English

महामारीमा खुम्चिएको होली बजार

रङको पर्व होली रङहीन


होलीको रौनक यस वर्ष पनि रङहीन बनेको छ । गत वर्ष कोरोना महामारीले उभो लाग्न नसकेको होली व्यापार यो वर्ष पनि कोरोनाले खुम्चिन पुगेको छ । रङ, अबिर, पिचकरी, लोला, बेलुन र होली विशेष टि–सर्ट लगायत सामान वर्षमा एक पटक हुने व्यापार हो । तर गत वर्षको पुराना स्टक समान बेच्न पनि समस्या रहेको बताउँछन् व्यापारीहरू ।

रङ र अबिरको बजार

रङको पर्व होलीमा नै रङको व्यापार नभएको बांगेमुढाका व्यापारी आशिष श्रेष्ठ बताउँछन् । दुई वर्षमा रङको खपत २० प्रतिशतभन्दा बढी हुन नसकेको सुनाउँछन् श्रेष्ठ । उनका अनुसार होलीमा रातो, पहेँलो, नीलो, हरियो, सुन्तला, पर्पल रङ बढी बिक्री हुने गर्दछ । होलीको लागि दशजनाले रङ किनेमा त्यसमध्ये २ जना दल्ने र ८ जनाले छर्ने रङ (अबिर) लैजाने गरेको उनी बताउँछन् ।

होली टि–सर्टको बजार

होलीको अवसरमा उत्पादन गरिएको सेतो रङको टि–सर्टमा होलीको विभिन्न शुभकामना लेखिएको हुन्छ । होलीको समयमा यो टि–सर्ट एकदमै लोकप्रिय हुन्छन् । तर महामारीले गर्दा यसको व्यापार खुम्चिएको बताउँछिन् असनकी व्यापारी कमला खनाल । निराश मुद्रामा उनी भन्छिन्, ‘गत वर्षको होलीको टि–सर्ट २ सय थान त्यत्तिकै फालियो । ५ सय थान स्टकमै छ । यो वर्ष जान्छ कि सोचेको तर कटेको छैन ।’
समग्रमा कोरोनाको महामारीमा खुम्चिएको छ व्यापार । त्यसैले, एक वर्ष बितिसक्दा पनि होली बजार आशालाग्दो छैन । ‘पहिला–पहिला होली आउनु एक महिना अगाडीदेखि बस्ने फुर्सद हुँदैन थियो । आफूलगायत पाँच जना कामदार थप्नुपर्ने स्थिति थियो । तर कोरोनापछि कुनै व्यापार छैन, घाटा मात्रै छ,’व्यापारी खनाल भन्छिन् ।

पिचकारीको बजार

होलीमा जुन किसिमको रौनक र उल्लास हुनुपर्ने हो, बजारमा त्यो किसिमको नरहेको बताउँछन् अर्का व्यापारी प्रदिप अग्रवाल । उनका अनुसार होलीमा पिचकारी २५ देखि ३० प्रतिशत विक्री भएको छ ।

होलीको लागि यो वर्ष २ लाखको समान ल्याएको बताउँदै व्यापारी अग्रवाल भन्छन्, ‘होलीमा व्यापार राम्रो होला साेचेको । तर, स्वास्थ मन्त्रालयले भीडभाड, सभा, समारोह, गोष्ठी लगायतका कार्य गर्न नदिने भएपछि व्यापार हुने सम्भावना छैन ।’

वर्षमा एक पटक हुने होलीको व्यापारको समान विक्री नभएपछि वर्ष दिन स्टक राख्नुपर्ने र त्यो समान बिग्रिने उनी बताउँछन् ।

मदिराको बजार

होलीको समयमा मदिराको बजार पनि निकै फस्टाउँछ । यो मौकामा विभिन्न कम्पनीहरुले आफ्नो ब्राण्डको प्रचार प्रसारका लागि टि–सर्टलगायत चिज वितरण गर्दछन् । तर यो वर्षको होली सामाजिक सञ्जालमा नै सीमित देखिन्छ । यो वर्ष होलीको माहोल नरहेको बताउँछन् मदिराका थोक व्यापारी राजन केसी । अरु वर्षको जस्तो चहलपहल नरहेको तर होलीकै दिन भने यसको विक्री हुनेमा उनी आशारत छन् ।

मिठाईको बजार

होलीको अवसरमा बढी विक्री हुने परिकारमध्ये मिठाई पनि एक हो । होलीमा लालमोहन, बुलि वर्फि, रसभरी मिठाईको बढी विक्री हुने बताउँछन्, आँगन मिठाईका बजार प्रवन्धक रामस्वरुप । तर लकडाउनले मिठाई बजार पनि चौपट गरेको छ । उनका अनुसार लकडाउन अगाडी उनको पसलमा ४० परिकारको मिठाई बन्थ्यो तर अहिले घटेर ९ परिकार मात्र छ ।

९० प्रतिशत मिठाईको व्यापार घटेको बताउँदै उनी भन्छन्, ‘मान्छे पहिले पेट भर्छ, त्यसपछि रमाइलो सोच्छ । होलीमा मिठाई परिकार रमाइलोको रूपमा लिइन्छ, त्यसैले पनि बिक्री भएको छैन ।’ समग्रमा गत वर्षझैं यस वर्ष पनि सर्वसाधारणदेखि व्यापारी सम्मको रंगको पर्व होली रंगहीन बनेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

Latest










Popular
Suggested