यस कारण मनाइन्छ तमु ल्होसार



आज गुरुङ समुदायको नयाँ वर्ष अर्थात् तमु ल्होसार ‘गुरुङ भाषाअनुसार ‘ल्हो’ को अर्थ वर्ग अथवा वर्ष र ‘सार/छार’ को अर्थ नयाँ हुन्छ । २६०३ वर्ष अघिदेखि ल्होसार मनाइदै आएको हाे, तर यसकाे यकिन इतिहास भने छैन ।

गुरुङ समुदायको पात्रो अनुसार हरेक वर्षको पुस १५ मा वर्ग-वर्ष फेरिन्छ । गुरुङहरूको पात्रो चिनियाँ पात्रोमा आधारित हुन्छ । पुस १५ लाई उनीहरूले नयाँ वर्ष र जातीय पर्वका रूपमा मनाउँछन् । ‘ल्हो’ अर्थात् वर्ग १२ वटा हुन्छन् । ती सबै विभिन्न पशुपंक्षीका नाममा राखिएको हुन्छ । हरेक १२ वर्षपछि फेरि शुरुकै वर्ग आउँछ । ल्हाे ल्हाे अर्थात् गाई वर्गलाई बिदाइ गर्दै यसपालि ताेल ल्हाे अर्थात् बाघ वर्षलाई स्वागत गरिएकाे छ ।

गुरुङको हरेक शुभ-अशुभ कार्य गर्दा वर्ग हेरेर गर्ने गरिन्छ । पुस १५ मा सबैभन्दा लामो रात र छोटो दिन हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसपछि दिन लामो र रात छोटो हुँदै जान्छ । दिन लम्बिने पहिलो दिनलाई नै गुरुङले नयाँ वर्ष शुरू हुने दिनका रूपमा मनाउन थालेका हुन् । नेपालमा गुरुङसँगै तामाङ, शेर्पालगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् ।

कृषि बाली स्याहार्ने पर्वलाई ल्होसार पर्वमा रूपान्तरण गरिएको थियो, जसलाई तोला ल्होसार भनिन्छ । अहिले गुरुङले आफूले मनाउँदै आएको ल्होसारलाई तोला ल्होसार नभनी तमु ल्होसार भन्ने गरेका छन् । तोला भनेको खेतीबाली हो यो नामाकरण उनीहरूले गुरुङको पहिचानसँग जोड्न खोजेको देखिन्छ ।

तिब्बतमा इसापूर्वको सातौँ शताब्दीतिर बुद्ध धर्म प्रवेश हुनु अगाडि भिन्नरूपमा ल्होसार मनाउने गरेको इतिहास भेटिन्छ । तिब्बतमा किसानहरूले वर्षे बाली स्याहार्ने बेला कृषि बाली पर्व मनाउने गर्थे । पछि त्यही पर्वलाई ल्होसारमा रूपान्तरण गरियो । त्यस सन्दर्भमा यो पर्व किसानको पर्व हो, जसलाई तोला ल्होसार भनिन्छ । आजसम्म प्राप्त ऐतिहासिक स्रोतअनुसार, नेपालमा गुरुङको आगमन चीनबाट तिब्बत हुँदै ईसाको पहिलो शताब्दीतिर भएको देखिन्छ । त्यतिबेला गुरुङहरू बोन धर्ममार्गी अर्थात् प्रकृतिपूजक थिए । त्यतिबेलैदेखि गुरुङहरूले पनि ल्होसार मनाउँदै आइरहेका थिए भन्ने अनुमान गरिन्छ ।

फरक–फरक समुदायले मनाउने ल्होसारको नाम पनि फरक–फरक छन् । गुरुङले मनाउने ल्होसारलाई तोला (तमु) ल्होसार भनिन्छ ।। यो नामाकरणबाट उनीहरूले यस पर्वलाई गुरुङको पहिचानसँग जोड्न खोजेको देखिन्छ । गुरुङजस्तै तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पालगायत हिमाली समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भन्ने गरिन्छ ।

जाति र मौसम अनुसारको ल्होसार

तामाङ, शेर्पा र अन्य हिमाली समुदायले पनि ल्होसार भव्यरूपमा मनाउँछन् । तर, उनीहरूले मनाउने ल्होसारको समय भने फरक छ । गुरुङले पुसमा, तामाङले माघमा र शेर्पाले फागुनमा मनाउँछन् । सायद, मौसमका कारण यसरी फरक–फरक महिनामा ल्होसार मनाए होलान् भन्ने अनुमान छ । शेर्पाहरू हिमालमा बस्ने हुँदा पुसमा त्यहाँ अति जाडो हुन्छ ।

त्यसैले, उनीहरूले अलि न्यानो महिना फागुनमा ल्होसार मनाएका हुन सक्छन् । तामाङहरू शेर्पाभन्दा अलि तल उच्च पहाडी भेगमा बस्ने हुँदा जाडो अलि कम हुने महिना माघमा ल्होसार मनाएको अनुमान गर्न सकिन्छ । त्यस्तै, गुरुङहरू तामाङभन्दा पनि अझै तल पहाडी कछाडतिर बस्ने हुँदा हिमालमा भन्दा अलि कम जाडो हुन हुनाले उनीहरूले पुसमा ल्होसार मनाउन शुरु गरेको अनुमान गर्न सकिन्छ ।

संयुक्तरूपमा एउटै ल्होसार मनाउन पहल

नेपालको विभिन्न भूभागमा बस्ने समुदायले मनाउने ल्होसार पर्वमा सार्वजनिक बिदा दिने चलन छ । विभिन्न पर्वहरूको बिदा कटौतीको विषयको बहस चलिरहेका बेलामा यही सन्दर्भलाई लिएर सरकारसँग संसदमा कुरा नउठेको होइन । ल्होसारलाई सार्वजनिक बिदा दिने भनी सरकारले ल्होसारमा बिदा दिन आनाकानी गरेपछि महासंघका तत्कालीन प्रमुख सल्लाहकार स्व. डा. हर्क गुरुङको पहलमा गुरुङ, शेर्पा र तामाङबीच सबैले एउटा महिना र एउटा दिन निश्चित गरी ल्होसार एकैचोटी संयुक्तरूपमा मनाउनेबारे छलफल भएको थियो ।

सहरी क्षेत्रमा बस्ने गुरुङ, शेर्पा र तामाङका लागि एकै महिना एकै दिन ल्होसार मनाउन सम्भव र व्यावहारिक भए पनि मौसमका कारण हिमाल, पहाड र लेकमा बस्ने शेर्पा, तामाङ र गुरुङका लागि एकै महिना र एकै दिन ल्होसार मनाउन व्यावहारिक थिएन । त्यसैले, संयुक्त रूपमा एउटा ल्होसार मनाउने पहल सफल हुन सकेन । तर, त्यतिबेला जनजाति आन्दोलन बलियो भएकाले तत्कालीन तमु छोजधींको पहलमा सरकारले ल्होसार पर्वमा सार्वजनिक बिदा दिन बाध्य भएको थियो । अहिले जनजाति आन्दोलन कमजोर भएका कारण ल्होसारलगायत सबै जातिका पर्वमा सरकारले दिँदै आएको सार्वजनिक बिदा कटौती भएको छ । यसबाट जनजातिको पहिचानमा ठेस पुगेको छ ।

खेतीपातीबाट फुर्सद

ल्होसार पर्वलाई कृषि र पशुपालनसँग जोडेर हेर्ने हो भने यसको निकै महत्व छ । पहिले–पहिले गुरुङहरू वनमा धनुवाण लिएर शिकार खेलेर जीविका धान्थे । विस्तारै खेतीपातीसँगै पशुपालन तथा अन्य व्यवसाय शुरू गर्न थालेपछि मानिस वर्षभरि काममा व्यस्त हुन थाले र कृषि याममा समय नहुने भएकाले हिउँदको फुर्सदमा इष्टमित्र, छरछिमेकी, साथीभाइ सबै एकै ठाउँमा भेला भएर खाने, बस्ने र रमाइलो गर्न थालेपछि यो पर्वले व्यापकता पाउन थालेको हो ।

यस पर्वमा पारिवारिक भेटघाट मात्र नभएर सामाजिक भेला पनि हुन्छ । दुःख–सुखका कुरा एक–अर्कामा बाँड्छन् । समाजमा गर्नुपर्ने कामबारे पनि त्यही भेलामा छलफल हुन्छ । गाउँघरमा यही मौका पारेर मेला लाग्छ । मेलामा आफूसँग भएका सीप–कलाको प्रदर्शन गर्ने, आफूले उत्पादन गरेका वस्तुको वस्तु विनिमय गर्ने, ठेलो फाल्ने, धनुष वाण हान्नेजस्ता खेल खेल्ने तथा गुरुङको पहिचान झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिन्छ ।

पितृको सम्झना

यो पर्वमा विशेष कर्मकाण्ड केही हुँदैन । बिहान सबेरै उठेर नुहाइधुवाइ गरी चोखो भएर कुलदेवता तथा पितृपूजा) गरिन्छ । मिठो मसिनो भोजन बनाएर पितृलाई चढाइन्छ । घर सरसफाइदेखि ध्वजा (लुङ्दर) फेर्ने काम हुन्छ । यी कुराले पनि गुरुङको नयाँ वर्ष आएको रहेछ भन्ने देखाउँछ । दिउँसो भने आफूलाई मनपर्ने परिकार बनाएर परिवारका सदस्य, इष्टमित्र, साथीभाइ चेलीबेटीसँगै बसेर खाने गरिन्छ । खानामा विशेषतः गुरुङहरूको सेलरोटी नै हो । यसबाहेक अहिले चिसो मौसम भएकाले यो बेला मौसमअनुकूल न्यानो र चोखोरूपमा हुने झोलिलो पदार्थ, कन्दमूल–तरुल, पिँडालु, सखरखण्ड, मासुका परिकारलगायत पौष्टिक आहार खाने चलन छ ।

सांस्कृतिक महत्व

तमु ल्होसारको विशेष सांस्कृतिक महत्व छ । जसले गुरुङको इतिहास, पहिचान, संस्कृति बोकेको छ । त्यसकारण, यस पर्वलाई उनीहरूको आफ्नो पहिचानको मूल कडीका रूपमा लिइएको छ । सबैका पर्व–संस्कृतिले आ–आफ्नो संस्कृति झल्काएजस्तै, यस पर्वमा गुरुङको आफ्नो सांस्कृतिक भेषभूषा, खानपान, गीत–संगीत, सीप–कला प्रस्तुत हुन्छ । यससँगै आफ्ना चेलीबेटी, छरछिमेक, दाजुभाइ जम्मा हुने, आफ्नो नाता–सम्बन्ध सबैलाई एक ठाउँमा राखेर पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो पार्ने, सामाजिक र सांस्कृतिक परम्पराको संरक्षण गर्ने गरिन्छ । यसले माइती र चेलीबीचको सम्बन्धलाई मजबुद बनाउँछ ।

गुरुङ समुदायमा चेलीबेटीलाई विशेष मान–सम्मान गरिन्छ । यस अवसरमा चेलीबेटीलाई र उनीहरूका परिवारलाई बोलाएर खानपिन गरिन्छ भने चेलीबेटीले पनि माइतीलाई उस्तै मान–सम्मान र खानपिन गराउँछन । गुरुङको विशेषता नै दोहोरो खालको सामाजिक–सांस्कृतिक सम्बन्ध अर्थात् आपसी सहयोग आदान–प्रदान हो । यस हिसाबले यो पर्वको सांस्कृतिक पक्ष धेरै बलियो देखिन्छ ।

पहिले ल्होसार पर्व परिवार र समुदायमा मात्र सीमित थियो । ग्रामीण समाजका गुरुङ परिवार र समुदायमा सीमित यो पर्व बसाइसराइँ र जातीय पहिचान आन्दोलनका कारण अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बनेको छ । यसलाई अहिले नेपालका गुरुङले मात्र नभएर विभिन्न देशमा बस्ने गुरुङले पनि मनाउन थालेका छन्। गुरुङ जातिका पहिचान झल्किने खालका विभिन्न कार्यक्रमसहित यसलाई सामूहिक, संगठित र व्यवस्थित तरिकाले राष्ट्रिय पर्वकै रूपमा मनाउने अभ्यास शुरु भइसकेको छ ।

यो पनि…
देशभरि हिमपात

नदीजन्य पदार्थको उत्खननले जोखिममा कर्णाली



...
यसरी मनाइयो तमू ल्होसार (फोटो फिचर) - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट निस्केर बाहिर जाने हो भने इँटा भट्टाहरू प्रशस्तै भेटिन्छन् । यिनै भट्टामा राजधानी वरपरका गाउँहरूबाट हिउँदमा काम गर्न श्रमिकहरू

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको

रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका

नेपालमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार २ सय ९२ जना संक्रमण मुक्त

Suggested