किन कोरोना खोप लगाउन आउँदैनन् चेपाङहरू



कोरोनाको तेस्रो लहर शुरु हुँदासमेत अल्पसंख्यक समुदायका रूपमा रहेको चेपाङ समुदायका मानिसहरू खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये ६ पालिकामा चेपाङ समुदायको बसोबास छ ।

जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ । यी पालिकामा वि.सं. २०६८ सालको जनगणनाअनुसार २८ हजार ९ सय ८९ चेपाङको बसोबास रहेको छ । त्यसमध्ये अहिलेसम्म ६ हजार ३ सय २७ अर्थात् २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा रहेका सात पालिकामध्ये राप्तीमा २ हजार ७ सय चेपाङले खोप लगाएका छन् ।

सानो उमेरमै विवाह गर्ने परिपाटीका कारण

राप्ती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार वडा नम्बर १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ । ती वडामा ९० प्रतिशत चेपाङ समुदायको बसोबास रहेको र ती वडामा १८ वर्षमाथिका मात्र आठ हजारले खोप लगाउनुपर्ने हो ।

तर, चेपाङ समुदायमा सानो उमेरमा नै विवाह गर्ने परम्परागत परिपाटीका कारण खोप लगाउनेको संख्यामा कमी भएको हुन सक्ने न्यौपाने बताउँछन् ।

१८ वर्षमुनिका बालबालिकालाई खोप लगाउँदा कस्तो परिणाम आउँछ त्यसमा भर पर्ने उनले बताए ’ ‘यस समुदायमा सानो उमेरमा नै विवाह गर्ने प्रचलन छ, १८ वर्षमुनिकालाई खोप लगाउने क्रममा कस्तो सहभागिता रहन्छ हेरौँ ।’उनले भने ।


केन्द्रसम्म आउन टाढा भएकाले


कालिका नगरपालिकामा तीन हजार ८९ चेपाङ समुदायले खोप लगाएका छन् । यस पालिकाको वडा नम्बर ९, १० र ११ मा चेपाङ समुदायको बसोबास छ । यहाँ पहाडी क्षेत्र र खोप केन्द्रभन्दा टाढा बसोबास भएका केन्द्रसम्म आउनसमेत नखोजेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार स्थानीय तहमा रहेका चेपाङ समुदायले खोप किन आवश्यक पर्छ भन्नेजस्ता कुराहरू गर्ने गरेका छन् । उनले भने–‘पहाडी क्षेत्रमा बसोबास गर्नेले कहीँ जानु छैन भन्दै खोप लगाउन नमान्ने गरेका छन् ।’

यस्तै, इच्छाकामना गाउँपालिकाको सबैजसो वडामा चेपाङ समुदायको बसोबास रहेको छ । विशेषगरी, वडा नम्बर १, २ र ६ मा चेपाङ समुदायको बसोबास छ । ती बसोबास रहेको क्षेत्रबाट दुई हजार तीन सय ५० ले कोरोनाको खोप लगाएका छन् । यस पालिकामा १८ हजारभन्दा बढीले खोप लगाएको स्वास्थ्य शाखाका प्रमुख वासुदेव सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार उमेरअनुसार खोप लगाउने क्रममा अब सो संख्या बढ्ने छ । चेपाङ समुदायको बस्ती विकटमा हुने र त्यस क्षेत्रबाट खोप केन्द्रसम्म आउनसमेत नखोज्ने गरेका कारण संख्या कम भएको हो ।

यस्तै, खैरहनी नगरपालिकामा तीन सय ५० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । पालिकाका स्वास्थ्य शाखाप्रमुख अनुप अधिकारीका अनुसार यस पालिकामा रहेका ८५ प्रतिशतले खोप लगाएकामा सो संख्यामा चेपाङ समुदाय रहेको बताए । यस पालिकामा खासै नगण्य संख्यामा मात्रै यस समुदायका बासिन्दाको बसोबास रहेको उनले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा बसोबास गर्ने ती समुदायका व्यक्तिमध्ये एक सय ७४ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । सो वडामा रहेका रातमाटे, चिप्लेटी र किपट क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय खोपमा सहभागी हुन नसकेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । टोलटोलमा शिविर सञ्चालन गर्दासमेत उनीहरू सहभागी नभएकोे कार्यालयले जनाएको छ । महाशाखा प्रमुख दीपक सुवेदीका अनुसार महानगर क्षेत्रमा चेपाङको संख्या ठूलो छैन । उनीहरूको बसोबास रहेको वडा नम्बर २९ को पहाडी क्षेत्र हो ।

सूचनाको अभाव तथा बेवास्ता गरेका कारण

माडी नगरपालिका वडा नम्बर ८ र ९ मा चेपाङ समुदायको बसोबास रहेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भोजराज खनालका अनुसार माडीमा १३० चेपाङ समुदायका व्यक्तिले खोप लगाएका छन् । छरिएर रहेको यस समुदायमा सूचनाको अभाव वा बेवास्ता गरेका कारण खोप लगाउन आउनेको संख्या कम भएको हो । उनले भने, ‘चेपाङको बसोबास बढी संख्यामा बाँदरझुला क्षेत्रमा रहेको र आउ–जाउमा कठिनाइ भएका कारण यस खोपबाट वञ्चित भएका हुन सक्छन् ।’

चेपाङ संघका पूर्वकेन्द्रीय अध्यक्ष गोविन्द चेपाङ कोभिड खोपमा यस समुदायको सहभागिता न्यून रहेको बताउँछन् । उनले भने– ‘कोभिडको विषयमा गलत प्रचार भएकाले थोरैले मात्रै खोप लगाएका छन् ।’ कोरोना खोप लगाएपछि प्रजननमा समस्या हुने डर चेपाङमा देखिएको उनले बताए । कोरोना खोपका लागि चेपाङ भाषामा नै लेखिएको सन्देश प्रचारप्रसार गर्न जरुरी रहेको उनले बताए ।

विसं २०६८ को जनगणनाअनुसार नेपालमा ६८ हजार ३ सय ९९ चेपाङको बसोबास रहेको छ । विशेषगरी चितवन, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँलगायत जिल्लामा चेपाङ बसोबास गर्दै आएका छन् । चेपाङ संघ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले डाँडाकाँडामा बसोबास गर्ने भएकाले खोप लगाउन आउने अवस्था नभएको बताए ।

यो समुदाय बजारको जनजीवनसँग प्रत्यक्षरूपमा सम्पर्कमा नआउने भएकाले पनि संख्यामा कमी आएको हुनसक्ने उनको अनुमान छ । स्वास्थ्य कार्यालयले खोपको व्यवस्थापन मात्रै गर्ने भएकाले स्थानीय पालिकाले प्रचारप्रसारमा जोड दिनु आवश्यक रहेको उनको भनाइ छ ।

खोप केन्द्र आसपास बसोबास गर्नेहरूले मात्रै खोप लगाएको जनाउँदै उनले कोरोना खोपका बारेमा सूचना सम्प्रेषण प्रभावकारी बनाउन सरोकारवालालाई आग्रह गरिएको बताए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले चेपाङ समुदायमा कोरोनाको विषयमा विभिन्न किसिमका नकारात्मक हल्ला चलाइएका कारण समस्या रहेको स्पष्ट पारे ।

यो समुदाय बजारको जनजीवनसँग प्रत्यक्षरूपमा सम्पर्कमा नआउने भएकाले पनि संख्यामा कमी आएको हुनसक्ने उनको अनुमान छ । स्वास्थ्य कार्यालयले खोपको व्यवस्थापन मात्रै गर्ने भएकाले स्थानीय पालिकाले प्रचारप्रसारमा जोड दिनु आवश्यक रहेको उनको भनाइ छ । तिवारीले भने– ‘हरेक वडामा स्वास्थ्य संस्थामार्फत खोपको व्यवस्थापन गरिएको छ, केन्द्रसम्म आउन नचाहनु समुदायको कमजोरी हो ।’

कार्यालयका अनुसार जिल्लामा हालसम्म तीन लाख ७० हजार ५ सय ४४ ले खोप लगाएका छन् । पहिलो मात्रा लगाएकामध्ये ३ लाख २० हजार ९ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । तिवारीका अनुसार पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४ सय ४३ ले, भेरोसेल २ लाख ३७ हजार ६ सय २ ले, एस्ट्राजेनेका ५१ हजार ९ सय ६२ ले, फाइजर बायोएनटेक एक हजार ८ सय ६७ ले र जोन्सन ३८ हजार ६ सय ७० ले लगाएका छन् ।

यसैगरी, पूर्ण मात्रा खोप कोभिसिल्ड÷एस्ट्राजेनेका ८२ हजार ८ सय ५३ जनाले, भेरोसेल एक लाख ९६ हजार ७ सय २९ जनाले, जोन्सन ३८ हजार ६ सय ७० जनाले र फाइजर बायोएनटेक एक हजार ७ सय ५७ जनाले लगाएका छन् । पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउने समय भइनसकेको संख्या भने २० हजारको हाराहारीमा रहेको छ ।
यो पनि
आजदेखि बालबालिकालाई कोभिडविरुद्धको खोप
नेपालमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, एकैदिन थपिए १४४६ संक्रमित



...
ओमिक्रोनबाट बच्न आयुर्वेदिक जीवनशैली अपनाऔँ - Mero LifeStyle Mero LifeStyle

[…] संख्या तीव्र गतिमा बढेको छ । नेपालमा खोप नपाउनेको संख्या पनि धेरै भएकोले नयाँ […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँको व्यवसाय राम्रै चल्दै थियो । दुग्ध विकास संस्थान (डिडिसी) को डिलर लिएर काठमाडौँमा दुई वटा डेरी चलाइरहेका थिए उनले

पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन अहिले एकदमै व्यस्त रहेका छन् । कोरोनाको नयाँ–नयाँ भेरियन्ट देखिएसँगै त्यसको अध्ययन अनुसन्धानमा उनी व्यस्त

कोरोना भाइरस संक्रमणको असर नेपालमा देखिन थालेको छ। हप्ता दिनयता नेपालमा संक्रमितको संख्या डरलाग्दो रूपले उकालो लागेको छ। मंगलबार २२

Suggested