English

साँचो प्रेमको अर्थ के हो ?



अंग्रेजी अभिव्यक्ति, ‘फलिङ्ग इन लभ’ वा ‘प्रेममा पग्लिनु’ सान्दर्भिक छ, किनकि कोही पनि प्रेममा माथि उक्लिँदैनन् वा प्रेममा विशाल बन्दैनन् ।

तपाईं प्रेममा पग्लिनुपर्छ, किनकि तपाईं जो हो, त्यसको केही अंश नष्ट हुनुपर्छ । तपाईंको सम्पूर्ण हिस्सा नगएपनि, कम्तीमा तपाईंको एउटा अंश समाप्त हुनैपर्छ । तबमात्र त्यहाँ प्रेम सम्बन्ध हुन्छ । तपाईं अर्काको निम्ति आफ्नो केही अंश नष्ट गर्न इच्छुक रहनुपर्छ । मूलत: यसको अर्थ यो हो कि तपाईंको निम्ति स्वयं आफूभन्दा अर्को व्यक्ति निकै बढी महत्त्वपूर्ण भएको छ । दुर्भाग्यवश, अधिकांश मानिसहरूको निम्ति ‘प्रेम’ एक-आपसको लाभ योजना भएको छ ।

एकदिन, शङ्करन पिल्लई एउटा पार्कमा गए । त्यहाँ एउटी सुन्दर महिला ढुङ्गाको मेचमा बसिरहेकी थिइन् । उनी त्यतै गए अनि त्यही मेचमा बसे । केही मिनेटपछि, शङ्करन उनको नजिक सरे । ती महिला टाढा सरिन् । फेरि, केही मिनेट पर्खिएपछि उनी केही इन्च नजिक सरे । उनी टाढा सरिन् । उनले पुन: केही बेर पर्खिए, अनि केही इन्च अझ नजिक पुगे । त्यति बेलासम्म ती महिला मेचको छेउमा पुगिसकेकी थिइन् । उनले ती महिलालाई अङ्गालो हाले । महिलाले हात पन्छाइन् । शङ्करन केहीबेर यत्तिकै बसे अनि घुँडा टेकेर एउटा फूल दिँदै उनलाई भने, “म तिमीलाई प्रेम गर्छु । म तिमीलाई यति प्रेम गर्छु, जति मैले आफ्नो जीवनमा अहिलेसम्म कसैलाई गरेको छैन ।”

उनी पग्लिइन् । प्रकृतिले आफ्नो रूप देखाइन् अनि उनीहरू एक–अर्कामा हराए ! साँझ परिसकेको थियो । शङ्करन पिल्लई जुरुक्क उठे अनि भने, “म जानुपर्छ । आठ बजिसकेछ, मेरी बुढी पर्खिरहेकी हुन्छे ।”

उनले भनिन्, “के ? तपाईं जाँदै हुनुहुन्छ ? तपाईंले भर्खरै भन्नुभएको थियो कि तपाईं मलाई प्रेम गर्नुहुन्छ !”

“हो, तर अब समय भइसक्यो । म जानुपर्छ ।”

साधारणतया, हामीले यस्तो संरचनाभित्र सम्बन्धहरू बनाएका हुन्छौँ, जुन हाम्रो लागि आरामदायक र लाभदायक छन् । मानिसमा शारीरिक, मनोवैज्ञानिक, भावनात्मक, आर्थिक वा सामाजिक आवश्यकताहरू हुन्छन् । यी आवश्यकताहरू पूरा गर्ने एउटा उत्तम तरिका हो, “म तिमीलाई प्रेम गर्छु ।” यो तथाकथित “प्रेम” एउटा मन्त्र जस्तो भएको छ: “खुल जा सिम् सिम् !” कसैलाई प्रेम गर्छु भनेकै भरमा तपाईं आफूले चाहेको कुरा प्राप्त गर्ने प्रयास गर्नुहुन्छ ।

वास्तवमा, स–सर्त प्रेम र नि–सर्त प्रेम भन्ने त्यस्तो केही हुँदैन । कुरा यत्ति हो कि त्यहाँ सर्तहरू हुन्छन् र त्यहाँ प्रेम हुन्छ । जुन क्षण त्यहाँ सर्त हुन्छ, त्यो लेनदेन जस्तै भइदिन्छ । त्यो सुविधाजनक लेनदेन हुन सक्छ वा राम्रो व्यवस्था हुन सक्छ—सायद थुप्रै मानिसहरूले जीवनमा उत्कृष्ट व्यवस्था गरेका हुन सक्छन्— तर, त्यसले तपाईंलाई तृप्त बनाउँदैन, त्यसले तपाईंलाई अर्को आयाममा पुऱ्याउँदैन । त्यो सुविधाजनक मात्र हुन्छ ।

हामी जे–जति कामहरू गर्दछौँ, कुनै न कुनै तरिकाले आफ्ना आवश्यकताहरू पूरा गर्नका लागि गरिरहेका हुन्छौँ । यदि यसलाई मनन गर्नुभयो भने, प्रेम तपाईंको स्वाभाविक गुण बन्ने सम्भावना रहन्छ । तर, मानिसहरूले आफ्नो सुविधा, आराम, भलाइको लागि बनाएका सम्बन्धहरूलाई वास्तवमा प्रेमको सम्बन्ध हो भन्ने ठानेर आफैँलाई भ्रमको जालोमा अल्झाइरहेका हुन्छन् । म यो भनिरहेको छैन कि ती सम्बन्धहरूमा अलिकति पनि प्रेमको अनुभव हुँदैन, तर त्यो सीमित रूपमा मात्र हुन्छ । “म तिमीलाई प्रेम गर्छु ” भनेर जतिसुकै पटक भनेपनि, यदि केही अपेक्षा र आवश्यकताहरू पूरा भएनन् भने त्यहाँ उथलपुथल मच्चिन्छ ।


वास्तवमा, स–सर्त प्रेम र नि–सर्त प्रेम भन्ने त्यस्तो केही हुँदैन । कुरा यत्ति हो कि त्यहाँ सर्तहरू हुन्छन् र त्यहाँ प्रेम हुन्छ । जुन क्षण त्यहाँ सर्त हुन्छ, त्यो लेनदेन जस्तै भइदिन्छ । त्यो सुविधाजनक लेनदेन हुन सक्छ वा राम्रो व्यवस्था हुन सक्छ—सायद थुप्रै मानिसहरूले जीवनमा उत्कृष्ट व्यवस्था गरेका हुन सक्छन्— तर, त्यसले तपाईंलाई तृप्त बनाउँदैन, त्यसले तपाईंलाई अर्को आयाममा पुऱ्याउँदैन । त्यो सुविधाजनक मात्र हुन्छ ।

जब तपाईं “प्रेम” भन्नुहुन्छ, यो सुविधाजनक हुन जरूरी छैन । अधिकांश समय यो त्यसो हुँदैन । यसको लागि जीवन समर्पित गर्नुपर्ने हुन्छ । वास्तवमा, प्रेम महान् कुरा होइन, किनकि यसले तपाईंलाई समाप्त गर्नेछ । यदि तपाईं प्रेममा हुनुपर्ने हो भने, तपाईं रहनुहुँदैन । एक व्यक्तिको रूपमा तपाईं मेटिन, विलिन हुन इच्छुक हुनुपर्छ, तबमात्र यो हुन सक्दछ । तर, यदि तपाईंले आफ्नो व्यक्तित्वलाई अझ प्रबल बनाउनुभयो भने, त्यो सुविधाजनक स्थिति हुनेछ । कुन लेनदेन हो अनि कुन सही अर्थमा प्रेम सम्बन्ध हो भनेर पहिचान गर्न आवश्यक छ । प्रेम सम्बन्ध कुनै विशेष व्यक्तिसँगै हुनुपर्छ भन्ने छैन । विशेषगरी कसैसँग नभई स्वयं जीवनसँग तपाईंको गहिरो प्रेम सम्बन्ध चलिरहेको हुन सक्छ ।

तपाईं के गर्नुहुन्छ र के गर्नुहुन्न भन्ने कुरा तपाईं वरपरको परिस्थितिमा निर्भर हुन्छ । बाहिरी परिस्थितिहरू जस्ता छन्, सोहीअनुरूप हाम्रा कार्यहरू तय हुन्छन् । तपाईं बाहिरी संसारमा के गर्नुहुन्छ भन्ने कुरा सदैव अनेकौँ सर्तहरूले निर्धारण गर्छन् । तर, प्रेम भित्री अवस्था हो— तपाईं आफूभित्र कस्तो हुने भन्ने कुरा निश्चय पनि कुनै सर्त बिनै हुन सक्दछ ।

”मेरी हजुरआमाले मलाई थुप्रै कथाहरू सुनाउनुभएको थियो— यो कथा म अझै सम्झिन्छु । यो कथा मेरो जीवनको आधार होइन, तर निश्चय पनि यसले ममा प्रभाव पारेको छ ।

एकजना व्यक्ति र उनकी पत्नी थिइन् । उनीहरूले खेती–किसानी गर्थे, बाली उब्जाउँथे अनि त्यसबाट पैसा कमाउँथे । उनीहरूका दुई छोरा थिए । यी दुई केटाहरू हुर्किएर बलिया र जवान भए । उनीहरूले आफ्ना बुबासँग मिलेर कडा परिश्रम गरे, आफ्नो जग्गा बढाए अनि सम्पन्न बने । जब ती व्यक्ति बूढो भए, उनले आफ्ना दुई छोराहरूलाई भने, “म कुनै पनि बेला मर्न सक्छु । यो एउटा कुरा तिमीहरूले सदैव पालना गर्नुपर्छ । मेरो मृत्युपछि, तिमीहरू दुवैले यो जग्गाबाट उत्पादन हुने कुरा आधा-आधा बाँड्नुपर्छ । त्यसबारे कहिल्यै पनि वादविवाद, बहस वा झगडा हुनुहुँदैन ।”

ती वृद्ध मरे, अनि छोराहरूले कृषि सम्हाले । त्यसबेला भारत र विश्वका विभिन्न ठाउँहरूमा जग्गा विभाजन गर्ने चलन थिएन । उब्जनी मात्र भाग लगाउन सकिन्थ्यो, जमिन होइन । पछिल्लो चार पुस्ताहरूमा मात्र जमिन बाँड्ने चलन शुरु भएको हो । ती दुई भाइहरूले खेतीबालीको उब्जनी एकआपसमा सधैँ बराबर भाग लगाउँथे ।

दाइको बिहे भयो अनि उसका पाँच छोराहरू भए । भाइले कहिल्यै विवाह गरेन । तैपनि, दुवैले उब्जनी आधा-आधा भाग लगाउँथे । एकदिन अविवाहित भाइको दिमागमा एउटा विचार सल्बलायो । उसले सोच्यो, “मेरो दाइलाई आफ्नी श्रीमती र पाँच सन्तानहरूको हेरचाह गर्नुपर्छ, जबकि म एक्लो छु । तैपनि, म पूरै उब्जनीको आधा हिस्सा लिन्छु अनि उहाँले बाँकी आधा हिस्सा लिनुहुन्छ । यो उचित देखिँदैन । तर, यो हाम्रो बुवाको इच्छा थियो । अनि, मैले उहाँलाई अलिकति बढी दिएँ भने, उहाँले त्यो लिनुहुन्न । बरु, म अर्कै तरिका अपनाउँछु ।” उसले एउटा जुक्ति निकाल्यो । बालि काटिसके पछि, हरेक रात, उसले एक बोरा अन्नको भारी बोकेर चुपचाप आफ्नो दाइको भण्डारमा राखिदिन थाल्यो ।

यता दाइको दिमागमा पनि त्यही विचार सल्बलायो । उसले सोच्यो, “मेरो साथमा हुर्किँदै गरेका पाँचजना केटाहरू छन् । अबको केही वर्षमा, मेरो अझ बढी सम्पन्न बन्नेछु । मेरो भाइको कोही छैनन् । उसले पछि के गर्ला ? तर, उसले पूरै उब्जनीको आधा हिस्सा लिन्छ अनि म पनि आधा हिस्सा लिन्छु । यदि मैले उसलाई केही दिन खोजेँ भने, उसले त्यो लिँदैन ।” त्यसपछि, उसले पनि हरेक रात एक बोरा अन्न लिएर आफ्नो भाइको भण्डारमा राखिदिन थाल्यो । एक प्रकारले अनाजको सट्टापट्टा भइरहेको थियो । ती दुवैले लामो समयसम्म यो कुरा चाल पाएनन् ।

उनीहरू बूढो भइरहेका थिए, र अझै त्यसो गर्ने क्रम जारी थियो । एकदिन अन्नको बोरा बोकेर अर्को भाइको भण्डारतिर गइरहेको बेला दुवैको जम्काभेट भयो । तिनीहरूले एक अर्कालाई हेरे अनि अचानक यतिका दिनसम्म के भइरहेको थियो भनेर जाने । उनीहरूले तुरुन्तै आँखा छले, भण्डारमा बोरा राखिदिए अनि आ–आफ्नो घर फर्किएर सुते । समय बित्दै गयो, दुवैजना बुढो भए अनि मरे ।

पछि, शहरवासीहरूले मन्दिर निर्माण गर्न चाहे अनि उपयुक्त ठाउँको खोजी गरे । लामो खोजपछि, उनीहरूले मन्दिर बनाउनको लागि उत्तम ठाउँ तय गरे— त्यही ठाउँ, जहाँ आफ्नो पिठ्युँमा अन्नको बोरा बोकेर जाँदै गर्दा दुवै भाइहरूको जम्काभेट भएको थियो अनि आफ्नो अति उदारपनप्रति लज्जित भएका थिए । यदि तपाईं यसरी बाँच्नुभयो भने, तपाईं जीवित मन्दिर बन्नुहुन्छ । तब, तपाईंले नि–सर्त प्रेम, स–सर्त प्रेम र यस्तै अरू कुराहरूको बारेमा चिन्ता लिनुपर्दैन ।

कृतज्ञताले भरिपूर्ण

यदि तपाईं ‘मैले के दिएँ’ भनेर हिसाब राख्नुहुन्न, तर ‘मैले के पाएँ’ भनेर सधैँ सम्झिनुहुन्छ भने, तपाईं स्वाभाविक रूपमा कृतज्ञताले भरिपूर्ण हुनुहुनेछ । “मैले यति गरेको छु” भन्ने बकवास छोड्नुहोस् ! यदि तपाईंले कसैबाट केही पनि अपेक्षा राख्नुभएन भने, तपाईंले सहज रूपमा जीवन बिताउनु हुनेछ । यदि तपाईं अरूबाट केही आशा गर्नुहुन्छ, वा तपाईं अरूले मलाई माया गर्छन् कि गर्दैनन् भनेर आफैँलाई सोध्नुहुन्छ भने, तब यी सबै समस्याहरू उत्पन्न हुन्छन् । जब तपाईं कसैबाट केही पनि अपेक्षा राख्नुहुन्न, यदि तिनले माया गरे भने, त्यो तिनको लागि राम्रो हो । यदि गरेनन् भने, समस्या कहाँ छ ?
सम्बन्ध एक प्रकारको आदानप्रदान हो । यसलाई राम्रोसँग चलाउन विशेष कुशलता चाहिन्छ । अन्यथा, यो कुरूप बन्न सक्छ । तपाईंले ख्याल गर्नुभएको होला कि कुनैदिन एक व्यक्तिसँगको क्षण कति रमाइलो हुन सक्छ, अनि अर्को दिन त्यही व्यक्तिसँगको क्षण कति नरमाइलो हुन सक्दछ ।

दुर्भाग्यवश, अधिकांश मानिसहरू सम्बन्ध एक प्रकारको आदानप्रदान हो भन्ने कुरा स्वीकार गर्न चाहँदैनन् । सम्बन्धले राम्रोसँग काम गर्नको लागि केही आधारभूत नियम र सर्तहरू हुने गर्छन् । यदि तपाईं यी नियम र सर्तहरूको दायरामा रहनुभयो भनेमात्र, तपाईंले सफलतापूर्वक सम्बन्ध निर्वाह गर्नुहुनेछ । तर, यदि तपाईंले “हाम्रो प्रेम सर्त रहित छ” भन्ने काल्पनिक विचार बोक्नुभएको छ भने, जुनसुकै क्षण त्यो तहसनहस हुन सक्छ ।

म सम्बन्धहरूलाईं तुच्छ देखाउने कोशिस गरिरहेको छैन, तर यसका सीमाहरू मनन गर्नुमा केही गलत छैन । यसका सीमाहरू छन्, तर त्यसको अर्थ यसमा सुन्दरता छैन भन्ने होइन । फूल निकै सुन्दर हुन्छ, तर यदि मैले त्यसलाई कुल्चेँ भने, यो दुई दिनमा मल बन्छ । म एक पलमै फूल नष्ट गर्न सक्छु, तर के त्यसले फूलको सुन्दरता र महत्व कम हुन्छ ? हुँदैन । त्यसैगरी, तपाईंको प्रेम नाजुक छ । यसको बारेमा अनेक थरीका काल्पनिक कुराहरू नपत्याउनुहोस् । साथसाथै, म त्योसँग जोडिएको सुन्दरतालाई अस्वीकार गरिरहेको छैन ।

तर, यदि तपाईंले जीवनको त्यति कमजोर आयामलाई आफ्नो जीवनको आधार बनाउनुभयो भने, स्वाभाविक रूपमा तपाईं जतिबेला पनि चिन्ताले ग्रस्त बन्नुहुनेछ, किनकि तपाईं नाजुक फूलमाथि बसिरहनु भएको छ । मानौँ, फूल असाध्यै सुन्दर भएकोले तपाईंले जमिनमा आफ्नो घर बनाउनुको सट्टा फूलमाथि घर बनाउनुभयो भने, तपाईं सधैँ डरमा बाँच्नुहुनेछ । यदि तपाईंले जमिनमा आफ्नो जग बसाल्नुभयो अनि त्यसपछि फूललाई हेर्नुभयो, सुघ्नुभयो र स्पर्श गर्नुभयो भने, यो अद्‌भुत हुनेछ । तर, यदि तपाईंले फूलमा आफ्नो घर बनाउनुभयो भने, तपाईं निरन्तर डरमा रहनुहुनेछ । मैले यस प्रसङ्गमा मात्र भनिरहेको हुँ । प्रेम जे हो, त्यसलाई हामी अस्वीकार गर्न खोजिरहेका छैनौँ ।

भलै, म यो सबैजनामा लागू हुन्छ भन्दिनँ, तर थुप्रै मानिसहरूमा त्यसो हुने गर्दछ । थुप्रै मानिसहरूका निम्ति प्रेम एउटा अर्को आवश्यकता मात्र बन्दछ, जुनबिना उनीहरू बाँच्न सक्दैनन् । शरीरको आफ्ना आवश्यकताहरू भए जस्तै, भावनाको पनि आफ्नै आवश्यकताहरू हुन्छन् । “म तिमी बिना बाँच्न सक्दिनँ” भन्नु एक हदसम्म “म बैसाखी बिना हिँड्न सक्दिनँ” भन्नु सरह हो । यदि तपाईंको बैसाखीमा हीरा जडित भएको भए, तपाईं सजिलै त्योसँग प्रेममा पर्न सक्नुहुने थियो । अनि, यदि तपाईंले त्यो बैसाखी दश वर्षसम्म प्रयोग गर्नुभयो र मैले तपाईंलाई “अब तपाईं कुनै सहारा बिना हिँड्न सक्नुहुन्छ” भनिदिएँ भने, तपाईंको जवाफ हुने थियो, “होइन, म कसरी आफ्नो बैसाखी छोड्न सक्छु र ?” यसमा जीवनको सार्थकता छैन । त्यसैगरी, प्रेमको नाममा तपाईं आफूभित्र असाध्यै असहाय र अपूर्ण बन्नुभएको छ ।

के यसको अर्थ यसमा कुनै सुन्दरता छैन अनि यसको अर्को आयाम छैन भन्नु हो ? होइन, रहेको हुन्छ । यस्ता थुप्रै व्यक्तिहरू थिए, जो यसरी बाँचे कि उनीहरू कहिल्यै एक अर्काबिना बाँच्न सक्दैनथे । यदि वास्तवमै त्यस्तो हुने हो भने, ती दुवै एक जस्तै भएका हुन्छन्— तब त्यो अद्‌भुत हुनेछ ।

आज, जब मानिसहरू प्रेमको कुरा गर्छन्, उनीहरू यसको भावनात्मक पक्षको बारेमा मात्र कुरा गरिरहेका हुन्छन् । भावनाहरूले आज एउटा कुरा भन्छन्, भोलि अर्कै कुरा भन्छन् । तपाईंले पहिलो पटक सम्बन्ध बनाउँदा सोच्नुभएको थियो, “यो सधैँको लागि हो” । तर, तीन महिनाभित्र तपाईं सोच्नु थाल्नुहुन्छ, “हरे, म यस्तो व्यक्तिसँग किन जीवन बिताउँदै छु ?”

भारतको राजस्थानमा एकजना राजासँग यस्तो घटना घटेको थियो । उनकी एउटी जवान पत्नी थिइन्, जो उनलाई असाध्यै माया गर्थिन् अनि उनीप्रति पूर्ण रूपमा समर्पित थिइन् । तर, त्यसबेला राजाहरूका अनेक रखौटीहरू हुन्थे । त्यसैले, जसरी रानी उनमा गहिरोमा रूपमा लिन थिइन्, यो राजालाई मूर्खतापूर्ण लाग्थ्यो । उनी रानीले आफूलाई ध्यान दिएको रुचाउँथे अनि प्रसन्न हुन्थे । यद्यपि, कहिलेकाहीँ यो अलि बढी नै हुने गर्थ्यो । तब राजा उनलाई अलि झकझकाउँथे अनि अरूहरूसँग रमाउँथे । तर, रानी पूर्णतया उनमा समर्पित रहन्थिन् ।

राजा र रानीसँग दुईवटा मैनाहरू थिए । एकदिन एउटा चरो मऱ्यो र अर्को चरो केही नखाई यतिकै बसिरह्यो । राजाले उसलाई केही खुवाउने अनेक प्रयासहरू गरे, तर उसले केही पनि खाएन अनि अर्को दुई दिनमै मऱ्यो ।

यो घटनाले राजालाई भित्रैसम्म छोयो । “अरे, यो के भयो ? हरेक जीवनले आफ्नो जीवनलाई बढी महत्त्व दिनु स्वाभाविक कुरा हो । तर, त्यो चरो यत्तिकै बसेर मऱ्यो ।”

जब उनले यो कुरा रानीलाई सुनाए, उनले भनिन्, “जब एकले अर्कोलाई साँच्चिकै माया गर्दछ, तब आफ्नो प्राण त्यागेर अर्कोसँगै जानु निकै स्वाभाविक हो— किनकि उनीहरूको लागि अब जीवनले कुनै अर्थ राख्दैन ।”

राजाले ठट्टा गर्दै सोधे, “के यो तिम्रो हकमा पनि सत्य हो ? के तिमी मलाई त्यति धेरै माया गर्छ्यौ ?”

रानीले भनिन्, “हो, यो मेरो हकमा पनि सत्य हो ।” यो सुनेर राजा एकदमै प्रसन्न भए ।

एकदिन, राजा आफ्ना साथीहरूसँग शिकार गर्न गए । चराहरू मरेका र आफ्नी पत्नीले यो उनको हकमा पनि सत्य रहेको भन्ने कुराहरू उनको दिमागमा खेलिरहेको थियो । उनी साँच्चिकै जाँच गर्न चाहन्थे । त्यसैले, उनले आफ्नो लुगा खोलेर त्यसमा रगत दले अनि एकजना भारद्वारसँग खबर पठाए, “राजालाई बाघले आक्रमण गरेर माऱ्यो ।” रानीले आँखाबाट आँसु नबाइकन निकै गरिमापूर्ण तरिकाले उनका लुगाहरू लिइन् । उनले चिता बनाउने प्रबन्ध गरिन्, त्यसमाथि कपडा राखिन् अनि चितामा पल्टिएर शरीर छोडिन् ।

मानिसहरूले पत्याउनै सकेनन् । रानी यत्तिकै पल्टिएर आफ्नो प्राण त्यागिन् । अब गर्न सकिने केही पनि थिएन, किनकि उनी मरिसकेकी थिइन्, त्यसैले उनको दाहसंस्कार गरियो । जब यो खबर राजा समक्ष पुग्यो, उनी विक्षिप्त भए । उनी रानीसँग यत्तिकै ठट्टा गर्न मात्र चाहन्थे, तर रानी साँच्चिकै मरिन्— आत्महत्या गरेर होइन, उनी यत्तिकै गइन् ।

यस्ता असङ्ख्य जोडीहरू छन्, जहाँ एकजनाको मृत्यु भयो भने, अर्को व्यक्ति स्वस्थ भए तापनि केही महिना भित्रै प्राण त्याग्छन्, किनकि दुवैका ऊर्जाहरू निश्चित तरिकाले बाँधिएको हुन्छ । यदि तपाईं अर्को व्यक्तिसँग त्यस स्तरमा बाँधिनुभयो भने, दुवै जीवनहरू एक जसरी रहने छन्— यसरी रहनु निकै अद्‌भुत कुरा हो । यो परम सम्भावना होइन, तैपनि यो जीवन बाँच्ने सुन्दर तरिका हो ।

साँचो प्रेमको अर्थ के हो ?

