भनेर थाहा पाउन टिस्यु पेपरमा महका केही थोपा हालेर थाहा पाउन सकिन्छ । यदि महमा पानीको मिसावट छ भने टिस्यु पेपरले पानी सोस्छ । शुद्ध मह छ भने त्यो पेपरको माथि नै रहन्छ ।

सिसाको गिलासमा तातो पानी भरेर त्यसमा एक चम्चा मह हाल्ने । यसो गर्दा त्यो मह पानीमा घुल्यो भने महमा मिसावट भएको छ भन्ने ठाने हुन्छ ।

त्यस्तै अलिकति कपासमा मह लगाएर आगोमा बाल्ने हो भने शुद्ध मह सजिलै बल्छ । तर यदी त्यो कपास बल्न समय लाग्यो भने त्यो महमा मिसावट भएको पुष्टि हुन्छ ।

दालमा हुने मिसावट

दाल छङछङ बज्ने र चहकिलो रङ्गको देखिन्छ भने त्यो दालमा मिसावट छ भनेर थाहा पाइन्छ । अधिकांश दालको रङ्ग फुस्रो हुने हुनाले चहकिलो दाल देखेमा त्यसमा रङ्ग मिसाएको छ भनेर थाहा पाए हुन्छ ।

खसीको मासु

खसीको मासुमा बाख्रीको मासु मिसाइएको पनि हुन सक्छ । साथै व्यापारीहरूले वासी मासु पनि मिसाएर बेचिरहेका हुन सक्छन् ।

खसीको मासु किन्नु परेमा चिनेको वा नियमित किन्ने गरेको पसलबाटै किन्नु सबैभन्दा राम्रो हो । यदि नयाँ पसलमा गएर मासु किन्नु परेको खसी हो भनेर सङ्केत दिने राजखानी भएको भागको मासु किन्नु राम्रो हो । शुद्ध खसीको मासु छिटो पाक्छ र खाँदा स्वादिलो हुन्छ । बाख्रीको मासु पाक्न धेरै समय लाग्ने, चपाउँदा चाम्रो हुने र स्वाद पनि तिक्खर हुँदैन । एक पटक गलत मासु परेमा पुनः सोही पसलबाट मासु किन्नु हुँदैन ।

गेडागुडीमा मिसावट

क्वाँटी खरिद गर्दा पुराना गेडागुडी र सस्ता गेडागुडीको बाहुल्यता रहने सम्भावना हुन्छ । यसर्थ छुट्टाछुट्टै गेडागुडी देखिने गरी राखिएको गेडागुडी किनेर मिसाइ। क्वाँटी बनाउनु राम्रो हुन्छ ।

मसला र चामलमा हुने मिसावट

मरीचमा सुकेको मेवाको बियाँ मिसाइन्छ, यस्तो अवस्थामा फुक्दा मेवाको गेडा हलुङ्गो भएको कारण उड्छ, मरीच गह्रुँगो भएकाले उड्दैन । यही कुरा चामल किन्दा भुस छ कि छैन भनेर पनि थाहा पाउन सकिन्छ । यही तरिकाले चिउरा किन्दा राम्ररी चालिएको छ कि छैन भनेर थाहा पाउन सकिन्छ । जिरा, धनियाँ जस्ता मसला खरिद गर्दा पनि यो विधि अपनाउन सकिन्छ । यस्ता वस्तुमा भएको मिसावट थाहा पाउन सिसाको गिलासमा पानी राखी परीक्षण गर्न सकिन्छ । सामान्यतः जिरा वा मरीच पानीको पिँधमा जान्छ भने मिसावट गरिएका हलुका वस्तुहरू पानीमा तैरिन्छ ।

बेसारमा हुने मिसावट

बेसारको मिसावट छ भने पानीमा हालेर थाहा पाउन सकिन्छ । सामान्यता बेसार पानीमा राख्दा कलर देखिँदैन । तर बेसारमा अखाद्य बस्तु मिसावट भएको छ भने पानीको रङ्ग परिवर्तन हुने गर्छ र पानीमा घुल्ने पनि गर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले