‘कोरोनापछि देखिने समस्यालाई प्राकृतिक चिकित्साले नै ठीक पार्छ’



आज योग तथा प्राकृतिक चिकित्सा दिवस । कोभिड पछिको समस्या प्राकृतिक चिकित्सा भन्ने नाराका साथ यो दिवस मनाइयो । पछिल्लो समय प्राकृतिक चिकित्साको बारेमा थुप्रै चर्चा हुने गर्छ । साथै, यसबारे भ्रम पनि व्याप्त छन् ।

त्यसो त प्राकृतिक चिकित्साको महत्व के छ ? नेपालमा यसको अवस्था कस्तो छ ? लगायतका विषयमा योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष डा. जनकबहादुर बस्नेतसँग मेरोलाइफस्टाइलकर्मी सुमित्रा लुईंटेलले गरेको कुराकानी :

के हो प्राकृतिक चिकित्सा ?

योग तथा प्राकृतिक चिकित्सा भनेको बिना औषधि उपचार गरिने चिकित्सा पद्धति हो । यसमा औषधि र अपरेसन बिना नै उपचार गरिन्छ । यस पद्धतिबाट उपचार गर्दा कुनै किसिमको साइड इफेक्ट हुँदैन ।

योग तथा प्राकृतिक चिकित्सा प्राचीन कालमा हिमवत खण्डका ऋषिमुनिहरुको अथक साधनाबाट विकास भएको हो । यस पद्धतिमा विशेषतः जल, तेज, वायु, आकाश र पृथ्वी अर्थात प्राकृतिक पञ्चतत्वको प्रयोग गरेर उपचार गरिन्छ ।

नेपालमा प्राकृतिक चिकित्साकोे अवस्था कस्तो छ ?

अहिले योग तथा प्राकृतिक चिकित्सा स्वास्थ्य मन्त्रालय अन्तरर्गत हुँदाहुँदै पनि यसलाई योग तथा आयुर्वेदिक विभाग भित्र वैकल्पिक चिकित्सा शाखामा सिमित गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखामा प्राकृतिक चिकित्सालाई राखिएको हुँदा यस पद्धतिको जति व्यापक प्रचारप्रसार हुनुपर्ने थियो त्यति हुन सकेको छैन ।

सरकारले पनि यसका लागि जति पहल गर्नुपर्ने हो त्यति गर्न सकेको छैन । यो वर्षको बजेटमा भने सातै प्रदेशमा एउटा प्राकृतिक शिक्षालय खोल्ने उल्लेख गरिएको छ । सेवाको क्षेत्रमा हेर्दा सामुदायिक तथा निजी अस्पतालहरुमा यसको प्रभावकारिता देखिएको छ ।

कोरोना महामारीको बेला प्राकृतिक चिकित्सा जति अघि आउनुपर्थ्यो त्यति नआएको जस्तो देखिन्छ । किन यस्तो भयो ?

कोरोना माहामारीको समयमा प्राकृतिक चिकित्सा पछि परेको होइन । पहिले प्राकृतिक चिकित्सा विधिलाई नसर्ने रोगहरुमा मात्र लागू हुन्छ भनिन्थ्यो । जब कोरोना महामारी फैलियो यसको कुनैपनि औषधी र खोपको निर्माण नभएको बेला एउटा मात्र विकल्प शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुपर्ने थियो ।

रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि योग तथा प्रकृतिक चिकित्सा नै सबैभन्दा प्रभावकारी छ भन्ने कुरा झन् प्रस्ट रुपले बाहिर आयो । तर, सरकारी स्तरबाट नै यसलाई प्राथमिकता दिएर लागू नगरिएको भएर कोरोनाको समयमा पछि परेको देखिएको मात्र हो । सरकारसँग भएको बजेट, स्रोत साधनको प्रयोग गरेर हामीलाई सहयोग र हौसला प्राप्त भएको भए पक्कै पनि यो पछि पर्ने थिएन ।

प्राकृतिक चिकित्साबारे सामाजिक सञ्जालमा भ्रम व्याप्त छन् । यस्ता कुराबाट आममानिस कसरी जोगिन सक्छन् ?

अहिले योग तथा प्राकृतिक चिकित्सामा यदाकदा केही विकृतिहरु समेत देखिएका छन् । ती विकृतिको पहिचान र समाधानमा समेत राज्यको ध्यान जान सकेको छैन । यसकारण योग तथा प्राकृतिक चिकित्सा विधिबाट उपचार गर्ने विरामीहरुले पनि सर्वप्रथम आधिकारिक योग तथा प्राकृतिक चिकित्सा विधि अपनाएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी हुन् भन्ने यकिन गरेर मात्र उपचार गराउनुपर्ने जरुरी छ । यसबारे जनचेतना फैलाउने र विकृति फैलाउनेलाई कारवाही गरेको खण्डमा विकृतिबाट बच्न सकिन्छ ।

प्राकृतिक चिकित्साबाट कस्तो–कस्तो रोगको उपचार हुन्छ ?

हाम्रो स्वस्थ जीवनशैलीले रोगसँग लड्न सक्ने क्षमता वृद्धि गर्छ । प्राकृतिक चिकित्सा विधिबाट नसर्ने रोगहरु मात्र होइन कोरोना भाइरस जस्तो सरुवा रोगसँग लड्न समेत मद्धत गर्छ । विशेषगरी नसर्ने रोगहरु जस्तैः बाथ, दम, मोटोपन, नसा सम्बन्धि समस्या निदान गर्न एवं रोकथाम गर्न योग तथा प्राकृतिक चिकित्साले विशेष भूमिका निर्वाह गरेको छ ।

यसकारण विभिन्न सरकारी एवं निजी अस्पताल, स्वास्थ्यचौकी एवं आधारभूत स्वास्थ्य केन्द्र सबैमा एकिकृत मान्यता सहित अबका दिनमा विशेष सचेतना एवं प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाउन जरुरी देखिएको छ ।

पोस्ट कोभिड सिम्पटम्सलाई प्राकृतिक चिकित्साबाट कसरी निको पार्न सकिन्छ ?

‘कोभिड पछिको समस्या प्राकृतिक चिकित्सा’ भन्ने मुल नाराको साथ यो वर्षको प्राकृतिक चिकित्सा दिवस मनाइएको छ । पोस्ट कोभिड सिम्पटम्स किन आयो भन्ने कुरा थाहा पाउन सक्यो भने प्राकृतिक चिकित्साले कसरी यसमा काम गर्छ भन्ने कुरा थाहा पाउन सक्छौँ ।

भाइरल इन्फेक्सन हुँदा शरीरको विभिन्न अंगहरुमा क्षती पुगेको हुन्छ । कोरोना संक्रमण निको भइसकेको अवस्थामा पनि शरीरको अंगमा पुगेका क्षती निको हुन समय लाग्न सक्छ । लामो समय अस्पताल बस्दा शरीरका मांसापेशीहरु कमजोर भएको हुन्छ यो विभिन्न अध्ययनले नै बताएको छ । यस्तो समस्या निको हुन समय लाग्न सक्छ । यस्तो समस्याहरुलाई औषधिले भन्दा प्राकृतिक चिकित्साले निको पार्न सक्दछ ।

त्यसैले कोरोना भएका मानिसहरुले संक्रमण मुक्त भइसकेपछि बेवास्ता गर्नुहुँदैन । पोष्ट कोभिड सिम्पटम्स नदेखियोस् भन्नका लागि स्वस्थ जीवनशैली अपनाउनुपर्छ । कोरोना संक्रमण निको भएर अस्पतालबाट घर फर्केका व्यक्तिले नियमित श्वासप्रश्वास सम्बन्धि व्यायामहरु गर्नुपर्छ । कोरोना संक्रमणमुक्त भएका बिरामीहरुको माशंपेशीहरु एकदम कमजोर भएको हुन्छ ।

त्यस्ता बिरामीहरुले फिजियोथेरापी गर्नु पर्छ । साथै, हिँडडुल गर्दा थाकियो भने हिँड्न छाड्नु हुँदैन । बिस्तारै हिँड्ने व्यायाम गर्ने गर्नुपर्छ । त्यसैगरी, प्रशस्त पानी पिउने, हरियो सागपात, फलफुल, गेडागुडी लगायतका रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खानुपर्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धेरै मानिसहरुलाई यौन दुर्बलताका कारण तनाव सिर्जना भइरहेको हुन्छ । यौन दुर्बलताका विभिन्न कारणहरु हुन्छन् । त्यसैमध्येको एक हो– खानपानमा

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गर्यो । संसद्मा विश्वासको मत माग्ने

गायिका सुनिता दुलालको स्वरमा सजिएको ‘परदेशी छोरी’ बोलको तीज गीत सार्वजनिक भएको छ । ज्योति गुरुङको शब्द रहेको उक्त गीत

हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष ‘बाघको अस्तित्व ः मानवको दायित्व’