आज, जब मानिसहरू प्रेमको कुरा गर्छन्, उनीहरू यसको भावनात्मक पक्षको बारेमा मात्र कुरा गरिरहेका हुन्छन् । भावनाहरूले आज एउटा कुरा भन्छन्, भोलि अर्कै कुरा भन्छन् । तपाईंले पहिलो पटक सम्बन्ध बनाउँदा सोच्नुभएको थियो, “यो सधैँको लागि हो” । तर, तीन महिनाभित्र तपाईं सोच्नु थाल्नुहुन्छ, “हरे, म यस्तो व्यक्तिसँग किन जीवन बिताउँदै छु ?” किनकि, तपाईंले आफूलाई जे मन पर्छ र जे मन पर्दैन, त्यसकै आधारमा सम्बन्ध बनाउनुभएको छ । यस प्रकारको सम्बन्धमा, तपाईंले केवल कष्ट भोग्नुहुनेछ किनकि जब सम्बन्ध अस्थिर हुन्छ— जब खटपट हुन्छ— तपाईंमा असाध्यै पीडा हुनेछ, जुन पूर्णतया अनावश्यक छ ।

भलै, पीडाको बारेमा थुप्रै कविताहरू लेखिएको भएपनि, प्रेम दु:ख सृजना गर्नको लागि होइन । तपाईं प्रेममा हुन चाहनुहुन्छ, किनकि यसले तपाईंलाई आनन्द दिन्छ । प्रेम लक्ष्य होइन; आनन्द लक्ष्य हो । अनेकौँ पटक घाइते र विक्षिप्त भएपनि मानिसहरूमा प्रेम सम्बन्धमा रहने पागलपन रहेको हुन्छ, किनकि जब उनीहरूले आफू प्रेममा छु भनेर सोचेका थिए, उनीहरूमा अलिकति आनन्द थियो । प्रेम, आनन्द प्राप्त गर्ने साधन हो । यतिखेर, अधिकांश मानिसहरूले यही एउटा तरिकाले आनन्दित हुन जानेका छन् ।

तर, तपाईं आफ्नै प्रकृतिले आनन्दित हुन सक्नुहुन्छ । यदि तपाईं आनन्दित हुनुभयो भने, मायालु र स्नेही हुनु समस्या होइन; तपाईं यसैपनि मायालु बन्नुहुनेछ । जब तपाईं प्रेम मार्फत आनन्द खोज्नुहुन्छ, तबमात्र तपाईं को–कसलाई माया गर्ने भनेर बढी रोज्न थाल्नुहुन्छ । तर, जब तपाईं आनन्दित रहनुहुन्छ, तपाईंले जे देखेपनि त्यसलाई प्रेमको भावले हेर्न सक्नुहुन्छ, किनकि त्यहाँ अल्झिने डर हुँदैन । जब अल्झिने डर हुँदैन, तबमात्र तपाईंले जीवनसँग पूरै संलग्न रहनु भनेको के हो भनेर जान्नुहुनेछ ।

हरेक दिन १५–२० मिनेटको लागि त्यस्तो चीजसँग बस्नुहोस्, जसले तपाईंको लागि कुनै अर्थ राख्दैन— सायद रूख वा ढुङ्गा वा गँड्यौला वा कीरा । केही समयपछि तपाईंले यो महसुस गर्नुहुनेछ कि तपाईंले आफ्नो पति वा पत्नि वा आमा वा बच्चालाई जति प्रेम गर्नुहुन्छ, त्यत्ति नै प्रेमको भावले त्यो चीजलाई हेर्न सक्नुहुन्छ । सायद गँड्यौलालाई यो थाहा नहुन सक्छ, तर त्यसले केही फरक पर्दैन । यदि तपाईंले हरेक चीजलाई प्रेमपूर्वक हेर्न सक्नुभयो भने, तपाईंको अनुभवमा सम्पूर्ण संसार सुन्दर बन्नेछ । तब तपाईंलाई यो बोध हुनेछ कि ‘प्रेम, तपाईंले गर्ने कुरा होइन; प्रेम, तपाईं आफूभित्र हुने तरिका हो ।‘

–सदगुरुको प्रवचनमा आधारित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested