‘रोड टु एभरेस्ट’ डकुमेन्ट्री जहा हजारौँ अनुभूति र सगरमाथालाई नजिकबाट महसुस गर्ने अविस्मरणीय अवसर पाए ।
सगरमाथा केवल हिमाल होइन, नेपालको पहिचान, साहस र गौरवको शिखर हो ।
संसारको सर्वोच्च शिखर सगरमाथा । नाम सुन्नासाथ नेपालीको शिर गर्वले उँचो हुन्छ। तर के हामीले साँच्चिकै सगरमाथालाई बुझेका छौँ । के हामीले यसको वास्तविकता, यसको सुन्दरता, त्यहाँ पुग्नुपर्ने संघर्ष, जोखिम र मानवीय संवेदनालाई महसुस गरेका छौँ?
हालै सगरमाथासम्बन्धी एउटा विशेष डकुमेन्ट्री हेर्ने अवसर पाएँ। रोड टु एभरेस्ट डकुमेन्ट्री हेरिरहँदा म केवल पर्दामा देखिएका दृश्यहरू हेरिरहेकी थिइनँ, बरु आफू नै सगरमाथाको यात्रामा निस्किएको अनुभूति गरिरहेकी थिएँ। एकछिन पनि आँखा झिमिक्क नगरी हेरिरहेँ। अब के हुन्छ । अर्को पाइला कहाँ पुग्छ । अगाडि कस्तो चुनौती आउँछ । भन्ने जिज्ञासाले मलाई अन्तिमसम्म बाँधिरह्यो।
सगरमाथा चढ्नु भनेको केवल एउटा हिमालको चुचुरोमा पुग्नु होइन रहेछ। यो त हरेक पाइलामा मृत्यु र जीवनबीचको संघर्ष, आत्मविश्वास, धैर्य, साहस र देशको पहिचान बोकेर अगाडि बढ्ने एउटा असाधारण यात्रा रहेछ।

बेस क्याम्पदेखि क्याम्प १, २, ३ हुँदै क्याम्प ४ र अन्ततः सर्वोच्च शिखरतर्फ अघि बढ्ने पर्वतारोहीहरूको यात्रा हेर्दा साँच्चिकै मन चसक्क हुन्छ। चारैतिर हिउँ, विशाल हिमपहिरोको जोखिम, हिउँका चिरा, बरफका अग्ला संरचना, कठोर चिसो र अनिश्चित मौसम। कुन क्षण के हुन्छ भन्ने कसैलाई थाहा हुँदैन। तर पनि उनीहरूको मनमा एउटै दृढ संकल्प हुन्छ । म सगरमाथा पुग्छु, आफ्नो सपना पूरा गर्छु र आफ्नो देशको नाम संसारभर चिनाउँछु।
रङ्गीचङ्गी टेन्टहरूले सजिएको आधार शिविर, बादलमाथि देखिने हिमाली दृश्य, आकाश छुने हिमशिखर र बरफभित्रबाट बग्ने पानीका दृश्यहरू अत्यन्तै आकर्षक छन्। तर ती सुन्दर दृश्यभित्र लुकेको संघर्ष झन् गहिरो छ।

त्यहाँ पर्वतारोहीहरूको अनुहारमा चिसोले पारेको असर, फुटेका ओठ, घाउ भएका छाला, थकित शरीर र अक्सिजनको अभावसँग जुधिरहेका दृश्यहरूले मलाई निकै भावुक बनायो। अझ सगरमाथाको कठिन यात्रामा ज्यान गुमाएका पर्वतारोहीहरूको अवस्था देख्दा मन अत्यन्तै भारी भयो। त्यहाँ देखिएको एक विदेशी पर्वतारोहीको शवले जीवनको मूल्य र सगरमाथा आरोहणको वास्तविक जोखिमलाई झन् नजिकबाट बुझायो।
हामी टाढाबाट सगरमाथाको सुन्दर तस्बिर हेर्छौँ, यसको नाममा व्यवसाय गर्छौँ, होटल, बैंक र विभिन्न संस्थाहरूको नाम राख्छौँ। तर सगरमाथाको वास्तविक कथा, त्यहाँ पुग्नुपर्ने संघर्ष र यसले बोकेको मानवीय संवेदनालाई कति नेपालीले नजिकबाट बुझेका छौँ?
यो डकुमेन्ट्रीले मलाई यही प्रश्न गर्न बाध्य बनायो।

सगरमाथा केवल नेपालको भौगोलिक सम्पत्ति होइन, यो हाम्रो राष्ट्रिय पहिचान, अन्तर्राष्ट्रिय प्रतिष्ठा र भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमूल्य प्राकृतिक सम्पदा हो।
यस डकुमेन्ट्रीको अर्को अत्यन्तै महत्त्वपूर्ण पक्ष जलवायु परिवर्तन हो। पहिले हिउँले ढाकिएका हिमाली क्षेत्रहरूमा अहिले हिउँ पग्लिँदै गएको, चट्टान र पहाडका सतहहरू देखिन थालेको दृश्यले गम्भीर चिन्ता पैदा गर्छ।
हिमालको हिउँ केवल सगरमाथाको सुन्दरता होइन। यही हिउँ र हिमनदीबाट उत्पन्न हुने पानी नेपालका नदीहरू हुँदै दक्षिण एसियाका करोडौँ मानिसहरूको जीवनसँग जोडिएको छ। हिमालमा आएको परिवर्तनको असर पानी, कृषि, जैविक विविधता, पर्यटन, अर्थतन्त्र र मानव जीवनसम्म पुग्छ।
आज जलवायु परिवर्तनको असर नेपालजस्ता हिमाली राष्ट्रहरूले गम्भीर रूपमा भोगिरहेका छन्। त्यसैले सगरमाथाको संरक्षण नेपालको मात्र विषय होइन, यो अन्तर्राष्ट्रिय जिम्मेवारी पनि हो। विकसित राष्ट्रहरूको उत्सर्जन, जलवायु न्याय, हिमाली संरक्षण र प्रभावित समुदायको भविष्यबारे विश्वस्तरमा गम्भीर बहस र ठोस कार्य आवश्यक छ।
यो डकुमेन्ट्रीले सगरमाथाको सुन्दरता मात्र देखाएको छैन, यसले हामीलाई एउटा गम्भीर प्रश्न पनि दिएको छ।हामीले हाम्रो हिमाललाई कसरी जोगाउने।
म व्यक्तिगत रूपमा चिसो र धुलोबाट बच्नुपर्ने शारीरिक संवेदनशीलताका कारण सगरमाथाको चुचुरोमा पुग्ने कल्पना गर्न सक्दिनँ। तर यो डकुमेन्ट्री हेर्दा म आफैँ त्यहाँ पुगेर फर्किएजस्तो महसुस भयो। पर्दामा देखिएका हरेक दृश्यले मलाई सगरमाथाको नजिक पुर्यायो। यही नै यस डकुमेन्ट्रीको सबैभन्दा ठूलो सफलता हो भन्ने लाग्छ।

म आयोजक तथा निर्माण टोलीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। नेपालीले नेपाली भूमिको गौरवलाई यति यथार्थपरक र प्रभावकारी ढङ्गले प्रस्तुत गरेको देख्दा गर्व लाग्यो। विशेषगरी यसमा संलग्न सम्पूर्ण पात्र, पर्वतारोही र निर्माण टोलीको मेहनत प्रशंसनीय छ। मुख्य भूमिका निर्वाह गर्नुभएका निर्मल श्रेष्ठ, फुर्बा तेन्जिङ शेर्पा, ङिमा ग्याल्जेन शेर्पा राज गुरुङलगायत यस यात्रासँग जोडिएका सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु।
मेरो आयोजक टोलीलाई विशेष अनुरोध छ । यो डकुमेन्ट्री नेपालका विभिन्न जिल्ला, विद्यालय, विश्वविद्यालय, संसद्, सरकारी निकाय र समुदायसम्म पुर्याउनुहोस्। साथै भारत, चीन, युरोप, अमेरिका, एसियालगायत विश्वका विभिन्न देशमा यसको प्रदर्शनलाई निरन्तरता दिनुहोस्। सगरमाथाको वास्तविक कथा विश्वका नागरिकले हेर्न र बुझ्न पाउनुपर्छ।
म यो डकुमेन्ट्रीको प्रचारप्रसार र अन्तर्राष्ट्रिय पहुँच विस्तारका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।अन्त्यमा , सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउनुभएका सम्पूर्ण पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँहरूका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। उहाँहरूको आत्माले शान्ति पाओस्।
सगरमाथाको चुचुरोमा पुगेर नेपालको झण्डा फहराउन सफल हुनुभएका नेपाली तथा विदेशी सबै पर्वतारोहीहरूप्रति उच्च सम्मान र माया व्यक्त गर्दछु। प्रयास गर्दा शिखरसम्म पुग्न नसकेर फर्किनुभएका सबै साहसी पर्वतारोहीहरूको हिम्मत र संघर्षलाई पनि उत्तिकै सम्मान गर्दछु।
हामी सबैले सगरमाथा चढ्न सक्दैनौँ, तर सगरमाथालाई माया गर्न सक्छौँ। हामी सबै चुचुरोमा पुग्न सक्दैनौँ, तर यसको संरक्षणका लागि आवाज उठाउन सक्छौँ।

सगरमाथा हाम्रो गौरव हो, हाम्रो पहिचान हो र हाम्रो भावी पुस्ताको सम्पत्ति हो। यसको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
मेरो सबै नेपाली दिदीबहिनी, दाजुभाइ, युवा पुस्ता, विद्यार्थी, नीति निर्माता र अन्तर्राष्ट्रिय समुदायलाई आग्रह छ ।समय निकालेर यो डकुमेन्ट्री अवश्य हेर्नुहोस्। सगरमाथालाई तस्बिरमा मात्र होइन, यसको वास्तविक संघर्ष, सौन्दर्य र संवेदनामा महसुस गर्नुहोस्।
सगरमाथा साँच्चिकै सगरमाथा नै रहेछ ।
धन्यवाद सगरमाथाको कथा संसारसामु पुर्याउने सम्पूर्ण टोलीलाई।
लेखिका:
साजिदा खातुन सिद्धिकी
सांसद, संघीय सांसद, नेपाल ।










Baron Farley
Xin Lộc Làm Ăn - Phát Tài Phát Lộc Không Lo Ế https://chuasen.site