English

सडक दुर्घटना : राष्ट्रिय लक्ष्य एकातिर, सरकारको ध्यान अर्कोतिर

तीन वर्षमा ६३ हजार सडक दुर्घटना


पछिल्लो साढे तीन वर्षको अवधिमा नेपालमा ६३ हजार २ सय ६८ वटा सडक दुर्घटना रेकर्ड भएका छन् ।  नेपाल प्रहरीकाे तथ्यांकअनुसार ती दुर्घटनामा सात हजार ५५३ जनाको मृत्यु भएको छ । यस अवधिमा दुर्घटनामा परी गम्भीर घाइते हुनेको संख्या २२ हजार ५६७ रहेको छ । 

बितेका साढे १० वर्ष (आर्थिक वर्ष २०६८-६९ देखि २०७८-७९ माघ मसान्तसम्म)मा सडक दुर्घटनामा परी नेपालमा २३ हजार ११२ जनाको मृत्यु भएको छ । पछिल्लो साढे १० वर्षको तथ्यांकलाई हेर्दा नेपालमा प्रत्येक महिना औसतमा १८१.९८ जनाको मृत्युको कारण सडक दुर्घटना बनेको छ । अर्थात् औसतमा प्रत्येक दिन नेपालमा ६ जनाको मृत्यु सडक दुर्घटनामा परी हुने गरेको छ । 

दुर्घटनाको प्रमुख कारण सवारी साधनको गति हो । तीव्र गतिकै कारण नेपालमा धेरै दुर्घटना हुने गरेका छन्, जुन देशमा जहाज, गाडी कुनै निर्धारित समयमा उड्दैनन् र गुड्दैनन, त्यही देशमा सबैलाई हतार हुने गरेको छ ।

यो तथ्यांकले देखाउँछ नेपालमा सडक दुर्घटनाको भयावह स्थिति 

‘दुर्घटनाको प्रमुख कारण सवारी साधनको गति हो । तीव्र गतिकै कारण नेपालमा धेरै दुर्घटना हुने गरेका छन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले भने, ‘जुन देशमा जहाज, गाडी कुनै निर्धारित समयमा उड्दैनन् र गुड्दैनन, त्यही देशमा सबैलाई हतार हुने गरेको छ ।’ 

नेपालमा बढ्दो दुर्घटना र जनधनको क्षतिले स्पष्ट देखाउँछ दुर्घटना र क्षति न्यूनीकरणमा सरकारले प्रयाप्त ध्यान दिएको छैन । संयुक्त राष्ट्रसंघले ‘यूएन डिकेड अफ एक्सन फर रोड सेफ्टी (२०११–२०२०)’ कार्यक्रम ल्याएको थियो, जुन कार्यक्रमको लक्ष्य सन् २०२० सम्म सडक दुर्घटनाबाट हुने क्षति ५० प्रतिशत घटाउने रहेको थियो । 

नेपालले राष्ट्रसंघको उक्त कार्यक्रम कार्यान्वयन गर्न सन् २०१३ मा अनुमोदन गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले कार्यान्वयनमा जिम्मेवारी लिएको थियो । मन्त्रालयले त्यसपछि ‘नेपाल सडक-सुरक्षा कार्ययोजना ०६९-७७ ल्याएको थियो । 

यसका अलावा नेपालले राष्ट्रसंघको आर्थिक तथा सामाजिक आयोगको एसिया प्यासिफिक कार्यालयले सन् २००६ मा घोषणा गरेको सडक सुरक्षासम्बन्धी घोषणपत्रमा सन् २०१२ मा हस्ताक्षर गरेको थियो । ती कार्यक्रमअन्तर्गत नेपालले सडक दुर्घटनाको हताहतीलाई सन् २०१५ सम्ममा ३५ प्रतिशत र २०२० सम्ममा ५० प्रतिशतले कमी ल्याउने लक्ष्य राखिएको थियो । 

सडक जोखिम न्यूनीकरणलाई समेत समेटी गृह मन्त्रालयले २०७५ सालमा ‘विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना सन् २०१८-२०३०’ सार्वजनिक गरेको थियो । कार्ययोजनामा सडक दुर्घटनामा हुने मृत्युको संख्यालाई सन् २०२० सम्म एक हजार ७००, सन् २०२५ सम्म एक हजार २०० र सन् २०३० सम्म ७०० सयमा झार्ने उल्लेख छ । 

ट्राफिकसम्बन्धी जनचेतना, तालिम, वैज्ञानिक तरिकाले सडकको निर्माण हुन नसक्दा दुर्घटना बढ्दै गएका छन्, जसले मानवीय क्षति पनि बढाएको छ । 

गृहको कार्ययोजनाअनुसार सडक दुर्घटनामा घाइते हुनेको संख्या सन् २०२० सम्म ११ हजार, सन् २०२५ सम्मा आठ हजार र सन् २०३० सम्म पाँच हजारमा झार्नुपर्ने हुन्छ । सडक जोखिम न्यूनीकरण गर्न नेपालले बनाएका कार्यक्रम र कार्ययोजनाअनुसार काम भने हुन सकेको छैन । लक्ष्यलाई पूरा गर्नेभन्दा पनि लक्ष्यलाई झन् टाढा बनाउने कार्य भइरहेको तथ्यांकले देखाउँछ । 

‘ट्राफिकसम्बन्धी जनचेतना, तालिम, वैज्ञानिक तरिकाले सडकको निर्माण हुन नसक्दा दुर्घटना बढ्दै गएका छन्, जसले मानवीय क्षति पनि बढाएको छ,’ पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुले भने । 

पछिल्ला तथ्यांकले नेपालमा दुर्घटनाको संख्या घट्नुको सट्टा बढ्दै गएको देखिन्छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष ०७५/७६ मा १३ हजार ३ सय ६६, ०७६/७७ मा १५ हजार ५ सय ५९, ०७७/७८ मा २० हजार ६ सय ४० र ०७८/७९ को माघसम्मा १३ हजार ७ सय ३ वटा सडक दुर्घटना रेकर्ड भएका छन् । विगत तीन वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष ०७५/७६ को तलुनामा ०७६/७७ मा १४.१ प्रतिशत र ०७६/७७ को तुलनामा ०७७/७८ मा २४.६२ प्रतिशतले सडक दुर्घटना बढेको देखिन्छ । 

नेपालमा दुर्घटनाबाट हुने मृत्यु संख्या पनि घटेको छैन । आर्थिक वर्ष ०७५/७६ मा दुई हजार ७ सय ८९, ०७६/७७ मा दुई हजार २ सय ५१, ०७७/७८ मा दुई हजार ५ सय १३ र ०७८/७९ को माघसम्ममा एक हजार ६ सय ३८ जनाको मृत्यु सडक दुर्घटनामा भएको छ । नेपालले आफूले बनाएको कार्यक्रम र कार्ययोजनाअनुसार न दुर्घटना संख्या घटाउन सकेको छ, न मृत्यु कम गर्न । दुर्घटनामा हुने घाइतेको संख्या पनि घटेको छैन । कार्यक्रम र कार्ययोजनाविपरीत दुर्घटना र मृत्युको संख्या बढ्दो छ । 

कहाँ हुन्छ बढी दुर्घटना ? 

चालू आर्थिक वर्ष ०७८/७९ को पहिलो सात महिनामा देशभर १३ हजार ७ सय ३ वटा सवारी दुर्घटनाका घटना रेकर्ड भएका छन् । २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा ती दुर्घटना भएका हुन् । 

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो सात महिनामा काठमाडौं उपत्यकामा ६ हजार २१, प्रदेश १ मा दुई हजार १ सय ७८, मधेश प्रदेशमा तीन हजार ४९, बागमती प्रदेशमा (काठमाडौं उपत्यकाबाहेक) ९ सय ८०, गण्डकी प्रदेशमा २ सय ४०, लुम्बिनी प्रदेशमा ६ सय ७०, कर्णाली प्रदेशमा २ सय ३८ र सुदूरपश्चिम प्रदेशमा ३ सय २७ वटा दुर्घटना भएका छन् । 

कहाँ जान्छ सबैभन्दा बढीको ज्यान ? 

चालू आर्थिक वर्ष ०७८/७९ को पहिलो सात महिनामा सबैभन्दा बढी सवारीसाधन दुर्घटना बागमती प्रदेशमा भए पनि दुर्घटनामा ज्यान गुमाउनेको सबैभन्दा ठूलो संख्या भने मधेश प्रदेशमा रहेको छ । सो अवधिमा सवारी दुर्घटनामा परी काठमाडौं उपत्यकामा ९३, प्रदेश १ मा ३ सय १, मधेस प्रदेशमा ३ सय ३९, बागमती प्रदेशमा (काठमाडौं उपत्यकाबाहेक) २ सय २३, गण्डकी प्रदेशमा १ सय ४४, लुम्बिनी प्रदेशमा ३ सय ४, कर्णाली प्रदेशमा १ सय २२ र सुदूरपश्चिम प्रदेशमा १ सय १२ जनाले ज्यान गुमाएका छन् । 

कुन सवारी साधन पर्छ सबैभन्दा बढी दुर्घटनामा ? 

चालू आर्थिक वर्षको सुरुवाती सात महिनामा सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारीसाधनमा मोटरसाइकल रहेको प्रहरीको तथ्यांकले देखाउँछ । यो अवधिमा दुर्घटनामा पर्ने सवारीसाधनमा ११ हजार २ सय ६७ वटा मोटरसाइकल, एक हजार ३ सय ७५ ट्रक तथा ट्यांकर, ४ सय १९ वटा टिपर, ४० वटा डोजर, लोडर र एक्स्काभेटर, एक हजार ४ सय ३६ वटा बस, २ सय १८ वटा माइक्रो, पाँच हजार ९४ जिप तथा कार, ५ सय ४६ वटा ट्रयाक्टर, ६ सय ८० टेम्पो र बाँकी अन्य सवारीसाधन छन् । 

जापानमा दुर्घटना गरे ९ लाखसम्म जरिवाना गरिन्छ । चीनमा ६ महिनासम्म जेल पठाइन्छ तर हाम्रोमा एक हजार जरिवाना तिरे उम्किन्छ । के मान्छेको मूल्य एक हजार मात्र हो ?

कुन समयमा हुन्छ बढी दुर्घटना ? 

प्रहरीको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी सवारी दुर्घटना मध्यान्ह १२ देखि साँझ ६ बजेसम्मको अवधिमा हुने गरेको देखिन्छ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा देशभर मध्यान्ह १२ देखि साँझ ६ बजेसम्मको अवधिमा ५ हजार ४ सय ३६ वटा सवारी दुर्घटना भएका छन् । प्रहरीका अनुसार सो अवधिमा बिहान ६ देखि मध्यान्ह १२ बजेसम्म ३ हजार १ सय ८०, साँझ ६ देखि राति १२ बजेसम्मको समयमा ४ हजार ४ सय ६३ र राति १२ देखि बिहान ६ बजेसम्मकाे समयमा ६ सय २० वटा दुर्घटना भएका छन् । 

यी हुन् दुर्घटनाका प्रमुख कारण 

नेपाल प्रहरीका अनुसार बितेको सात महिनामा सवारी चालकका कारण ११ हजार ९ सय ३६ वटा सवारी दुर्घटना भएका छन् । सोही अवधिमा सवारी साधनकै कारण ३ सय ६४, यात्रुको कारण ५ सय १९, सडकको अवस्थाका कारण ७ सय ५४, मौसमको कारण ४८ र चौपायाको कारण ८२ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । 

यस वर्ष तीव्र गतिका कारण ६ हजार २ सय ५८ वटा सवारीसाधन दुर्घटनामा परेको प्रहरीको तथ्यांकले देखाउँछ । ओभरटेक गर्दा ४ सय ८६, मादक पदार्थ सेवन गरेका कारण ७ सय २९, यात्रुले बाटो काट्दा ४ सय ३३ र ट्राफिक नियम उल्लंघन गर्दा ५ सय ७७ वटा दुर्घटना भएको पाइएको छ ।  

हाम्रो देशमा धेरैको बुझाइ हेलमेट लगाउने भनेको ट्राफिकले समाउँछ भनेर भन्ने छ । जबसम्म यस्तो बुझाइ फेरिँदैन दुर्घटना कम हुँदैन ।

किन घटेन दुर्घटना ? 

पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुका अनुसार नेपालमा दुर्घटना नघट्नुको पहिलो कारण हो- ट्राफिकसम्बन्धी जनचेतनाको अभाव । नेपालका धेरैजसो चालकले सवारी अनुमतिपत्र लिन मात्र ट्राफिकसम्बन्धी ज्ञान लिने गरेको बुझाइ उनको छ । 

‘हाम्रो देशमा धेरैको बुझाइ हेलमेट लगाउने भनेको ट्राफिकले समाउँछ भनेर भन्ने छ । जबसम्म यस्तो बुझाइ फेरिँदैन दुर्घटना कम हुँदैन,’ उनले भने । विद्यालयदेखि बालबालिकालाई ट्राफिक नियमको बारेमा जानकारी दिनुपर्ने उनको सुझाव छ । 

जरिवाना कम हुँदा पनि दुर्घटनाको संख्या बढेको उनको बुझाइ छ । उनले थप स्पष्ट पारे, ‘जापानमा दुर्घटना गरे ९ लाखसम्म जरिवाना गरिन्छ । चीनमा ६ महिनासम्म जेल पठाइन्छ तर हाम्रोमा एक हजार जरिवाना तिरे उम्किन्छ । के मान्छेको मूल्य एक हजार मात्र हो ?’ 

सडक दुर्घटना कम गर्न भाडाका सवारीसाधन, निजी सवारीसाधन, टिपर लगायतका सवारी साधनलाई छुट्टाछुट्टै नियम बनाउनुपर्ने उनी बताउँछन् । यसका अलावा सवारी चालकहरूलाई तालिमको पनि व्यवस्था गर्नुपर्ने हाछेथुको भनाइ छ । 

‘नेपालमा सडक दुर्घटना गराउने अर्को कारण सडक हुन् । मान्छे हिँड्ने बाटोमा डोजर लगाएर मोटरबाटो बनाइन्छ । मोटरबाटो निर्माण गर्दा वैज्ञानिक आधारमा बनाउनुपर्छ । सकेसम्म कम घुम्ती भएको हुनुपर्छ,’ हाछेथुले भने । 

सवारीसाधन कन्डिसनमा नहुँदा पनि दुर्घटना हुने गरेको उनी बताउँछन् । सयम-समयमा सवारीसाधनको मर्मत सम्भार गरी कन्डिसनमा राखे दुर्घटना कम हुने उनको ठम्याइ छ । चालक र साहुमा धेरै पैसा कमाउने मोहले पनि सडक दुर्घटना निम्त्याउने गरेको छ । छिटो चलाए एक टिप बढी चलाउन पाइन्छ र पैसा पनि आउँछ भन्ने सोच धेरै चालक र साहुमा रहेको उनी बताउँछन् । यसले गर्दा तीव्र गतिमा सवारी साधन चलाइन्छ र दुर्घटना हुने गर्छ ।

हाछेथुको बुझाइमा नेपालमा सडक दुर्घटना बढी हुनुको अर्को कारण हो- युवा चालक । उनका अनुसार नेपालमा धेरै सवारी चालकहरू ३० वर्षभन्दा मुनिका छन् । यो उमेर समूहमा जोश बढी हुने हुँदा सवारीसाधनको गति तीव्र हुने गर्छ, जसले दुर्घटनाको जोखिम बढाउने गर्छ । 

यो पनि…
बैतडीमा टिप्पर दुर्घटना, चारजनाको मृत्यु
८०० मिटर सडक निर्माण योजना चार वर्षमा पनि पूरा भएन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ । न्यायाधीश

बाढी–पहिरोले देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । जसका कारण सामान ढुवानीमा समेत ठूलो असर परेको छ । अविरल वर्षा

Latest










Popular
Suggested