English

गोरखादेखि काठमाडौंसम्म सेनाकाे पदयात्रा शुरु



पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखादेखि काठमाडौंसम्म पदयात्रा शुरु गरेको छ । ऐतिहासिक महत्वको एकीकरण अभियानलाई हर्षोल्लासका साथ मनाउन गोरखादेखि काठमाडौंसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा शुरु गरिएको सेनाले जनाएको छ ।

नेपाली सेनाले दुई वर्षदेखि यही बाटो हुँदै काठमाडौंसम्म पदयात्रा गर्दै आएको छ । नेपाली सेनाको मध्यकमान्ड हेडक्वार्टरका कमान्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले नेपालको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गरी पदयात्राको शुभारम्भ गरेका हुन् । आज गोरखा दरबारबाट शुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै पृथ्वीजयन्तीको दिन अर्थात् पुस २७ गते काठमाडौं पुग्ने गोरखाको रिपुमर्दन गणले जनाएको छ ।

पदयात्रामा बाजागाजासहित पृथ्वीनारायण शाहकालीन नेपाली सेनाको पोशाकमा रिपुमर्दन गणको फौज सहभागी भएको छ । यात्राको क्रममा टर्चसहितको नेपालको झण्डासहित पृथ्वीनारायण शाहको पालामा स्थापना भएका सेनाका प्रथम पाँच कम्पनीका झण्डा पनि समावेश गरिएको गणका सेनानी प्रकाश परियारले जानकारी दिए । पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज नाममा पाँच कम्पनी स्थापना भएका थिए । तत्कालीन कम्पनीहरू अहिले पनि सेनाको गणका रूपमा रहेका छन् । पदयात्राका क्रममा गोरखाको टोलीले नेपाली सेनाको धादिङको टोलीलाई, धादिङले नुवाकोटको टोलीलाई र नुवाकोटमा तैनाथ नेपाली सेनाको टोलीले काठमाडौंमा तैनाथ गणलाई टर्च, राष्ट्रिय झण्डा र सेनाका ५ कम्पनीको झण्डा हस्तान्तरण गर्नेछ ।


काठमाडौंको गणले पृथ्वीजयन्तीको दिन काठमाडौंमा हुने कार्यक्रममा भाग लिने नेपाली सेनाले जनाएको छ । सरकारले गोरखादेखि काठमाडौंसम्मको पुरानो बाटोलाई एकीकरण पदमार्गका रूपमा विकास गर्न थालेको हो । सेनाले यस पदमार्गको अध्ययन पूरा गरेको छ । गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाडौंबाट काभ्रेसम्मको करिब १ शय ९२ किलोमिटर बाटोलाई सरकारले एकीकरण पदमार्गको रूपमा प्रवर्द्धन गर्न लागेको हो । नेपाली सेनाको गोरखामा रहेको गणले भने गोरखाभित्रको बाटोको अध्ययन गरेको छ ।

काठमाडौंको हनुमानढोकाबाट गोरखा दरबार २६ कोषको दूरीमा रहेको छ । बाटोको बीचबीचमा रहेका अधिकांश कोसेढुंगा हराएका छन् भने भएकाको पनि संरक्षण हुन सकेको छैन । एकीकरण पदमार्गमा पर्ने गोरखा खण्डमा ६ वटा कोसेढुंगा हुनुपर्नेमा ५ वटा मात्रै सुरक्षित छन् । गोरखा दरबारको हनुमान भञ्ज्याङ, मेलबिसौना, ताप्लेकोट, अश्राङको ठाँटी र बोर्लाङको घाटवेसीको कोसेढुंगा सुरक्षित छन् । यस्तै, पदमार्ग आसपास दर्जनौं ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवा लगायतका पुरातात्विक सम्पदाहरू रहेका छन् । पदमार्गको धेरैजसो खण्डमा भने मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको छ । जसका कारण ऐतिहासिक सम्पदा नासिने जोखिम पनि बढेको छ । पुरानो हुलाकी मार्गका रूपमा रहेको बाटो आसपासका पुराना चौताराहरूको पनि संरक्षण हुन सकेको छैन ।

पदयात्रामा सहभागी सेनाको टोलीको बिदाइ कार्यक्रममा बोल्दै नेपाली सेनाको मध्यकमान्ड हेडक्वार्टरका कमान्ड सेनापति बाबुराम श्रेष्ठले पदमार्गमा पर्ने सम्पदाहरूको संरक्षणमा पनि सेना सहभागी भइरहेको बताए । उनले राष्ट्रिय एकताको सन्देश दिन सेनाले पदयात्राको थालनी गरेको पनि जानकारी दिए । यस्तै, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले त्यस्ता सम्पदाको संरक्षणमा नेपाली सेनालाई गोरखा, धादिङ, नुवाकोट र काठमाडौंका स्थानीय सरकारले साथ दिनुपर्ने बताए । यस्तै, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले एकीकरण पदमार्गमा पर्ने जिल्लाहरूबीच त्यसको प्रचारप्रसारका लागि समन्वय हुनुपर्ने बताए ।

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested