फुटबलर राजुकाजी शाक्यको सम्मानार्थ उनको तस्बिर सगरमाथाको चुचुरोमा
आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा फहराएका छन् । फुटबल खेलमार्फत मुलुकलाई अतुलनीय योगदान दिए बापत उनको सम्मानार्थ तस्बिर विश्वकै अग्लो शिखर सगरमाथामा पुर्याइएको हो । आरोहीद्वयले आइतबार बिहान १० बजे सगरमाथाको सफल आरोहण गरेका हुन् । दोलखा रोल्वालिङका किर्तिमानी आरोही फुर्वाको यो १७ औं सगरमाथा आरोहण हो । स्याङजाका स्थायी बासिन्दा राज सगरमाथा आरोहण गर्ने पहिलो हङकङेली नेपाली बनेका छन् ।

तस्बिर : निमा ग्याल्जेन शेर्पा

शाक्यले खेलाडीको रुपमा मात्र नेपाली राष्ट्रिय फुटबल टोलिमा १७ वर्ष लामो जिवन बिताएका छन् । उनी नेपालका एक मात्र यस्ता ब्यक्तित्व हुन् जसले नेपालको राष्ट्रिय खेलाडी,कप्तान र प्रशिक्षक गरी तीनवटै भुमिका निर्वाह गरेका छन् । खेलाडीका रुपमा सन् १९८४ मा तत्कालिन प्रथम दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको साग र छैटौं साफ (१९९३) मा स्वर्ण पदक जितेका शाक्यले २०१६ मा १२ औं सागमा प्रशिक्षकका रुपमा स्वर्ण पदक जितेका थिए ।

शाक्यले सन् १९७५ देखि व्यावसायिक फुटबल खेल्न थालेका थिए । उनको १९८१ देखि १९९७ सम्मको अन्तर्राष्ट्रिय करियरमा उनले उनले १९८१ (१९९७ सम्म कप्तानको रूपमा खेले। उनले बंगलादेशको लिगमा पनि व्यावसायिक फुटबल खेलेका छन् ।
शाक्यले सन् १९८७ मा सोभियत संघ र १९८७ मा पूर्वी जर्मनी र १९८९ मा पश्चिम जर्मनीविरुद्ध तीनवटा उल्लेखनीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली टिमको नेतृत्व गरेका थिए ।
फुटबलमै आफ्नो जिवन व्यतित गरेका शाक्यलाई राज्य र फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने उनको योगदानको कदर गर्न सकेको छैन् ।

