English

बिदा जयनन्द लामा (भिडियो पनि)



लोकगायक तथा वरीष्ठ कलाकार जयनन्द लामाको बिहीबार स्वयम्भूमा अन्त्यष्टि गरिएको छ । बुधबार बिहान भक्तपुरस्थित कौशलटार निजी निवासमा निधन भएका लामाको राष्ट्रिय नाचघरमा श्रद्धाञ्जलीपश्चात स्वयम्भूमा अन्त्यष्टि गरिएको हो ।

लामाको श्रद्धाञ्जली सभामा देशका चर्चित ब्यक्तित्वहरुको उपस्थिति थियो । सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पनि लामाको श्रद्धाञ्जलीका लागि उपस्थित भएका थिए । मन्त्री आलेले जयनन्द लामाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका थिए । साथै, श्रद्धाञ्जली सभामा उपस्थित भएका सेलिब्रिटीहरुले लामालाई यसरी सम्झिए :

प्रेम आले, संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री

आदरणीय कलाकार जयनन्द लामाले हाम्रो देशलाई कलाकारितामार्फत चिनाउनुभएको थियो । उहाँजस्तो प्रतिभाशाली कलाकार अब फेरि पाउन गाह्रो हुन्छ । उहाँले देखाउनुभएको बाटो र देशलाई चिनाउन उठाउनुभएका कदमहरू अमूल्य छन् । उहाँले देखाएको बाटोमा कलाकारहरू हिँड्नुभयो भने मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

किरण केसी, हास्यकलाकार

आदरणीय जयनन्द लामा दाइसँग मेरो सहकार्य धेरै पुरानो हो । उहाँले रचना गर्नुभएको एउटा गीत ‘लौन हजुर के गरूँ’ पनि मैले गाएको छु । मेरो एउटा चलचित्रमा पनि उहाँले अभिनय गर्नुभएको थियो । पछिल्लो समय २८ दिनअघि मात्र उहाँसँग मेरो भेट भएको थियो । उहाँले मलाई एउटा गीत रचना गरेर दिनुभएको छ । त्यसको एक अंश पनि गाइहाल्छु ‘चट्टै चट्टै चट्टै नानी चिरिच्याट्टै’ । सायद त्यो गीत नै जयनन्द दाइको अन्तिम गीत हुनेछ । त्यो गीतलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरामा म एकदमै मेहनत गर्नेछु ।

जयनन्द दाइ एकदमै हँसमुख मान्छे । उहाँ जस्तो प्रतिभावान् मान्छे धर्तीमा कमै जन्मिन्छन् । उहाँ हामीमाझ नभए पनि उहाँको सिर्जना हामीसँग रहिरहने छ ।

दीपाश्री निरौला, अभिनेत्री तथा निर्देशक

एउटा एकदमै राम्रो व्यक्तिलाई हामीले गुमाएका छौँ । उहाँले हरेक भेटमा हँसाउनुहुन्थ्यो । उहाँबाट मैले धेरै कुरा सिकेको छु । उहाँ अब हामीसामु हुनुहुन्न भनेर सम्झँदा नराम्रो लाग्छ । दाइले आफ्नो अनुभव हामीलाई बाँड्नुहुन्थ्यो । ‘छक्का पञ्जा ४’ मा पनि उहाँसँग सहकार्य गर्ने योजना थियो त्यो सपना नै रह्यो ।

शम्भुजित बाँस्कोटा, सङ्गीतकार

जयनन्द लामा जी मेरो एकदमै प्यारो साथी हुनुहुन्थ्यो । अत्यन्तै हँसिलो स्वभावको मान्छे र सबै जनासँग मिलनसार हुनुहुन्थ्यो । नेपाली लोक सङ्गीतलाई उहाँले अत्यन्तै ठूलो उपहार दिनुभएको छ । उमेरै नपुगी भएको उहाँको निधनले साह्रै दुखी बनाएको छ । कलाकारिता क्षेत्रमा तथा लोकदोहोरी क्षेत्रमा उहाँको ठूलो योगदान छ । उहाँको कलाको कदर राष्ट्रले गर्नुपर्छ ।

प्रदीप बम्जन, गायक तथा सङ्गीतकार

जयनन्द लामा कलाकार, चलचित्रकर्मी, लोक गायक र पुस्तक लेखकजस्ता धेरै प्रतिभाले भरिएको व्यक्ति हुनुहुन्थ्यो । लोक गीत भनेपछि हेला गर्ने दृष्टिकोण भएका व्यक्तिहरूको सोचलाई पछि पार्दै लोक गीतलाई रेडियो नेपालमार्फत र विभिन्न क्षेत्रमार्फत चिनाउनुभयो । अब आउने नयाँ जेनेरेसनले उहाँले देखाउनुभएको बाटो पछ्याउनुपर्छ । उहाँले लोक सङ्गीतको क्षेत्रमा देखाएको बाटोलाई पछ्याए मात्रै साँच्चै नै हामीले उहाँलाई श्रद्धाञ्जलि दिनेछौँ भन्ने लाग्छ ।

दीपकराज गिरी, अभिनेता

चलचित्र ‘छक्का पञ्जा’मा हामीले सहकार्य गरेका थियौँ । उहाँको असामयिक निधनले स्तब्ध बनाएको छ । बोल्नको लागि केही शब्द पनि भेटिरहेको छैन । उहाँ एक प्रतिभावान् कलाकार हुनुहुन्थ्यो । हाम्रो त परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो । उहाँलाई गुमाउँदा एकदमै नराम्रो लागेको छ । जस्तोसुकै परिस्थिति भए पनि जीवनलाई हाँसेर जिउनुपर्छ भन्ने पाठ मैले उहाँबाट सिकेको छु । आखिर मृत्युको अगाडि कसैको केही लाग्दो रहेनछ ।

भिडियो :

फोटो/भिडियो : किरण स्याङ्बो/मेरो लाइफस्टाइल

यो पनि…
कलाकार जयनन्द लामाको अन्तिम श्रद्धाञ्जली राष्ट्रिय नाचघरमा
कस्ता कलाकार थिए जयनन्द लामा ? (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले