कुटनीतिमा ‘बडी ल्याङ्ग्वेज’ को अर्थ के ?



यो सदावहार विषय हो, विश्व कुटनीतिको ‘एरिना’मा । वर्तमानमा झनै ‘बडी ल्याङ्ग्वेज’ चल्तीको भाषा बनेको छ । मुखले नबोल्ने । तर, हाउभाउले खुलस्त पार्ने । आफ्नै आँखाले देखेका त्यस्ता कतिपय दृश्य सम्झेर पनि मलाई ‘नोस्टाल्जिक’ बनाउँछ ।

कुरो, सन् १९९२ को सेप्टेम्वर १ देखि ६ तारिखसम्म इण्डोनेशियाको राजधानी जकार्तामा असंलग्न राष्ट्रहरुको १० औँ शिखर सम्मेलनको हो । सम्मेलनमा क्यूवाका तत्कालीन राष्ट्रपति फिदेल क्याष्ट्रो पनि भाग लिन आउनु भएको थियो ।

झण्डै ६ फिट ४ ईन्च अग्लो कदको भीमकाय शरीर । उस्तै सुहाउँदो दाह्री, त्यो पनि जंगी पोशाकमा । ‘पर्फेक्ट पर्सनालिटी’ झल्किरहेको थियो, क्यास्ट्रोको । उहाँ सम्मेलन भवनमा प्रवेश गर्दै गर्दा त्यहाँ जम्मा भएका आयोजक तथा विदेशी पाहुनाहरूमा ‘हिप्नोटिजम’ नै भएजस्तो भयो । कैयौँ मिनेटसम्म तालीको गड्गडाहटले उहाँलाई स्वागत गरियो । त्यति लामो समयसम्म ताली किन छुट्यो, तालीको पर्रा आम मानिसले त्यो दृश्यलाई सामान्य रूपमा नै लिन सक्छन् । तर कुटनीतिमा त्यो उच्चकोटीको भाषा थियो, स्वागतको नाममा प्रदर्शन भएको ।

क्यूवा लामो समयसम्म अमेरिकी प्रतिबन्धमा परेको देश हो । उसले दशकौँसम्म कडा प्रतिबन्ध झेल्न परेको थियो । चारै दिशा बन्द थिए, क्यूवाको । सम्पूर्ण कुरा आयात गर्ने देशमा कडा नाकाबन्दी लाग्दा कस्तो हुन्छ । छोटो समय नै सही, हामी पनि पटक–पटकका भुक्तभोगी हौं नाकाबन्दीको । त्यस्तो देशका राष्ट्रपतिको त्यस किसिमको स्वागत । सायद यसको अर्थ ‘ह्वाइट हाउस’ले जति अरु कसैले बुझेन होला ।

नेपालका तत्कालीन एकजना सरकार प्रमुखको भ्रमण पनि मेरो मानसपटलमा ताजा नै छ । सन् २००६ को जुन २ देखि ४ तारिखसम्म प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालावाट भारतको औपचारिक भ्रमण भएको थियो । त्यो वेला मैले परराष्ट्र मन्त्रालयको निमित्त शिष्टाचार महापालको जिम्मेवारी वहन गरिरहेको थिएँ । कार्यक्रमअनुसार नेपाली प्रतिनिधिमण्डल समयमै नयाँ दिल्लीको ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको थियो ।

साधारणतया कुनै पनि विदेशी प्रधानमन्त्री भारतको औपचारिक भ्रमणमा आउँदा त्यहाँको परराष्ट्र राज्यमन्त्रीको स्तरमा मात्रै एअरपोर्टमा स्वागत गरिने चलन थियो । तर, नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्न भारतका तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंह आफै उपस्थित हुनुभयो । उहाँलाई एअरपोर्टमा देखेपछि उपस्थित सवैमा खुशीको लहर दौडियो । कतिपयलाई अचम्म नै लाग्यो । दुई प्रधानमन्त्रीहरू पनि जिउ कस्ने गरी आलिंगनको रूपमै टाँसिए ।

त्यो नेपाली कुटनीतिका लागि दुर्लभ दृश्य नै थियो, जसको प्रत्यक्षदर्शी हुने मौका मिलेको थियो मलाई । भारतका प्रधानमन्त्री स्वयम् एयरपोर्ट आएर स्वागत गरिने कुरा हामीले काठमाडौवाट उड्दासम्म थाहा पाएका थिएनौँ । यो ‘सरप्राइज वेलकम’लाई नेपालप्रति भारतको आत्मीयताको प्रतीकजस्तै मानियो ।

तर, यसको अर्थ यत्तिमा सीमित थिएन । त्यसवेला गिरिजाप्रसाद कोइराला त्यस्तो सरकार प्रमुख हुनुहुन्थ्यो, जो देशमा गणतन्त्रको झण्डा गाडेर छिमेकीको आतिथ्य स्वीकार्न पहिलो पटक विदेश निस्कनु भएको थियो । र, त्यसको सोझो अर्थ थियो, गणतान्त्रिक नेपाललाई भारतको उच्च सम्मान । धेरैको विश्लेषण यही थियो । प्रधानमन्त्री डा. सिंहले एयरपोर्टमा स्वागत गरेर सायद यही सन्देश दिन चाहेका थिए ।

गिरिजाप्रसाद कोइरालापछि हाम्रा अर्का सरकार प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण ‘बडी ल्याङ्ग्वेज’का कारण निकै चर्चामा आयो । त्यसवेला पनि भारतमा उनै डा. मनमोहन सिंह प्रधानमन्त्री थिए ।

त्यसबेला डा. सिंहले हाम्रा प्रधानमन्त्रीलाई एयरपोर्टमा स्वागत गर्न त परको कुरा, पहिलो भेटमा अंगालो मारेको पनि निको मानेनन् । हाम्रा प्रधानमन्त्रीले कसिलो गरी उनलाई अंगालो मार्दा, उनी भने आफ्ना दुवै हात तुन्द्रुङ्ग झुण्ड्याएर उभिइरहे । प्रचण्डको कार्यकाललाई भारतले त्यसैगरी उदासिनता मात्र देखाएन, उनको बहिर्गमनको लागि ‘होस्टेमा हैंसे’ गरेको समेत आरोप लाग्यो ।

पछिल्लो पटक हाम्रा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली भारत भ्रमणमा जाँदा त्यहाँका रक्षामन्त्री राजनाथ सिंहलाई गरेको नमस्कारको भिडियो/फोटो पनि भाइरल बन्यो । हात मिलाइ सकेपछि हातैमा ढोगिदिएको विषयलाई नेपालीले निको मानेनन् । परराष्ट्रमन्त्री आवश्यकताभन्दा बढी झुकेको निष्कर्ष निकालियो ।

कतिपयले परराष्ट्रमन्त्री ज्ञवालीको स्वभाव नै त्यस्तो हो भने पनि दण्डवत गर्नुको अर्थ कुटनीतिक बृत्तले सोभै ढंगले लगायो नै । आजका मितिमा आइपुग्दा ढोगाईको ‘रेस्पोन्स्’ नमिलेको पनि अर्थ लगाईंदैछ ।

माथिका यी उदाहरण प्रतिनिधि घटना मात्र हुन् । घटनाले दिने निष्कर्ष के हो भने कुटनीतिमा ‘बडी ल्याङ्ग्वेज’को अर्थ मुखले बोलेभन्दा बढी र गहिरो गरी लाग्ने गर्छ । यति हुँदाहुँदै पनि हाम्रो कुटनीति यस सम्बन्धमा कति सचेत छ त ? सायद यो हाम्रो परराष्ट्रले सामना नगरेको विषय हो कि !

‘ओपन सेक्रेट’ के हो भने संसारका विकसित देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरू ‘पर्फेक्ट बडी ल्याङवेज’ प्रदर्शन गर्न आफ्नो टीममा ‘एक्टिङ डाइरेक्टर’ समेत राख्ने गर्छन् ।

आजसम्म हाम्रो कुटनीतिक क्षेत्रमा प्रदर्शित ‘एक्टिभिटिज’ले हामी ‘बडी ल्याङ्ग्वेज’का सम्बन्धमा बेखवर छौ झैं लाग्छ ।

(लेखक फ्रान्सका लागि पूर्व राजदूत हुनुहुन्छ ।)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पूर्व, पश्चिम र दक्षिण गरी तीनतर्फी भारतीय भूमिबाट घेरिएको नेपाल भू-परिवेष्ठित राष्ट्रको नियती भोग्न बाध्य छ । नेपाल र भारतबीच

किसन राई कोरोना भाइरस (कोभिड–१९)ले विश्व आक्रन्त भएको अवस्थामा हङकङ अछुतो रहेको छैन । कतिपय मुलुक भयावह स्थितिबाट गुज्रिरहेको भएपनि

डा. प्रमोदकुमार क्षेत्री, मिर्गाैला रोग विशेषज्ञ, नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल, जोरपाटी कोरोनाको पहिलो लहरले संसारभरका धेरै मानिसहरुलाई मृत्युको

यो हिमाल आरोहणको बेला हो । आरोहण र आङरिता शेर्पा एकअर्काका पर्यायवाची झैँ लाग्छन् । सर्वोच्च शिखर, अक्सिजन बिनै दस–दस