English

निर्धक्क लगाउ कोरोना खोप



नेपालमा २३ फागुनबाट समुदायस्तरमा कोभिड खोप अभियान सञ्चालन भइरहेको छ । तर, आम मानिसमा कोभिड खोपसम्बन्धी डर र भ्रम भने व्याप्त नै छ । यो भ्रमलाई निवारण गर्न सरकारबाट जनचेतनामूलक कार्यक्रम खासै हुन सकेको छैन । त्यसैले खोपको डर, भ्रम, यसका लक्षण र प्रभावकारिताका विषयमा केन्द्रित रहेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनसँग गरिएको कुराकानी:

यतिबेला आम–मानिस कोभिड–१९ विरुद्धको खोप लगाउने कि नलगाउने भन्नेमा दुविधामा छन् । कोभिड खोप किन लगाउने ? प्रष्ट पारिदिनुस् न ।

अहिलेको अवस्थामा कोभिड–१९ बाट बच्ने एउटामात्र निर्विकल्प भनेको यो बिरुद्ध बनेको भ्याक्सिन नै हो । भ्याक्सिनको उद्देश्य मानिसमा कोभिडको संक्रमण हुन नदिने र यदि संक्रमण भइहाल्यो भने पनि जटिल अवस्थासम्म नपु-याउने र मृत्यु नहोस् भन्ने नै हो । त्यसैले कोभिडको भ्याक्सिन सबैले लगाउनैपर्छ । यस्तै, पछिल्लो समय विभिन्न देशमा भाइरसको उतारचढाव देखिरहेकाले सबैले निर्धक्क भएर कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने अवस्था आएको छ । खोपले मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गरी नकारात्मक प्रभावलाई कम गर्न सक्छ । विश्व स्वास्थ्य संगठनले पनि ५० प्रतिशतभन्दा बढी प्रभावकारी मानेको खोपलाई मात्र प्रयोग गर्न अनुमति दिएको छ । नेपाल आएका भ्याक्सिनहरु ५० प्रतिशतभन्दा बढी नै प्रभावकारी रहेको र यी खोपले विभिन्न अनुसन्धानका चरणहरु पार गरेको हुनाले निर्धक्क भएर खोप लगाउँदा हुन्छ ।

खोपले काम गरेको भन्ने कसरी थाहा पाउने ?

यो थाहा पाउनका लागि त एन्टी बडी परीक्षण गर्नुपर्छ । नेपालमा यो परीक्षण निःशुल्क छ जस्तो लाग्दैन । तर, खोप नै अनुसन्धानमा रहेकाले एन्टी बडी निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ । यस्तै, खोपले काम गरे/नगरेको देश र त्यो देशमा फैलिरहेको कोरोना भाइरसको भेरियन्टले पनि निर्धारण गर्दछ ।

खोप लगाएपछि कस्ता लक्षण देखिन्छन् ?

अहिले नेपालमा लगाइरहेको कोरोनाको भ्याक्सिनले विशेषगरी थकित हुने, टाउको दुख्ने, शरीर दुख्ने, ज्वरो आउने, काम ज्वरो आउने, अत्याधिक भोक लाग्ने, खोप लगाएको ठाउँ दुख्ने लगायतका लक्षणहरु देखिन्छन् । यस्तो समस्या देखिनु सामान्य हो, आत्तिनु पर्दैन । केहीदिन आराम गरेपछि आफैँ ठीक हुन्छ । यद्यपि, धेरै नै गाह्रो भयो भने लक्षण अनुसार कम हुने औषधि खान सकिन्छ ।

तर, कसैलाई लक्षण देखिने/नदेखिने हुँदो रहेछ, किन ?

सबैको शरीर एउटै हुन्छ भन्ने हुँदैन । त्यसैले शरीर अनुसार कोभिड खोप लगाएपछि लक्षण देखिने/नदेखिने हुन्छ । भ्याक्सिन लगाएपछि ज्वरो आयो, अत्याधिक शरीर दुख्यो, टाउको दुख्यो भन्दै हामीलाई पनि सम्पर्क गर्नुहुन्छ । त्यो भनेको भ्याक्सिन लगाएपछि शरीरले प्रतिक्रिया जनाएको र रोग प्रतिरोधात्मक प्रणाली सक्रिय भएको मानिन्छ । तर, कसैकसैलाई कुनैपनि लक्षण देखिदैन । यसो भन्दैमा खोपले काम नगरेको भन्ने होइन । खोप भनेको हाम्रो शारीरिक प्रणालीभन्दा बाहिरको कुरा हो भन्ने कुरा हामीले भुल्नु हुँदैन । त्यसैले खोप लगाउँदा शरीरमा लक्षण देखिनु वा नदेखिनु सामान्य कुरा हो । त्यसैले लक्षण देखिँदैमा आत्तिनुपर्दैन, खोपले काम गर्दैछ भन्ने बुझ्दा हुन्छ ।

दीर्घरोगी अर्थात् नियमित औषधि सेवन गरिरहेका मानिसहरुले कोभिड खोप लगाउनु हुँदैन भन्ने आममानिसको बुझाई रहेको पाइयो के यो साँचो हो ?

यो सरासर गलत हो । उच्च ज्वरो, शरीर दुखिरहेको, टाउको दुखेको अवस्था छ भने खोप लगाउनु हुँदैन । अरु सबैले खोप लगाउँदा हुन्छ केही फरक पर्दैन । मैले त शुरुवाती दिन देखि नै दीर्घरोगी तथा वृद्धवृद्धाहरुलाई सुरुमै प्राथमिकतामा राखेर खोप लगाउनुपर्छ भन्दै आएको हुँ । दीर्घरोगी अथवा नियमित औषधि सेवन गर्ने मानिसहरुले कोभिड खोप लगाउनु हुँदैन भन्नु हल्ला मात्र हो ।

यतिबेला कोभिड खोप लगाउन डराइरहेकाहरुलाई के भन्नुहुन्छ ?

डराउनु पर्दैन । किनभने हामीले लाएको र लगाउँदै गरेको खोपले अनुसन्धानका धेरै चरण पार गरेर छ । कोभिड खोपले गर्दा अहिलेसम्म कसैलाई पनि गम्भीर खालको स्वास्थ्य समस्या उत्पन्न भएर अस्पताल भर्ना हुनुपरेको र मृत्यु भएको भन्ने अनुसन्धानले पुष्टि गरेको छैन । त्यसैले नडराई भ्याक्सिन लगाउन सबैलाई अनुरोध गर्दछु । अर्को कुरा विश्वमा कोरोना भाइरसको नयाँ भेरियन्ट पनि देखा परेको छ । जसले गर्दा कोभिड खोप लगाएर सुरक्षित महशुस गर्नुपर्छ ।

विश्वमा देखिरहेको कोरोनाको नयाँ भेरियन्टलाई अहिलेको भ्याक्सिनले काम गर्छ कि गर्दैन ?

यसका बारेमा अनुसन्धान भइरहेकै छन् । पछिल्लो समय दक्षिण अफ्रिकी भेरियन्ट भनेर चिनिने कोरोना भाइरसले अहिलेका भ्याक्सिनलाई चुनौति दिन सक्ने संकेत सहितको नतिजाहरु प्रकाशित भैरहेका छन् । वैज्ञानिकहरुले यसलाई थप अनुसन्धान गरी थप नतिजा आउने क्रम जारी छ । नयाँ भेरियन्टले चुनौति दिँदा अहिले चलिरहेको भ्याक्सिनलाई अद्यावधिक गर्नुपर्ने हुन सक्छ । त्यसैले कोरोनाको नयाँ भेरियन्टलाई यी भ्याक्सिनले काम गर्छन् कि गर्दैनन्, अहिले नै भन्न सकिँदैन ।

खोप लगाएपछि कोभिड–१९ संक्रमित भइन्छ कि भइँदैन ?

खोप लगाउँदैमा संक्रमित नै भइदैन भन्ने होइन । खोपले कोरोनाको प्रभावलाई कम गर्ने मात्र हो । त्यसैले समुदायस्तरका सबै मानिसहरुलाई खोप नलगाउन्जेलसम्म जनस्वास्थ्यका मापदण्डलाई निरन्तरता दिनुपर्छ । अर्को कुरा कुनै पनि भ्याक्सिन शतप्रतिशत प्रभावकारी हुँदैनन् । कोभिड खोप पनि शतप्रतिशत प्रभावकारी छैन । विभिन्न देशमा खोप लगाइसकेका मानिसहरुमा पनि कोरोना पुष्टि भैरहेका छन् । त्यसलाई ‘ब्रेक थ्रु केस’ भनिन्छ । तर, खोप लगाएपछि कोरोना संक्रमण भएपनि सिकिस्त बिरामी भइँदैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested