English

पर्यटकीय हब बन्दै मेघौली गोलाघाट



 राजन पराजुली

नेपालीहरू पनि घुमघाममा सौखिन छन् । कुनै नौलो ठाउँको चर्चा हुने बित्तिकै त्यहाँ आन्तरिक पर्यटकको घुइँचो लागिहाल्छ । अझै भनौं साथी, प्रेमील जोडी, नव विवाहिता जोडी र गेट टुगेदरका लागि नयाँ–नयाँ ठाउँ रोजाइमा पर्छ । त्यसै ठाउँमध्येको एक हो– चितवनको मेघौली, गोलाघाट ।

राप्ती र नारायणी नदीको दोभान समेत रहेको गोलाघाट पर्यटकीय हब बन्दैछ । भरतपुरबाट करिव ३२ किलोमिटर पश्चिम चितवनमा रहेको यस ठाउँमा घुम्दा बेग्लै अनुभूति प्राप्त गर्न सकिन्छ । सुन्दर, हरियाली मनोरम दृश्यका साथै सुर्यास्तको दृश्यले यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याउने गरेको छ । त्यसैले साँझपख यहाँ सुर्यास्त हेर्नेहरुको भीड नै लाग्छ ।

नारायणी र राप्ती नदीको सुस्केरी र विभिन्न प्रजातिका चराचुङ्गीको आवाजले वास्तविक प्रकृतिको मज्ज लिन सकिन्छ । राप्तिको पछाडी रहेको चितवन राष्ट्रिय निकुञ्ज भित्र हात्तीमा बसेर अवलोकन गर्दा मन नै फुरूङ्ग बनाउँछ । निकुञ्जमा बाघ, एक सिङ्गे गैंडा, मृग, चितुवा, मयुर, बानर, भालु जस्ता सयौं जनावरलाई सजिलै देख्न सकिन्छ । पानी हाँसले राप्ती नदीमा माछा समाई रहेको दृश्य अनि नदीको किनारमा गोही देख्दा छुट्टै संसारमा पुगेको अनुभव हुन्छ ।

मेघौली, गोलाघाटमा विभिन्न जातजातिका मानिसहरु बसोबास गर्छन् । उनीहरुको रीतिरिवाज र परम्परा पनि त्यहाँको अर्को विशेषता हो । यहाँ बाहुन, क्षेत्री, थारू, तामाङ, मगर, भोटे, कुमाल लगायतका जातजातीको बसोबास रहेको छ । त्यसो त गोलाघाट आउने पाहुनालाई त्यहाँका बासिन्दाले गर्ने स्वागत सत्कारले त पर्यटकको मन जित्छ ।

राप्ती र नारायणीको संगम स्थलमा कोरोना अघि बाह्य पर्यटकको पनि घुइँचो लाग्थ्यो । यद्यपि, कोरोना भाइरससँगैको लकडाउनपछि भने आन्तरिक तथा वाह्य पर्यटकको आवतजावतमा केही कमी आएको छ ।

गोलाघाटको अर्को विशेषता भनेको यहाँको माछा पनि हो । माछाका पारखीहरु नारायणीको ताजा माछाको स्वाद लिन गोलाघाट पुग्छन् । पछिल्लो समय स्तरीय होटल तथा होम स्टे पनि सञ्चालनमा छन् । मेघौलीमा थारु जातीको पुराना संस्कृतीलाई जोगाउने भन्दै संग्रहालय पनि बनाइएको छ । त्यस संग्रहालयमा थारू जातीका पुराना भेषभूषा रहन सहन सजिलै देख्न सकिन्छ । मेघौलीबाट अलिकति पर राप्ति नदीको छेउमा करोडौं लगानीका होटलहरू रहेका छन् । विदेशबाट आउने पर्यटकलाई मध्यनजर गरी त्यहाँ होटल निर्माण गरिएको छ । दुई वर्ष अघि पूर्व राजा ज्ञानेन्द्र शाह पनि मेघौली घुम्न आएका थिए । त्यतिबेला उनी यहीँको होटलमा बसेका थिए ।

पोखराको बाराही होटलले मेघौलीको राप्ति नदी छेउमा होटल बाराही सञ्चालनमा ल्याएको छ । यस्तै, चौधरी ग्रुपले पनि सीजी होटल बनाएको छ । मेघौलीमा घुम्ने र रमाउने उद्देश्यले वर्षभरमा देश भित्र र बाहिरका लाखौ पर्यटक आउँछन् ।

पर्यटकीय सम्भावना हुँदा हुँदै पनि राज्यस्तरबाट भने ध्यान दिएको छैन । पहिलो कुरा त भरतपुरदेखि गोलाघाट पुग्ने सडक गतिलोे नहुँदा धेरै पर्यटक पुग्न सकेका छैनन् । यदि सरकारले यस क्षेत्रमा ध्यान पुर्याउन सक्ने हो भने वर्षमा लाखौं लाख पर्यटकलाई भित्राउन सकिन्छ । अर्को कुरा गोलाघाटमा पिकनिक स्पट बनाएर प्रचार प्रसार गर्न सकेमा पनि यसको आकर्षण अझै बढाउँछ ।

यस्तै मेघौलीमा थारु जातीको विशेष परिकार घोंगी, चिचर लगायतका परिकार पनि पर्यटक तान्ने गतिलो हतियार हुन् । नारायणी र राप्ति नदीको सुन्दर दृश्य हेर्दै आनन्दसँग प्रकृतिको काँखमा लडिबुडी गर्न पाउँदा बेग्लै अनुभुति हुन्छ । गोलाघाटमा हात्ति सफारी पनि रहेको छ । त्यसैले हात्तिमा चढेर जंगल अबलोकन गर्न सकिन्छ । त्यसैले प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण मेघौली गोलाघाट आउने होइन त घुम्न ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली