रेड डेविल्सको नयाँ उचाइ : नेपाली समर्थकले सगरमाथामा फहराए म्यानचेस्टर युनाइटेडको झण्डा
म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका थिए । हङकङमा रहेका म्यानचेस्टर समर्थकहरूलाई एकत्रित गर्दै झण्डामा हस्ताक्षर गराएर त्यसलाई सगरमाथाको शिखरसम्म लैजाने अभियानको नेतृत्व गरेका थिए राजले ।
यस उपलब्धिपछि म्यानचेस्टर युनाइटेडले आफ्नो आधिकारिक इन्स्टाग्राम पेजमा यसलाई पोस्ट गर्दै राज गुरुङलाई बधाई दिएको छ । क्लबले “Raj Gurung raises United flag at the summit of Mount Everest” भन्दै लेखिएको पोस्टमा अहिलेसम्म ३ लाख ६६ हजारभन्दा बढीले लाइक गरेका छन् । हजारौं समर्थकहरूले कमेन्टमार्फत शुभकामना र बधाई दिएका छन् । राज गुरुङले यो उपलब्धिले विश्वभरका रेड्सलाई एक बनाउने मात्र होइन, म्यानचेस्टर युनाइटेडको जोश र गौरवलाई संसारकै सर्वोच्च स्थानमा पु¥याएको क्लबले बताएकाे छ ।

दुई अनुभवी शेर्पा मार्गदर्शकहरू फुर्बा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पाको सहयोगमा गरिएको यो अभियान कठिन यात्रापछि सम्भव भएको हो ।
८,८४८ मिटर अग्लो शिखरमा फहराइएको यो झण्डाले विश्वभर रहेका म्यानचेस्टर युनाइटेड समर्थकहरूको एकता र जोशलाई प्रतिनिधित्व गरेको छ। क्लबलाई मात्र इन्स्टाग्राममा पछ्याउने ६४.७ मिलियनभन्दा बढी फ्यानका लागि यो गौरवको क्षण भएको म्यान्चेष्टर युनाइटेड क्लबले बताएको छ ।

इंग्ल्यान्डको म्यानचेस्टर शहरमा अवस्थित यो क्लब फुटबल इतिहासकै सबैभन्दा सफल र लोकप्रिय क्लबमध्ये एक मानिन्छ। “रेड डेविल्स“ का नामले चिनिने युनाइटेडले २० पटक इंग्लिश लिग उपाधि जितिसकेको छ र विश्वभर करोडौं समर्थकहरूलाई आकर्षित गर्न सफल भएको छ।










