English

‘हाइक फर साल्मेडाँडा’ (फोटो फिचर)



नेपाली पात्रो अनुसार गत सोमबार न कुनै बिहेको लगन थियो न कुनै विशेष पर्व । तर उक्त दिन स्याङ्जाको मट्टीखान देखि साल्मे डाँडा सेरोफेरो दिनभर पञ्चेबाजासहितको लावालस्कर देखिन्थ्यो । डाँडाको अर्को छेउबाट यो दृश्य नियाल्ने जोकोहीलाई यसले कौतुहलता जगाएको हुनुपर्छ । आखिर आज हो के ? पर्यटनका लागि देशकै अग्रणी सहर पोखराबाट मात्र नौ किलोमिटर दूरीमा रहेको यो सुन्दर गुरुङ बस्तीका बासिन्दा कोभिडसँगै निदाएको पर्यटनलाई ब्युँताउने हुटहुटीसहित पञ्चेबाजाको बिकुल फुकिरहेका थिए । ‘हेर हाम्रो गाउँ पनि कम सुन्दर छैन ।’ जहाँ डाँडाको एक थुम्कोबाट सिङ्गै पोखरा सहर मात्र होइन, माछापुच्छ्रे लगायतका दर्जनौँ हिमाल एकै नजरमा नियाल्न सकिन्थ्यो ।

पहिलो र दोस्रो विश्व युद्धमा ज्यान गुमाएका करिब ६० हजार गोर्खाहरूको सम्झनामा ‘गोर्खा स्मारक पार्क’ समाधिस्थल निर्माण गरिएको छ, –त्यस समाधिस्थल के हो ? भन्ने विषयमा आउने पिँढीले पनि बुझुन् भन्ने उद्देश्यले हाइकको लागि साल्मे डाँडालाई छनोट गरिएको हो ।

यो अवसर ‘हाइक फर साल्मे डाँडा’ले जुराएको थियो । वि विल राइज फाउण्डेसन र पोखरेली मञ्च युकेले गोरखा स्मारक ट्रस्ट र फेदीखोला समाजको सहयोगमा यही फेब्रुअरी २० मा ‘हाइक फर साल्मे डाँडा’ आयोजना गरेको थियो । आन्तरिक पर्यटन प्रवर्द्धन र साल्मेडाँडाको ऐतिहासिक बुझाउने हेतुले उक्त पदयात्रा आयोजना गरिएको वि विल राइज फाउण्डेसनका बेलायत संयोजक मान प्रसाद गुरुङले बताए । ‘पहिलो र दोस्रो विश्व युद्धमा ज्यान गुमाएका करिब ६० हजार गोर्खाहरूको सम्झनामा ‘गोर्खा स्मारक पार्क’ समाधिस्थल निर्माण गरिएको छ, –त्यस समाधिस्थल के हो ? भन्ने विषयमा आउने पिँढीले पनि बुझुन् भन्ने उद्देश्यले हाइकको लागि साल्मे डाँडालाई छनोट गरिएको हो ।’

स्याङ्जाको भालूपहाड देखि मट्टिखान, रामकोट हुँदै साल्मेसम्मको अद्भुत प्राकृतिक दृश्य, संस्कृति, खानपान र न्यानो हार्दिकताले जो कोहीलाई मन्त्रमुग्ध पार्छ । हाइकिङ गर्नुअघि आइतबार स्याङ्जाको पुरानो सदरमुकाम नुवाकोट भालूपहाडस्थित धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको कालभैरवको मन्दिर पुरानो दरबारको भग्नावशेष, अवलोकन गरिएको थियो । नुवाकोट बाइसे चौबिसे राज्यमा विभिन्न जिल्लाको संगम थियो । कालभैरवको मन्दिरमा तत्कालीन राजा रानीले प्रयोग गरेको विभिन्न सामाग्रीहरूको भग्नावशेष अवलोकन गर्न सकिन्छ ।

पदयात्राका सहभागीहरू अघिल्लो दिन नै अयरपानी होमस्टे पुगेर बास बसेका थिए । लामो समय प्रवासमा रहेर फर्किएकाहरू पनि सो जमातमा थिए । त्यहाँको आत्मीयता, होमस्टेमा पाकेको स्थानीय परिकार । आहा ! त्यो स्वाद ! सहभागीहरूको बसाइले होमस्टे सञ्चालकलाई पनि आयआर्जनमा सहयोग पुगेको संयोजक गुरुङले बताए । गाउँको पर्यटन प्रचारकै निम्ति हाइकिङ गरिएको पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले जानकारी दिए ।

पदयात्राको दौरानमा विभिन्न क्रियाकलाप भए, जसले सबैलाई चलायमान बनाएको देखियो । त्यहाँ प्राकृतिक तथा सांस्कृतिक सम्पदा झल्किने चीजहरूलाई संरक्षण गर्नुपर्छ भन्ने कुरा पनि उठ्यो, हामीले साल्मेडाँडा भन्नासाथ धेरै कुरालाई घचघच्याइ रहेको आभास भयो ।

अयरपानी सामुदायिक होमस्टेमा बास बसेर बिहान सुरु भएको पदयात्राका सहभागीहरू रामकोट सामुदायिक होमस्टेमा पुगेर बिहानको खाना खाइ करिब ७ किलो मिटरको यात्रा पश्चात् साल्मेडाँडा पुगेका थिए । पदयात्रीहरूलाई देउराली आमा समूह, अयरपानी आमा समूह, मट्टीखान आमा समूह, रामकोट आमा समूहलगायत हिमशिखर र जेन्टलमेन क्लवले पनि ठाउँ ठाउँमा स्वागत गरेका थिए । साल्मेडाँडा नजिकै रहेको अमोर सेवा नेपाल बालगृहका बालबालिकाहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । पदयात्राले धेरै कुरालाई चलायमान बनाएकोमा संयोजक गुरुङ विश्वस्त सुनिन्छन् । ‘यो पदयात्राको दौरानमा विभिन्न क्रियाकलाप भए, जसले सबैलाई चलायमान बनाएको देखियो ।’ उनी भन्छन् ‘त्यहाँ प्राकृतिक तथा सांस्कृतिक सम्पदा झल्किने चीजहरूलाई संरक्षण गर्नुपर्छ भन्ने कुरा पनि उठ्यो, हामीले साल्मेडाँडा भन्नासाथ धेरै कुरालाई घचघच्याइ रहेको आभास भयो ।’

मट्टिखानको भ्यु टावरबाट सुरु भएको हाइकिङ साल्मेडाँडामा पुगेर औपचारिक कार्यक्रमपछि सकिएको थियो । औपचारिक कार्यक्रममा बेलायतका ब्रेकन सहरका मेयर डेभिड मेरेडिथसमेत सहभागी भएका थिए । लगभग २ सय जना स्थानीय अगुवा, समाजसेवीको सहभागिता रहेको हाइकिङमा पोखराका समाजसेवी, अगुवा, पत्रकार उपस्थित थिए । बेलायतमा बस्ने नेपालीहरूले खोलेका विभिन्न संघसंस्थाका पदाधिकारीको पनि सहभागिता बाक्लो थियो ।

गत वर्ष पनि वि विल राइज फाउण्डेसन नेपाल र पोखरेली मञ्च युकेको संयुक्त आयोजनामा ‘हाइक फर साल्मे डाँडा’ सम्पन्न गरिएको थियो । गत वर्षको तुलनामा स्थानीयको उत्साह, जागरूकता र सहभागिता उल्लेख्य भएको संयोजक गुरुङले बताए । वि विल राइज फाउण्डेसन र पोखरेली मञ्च युकेको सक्रियतामा नेपालको पर्यटन प्रवर्द्धनका लागि हङहङ, बेलायतलगायतका देशमा पनि ‘हाइक फर नेपाल’ अर्थात् नेपालका लागि पदयात्रा आयोजना हुँदै आएको उनले बताए ।

साल्मेडाँडा नै किन ?

ब्रिटिस उपनिवेशको समयमा नेपाल भूमि यातायात र सञ्चारमाध्यमबाट उपेक्षित थियो । हजारौँ गोर्खाहरू युद्धमा मारिँदा धेरैजसोको मरुवा चिठ्ठी नेपालमा पठाउँदा पनि कतिको नाम नमिलेर, कतिको ठेगाना प्रस्ट नभएकाले उनीहरू लडाइँमा मारिए अथवा घाइते भए थाहा हुन सकेन ।

भर्ती हुँदा अर्कै नाम लेखिएको वा नाम नमिलेकाले काजक्रिया हुन सकेन । धार्मिक संस्कार अनुसार उनीहरू स्वर्ग जान नसकेको र काँचो वायुको रूपमा विश्वका विभिन्न युद्ध भूमिहरूमा उनीहरूको प्रेतआत्मा भौँतारिरहेका धार्मिक विश्वास गरिन्छ ।

यही बिन्दुबाट युद्धमा मारिएर पनि सद्गत हुन नपाएका गोर्खा सैनिकहरूको मोक्षको पवित्र उद्देश्यको लागि स्याङ्जाको फेदीखोला, रामकोटको साल्मे डाँडामा गोर्खा स्मारक निर्माणको जग बस्यो । परदेशी भूमिहरूमा मारिएका र बेपत्ता पारिएका वीर गोर्खा सैनिकहरूको सम्झना र सम्मानमा गोर्खा स्मारक स्थल निर्माणको थालनी भयो ।

साल्मे डाँडाको यो स्मारकले केवल भौतिक अर्थ मात्र राख्दैन । यो स्मारकले दुई सय वर्षदेखि अहिलेसम्म जारी गोर्खा सैनिकहरूको इतिहास पनि बताउँछ । गोर्खा सैनिकहरूको संघर्षको कथादेखि दुखका व्यथाहरूको समेत स्मरण गर्छ, यो स्मारकले ।

यहाँ स्मारकसहित गोर्खा म्युजियम, ६३ मिटर अग्लो गोर्खा टावर, जातीय नमुना घरहरूसहित गोर्खा सांस्कृतिक ग्राम, शान्ति बाटिका आदि निर्माण हुदैछन् । तीन वटा डिब्बा रहेको सानो रेलले गोर्खा स्मारक स्थलको परिक्रमा गर्दै भैरवस्थान, नुवाकोट र देउरालीसम्म पुगेर फेरि गोर्खा स्मारकसम्म आउने योजना बनाइएको छ ।

गेसोका संस्थापक अध्यक्ष पदमबहादुर गुरुङ र तत्कालीन महासचिव डा. चन्द्रबहादुर गुरुङको संयुक्त पहलमा प्रारम्भ भएको यो स्मारकमा करिब ५ अर्ब रुपैयाँभन्दा बढीको योजना रहेको छ । पहिलो चरणमा गोर्खा समाधिको निर्माण कार्य भइरहेको छ । नेपालका चर्चित आर्किटेक्ट शंकरनाथ रिमालले स्मारकको डिजाइन गरेका हुन् । २०६८ सालदेखि निर्माण कार्य थालिएको यो स्मारक क्षेत्रले ५३ रोपनी जग्गा ओगटेको छ ।

स्मारकको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको छ । स्मारकको उद्घाटन आगामी २०८० सालसम्ममा गर्ने ट्रस्टको लक्ष्य रहेको छ । गोर्खा भूतपूर्व सैनिक संघको (गेसो)को अगुवाइ र गोरखा स्मारक ट्रस्टको सक्रियतामा स्मारक निर्माण भइरहेको हो । स्थानीय, ब्रिटिस लाहुरे, विभिन्न सामाजिक संघसंस्था र सरकारले समेत यो योजनामा हातेमालो गरेका छन् ।

गुरुयोजना र डिपिआर बनिसकेको यो स्मारक थलोमा अहिले विभिन्न संरचनाको काम भइरहेको छ । यो स्मारक थलोलाई चिनाउनका लागि ‘हाइक फर साल्मे डाँडा’ समेत आयोजना गरिएको हो । वि विल राइज फाउण्डेसन नेपाल र पोखरेली मञ्च युकेको संयुक्त आयोजनामा २०७९ फागुन ८ गते उक्त पदयात्रा सम्पन्न भएको हो । गोर्खा स्मारक निर्माण सकिएसँगै यो थलो वीर गोर्खाका लागि पवित्र स्थल र पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने छ ।

तस्बिरहरु : विकास रौनियार/राइज मिडिया

यो पनि…
साल्मेले देखाएको पर्यटकीय सम्भावना
साल्मेलाई सम्झेर !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

Latest










Popular
Suggested