English

यस कारण मनाइन्छ तमु ल्होसार



आज गुरुङ समुदायको नयाँ वर्ष अर्थात् तमु ल्होसार ‘गुरुङ भाषाअनुसार ‘ल्हो’ को अर्थ वर्ग अथवा वर्ष र ‘सार/छार’ को अर्थ नयाँ हुन्छ । २६०३ वर्ष अघिदेखि ल्होसार मनाइदै आएको हाे, तर यसकाे यकिन इतिहास भने छैन ।

गुरुङ समुदायको पात्रो अनुसार हरेक वर्षको पुस १५ मा वर्ग-वर्ष फेरिन्छ । गुरुङहरूको पात्रो चिनियाँ पात्रोमा आधारित हुन्छ । पुस १५ लाई उनीहरूले नयाँ वर्ष र जातीय पर्वका रूपमा मनाउँछन् । ‘ल्हो’ अर्थात् वर्ग १२ वटा हुन्छन् । ती सबै विभिन्न पशुपंक्षीका नाममा राखिएको हुन्छ । हरेक १२ वर्षपछि फेरि शुरुकै वर्ग आउँछ । ल्हाे ल्हाे अर्थात् गाई वर्गलाई बिदाइ गर्दै यसपालि ताेल ल्हाे अर्थात् बाघ वर्षलाई स्वागत गरिएकाे छ ।

गुरुङको हरेक शुभ-अशुभ कार्य गर्दा वर्ग हेरेर गर्ने गरिन्छ । पुस १५ मा सबैभन्दा लामो रात र छोटो दिन हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसपछि दिन लामो र रात छोटो हुँदै जान्छ । दिन लम्बिने पहिलो दिनलाई नै गुरुङले नयाँ वर्ष शुरू हुने दिनका रूपमा मनाउन थालेका हुन् । नेपालमा गुरुङसँगै तामाङ, शेर्पालगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् ।

कृषि बाली स्याहार्ने पर्वलाई ल्होसार पर्वमा रूपान्तरण गरिएको थियो, जसलाई तोला ल्होसार भनिन्छ । अहिले गुरुङले आफूले मनाउँदै आएको ल्होसारलाई तोला ल्होसार नभनी तमु ल्होसार भन्ने गरेका छन् । तोला भनेको खेतीबाली हो यो नामाकरण उनीहरूले गुरुङको पहिचानसँग जोड्न खोजेको देखिन्छ ।

तिब्बतमा इसापूर्वको सातौँ शताब्दीतिर बुद्ध धर्म प्रवेश हुनु अगाडि भिन्नरूपमा ल्होसार मनाउने गरेको इतिहास भेटिन्छ । तिब्बतमा किसानहरूले वर्षे बाली स्याहार्ने बेला कृषि बाली पर्व मनाउने गर्थे । पछि त्यही पर्वलाई ल्होसारमा रूपान्तरण गरियो । त्यस सन्दर्भमा यो पर्व किसानको पर्व हो, जसलाई तोला ल्होसार भनिन्छ । आजसम्म प्राप्त ऐतिहासिक स्रोतअनुसार, नेपालमा गुरुङको आगमन चीनबाट तिब्बत हुँदै ईसाको पहिलो शताब्दीतिर भएको देखिन्छ । त्यतिबेला गुरुङहरू बोन धर्ममार्गी अर्थात् प्रकृतिपूजक थिए । त्यतिबेलैदेखि गुरुङहरूले पनि ल्होसार मनाउँदै आइरहेका थिए भन्ने अनुमान गरिन्छ ।

फरक–फरक समुदायले मनाउने ल्होसारको नाम पनि फरक–फरक छन् । गुरुङले मनाउने ल्होसारलाई तोला (तमु) ल्होसार भनिन्छ ।। यो नामाकरणबाट उनीहरूले यस पर्वलाई गुरुङको पहिचानसँग जोड्न खोजेको देखिन्छ । गुरुङजस्तै तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पालगायत हिमाली समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भन्ने गरिन्छ ।

जाति र मौसम अनुसारको ल्होसार

तामाङ, शेर्पा र अन्य हिमाली समुदायले पनि ल्होसार भव्यरूपमा मनाउँछन् । तर, उनीहरूले मनाउने ल्होसारको समय भने फरक छ । गुरुङले पुसमा, तामाङले माघमा र शेर्पाले फागुनमा मनाउँछन् । सायद, मौसमका कारण यसरी फरक–फरक महिनामा ल्होसार मनाए होलान् भन्ने अनुमान छ । शेर्पाहरू हिमालमा बस्ने हुँदा पुसमा त्यहाँ अति जाडो हुन्छ ।

त्यसैले, उनीहरूले अलि न्यानो महिना फागुनमा ल्होसार मनाएका हुन सक्छन् । तामाङहरू शेर्पाभन्दा अलि तल उच्च पहाडी भेगमा बस्ने हुँदा जाडो अलि कम हुने महिना माघमा ल्होसार मनाएको अनुमान गर्न सकिन्छ । त्यस्तै, गुरुङहरू तामाङभन्दा पनि अझै तल पहाडी कछाडतिर बस्ने हुँदा हिमालमा भन्दा अलि कम जाडो हुन हुनाले उनीहरूले पुसमा ल्होसार मनाउन शुरु गरेको अनुमान गर्न सकिन्छ ।

संयुक्तरूपमा एउटै ल्होसार मनाउन पहल

नेपालको विभिन्न भूभागमा बस्ने समुदायले मनाउने ल्होसार पर्वमा सार्वजनिक बिदा दिने चलन छ । विभिन्न पर्वहरूको बिदा कटौतीको विषयको बहस चलिरहेका बेलामा यही सन्दर्भलाई लिएर सरकारसँग संसदमा कुरा नउठेको होइन । ल्होसारलाई सार्वजनिक बिदा दिने भनी सरकारले ल्होसारमा बिदा दिन आनाकानी गरेपछि महासंघका तत्कालीन प्रमुख सल्लाहकार स्व. डा. हर्क गुरुङको पहलमा गुरुङ, शेर्पा र तामाङबीच सबैले एउटा महिना र एउटा दिन निश्चित गरी ल्होसार एकैचोटी संयुक्तरूपमा मनाउनेबारे छलफल भएको थियो ।

सहरी क्षेत्रमा बस्ने गुरुङ, शेर्पा र तामाङका लागि एकै महिना एकै दिन ल्होसार मनाउन सम्भव र व्यावहारिक भए पनि मौसमका कारण हिमाल, पहाड र लेकमा बस्ने शेर्पा, तामाङ र गुरुङका लागि एकै महिना र एकै दिन ल्होसार मनाउन व्यावहारिक थिएन । त्यसैले, संयुक्त रूपमा एउटा ल्होसार मनाउने पहल सफल हुन सकेन । तर, त्यतिबेला जनजाति आन्दोलन बलियो भएकाले तत्कालीन तमु छोजधींको पहलमा सरकारले ल्होसार पर्वमा सार्वजनिक बिदा दिन बाध्य भएको थियो । अहिले जनजाति आन्दोलन कमजोर भएका कारण ल्होसारलगायत सबै जातिका पर्वमा सरकारले दिँदै आएको सार्वजनिक बिदा कटौती भएको छ । यसबाट जनजातिको पहिचानमा ठेस पुगेको छ ।

खेतीपातीबाट फुर्सद

ल्होसार पर्वलाई कृषि र पशुपालनसँग जोडेर हेर्ने हो भने यसको निकै महत्व छ । पहिले–पहिले गुरुङहरू वनमा धनुवाण लिएर शिकार खेलेर जीविका धान्थे । विस्तारै खेतीपातीसँगै पशुपालन तथा अन्य व्यवसाय शुरू गर्न थालेपछि मानिस वर्षभरि काममा व्यस्त हुन थाले र कृषि याममा समय नहुने भएकाले हिउँदको फुर्सदमा इष्टमित्र, छरछिमेकी, साथीभाइ सबै एकै ठाउँमा भेला भएर खाने, बस्ने र रमाइलो गर्न थालेपछि यो पर्वले व्यापकता पाउन थालेको हो ।

यस पर्वमा पारिवारिक भेटघाट मात्र नभएर सामाजिक भेला पनि हुन्छ । दुःख–सुखका कुरा एक–अर्कामा बाँड्छन् । समाजमा गर्नुपर्ने कामबारे पनि त्यही भेलामा छलफल हुन्छ । गाउँघरमा यही मौका पारेर मेला लाग्छ । मेलामा आफूसँग भएका सीप–कलाको प्रदर्शन गर्ने, आफूले उत्पादन गरेका वस्तुको वस्तु विनिमय गर्ने, ठेलो फाल्ने, धनुष वाण हान्नेजस्ता खेल खेल्ने तथा गुरुङको पहिचान झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिन्छ ।

पितृको सम्झना

यो पर्वमा विशेष कर्मकाण्ड केही हुँदैन । बिहान सबेरै उठेर नुहाइधुवाइ गरी चोखो भएर कुलदेवता तथा पितृपूजा) गरिन्छ । मिठो मसिनो भोजन बनाएर पितृलाई चढाइन्छ । घर सरसफाइदेखि ध्वजा (लुङ्दर) फेर्ने काम हुन्छ । यी कुराले पनि गुरुङको नयाँ वर्ष आएको रहेछ भन्ने देखाउँछ । दिउँसो भने आफूलाई मनपर्ने परिकार बनाएर परिवारका सदस्य, इष्टमित्र, साथीभाइ चेलीबेटीसँगै बसेर खाने गरिन्छ । खानामा विशेषतः गुरुङहरूको सेलरोटी नै हो । यसबाहेक अहिले चिसो मौसम भएकाले यो बेला मौसमअनुकूल न्यानो र चोखोरूपमा हुने झोलिलो पदार्थ, कन्दमूल–तरुल, पिँडालु, सखरखण्ड, मासुका परिकारलगायत पौष्टिक आहार खाने चलन छ ।

सांस्कृतिक महत्व

तमु ल्होसारको विशेष सांस्कृतिक महत्व छ । जसले गुरुङको इतिहास, पहिचान, संस्कृति बोकेको छ । त्यसकारण, यस पर्वलाई उनीहरूको आफ्नो पहिचानको मूल कडीका रूपमा लिइएको छ । सबैका पर्व–संस्कृतिले आ–आफ्नो संस्कृति झल्काएजस्तै, यस पर्वमा गुरुङको आफ्नो सांस्कृतिक भेषभूषा, खानपान, गीत–संगीत, सीप–कला प्रस्तुत हुन्छ । यससँगै आफ्ना चेलीबेटी, छरछिमेक, दाजुभाइ जम्मा हुने, आफ्नो नाता–सम्बन्ध सबैलाई एक ठाउँमा राखेर पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो पार्ने, सामाजिक र सांस्कृतिक परम्पराको संरक्षण गर्ने गरिन्छ । यसले माइती र चेलीबीचको सम्बन्धलाई मजबुद बनाउँछ ।

गुरुङ समुदायमा चेलीबेटीलाई विशेष मान–सम्मान गरिन्छ । यस अवसरमा चेलीबेटीलाई र उनीहरूका परिवारलाई बोलाएर खानपिन गरिन्छ भने चेलीबेटीले पनि माइतीलाई उस्तै मान–सम्मान र खानपिन गराउँछन । गुरुङको विशेषता नै दोहोरो खालको सामाजिक–सांस्कृतिक सम्बन्ध अर्थात् आपसी सहयोग आदान–प्रदान हो । यस हिसाबले यो पर्वको सांस्कृतिक पक्ष धेरै बलियो देखिन्छ ।

पहिले ल्होसार पर्व परिवार र समुदायमा मात्र सीमित थियो । ग्रामीण समाजका गुरुङ परिवार र समुदायमा सीमित यो पर्व बसाइसराइँ र जातीय पहिचान आन्दोलनका कारण अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बनेको छ । यसलाई अहिले नेपालका गुरुङले मात्र नभएर विभिन्न देशमा बस्ने गुरुङले पनि मनाउन थालेका छन्। गुरुङ जातिका पहिचान झल्किने खालका विभिन्न कार्यक्रमसहित यसलाई सामूहिक, संगठित र व्यवस्थित तरिकाले राष्ट्रिय पर्वकै रूपमा मनाउने अभ्यास शुरु भइसकेको छ ।

यो पनि…
देशभरि हिमपात

नदीजन्य पदार्थको उत्खननले जोखिममा कर्णाली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested