English

सम्झनामा ताना, बाँचिरहनेछ झर्रो सुगन्ध



लेखनीमा झर्रो नेपालीपनको सुगन्ध पस्कने नेपाली साहित्यका विराट प्रतिभा डा.तारानाथ शर्माको निधनबाट साहित्य क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । बहुआयामिक र निर्भिक व्यक्तित्व डा.शर्मा कुशल शब्दशिल्पीका साथै नेपाली र अङ्ग्रेजी दुवै भाषाका प्रखर विद्वान् थिए । उनको भौतिक शरीर हामीमाझ रहेन ।

अब उनका कृतित्त्व र व्यक्तित्त्व सम्पत्तिका रूपमा रहन पुगेका छन् । समालोचक एवं साहित्यिक अग्रजले डा.शर्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनका कृतित्त्व र व्यक्तित्त्व बहुआयामिक भएकाले उनको योगदान अन्य कुनै स्रष्टासँगका योगदानभन्दा पृथक भएको बताएका छन् । वरिष्ठ साहित्यकार डा.मोदनाथ प्रश्रितले डा.शर्मालाई संक्षेपामा सम्झँदै भने, ‘उहाँ प्रखर मान्छे हुनुहुन्थ्यो । लागेको कुरा बोल्न र विश्लेषण गर्न सक्ने स्वभावका धुरन्धर विद्वान् हुनुहुन्थ्यो । प्रगतिशील साहित्यका क्षेत्रमा उहाँको विशेष योगदान रहेको छ ।’

संस्कृतिविद् प्रश्रितले डा.शर्मामा हरेक विषयमा अध्ययन गहिरो हुने भएकाले कुनै अभिव्यक्ति दिनुपर्दा लुकाएर र छिपाएर नभई खरोरूपमा प्रस्तुत गर्ने स्वभाव पाइने स्मरण गरे । वरिष्ठ साहित्यकार श्यामल अधिकारीले डा.शर्मा आफ्नो समयका बाघ भएको र उनी एक प्रकारले नेपाली समालोचना र निबन्धको सन्दर्भमा परम्परा र प्रचलित मान्यताभन्जक मानिने टिप्पणी गरे ।

लेखनीमा झर्रो नेपालीपनको सुगन्ध पस्कने नेपाली साहित्यका विराट प्रतिभा डा.तारानाथ शर्माको निधनबाट साहित्य क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । बहुआयामिक र निर्भिक व्यक्तित्व डा.शर्मा कुशल शब्दशिल्पीका साथै नेपाली र अङ्ग्रेजी दुवै भाषाका प्रखर विद्वान् थिए । उनको भौतिक शरीर हामीमाझ रहेन ।

‘नेपाली समालोचना विधालाई नयाँ मोड र आकार दिनेमध्येका उहाँ अगुवा हुनुहुन्थ्यो । केही आफ्नो अध्ययन र दृढ निजी विचारका कारण जति नै आलोचित भए पनि उहाँले जतिबेला जे उचित ठाने, स्पष्ट बोले, स्पष्ट लेख्नुहुन्थ्यो । यद्यपि उहाँले स्वयं आफ्नै मान्यता खण्डित गर्नु परेका उदाहरण पनि उल्लेख गर्ने गरिन्छ’, साहित्यकार श्यामलले भने, ‘शर्माले निजात्मक शैलीमा उत्कृष्ट निबन्ध दिनुभयो । यात्रा निबन्धलाई उचाईमा पुर्‍याउनुभयो । निर्भिकता लेखनको सबैभन्दा महत्त्वपूर्ण गुण थियो । आकर्षक भाषा र विशिष्ट शैलीका कारण उहाँले हामीलाई आफ्नो आफनो विशिष्ट अभिव्यक्ति कौशल देखाउनुभयो ।’

मूल रूपमा उनलाई देवकोटा र शङ्कर लामिछानेको शैली र परम्पराबाट उठेर फरक निजात्मक नेपाली निबन्धको श्रीगणेश गर्ने श्रेय जान्छ भन्दै साहित्यकार श्यामलले अनुज पुस्ताका प्रेरक रहिआएका उनी प्रतिभाको पहिचान र कदर गर्न सक्ने दरो मुटु भएका समालोचक भएको बताए । उनको निधनले नेपाली साहित्यको यस्ता निर्भिक तर विराट प्रतिभाको अस्त भएको अनुभव हुने बताए । प्रतिभाविहीन लेखनदासलाई डा.शर्माले कहिल्यै लेखक नमान्ने र ठीक बेठीकको निर्णय दिन नसक्ने समालोचकलाई शर्माले समालोचक नमानेको साहित्यकार श्यामलको बुझाइ छ ।

त्रिभुवन विश्वविद्यालयका नेपाली केन्द्रीय विभागका प्रा.डा.लक्ष्मणप्रसाद गौतमले डा.शर्माले साहित्यका सबै विधामा अब्बल रहेको मूल्याङ्कन गर्दै नियात्रादेखि भाषा अभियान मात्र नभएर कथा लेखनमा पनि उनको सशक्त र मौलिक पहिचानको प्रशंसा गरे । त्रिवि नेपाली विषय समितिका सदस्य डा. गौतमले भने, ‘मेरो जागीरे जीवनको सुरुआत डा.शर्माको लेखनी रहेको कक्षा ८, ९ र १० को पाठ्यक्रममा समावेश ‘महेन्द्रमाला’ नेपाली विषय पढाएर भएको हो । त्यस प्रकारको विशिष्ठ र मर्मज्ञखालको पाठ्यपुस्तक त्यसपछि मैले कुनै पनि पाएको छैन । उहाँमा बालबालिकाले कस्तो रुचाउँछन् र उनीहरूलाई कसरी शिक्षा दिनुपर्छ भन्ने राम्रो ज्ञान थियो ।’ डा.गौतमले आफू महासचिव रहेको मानव नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको सल्लाहकार रहेका र भाषाप्रतिको डा.शर्माले दर्शाभएको असाध्यै गहिरो प्रेमको पनि स्मरण गरे ।

मूलरूपमा शर्मालाई देवकोटा र शङ्कर लामिछानेको शैली र परम्पराबाट उठेर फरक निजात्मक नेपाली निबन्धको श्रीगणेश गर्ने श्रेय जान्छ । अनुज पुस्ताका प्रेरक रहिआएका उनी प्रतिभाको पहिचान र कदर गर्न सक्ने दरो मुटु भएका समालोचक थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानले शर्माको निधनबाट भरपर्दा र उच्च बौद्धिक अभिभावक गुमाउनुपरेको जनाएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ र सदस्यसचिव प्रा.जगतप्रसाद उपाध्यायले संयुक्तरूपमा जारी गरेको विज्ञप्तिमा डा.शर्माका कृतिहरू राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, आत्मगौरव, स्वाभिमान, विश्व मानवताका सन्देशयुक्त भएको जनाएको छ ।

इलामको सूर्योदयन नगरपालिका-९, बरबोटमा विसं १९९१ असार ९ गते जन्मिएका डा.शर्माको आज बिहान ८७ वर्षको उमेरमा निधन भएको थियो । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । झर्रोवादी आन्दोलनका अगुवा डा.शर्मा उनी मधुमेह र बिर्सने रोगबाट पीडित थिए । उनको कृति ‘बेलाइततिर बरालिँदा’ ले २०२६ सालमा मदन पुरस्कार तथा ‘सम र समका कृति’ले २०२९ सालमा साझा पुरस्कार पाएको थियो भने उनले २०२३ सालमा रत्नश्री स्वर्णपदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कारसमेत पाएका थिए ।

यो पनि
साहित्यकार तारानाथ शर्माको निधन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

Latest










Popular
Suggested