English

मुसहर बस्तीमा चिसोको प्रहार : न लुगा, न खाना



महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ भटौलिया मुसहर गाउँका हुकुमा सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच बसिरहेकी थिइन् । । उनी, बालबालिका र महिलाहरूको शरीरमा चिसो छल्न सक्ने लुगाफाटा छैनन् । उनको घरमाथि टुटेका झिक्राझिक्री मात्र छन्, घेराबेरासमेत केही छैन । साठी वर्ष नाघिसकेका हुकुमा आफ्नो परिवारसहित चिसो आकाशमुनि रहेका छन् ।

चरम गरिबीले छोएको यस परिवारमा स–साना बालबालिका गरी १३ जना थिए । तीमध्ये कुनै बालबालिकाको शरीर लुगाफाटाले पूर्णरूपमा छोपिएका छैनन् । त्यसैगरी, महिलाहरू अनिवार्यरूपमा इज्जत ढाक्नैका लागि लगाउनुपर्ने लुगाबाहेक थप लत्ताकपडामा भेटिएनन् । पुरुषहरू पनि आधा–अधुरा च्यातिएको लुगाफाटाले सकी नसकी आफूलाई चिसोबाट जोगाउने प्रयत्न गरिरहेका छन् ।

सञ्चारकर्मीलाई देखेर बालबालिका दगुर्दै ‘केही बाँड्ने मान्छे आयो’ भन्दै आए । हुकुमाले परैबाट ‘हजुर जे लाइलछी से ओकरेसबके ददिऔ’ ‘हजुरले जे ल्याउनुभा’छ, त्यो उनीहरूलाई नै दिनुहोस्’ भन्दै कराइन् । उनकै छिमेकी सीतादेवी सदा आफ्ना पाँच छोराछोरीसहित परालको ठुटाले चारैतिरबाट घेरिएको र माथि च्यातिएको प्लास्टिकबाट ठाउँ–ठाउँमा घरभरि उज्यालो आउँदै गरेको सानो झुप्रामा चिसोसँगै लड्दै थिइन् ।

उनले घरभरि आफू र आफ्ना सन्तानको जीउ न्यानो पार्न र राति सुत्नका लागि पराल ओछ्याएकी छिन् भने ओढ्नका लागि जुटका ठूलाठूला बोरामा पराल कोचेर राखेकी छिन् । उनका कुनै छोराछोरीका जीउमा पनि पूरा लत्ताकपडा छैनन् । घरभित्रैबाट चिसोले काँप्दै सीताले रुँदै भनिन्– ‘हजुर, हमरा सबल केऊ नै अबैछै, मैर रहलछी लेकिन केकरो कोनो फिकिर नै है ।’ (हजुर हामीकहाँ कोही पनि फर्केर आउँदैनन् । हामी जाडाले मरिरहेका छौँ । तर, पनि कसैलाई कुनै मतलब छैन ।)

उनले आफू तीन वर्षदेखि चिसो, वर्षा र घामको सामना गर्दै सोही झुप्रामा दिन बिताउन बाध्य रहेको बताइन् । ‘ठूलो परिवार भएकाले खानपानकै जोहो त गर्न सकिँदैन भने लुगाफाटा र ओढ्ने ओछ्याउने कहाँबाट ल्याउनू ?’, उनले थप पीडा पोखिन् । उनी र उनका सन्तान पनि सञ्चारकर्मीलाई देखेर असहनीय चिसोको बेला आफ्नो बस्तीमा कुनै कुरा बाँड्न आएका व्यक्ति सम्झेर माग्न थाल्छन् ।

त्यहीँ नजिकै चार वर्षदेखि दमरोगकी शिकार अनरियादेवी सदा झुत्रो कम्बल ओढेर काँप्दै थिइन् । उनले आफूलाई पति र छोराछोरीले समेत राम्ररी हेरचाह नगरेको भनी सहारा मागिन् । उनी भन्छिन्– ‘हजुर मलाई पनि आफूसँगै लैजानुस्, नत्र म यहाँ केही दिनमै मर्छु । मलाई रोगले धेरै च्यापिसकेको भए पनि मेरो उपचार न पतिले गराउँछन् न छोराछोरीले नै ।’ उनले आफूलाई चिसो मौसमको दुश्मन दम रोगबाट मुक्ति दिलाइदिन पनि आग्रह गर्दै भनिन् । तातो र पोषिलो खानाको अभावसँगै आफू दुई÷तीन दिनसम्म भोकभोकै पनि रहने गरेको दुखेसो गरिन् ।

उनीजस्तै सोही ठाउँ बस्ने ४५ वर्षीया कौशिला सदा दुई सातादेखि राति सुत्न पाएकी छैनन् । उनले भनिन्– ‘दिनभरि जसोतसो काटे पनि राति आगोकै सहाराले नै बाँच्दै आएको छु ।’ दुई सातादेखिको चिसो स्याँठबाट बालबालिका र आफूलाई बचाउन रातभरि पातपतिंगरको घुर जलाएर सुत्ने गरेको बताउँदै उनले आगो बालेर सुत्दा जल्ने, पोल्ने डरले बालबालिकालाई सुताए पनि आफू खासै नसुत्ने गरेको सुनाइन् । गरिबीका कारण खानपानकै जोरजाम पनि राम्ररी पूरा गर्न नसक्ने उनका पति दिनभरि मजदूरी गरेर कमाएको पैसामध्ये आधा मदिरामा उडाइदिने गर्छन् ।

आधा पैसाले जहानपरिवारका लागि खानेकुराको जोहो गर्नुपर्दा बालबालिकाले न्यानो लुगाफाटा र पोषिलो खानेकुरा पाउन सकेका छैनन् । यस वर्ष मात्रै नभएर वषौंदेखि आफूहरूले जाडो याममा यसैगरी समय काट्ने गरेको पाँच सन्तानकी आमा कौशिलाले बताइन् । दिनमा घाम लागे खुसी हुने र साँझ ढल्दै गर्दै दुःखी भई रातभरि घुरमा आगो तापेर रात बिताउने उनको दिनचर्या बनिसकेको छ ।

बाक्लो हुस्सु र डम्म परेको कठ्याँग्रिदो जाडोकै बीच बस्ती नजिकै धान खेतमा धान बढार्दै गरेका ७२ वर्षीया भुटीदेवी सदाले पनि टाढैबाट कराउँदै आफ्नो पीडा सुनाइन् – ‘हजुर, खान पाएकी छैन । घरमा अन्नपात छैन, जीउमा लुगा छैन, छानामाथि ओत छैन, यस्तोमा निष्ठुरी जाडोले ज्यानै लिन लागेको छ । कहाँ जाऊँ, के गरूँ र कसरी बाँचूँ भन्दै चिन्ताले पिरोलिएकी उनी घरी आगो ताप्ने र घरी धान बढार्दै थिइन् ।

उनीले दैनिकरूपमा मजदुरी गरेपछि मात्रै घरमा खानपिनको व्यवस्था हुन्छ । एकदिन पनि मजदूरी नगरेमा सात बालबालिकासहित ११ जनाको परिवारका सबै सदस्य भोकभोकै बस्नुपर्ने उनको दुःखेसो छ । अहिले कठ्यांग्रिदो जाडोमा कहिले काम पाइन्छ भने कहिले कामै पाइँदैन । काम नपाइएमा परिवारजन भोकै बस्छन्’, भुटीले थपिन् ।, ‘हजुर कोही दाता छन् भने हामीलाई कम्तीमा एक महिनाका लागि राहत दिलाइदिनुस् । एक महिनामा जाडो हटेर गएपछि पुनः रोजगारी गरेर खान्छु, तर अहिले रोजगारी गर्नु कि ज्यान जोगाउनु ?’

उनीसँगै अर्काे खेतमा एउटा हातै नभएको ११ वर्षीय बालक पनि धान बढार्दै थिए । ‘किशन सदा’ नाम गरेका उक्त बालकले पनि जीउमा च्यातिएको आधा लुगा मात्रै लगाएका थिए । कठ्यांग्रिँदै एउटै हातले धेरथोर धान बटुल्दै गरेका उनी पनि परैबाट भन्दै थिए, ‘हजुर, राहतमा मेरो पनि नाम लेखिदिनुस्, मैले पनि दुई दिनदेखि खान पाएको छैन । मेरो पनि घरमा आमा, तीन दिदीभाइ र मलगायत पाँच जना छौँ । तर, कमाउने कोही नहुँदा एउटै हातले भए पनि काम गरेपछि मात्रै खान पाउँछु ।’

त्यही बस्तीभित्रै सानो खरको झुप्रोभित्रै पराल ओछ्याएरै दुईमहिने बालकलाई झुत्रो लुगामा बेरेर सुताइएको छ । उसको अभिभावक सिकिन्दर सदा भन्दै थिए– ‘हजुर आफैँ त बल्लबल्ल कठिनसँग जाडो सहन सकिरहेको छु, तर यत्रो सानो बच्चालाई कसरी जोगाउनु ? डर हुन्छ कहीँ केही नराम्रो नभइहालोस् । घरमा चारैतिरबाट हावा पस्छ । जाडाले मुटु नै हल्लाउँछ । यस्तोमा ओढ्ने, ओछ्याउने नहुँदा मनै रोएर आउँछ । कसैगरी, कतैबाट पनि राहत दिलाइदिनुस् ।’

सो बस्तीका ललित, सरोज, वकिल, जोगिया, दिनेश, कृष्णा, सुरेन्द्र, रामस्नेही, सुमित्रादेवी, पवित्रीदेवी, विदेही, मनतोरियादेवी सदासहित झन्डै एक सय परिवार मुसहरको अवस्था त्यस्तै छ । जुनसुकै व्यक्तिका घरमा जाँदा पनि सबैको उस्तै पीडा देखिन्छ । अभावै अभावमा जीवन काटिरहेका उनीहरूको अवस्था बढ्दो चिसोसँगै चिन्ताजनक हुँदै गएको छ । चिसो छल्न समयमै उनीहरूलाई न्यानो लुगाफाटा र पोषिलो खानेकुरा सहितको राहतको व्यवस्था गरिएन भने बस्तीमा मानवीय क्षति हुन बेर नलाग्ने बस्तीका अगुवा रजिन्द्र सदाले बताए ।

वडाध्यक्ष रामविलास रायले चिसो पीडितलाई राहत दिन वडामा केही पनि नरहेको बताए । उनले भने– ‘मैले चाहेर पनि मुसहरहरूका लागि तत्कालै केही गर्न सक्दिनँ, वडा सञ्चालनबाहेक हामीसँग कुनै थप बजेट छैन, सबै कार्यक्रम गाउँपालिकामै सीमित छ । पीडितको अवस्थाबारे गाउँपालिका अध्यक्षलाई जानकारी गराउँदै केही गर्ने प्रयास भने अवश्य गर्नेछु ।’

सो गाउँपालिकाका अध्यक्षमा भने रामछविला साह तथा जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने यस क्षेत्रबाट संघीय सांसदमा महन्थ ठाकुर र प्रदेश नं २ प्रदेशसभा सदस्यमा रानीकुमारी तिवारी निर्वाचित भएका छन् । रोग, भोक र कठ्यांग्रिँदो चिसोबाट ज्यान गुमाउन लागेका मुसहरको उद्धार र राहतका लागि गाउँपालिका अध्यक्ष, संघीय सांसद र प्रदेशसभा सदस्यले अहिलेसम्म कुनै पहल गरेको गुनासो एकै स्वरमा सबै मुसहरले गरेका छन् ।

उनीहरूका अनुुसार अहिलेसम्म कुनै एनजीओ र आइएनजीओसमेत तिनको हालखबर सोध्न वा कुनै किसिमको राहत बाँड्न आएका छैनन् । मुसहरहरूले आउँदो निर्वाचनमा आफ्नो बस्तीमा मत माग्न जानेलाई आफूहरूले यसै विषयबारे प्रश्न सोध्ने बताए । निर्वाचन भएको चार वर्ष बित्न लाग्दा पनि आफूहरूका लागि अहिलेसम्म जनप्रतिनिधिले कुनै कार्यक्रम नल्याएको र कुनै सहयोग नगरेको बस्तीका अगुवा रजिन्द्रले बताए । उनीसहित सम्पूर्ण बस्तीका पीडितले आफूहरूलाई बढ्दै गरेको चिसोबाट जोगाउनका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटीलगायत सरोकार पक्षसमक्ष आफ्ना कुरा पु¥याइदिन सञ्चारकर्मीलाई आग्रह पनि गरे ।

यो पनि पढ्नुहोस्:
४ कोठाको एक तले पक्की घर बनाउन के–केमा कति लाग्छ खर्च ?

काठमाडौँमा अपार्टमेन्ट किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ मुल्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested