English

नेपालले अब बाघको संख्या बढाउनभन्दा पनि व्यवस्थापनमा जोड दिने



आज अन्तर्राष्ट्रिय बाघ दिवस । यसवर्षको यो दिवसको नारा ‘मानव-बाघ सहअस्तित्व’ रहेको छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपालमा पनि २९ जुलाइको दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने गरिन्छ ।

सन् २०२२ भित्र बाघको संख्या दोब्बर पुर्याउने प्रतिबद्धता नेपालले सन् २०१० मा जनाएको थियो । त्यति बेला नेपालमा १ सय २१ बाघ थिए । सन् २०२२ मा गरिएको गणनाअनुसार नेपालमा ३ सय ५५ बाघ पाइएका छन् । बिरालो प्रजातिमा संसारकै दुर्लभ मानिने बाघ संरक्षणमा नेपालले पछिल्लो १२ वर्षमा हासिल गरेको यो उत्साहजनक उपलब्धि देखेर डब्लूडब्लूएफ नेपाल फुरुङ्ग छ ।

डा. घनश्याम गुरुङ
राष्ट्रिय प्रतिनिधि, डब्लूडब्लूएफ नेपाल

अबको लक्ष्य भनेको बाघको संख्या बढाउनेभन्दा पनि भएका बाघको संरक्षणका लागि उनीहरूको वासस्थान जोगाउनतिर हाम्रो ध्यान केन्द्रित हुनेछ ।

‘नेपालको बाघ संरक्षणमा सरकार,राजनीतिक दल,नेपाली सेना,नेपाल प्रहरीदेखि स्थानीय बासिन्दा हुँदै हामीजस्तो अन्तर्राष्ट्रिय संस्थाहरूको सामूहिक प्रयास र लक्ष्यप्रतिको प्रतिबद्धता कारण हामीले बाघको संख्या लक्ष्यभन्दा झन्डै–झन्डै तेब्बर पुर्याउन सम्भव भएको हो,’ डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले भने, ‘अबको लक्ष्य भनेको बाघको संख्या बढाउनेभन्दा पनि भएका बाघको संरक्षणका लागि उनीहरूको वासस्थान जोगाउनतिर हाम्रो ध्यान केन्द्रित हुनेछ । बाघको सङ्ख्या अत्यन्त संवेदनशील हुन्छ । सानो लापरबाहीले पनि सङ्ख्या तल पुग्न सक्छ । साउथइस्ट एसियामा बाघ हराइसकेका छन् । यसकारण पछिल्लो १२ वर्षमा बाघको सङ्ख्या वृद्धि गर्न डब्लूडब्लूएफ नेपाल सहित नेपाल सरकार र अन्य सरोकारवाला निकायहरूको जसप्रकारको तदारुकता देखिएको थियो, त्यो भन्दा अझ बढी तदारुकता अब आवश्यक पर्दछ ।’

नेपालले बाघको संख्या दोब्बर बनाउने लक्ष्य पुरा गरिसकेको छ । अब त्यही संख्यालाई कायम राख्न प्रयास गर्दै नेपालमा देखिएको मानव वन्यजन्तु द्वन्द्वलाई व्यवस्थापन गरेर सह अस्तित्वमा जाने योजना छ ।

शिवराज भट्ट
बाघ विज्ञ एवम् कार्यक्रम निर्देशक, डब्लूडब्लूएफ नेपाल

त्यसो त, बाघको संख्या वृद्धिसँगै सो अवधिमा बाघको आक्रमणबाट ८० जना मानिसको ज्यान गएको छ । बाघ विज्ञ एवम् डब्लूडब्लूएफ नेपालका कार्यक्रम निर्देशक  शिवराज भट्ट आगामी दिनमा वातावरणमैत्री पूर्वाधार तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणमा केन्द्रित हुनुपर्ने बताउँछन् । ‘नेपालले बाघको संख्या दोब्बर बनाउने लक्ष्य पुरा गरिसकेको छ । अब त्यही संख्यालाई कायम राख्न प्रयास गर्दै नेपालमा देखिएको मानव वन्यजन्तु द्वन्द्वलाई व्यवस्थापन गरेर सह-अस्तित्व निर्माण गर्ने योजना छ ।’ उनी भन्छन्, ‘मान्छेको सहिष्णुताको सीमालाई बढाउन सकियो भने मान्छे बाघ प्रति सकारात्मक हुन सक्छन् । अहिलेसम्म जति पनि घटना भएका छन्, एकाधबाहेक त्यी सबै जङ्गल भित्र भएका छन् ।’ मानिसलाई जङ्गलभित्र जानुको विकल्प दिएर मानव–बाघबीचको द्वन्द्वलाई कम गर्न सकिने उनको बुझाइ छ ।

पछिल्लो समय बाघहरू राष्ट्रिय निकुञ्ज भन्दा बाहिर पनि गइरहेकाले ती क्षेत्रका समुदायहरूलाई बाघको प्रकृति, स्वभाव र यसको महत्वका बारेमा जानकारी दिन आवश्यक रहेको भट्टले बताए । उनले मानिसलाई आक्रमण गर्ने १६ वटा बाघलाई उद्धार तथा नियन्त्रणमा लिई विभिन्न स्थानमा रहेका रेस्क्यु सेन्टरमा रहेकाले तिनीहरूलाई सातै वटा प्रदेशमा वितरण गरि पर्यटन आकर्षित गर्न सकिने समेत उनले बताए ।

बाघ पाइने क्षेत्रहरूमा पानीका स्रोत सुक्ने र घाँसे मैदानहरूमा ह्रासोन्मुख हुँदै गएका छन् । हिमालदेखि तराइसम्म नै नदीहरू डम्पिङ साइट बनिरहेका छन् ।

‘मानिसको व्यवहार परिवर्तन गर्नुका साथै सचेतना फैलाउने र बाघ र मानिसको बीचमा सह-अस्तित्व निर्माणको काम गर्नुपर्छ ।’ डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि गुरुङले भने, ‘बाघ जंगलभित्रै रहनु पर्छ त्यसको लागि बाघ पाइने क्षेत्रहरूमा पानीका स्रोत सुक्ने र घाँसे मैदानहरूमा ह्रासोन्मुख हुँदै गएका छन् । हिमालदेखि तराइसम्म नै नदीहरू डम्पिङ साइट बनिरहेका छन् । निकुञ्ज प्रवेश गर्दा प्लास्टिक निषेध गरेपनि प्लास्टिकजन्य फोहोरहरू सिधै नदीमा फ्याँक्ने प्रवृत्तिले निकुञ्जको जल जमिन दुवैलाई प्रतिकुल असर पारिरहेको छ ।’ उनले जङ्गलमा आश्रित समुदायको जीविकोपार्जनको वैकल्पिक व्यवस्था गर्नुपर्ने र बाघको निरन्तर मोनिटरिङ गर्ने कुरामा जोड दिए ।

२००८–००९ मा भएको गणना अनुसार नेपालमा १२१ बाघ थिए, सन् २०१८ मा उक्त संख्या २३५ पुग्यो र पछिल्लो गणना अनुसार बाघको संख्या ३५५ पुगेको छ । सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ बटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् । यो संख्या किन पनि गर्व गर्न लायक हो भने लक्ष्यभन्दा यो संख्या १०५ ले बढी हो । पछिल्लो १२ वर्षमा बाघ संरक्षण र यसको संख्या बढाउन नेपालले खेलेको भूमिकालाई संसारमै बाघ संरक्षणको एउटा नमुनाको रूपमा स्थापित भयो ।

नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा बाघ पाइन्छन् । विश्व वन्यजन्तु संरक्षण कोष (डब्लूडब्लूएफ) का अनुसार हाल विश्वभरि झन्डै ४ हजार ५ सयको हाराहारीमा बाघ छन् । विश्वले पछिल्लो १२ वर्षमा बाघको सङ्ख्या दोब्बर गराउने अर्थात् कम्तिमा पनि ६ हजार पुर्‍याउने लक्ष्य लिएको थियो । नेपालले सङ्ख्या झन्डै तेब्बर गरेता पनि अन्य देशले बाघको सङ्ख्या दोब्बर गराउने प्रतिबद्धता पुरा गर्न सकेका छैनन् । 

तस्बिरहरु : मिलन तामाङ

यो पनि…
राष्ट्रिय बाघ सर्वेक्षण सुरु (फोटो फिचर)
नारायणी नदीको स्वास्थ्य परीक्षण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नोबेल पुरस्कार विजेता यासुनारी कावावाताले उपन्यास ‘स्नो कन्ट्री’ मा देश सुन्दर हुने तीनवटा तत्व उल्लेख गरे–प्रकृति,संस्कृति र परिवेश । लाग्छ–साहित्यकार

तमु समुदायको ऐतिहासिक चाड बैशाख पूर्णिमाका अवसर पारेर तमु ट्हो ह्युल हङकङले आफ्नो २६ औं वार्षिकोत्सव मनाएको छ । उक्त

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम