सुदूर पूर्वी प्रवासी नेपाली संघ हङकङद्वारा तेक्वान्दो ९ डानधारी तुलसी गुरुङ तथा सगरमाथा आरोहीहरू राज र एञ्जिला सम्मानित
सुदूर पूर्वी प्रवासी नेपाली संघ, हङकङले तेक्वान्दो खेलमा नवौं डान हासिल गर्न सफल तुलसी गुरुङ र हालै सगरमाथा आरोहणमा सफलता प्राप्त गरेका राज गुरुङ तथा एन्जिला राईलाई विशेष सम्मान प्रदान गरेको छ ।
आइतबार आयोजित कार्यक्रममा प्रवासी नेपाली समुदायका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, खेलप्रेमी, आरोहणप्रति चासो राख्ने व्यक्ति तथा स्थानीय नेपालीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरूले तेक्वान्दो तथा हिमाल आरोहण जस्ता साहसिक क्षेत्रमार्फत नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा र्पुयाएकोमा सम्मानित व्यक्तित्वहरूको योगदानको खुलेर प्रशंसा गरे । उनीहरूले यस्ता प्रेरणादायी कार्यहरूलाई संस्थागत रूपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए ।

संघकी अध्यक्ष कल्पना राईले सम्मानित तीनैजनाको योगदान प्रवासी नेपाली समुदायको गौरव भएको बताउँदै आगामी दिनमा पनि यस्ता प्रेरणादायी व्यक्तित्वहरूलाई सम्मानित गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन । सम्मानित व्यक्तिहरूले यो सम्मान आफूहरूका लागि गौरवको विषय भएको भन्दै अझ ऊर्जा, उत्साह र जिम्मेवारीका साथ अघि बढ्ने विश्वास दिलाए । जोर्डनस्थित जी–५० रेष्टुराँमा आयोजित कार्यक्रमको सञ्चालन हेमराज राईले गरेका थिए ।
तस्बिर : जगत अम्बु गुरुङ/एचकेनेपाल डट कम













