English

देशभर स्वास्थ्य बीमा लागू हुँदै



सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो ।

आगामी चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङ गरी ६ जिल्लामा शुभारम्भ, त्यसपछि वैशाखमा काठमाडौँ तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधव लम्सालले जनाए ।

बीमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको तीन हजार ५ सय रुपैयाँ तिरेपछि प्रत्येक सदस्यले एक लाख रुपैयाँ बराबरको औषधोपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ । पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले रु ७ सय बुझाउनु पर्छ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य २० हजारदेखि दुई लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ ।

बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३ सय ७५ अस्पताललाई सूचीकृत गरेको छ । बोर्डका सदस्य चन्द्र थापाले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरेपछि सबै नागरिकलाई बीमामा आबद्ध गराउने पहल गरिने जनाए ।

अझै पनि मानिसमा स्वास्थ्य बीमाप्रति जानकारी नभएर धेरै मानिस स्वास्थ्य बीमाबाट बाहिर रहेका छन् । अहिले ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भएकोमा ७ लाख ४२ हजार १ सय ९२ घर परिवारका ३७ लाख १० हजार ९ सय ६२ जना बीमा कार्यक्रममा सहभागी रहेका छन् ।

तीमध्ये १४ लाख ३० हजारले बीमा कार्यक्रमको सुविधा लिएका छन् । तीमध्ये यस आर्थिक वर्षमा ७० प्रतिशत बीमितले नवीकरण गरेको छन् ।
सरकारले अति गरीब, ज्येष्ठ नागरिक, एचआइभी, एड्स संक्रमित, महिला स्वास्थ्य स्वयम्सेविका, अतिअशक्त अपाङ्गलाई भने निःशुल्क बीमा गर्ने गरेको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा लम्सालले जानकारी दिए ।

बीमा बोर्डका सूचना अधिकारी हिमलाल ज्ञवालीका अनुसार मानिसले स्वास्थ्यप्रति चासो नदिएकाले बीमामा आकर्षण कम रहेको छ । ज्ञवाली भन्छन्, ‘बिरामी हुँदा मानिसहरू एक लाखभन्दा पनि बढी तिर्छन् । तर, बीमा गर्नका लागि ३ हजार ५ सय शुल्क पनि तिर्न मानिरहेका छैनन् ।’
ज्ञवालीले वार्डस्तरमा एक जना दर्ता सहयोगी खटाएर बीमाबारे जानकारी दिन घर–घर जाने गरेकाले अब भने बीमित बढ्ने विचार राख्छन् ।

सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट बीमा कार्यक्रम सुरु गरेको थियो । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली