English

पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद



दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लु नगरपालिका ६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर खड्कालाई थापा हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । 

जिल्ला अदालतका श्रेस्तेदार (उपसचिव) इन्द्रबहादुर कार्कीले थापा हत्याका मुख्य कसुरदार तीन जनालाई २० वर्ष र शव गाड्न सहयोग गर्ने कोहलपुर नगरपालिका–३ निवासी भक्तिराम लामिछानेलाई तीन वर्ष कैद तोकिएको जानकारी दिए । प्रहरीले हत्यामा संलग्न नौमध्ये पाँच जनालाई २०६९ पुस २० गते पक्राउ गरी डेकेन्द्र थापा मुद्दाको अनुसन्धान अघि बढाएको थियो । तीमध्ये अरुण भनिने बमबहादुर खड्का, मुक्ति भनिने बमबहादुर खड्का, केशव खड्का र भक्तिराम लामिछाने फरार थिए । 

कैलाली प्रहरीले दुई वर्षअघि अरुणलाई पक्राउ गरी दैलेख प्रहरीलाई बुझाएपछि आठ वर्षदेखि मुल्तबीमा रहेको यो मुद्दा किनारा लागेको हो । कसुरदारलाई सजायको मागदाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता रुकमेदा पोखरेल तथा प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू शालिकराम सापकोटा, छवि सुवेदी र सर्वराज जोशीले बहस गरेका थिए ।

तत्कालीन माओवादी कार्यकर्ताले रेडियो नेपालका स्थानीय संवाददाता थापालाई २०६१ साउन २७ गते दैलेखको उत्तर पूर्वी क्षेत्र नौमूलेको द्वारीमा कुटपिट गरी हत्या गरेका थिए । हत्यापछि शव लुकाइएको थियो । शान्ति प्रक्रियापछि नेपाल पत्रकार महासङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा थापाको कङ्काल उत्खनन गरी डिएनए परीक्षण गरिएको थियो । निर्दोष पतिको हत्यामा संलग्नलाई कानूनी कारबाहीको माग गर्दै डेकेन्द्र पत्नी लक्ष्मी थापाले २०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा किटानी जाहेरी दिएका थिए।
 
उक्त जाहेरीका आधारमा प्रहरीले पाँच जनालाई पक्राउ गरी मुद्दा अघि बढाएको थियो । जिल्ला अदालतले २०७१ मङ्सिर २१ गते हत्यामा संलग्न नौमध्ये निरकबहादुर घर्ती, हरिलाल पुन, जयबहादुर शाही, लक्ष्मीराम घर्ती मगर र वीरबहादुर केसीलाई कैद सजाय सुनाउनुका साथै फरार अभियुक्तका हकमा यो मुद्दा मुल्तबी राखिएको थियो ।

यो पनि…
समाजको हिरासतमा रहेको एउटा भव्य घरको कथा

कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (नामावलीसहित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested