English

चोभार सुक्खा बन्दरगाह : यस्तो छ निजी क्षेत्रको प्रतिक्रिया



काठमाडौंको कीर्तिपुरस्थित चोभारमा मंगलबारदेखि सञ्चालनमा आएको ‘चोभार सुक्खा बन्दरगाह’ व्यापार प्रवर्द्धनको आधार संरचनाका रूपमा उभिन सफल भएको छ ।

नेपालको राजधानीबाट राजमार्ग हुँदै सिधै समुद्रसँग जोडिने नेपालको पहिलो र महत्त्वपूर्ण उक्त बन्दरगाहलाई आयात-निर्यात व्यापार प्रवर्द्धनका लागि सेतुका रूपमा हेरिएको छ भने उद्योगी व्यवसायीबाट व्यापारिक क्षेत्रका लागि बन्दरगाह कोसेढुङ्गा सावित भएको प्रतिक्रिया आएको छ । यसले मुलुकको प्रतिस्पर्धात्मक व्यापारलाई अघि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

काठमाडौं उपत्यका र वरपरका वस्तुको माग र आपूर्ति व्यवस्थापन गर्न निर्माण गरिएको बन्दरगाह विसं २०७५ को असारमा सम्झौता भई सोही वर्षको माघ १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको थियो । यसले काठमाडौं केन्द्रित भएर आउने कन्टेनरलाई बिना झन्झट अतिरिक्त विद्युतीय शिल लगाएर सिधै यहाँ भन्सार पास गर्ने गरी व्यवस्थापन गरिएकाले पनि बन्दरगाह निर्माणबाट निजी क्षेत्रमा समेत ठूलो उत्साह छ ।

कोरोना महामारीका कारण प्रमुख संरचनाको निर्माण कार्य प्रभावित भएर १८ महिनामा सम्पन्न गर्नुपर्ने योजना केही ढिला गरी गत असारमा निर्माण सम्पन्न भएको थियो । बन्दरगाहमा कूल ५०० कन्टेनर र ५०० ट्रकका लागि आवश्यक ६५ हजार वर्गमिटरको पार्किङ क्षेत्रका साथै भन्सार, क्वारेन्टिन, सुरक्षा, अपरेटिङ बैंक भवनलगायत छन् ।

यस्तै अन्य व्यवस्थापनका लागि तीन भवन, तीन गोदाम, तीन एप्रिजल र स्टपिङ सेट, तीन धर्मकाँटा, विद्युतीय सवस्टेशन र बाउन्ड्री लाइटको पूर्वाधार निर्माण भएको छ । कूल एक अर्ब ५४ करोडको लागतमा निर्माण सम्पन्न भएको बन्दरगाह सञ्चालक संस्था नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । उनले अब बन्दरगाहले देशको बढ्दो व्यापार घाटालाई कम गर्दै निर्यात प्रवर्द्धन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

विश्व बैंकको ऋण सहयोगमा नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत चोभारको २२८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह बनेको हो । मुलुकको वस्तु आयात र निर्यातमा लाग्ने समय र लागत वृद्धि भइरहेको अवस्थामा यसले आन्तरिक एवं वैदेशिक व्यापार सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।

वैदेशिक व्यापार सहजीकरणका लागि सुक्खा बन्दरगाह एकीकृत जाँचचौकी तथा व्यापार पूर्वाधार निर्माण र सञ्चालनमा नेपाल सरकारले प्राथमिकता दिँदै आएको छ । त्यसैको एउटा उदाहरण हो चोभार बन्दरगाह । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डे बन्दरगाहले व्यापार घाटा र व्यापार लागत घटाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै प्रभावकारी सञ्चालनका लागि निजी क्षेत्रको सहयोगको अपेक्षा रहेको बताए ।

बन्दरगाहलाई आयात-निर्यात व्यापार प्रवर्द्धनका लागि सेतुका रूपमा हेरिएको छ भने उद्योगी व्यवसायीबाट व्यापारिक क्षेत्रका लागि बन्दरगाह कोसेढुङ्गा सावित भएको प्रतिक्रिया आएको छ । यसले मुलुकको प्रतिस्पर्धात्मक व्यापारलाई अघि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसलाई निजी क्षेत्रका प्रतिनिधिले समेत व्यापार प्रवर्द्धनमा महतत्वपूर्ण फड्कोको रूपमा अथ्र्याएका छन् । नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवाल बन्दरगाहलाई निजी क्षेत्रमैत्री पूर्वाधारको नमूना उदाहरणका रूपमा परिभाषित गर्छन् । उनले अब आयात निर्यातको खर्च कम हुने, अन्य भन्सारमा जानु नपर्ने, यहीँ जाँच पास गरेपछि सिधै समुद्रको बन्दरगाहमा जान पाइने व्यवस्था हुनेछ भन्ने अपेक्षा रहेको सुनाए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल चोभार सुक्खा बन्दरगाहलाई आयात निर्यात व्यापार प्रवर्द्धनको सेतुको संज्ञा दिन्छन् । उनले निर्यात प्रवर्द्धनका लागि कोल्ड स्टोर बनाउन पनि सुझाव दिएका छन् । ‘हाम्रो अपेक्ष ‘डुइङ बिजनेश कस्ट’ घटाओस् भन्ने हो, यसलाई उत्तरदक्षिण कै सम्पर्क सञ्जालका रूपमा विकास गर्न जरुरी छ’, उनले थपे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले भने, ‘व्यावसायिक क्षेत्रका लागि बन्दरगाह कोसेढुङ्गाका रूपमा छ, सडकमार्ग वा सम्पर्क सञ्जाल नभएसम्म लागत नघट्ने हुँदा रेलवेसँग पनि जोड्न जरुरी छ ।’ उनले साना तथा मझौला व्यवसायीले पनि फाइदा लिन सकुन् भनी शुभकामना दिए ।

सरकारले बन्दरगाहजस्ता आर्थिक पूर्वाधार निर्माणका क्रममा छिमेकी मुलुकसँग जोडिएको भन्सार विन्दुहरू वीरगञ्ज, भैरहवा, विराटनगर, काँकडभित्ता र तातोपानीमा एकीकृत जाँचचौकी निर्माण गरी सञ्चालनमा ल्याएको र भैरहवा, नेपालगञ्जमा एकीकृति जाँचचौकी र रसुवामा टिमुरे सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढाएको छ ।

कञ्चनपुरको दोधारा चाँदनी र मुस्ताङको कोरलामा विस्तृत परियोजना प्रतिवेदन तयारीको क्रममा रहेको र सङ्खुवासभाको किमाथाङ्का र ताप्लेजुङ्को ओलाङचुङ्गोलामा तथा मुगु क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ । अझै व्यवस्थित र प्रभावकारी बनाउन थप केही नियम कानूनको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको समितिका कार्यकारी निर्देशक गजुरेलको भनाइ छ ।

यस्ता पूर्वाधारले आगामी केही वर्षभित्रमा व्यापार सहजीकरणमा उल्लेख्य फड्को मार्ने र यसबाट औद्योगिक प्रवर्द्धन, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन तथा व्यापार लागत न्युनीकरणमा सहजता भई उपभोक्तालाई कम मूल्यमा वस्तु उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

नेपालको पारवहन क्षेत्र बढाउन निर्मित यस्ता संरचनाले वैदेशिक व्यापार क्षमतामा अभिवृद्ध गर्न पनि सहयोग पुग्नेछ । उनले पूर्वाधार निर्माणले मात्रै दायित्व पूरा नहुने हुँदा कुशल व्यवस्थापन उत्तिकै जरुरी रहेको र आगामी दिनमा पनि विकास साझेदार, जनप्रतिनिधि र निजी क्षेत्रको सहयोगको अपेक्षा रहेको बताए ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन बन्दरगाह बन्नु खुसीको कुरा भए पनि मुआब्जा नपाएका स्थानीयवासीको समस्या र हिमाल सिमेन्टले मजदुरलाई अझै १० करोड दिन बाँकी रहेकाले त्यसको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद राजन केसीले आयातको ५० प्रतशत काठमाडौं उपत्यकाले खपत गर्ने भएकाले बन्दरगाहको औचित्य ठूलो रहेको बताए । उनले पनि स्थानीयवासीको समस्या समाधान गर्न माग गरे । यहाँ रहेको हिमाल सिमेन्टको जग्गामा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाउन पनि माग गरिएको छ ।

उक्त बन्दरगाहको उद्घाटनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हबका रूपमा विकास गर्न बन्दरगाह कोसेढुङ्गा सावित भएको बताएका थिए भने अर्थमन्त्री जनार्दन शर्माले यसलाई निर्यातको केन्द्रविन्दु बनाएर अघि बढाउनुपर्नेमा जोड दिए थियो ।

यो पनि…
संयुक्त लगानीमा जलविद्युत् आयोजनाहरू बनाउन नेपाल र भारतबीच सहमति
ऊर्जा सङ्कटको असर : आयोजनाहरू छिटो सक्न दबाब



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो