English

३०३ जनाले लिए आरोहण अनुमति



कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीले आरोहण अनुमति लिएका छन् ।

महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको छ । यतिखेर विभिन्न मूलुकबाट नेपालको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोहीले अनुमति लिइरहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ३७ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिसन पर्मिट) दिएको छ ।

सगरमाथाका १८ सहित ३७ आरोही समूहका ३०३ आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ । सगरमाथा आरोहणका लागि मात्रै १८ आरोही समूहले अनुमति लिएको छ । हालसम्म सगरमाथाको १८ आरोही समूहसहित ३७ आरोही समूहले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जनाए । विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि छ । विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मकालु, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ ।

कोभिड महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ट पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ । बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले पहिलो आरोहण अनुमति लिएको छ । नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली छन् ।

सगरमाथामा १८ आरोही समूह

वसन्त यामको सगरमाथा आरोहणका लागि हालसम्म १८ आरोही समूहका १६७ आरोहीले आरोहण अनुमति लिएका छन् । मंगलबारमात्रै सगरमाथाका लागि एक आरोहण अनुमति जारी भएको छ । विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा हालसम्म सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि सबैभन्दा बढी १८ आरोही समूह छन् । सोही क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) मा चार, नुप्से (७,८६४ मिटर) मा तीन र पुमरी (७,१६१ मिटर) मा एक आरोही समूह छन् ।

यस्तै गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१) आरोहणका लागि चार र धौलागिरि हिमाल (८,१६७ मिटर) मा तीन समूहलाई अनुमति दिएको छ भने गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूह छ ।

झण्डै २३ करोड रोयल्टी सङ्कलन

वसन्त याममा हिमाल आरोहण बापत पर्यटन विभागले हालसम्म झण्डै २३ करोड रोयल्टी सङ्कलन गरेको छ । मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरुआत भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइ नभ्याइ हुन्छ । वसन्तयामको आरोहणका लागि विभागले यही चैत २ देखि आरोहण अनुमति जारी गरेको थियो । १३ चैतमा सगरमाथा आरोहणको पहिलो ‘पर्मिट’ जारी भएको थियो । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

हरेक वर्ष जस्तै यसवर्ष पनि मार्च महिनाको अन्तिम शनिबार ‘अर्थ आवर डे’ मनाइएको छ । विश्व वन्यजन्तु कोष (डब्लु डब्लु