English

‘लेहंगा र साडी डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन’



नेपाली फेसन बजारको चर्चित नाम हो– तृष्णा गुरुङ । विगत १२ वर्ष यता फेसन डिजाइनिङ क्षेत्रमा सक्रिय रहेकी गुरुङ क्रियटिभ डिजाइनरको रुपमा चिनिन्छिन् । उनी यतिबेला युवापुस्ताको रोजाइमा पर्ने फेशन डिजाइनर हुन् । नेपाली फेसन बजारमा टीजी क्लोथिङ ब्राण्ड ल्याउने तयारीमा रहेकी गुरुङसँग मेरोलाइफस्टाइलकर्मी सुमित्रा लुईंटेलले गरेको कुराकानी :

नेपालमा फेसनको अवस्था कस्तो छ ?

नेपालमा डिजाइन गरिएको कपडा लगाउने चलन भित्रिएको लामोसमय भएको छैन । तर, छोटो समयमै धेरै लोकप्रियता पाएको छ । अहिले फेसन डिजाइनरहरुको लागि पनि धेरै अवसरहरु सिर्जना भएका छन् । नेपाली डिजाइनरले डिजाइन गरेका कपडाहरुले विदेशी बजारमा समेत लोकप्रिय हुँदै गएका छन् । त्यसैले नेपालको फेसन बजार राम्रो छ ।

नेपालीहरु फेसनप्रति कत्तिको सचेत छन् ?

केही समय अघि सम्म नेपालीहरुमा फेसन सम्बन्धि ज्ञान त्यति धेरै थिएन । तर, अहिले नेपालीहरु एकदमै फेसन कन्सस भएका छन् । त्यसमा पनि यूवापुस्ता अझै धेरै छन् । जसले नेपाली फेसन बजारलाई उकालो लगाउन सहयोग गरेको छ ।

तपाईंलाई चाहिँ फेसन डिजाइनप्रतिको रुची कसरी बढ्यो ?

सानै उमेरदेखि मलाई फेसन डिजाइन प्रति रूची थियो । चलचित्र तथा म्युजिक भिडियो हेर्दा त्यसको कथावस्तु भन्दा पनि मोडल तथा नायक नायिकाको कपडातिर मेरो ध्यान बढी जान्थ्यो । तर, त्यतिबेला फेसन डिजाइन सम्बन्धि उचित ज्ञान थिएन । ९ कक्षामा पढ्दा एकजना साथीमार्फत यस विषयको केही जानकारी पाएँ । साथै, मेरी आमाले पनि यो क्षेत्रमा लाग्न प्रेरणा र हौसला दिनुभयो । यस्तै, प्रेरणाको अर्को स्रोत नेपालका चर्चित फेसन डिजाइनर प्रबल गुरुङ पनि हुनुहुन्छ । उहाँ नै मेरो आइडल हो ।

फेसन डिजाइनिङ कहाँ पढ्नु भयो ?

फेसन डिजाइन प्रति सानैदेखि रूची भएकाले गर्दा मैले बागबजारस्थित आइइसी फेशन हाउसबाट फेसन डिजाइन कोर्समा डिप्लोमा गरेको हुँ । पढी सकेपछि धेरै कुरा थाहा भयो । राम्रो लुगा लगाउनु मात्र फेसन होइन, यसभित्र धेरै कुराहरु समावेश भएको हुन्छ भन्ने कुरा पढेर र काम गर्दै गएपछि थाहा भयो ।

नेपालमा फेसन डिजाइनिङ पढ्न कत्तिको सहज छ ?

केही वर्ष अघि सम्म फेसन डिजाइनिङ धनी व्यक्तिहरुले मात्र पढ्न सक्छन् भन्ने सोचाई थियो । तर, अहिले सामान्य परिवारका मानिसहरुले पनि यो विषयमा अध्ययन गर्न थालेका छन् । त्यसैले हाल नेपालमा फेसन डिजाइनिङ पढ्नेहरुको संख्या बढेको छ ।

पढेर फेसन डिजाइन गर्नु र सिकेर गर्नुमा के फरक छ ?

पढेर फेसन डिजाइन गर्नु र सिकेर गर्नुमा धेरै फरक छ । लेहंगा र साडी डिजाइन गर्नु मात्र फेसन डिजाइन होइन । साथै, यी दुई कुरा डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन भन्ने कुरा पनि बुझ्नुपर्छ । नेपालमा अहिले फेसन डिजाइन पढेर दक्ष भएकाहरु लगानी नभएर बेरोजगार छन् । यस्तो अवस्थामा फेसन डिजाइन सम्बन्धि ज्ञान नभएको तर बुटिकमा लगानी गर्न खोज्नेहरुले फेसन डिजाइनर राखेर बुटिक सञ्चालन गरिरहेका छन् ।

तपाईंले नेपाली सेलिब्रिटी क–कसको फेसन डिजाइन गर्नुभएको छ ?

पुरानोदेखि नयाँ पुस्तासम्म अधिकांश सेलिब्रिटीहरुको फेसन डिजाइन गरिसकेको छु । जसमध्ये राजेश हमाल, पल शाह, नाजिर हुसेन, पूजा शर्मा, वर्षा राउत, साम्राज्ञी राज्य लक्ष्मी शाह, सुगारिका केसी, उषा केसी लगायतले मैले डिजाइन गरेका कपडा लगाउनुभएको छ ।

तपाईको नयाँ प्रोजेक्ट टीजी ब्राण्डको बारेमा पनि प्रस्ट पार्दिनुस् न ?

यो नेपाली ब्रान्ड हो । टीजी ब्राण्डको उद्देश्य अफिसियल्ली ड्रेस लगायत क्याजुअल ड्रेसहरु तयार गर्ने र नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नु हो । नेपालमा पनि अन्तर्राष्ट्रिय ब्राण्डका कपडा तयार गर्न सकिन्छ भन्ने सोचले टीजी ब्राण्ड सुरु गरेका हौँ । लकडाउनले गर्दा यसको काम रोकिएको थियो । तर, अब छिट्टै बजारमा ल्याउने तयारीमा छौँ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली