English

थोत्रा चुनावी एजेण्डा, नागरिकको आशा अधुरा



आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाका उम्मेदवारहरूले अहिले पनि विगतमा जस्तै चर्चामा ल्याइएका विषयलाई चुनावी एजेण्डा बनाएका छन् ।

देशको केन्द्रीय राजधानी भएकाले पनि कामपामा धेरै ‘विकासे–मुद्दा’ छन् । विगतका निर्वाचनमा पनि मुख्य एजेण्डा बनाइएका फोहोर व्यवस्थापन, स्वच्छ खानेपानी, सार्वजनिक शौचालय निर्माण, व्यवस्थित सार्वजनिक यातायातजस्ता विषय यसपटकको निर्वाचनमा पनि उम्मेदवारको प्रमुख एजेण्डाबाट बाहिरिएको देखिएन ।

अहिले उम्मेदवारहरू भोट माग्नका लागि मतदाताको घरदैलोसम्म जान भ्याइनभ्याई देखिन्छन् । यसरी उम्मेदवार मतदाताको घरदैलो गइरहँदा विगत १२ दिनदेखि सडक किनारामा थुपारिएको फोहोरको डङ्गुरले भने उनीहरुलाई गिज्याइरहेको भान हुन्छ ।

काठमाडौँका १८ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापनस्थल सिसडोलसम्म जाने पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य १२ दिनदेखि रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटक–पटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौँ उपत्यकाका नागरिकले भोग्नुपरेको छ ।

कामपाको अहिलेका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले पनि प्रमुख मुद्दाका रूपमा फोहोर व्यवस्थापनलाई नै लिएका थिए तर व्यवस्थापनको समाधान नै भएन । थप समस्या चुलिइरहेएको छ । यो लामो समयदेखिको समस्या हो । यसको दीर्घकालीन समाधानका लागि भने कसैको पनि खासै पहल भएको पाइँदैन । गत फागुन र चैतमा पनि ३२ दिन फोहोर अन्तिम व्यवस्थापनस्थलसम्म पुग्न सकेको थिएन ।

कामपामा बाक्लो बस्ती छ, त्यसमाथि हप्तौँसम्म फोहरको व्यवस्थापन हुन नसक्नु र पटक–पटक यही नै चुनावी नाराको रूपमा आउनु जनताको समस्यामा जनप्रतिनिधिले झुटको खेती गरिरहेको प्रष्ट हुन्छ ।

कामपा–१७ को यशोदा शर्मा हरेक पटकको निर्वाचनमा चुनावी नारा बनाएको काठमाडौँको फोहोर व्यवस्थापन कार्यको दीर्घकालीन समाधान नहुनाले नागरिकले निकै समस्या भोग्नुपरेको गुनासो गर्छिन् । विगतका जस्तै आगामी दिनमा पनि उक्त समस्या समाधानार्थ उपाय नखोज्ने हो भने आगामी वर्षहरूमा विकराल समस्या आउने शर्मा बताउछिन् ।

‘कामपामा बाक्लो बस्ती छ, त्यसमाथि हप्तौँसम्म फोहरको व्यवस्थापन हुन नसक्नु र पटक–पटक यही नै चुनावी नाराको रूपमा आउनु जनताको समस्यामा जनप्रतिनिधिले झुटको खेती गरिरहेको प्रष्ट हुन्छ’, शर्माले भनिन् ।

कामपाको अर्को मूल समस्या खानेपानीको हो । नियमितरूपमा पानी अझै पनि आउँदैन । अन्यत्रबाट ट्याङ्करमा ल्याइएको पानी खानु नगरवासीको दैनिकी हो । त्यतिमात्रै होइन बाहिर निस्कँदा सार्वजनिक स्थानमा बटुवाका लागि खानेपानीको व्यवस्था पनि कामपाले गर्न सकेको छैन । प्रत्येक पटकको चुनावी नारा बनेको खानेपानी, बिजुली, सहज सार्वजनिक यातायात, फोहोर व्यवस्थापनजस्ता विषय कामपाको न्यूनतम मापदण्डभित्र पर्दछ ।

कामपामा शौचालाय निर्माणको विषय पनि नारामै सीमित रहेको देखिन्छ । सामान्यतया महानगरपालिकामा कम्तीमा ५०० मिटरदेखि एक किलोमिटरको दूरीमा एक सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । हाल कामपामा अव्यवस्थितरूपमा सञ्चालन भएको ६० सार्वजनिक शौचालय छन् । यसअघिको जनप्रतिनिधि आउनुअघि नै कामपामा सार्वजनिक शौचालय थप्ने विषय चर्चामा थियो तर वर्षौँ बितिसक्दासम्म न नयाँ थप्न सकिएको छ, न त भएकालाई व्यवस्थापनको काम भएको नै छ ।

उम्मेदवारले आ–आफ्ना वाचा पूरा गरेभने म जस्तै सबै नागरिक उत्साहित बन्नेछन् ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कमपाको प्रमुखमा ५५ जना र ३० को उपप्रमुखमा उम्मेदवारी परेको छ । प्रमुख पदका लागि कामपामा सत्ता गठबन्धनबाट सिर्जना सिंह रहेकी छिन् भने नेकपा (एमाले)बाट केशव स्थापित चुनावी मैदानमा छन् । यस्तै कामपाकै उपप्रमुख पदका लागि सत्ता गठबन्धनबाट उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठको उम्मेदवारी छ भने एमालेबाट सुनिता डङ्गोलको उम्मेदवारी छ । सबै उम्मेदवारको मुख्य एजेण्डामा यसअघिका प्रमुख र उपप्रमुखको भन्दा खासै फरक देखिदैन ।

गठबन्धनको तर्फबाट कामपाको प्रमुखमा आफ्नो उम्मेदवारी दिएकीे सिंहले सार्वजनिक स्थानमा निःशुल्क खानेपानी, स्वच्छ सफा र दिगो पर्यावरणलाई आफ्नो चुनावी एजेण्डा बनाएकी छिन् । त्यसैगरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवार श्रेष्ठले हाल काठमाडौँमा मुख्य समस्यामा रहेको फोहोरलाई वैज्ञानिकरूपमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै एमालेको तर्फबाट प्रमुखका उम्मेदवार केशव स्थापित र उपप्रमुख सुनिता डङ्गोलले पनि सुरक्षित सहर, शिक्षा र सामाजिक सुरक्षा, स्वच्छ सफा पर्यावरण, संस्कृति र सम्पदाको संरक्षणजस्ता विषयलाई चुनावी नारा बनाएका छन् । निर्वाचनको समयमा पटक–पटक नागरिकको समस्यालाई नाराका रूपमा लिने र निर्वाचनपछि ती विषय ओझेलमा पर्ने गरेका कारण अहिले नागरिक राजनीतिक दलको प्रतिबद्धतालाई ‘झुटा आश्वासन’को सङ्ज्ञा दिने गरेको पाइन्छ ।

कामपा–१८ का राजु कपालीले यसअघिका स्थानीय निर्वाचनमा पनि उम्मेदावारहरूले यस्तै किसिमको झुटा वाचा गरेकाले अहिलेको निर्वाचनमा मतदान गर्नका लागि आफू त्यति धेरै उत्साहित नभएको बताउँछन् । उनी भन्छन्, ‘उम्मेदवारले आ–आफ्ना वाचा पूरा गरेभने म जस्तै सबै नागरिक उत्साहित बन्नेछन् ।’

यो पनि…
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा
यस्तो छ स्थानीय तह निर्वाचनको गणितीय समीकरण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली