English

गोरखादेखि काठमाडौंसम्म सेनाकाे पदयात्रा शुरु



पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखादेखि काठमाडौंसम्म पदयात्रा शुरु गरेको छ । ऐतिहासिक महत्वको एकीकरण अभियानलाई हर्षोल्लासका साथ मनाउन गोरखादेखि काठमाडौंसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा शुरु गरिएको सेनाले जनाएको छ ।

नेपाली सेनाले दुई वर्षदेखि यही बाटो हुँदै काठमाडौंसम्म पदयात्रा गर्दै आएको छ । नेपाली सेनाको मध्यकमान्ड हेडक्वार्टरका कमान्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले नेपालको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गरी पदयात्राको शुभारम्भ गरेका हुन् । आज गोरखा दरबारबाट शुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै पृथ्वीजयन्तीको दिन अर्थात् पुस २७ गते काठमाडौं पुग्ने गोरखाको रिपुमर्दन गणले जनाएको छ ।

पदयात्रामा बाजागाजासहित पृथ्वीनारायण शाहकालीन नेपाली सेनाको पोशाकमा रिपुमर्दन गणको फौज सहभागी भएको छ । यात्राको क्रममा टर्चसहितको नेपालको झण्डासहित पृथ्वीनारायण शाहको पालामा स्थापना भएका सेनाका प्रथम पाँच कम्पनीका झण्डा पनि समावेश गरिएको गणका सेनानी प्रकाश परियारले जानकारी दिए । पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज नाममा पाँच कम्पनी स्थापना भएका थिए । तत्कालीन कम्पनीहरू अहिले पनि सेनाको गणका रूपमा रहेका छन् । पदयात्राका क्रममा गोरखाको टोलीले नेपाली सेनाको धादिङको टोलीलाई, धादिङले नुवाकोटको टोलीलाई र नुवाकोटमा तैनाथ नेपाली सेनाको टोलीले काठमाडौंमा तैनाथ गणलाई टर्च, राष्ट्रिय झण्डा र सेनाका ५ कम्पनीको झण्डा हस्तान्तरण गर्नेछ ।


काठमाडौंको गणले पृथ्वीजयन्तीको दिन काठमाडौंमा हुने कार्यक्रममा भाग लिने नेपाली सेनाले जनाएको छ । सरकारले गोरखादेखि काठमाडौंसम्मको पुरानो बाटोलाई एकीकरण पदमार्गका रूपमा विकास गर्न थालेको हो । सेनाले यस पदमार्गको अध्ययन पूरा गरेको छ । गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाडौंबाट काभ्रेसम्मको करिब १ शय ९२ किलोमिटर बाटोलाई सरकारले एकीकरण पदमार्गको रूपमा प्रवर्द्धन गर्न लागेको हो । नेपाली सेनाको गोरखामा रहेको गणले भने गोरखाभित्रको बाटोको अध्ययन गरेको छ ।

काठमाडौंको हनुमानढोकाबाट गोरखा दरबार २६ कोषको दूरीमा रहेको छ । बाटोको बीचबीचमा रहेका अधिकांश कोसेढुंगा हराएका छन् भने भएकाको पनि संरक्षण हुन सकेको छैन । एकीकरण पदमार्गमा पर्ने गोरखा खण्डमा ६ वटा कोसेढुंगा हुनुपर्नेमा ५ वटा मात्रै सुरक्षित छन् । गोरखा दरबारको हनुमान भञ्ज्याङ, मेलबिसौना, ताप्लेकोट, अश्राङको ठाँटी र बोर्लाङको घाटवेसीको कोसेढुंगा सुरक्षित छन् । यस्तै, पदमार्ग आसपास दर्जनौं ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवा लगायतका पुरातात्विक सम्पदाहरू रहेका छन् । पदमार्गको धेरैजसो खण्डमा भने मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको छ । जसका कारण ऐतिहासिक सम्पदा नासिने जोखिम पनि बढेको छ । पुरानो हुलाकी मार्गका रूपमा रहेको बाटो आसपासका पुराना चौताराहरूको पनि संरक्षण हुन सकेको छैन ।

पदयात्रामा सहभागी सेनाको टोलीको बिदाइ कार्यक्रममा बोल्दै नेपाली सेनाको मध्यकमान्ड हेडक्वार्टरका कमान्ड सेनापति बाबुराम श्रेष्ठले पदमार्गमा पर्ने सम्पदाहरूको संरक्षणमा पनि सेना सहभागी भइरहेको बताए । उनले राष्ट्रिय एकताको सन्देश दिन सेनाले पदयात्राको थालनी गरेको पनि जानकारी दिए । यस्तै, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले त्यस्ता सम्पदाको संरक्षणमा नेपाली सेनालाई गोरखा, धादिङ, नुवाकोट र काठमाडौंका स्थानीय सरकारले साथ दिनुपर्ने बताए । यस्तै, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले एकीकरण पदमार्गमा पर्ने जिल्लाहरूबीच त्यसको प्रचारप्रसारका लागि समन्वय हुनुपर्ने बताए ।

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती