कोरोना संक्रमण दर बढ्यो, उपत्यकाका अस्पताल भरिभराउ



काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँजसो बिरामी बढेका हुन् ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताललगायत संस्थामा बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

दैनिक सङ्क्रमित बढेपछि कोभिड–१९ उपचारका लागि छुट्याइएका सघन उपचारकक्ष (आइसीयु), हाइडिपेन्डेन्सी युनिट (एचडीयु), भेन्टिलेटर र साधारण शय्या भरिएका छन् । सशस्त्र प्रहरी बल अस्पतालका डा. प्रवीण नेपालले अस्पतालका सबै शय्या भरिएको जानकारी दिए । उनका अनुसार १० दिन यतादेखि बिरामीको संख्या बढ्दै गएपछि शय्या भरिएका हुन् । ‘सङ्क्रमितहरु आउने क्रम बढेकाले हामीसँग भएका २०० शय्या भरिन्छन् होला’, उनले भने, ‘अहिले बिरामी पनि पहिलेका जस्तै श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने समस्या रहेको छ ।’

उनकाअनुसार आइसीयूमा २०, एचडीयूमा ५० र साधारण शय्यामा १३० जना बिरामी रहेका छन् । अहिले सङ्क्रमणको दोस्रो लहर चलिरहेको छ । दोस्रो लहर गत चैतबाट शुरु भएको हो । दोस्रो लहरमा सङ्क्रमितलाई ज्वरो आउने, निमोनिया हुने, श्वासप्रश्वासमा समस्या आउनेजस्ता समस्या देखिएको छ । सङ्क्रमणको दोस्रो लहर गत वैशाख अन्तिम सातामा उच्च विन्दुमा पुगेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निषेधाज्ञा खुला राखेर जनस्वास्थ्यका मापदण्ड लागू नगरेमा असोज १५ पछि सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले विगत दुई हप्तादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताए । उनले निषेधाज्ञा खुकुलो भएको, भीडभाड बढेको र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा बिरामी बढ्दै गएको जनाए ।

उनकाअनुसार अस्पतालमा १०० बिरामी रहेका छन् । तीमध्ये ३५ जना आइसीयू र चार जना भेन्टिलेटर र अन्य एचडीयूमा रहेका छन् । सङ्क्रमित बढ्ने जोखिमलाई ध्यानमा राखेर अस्पतालले एक हजार शय्या तयारी अवस्थामा राखेको उनको भनाइ छ । यहाँ एक सय आइसीयू र १०० भेन्टिलेटर रहेका छन् ।

उनले सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि अस्पतालमा २० टनको तरल अक्सिजन र दुईवटा अक्सिजन प्लान्ट जोडिएको जानकारी दिए । यस्तै थप एकवटा अक्सिजनको प्लान्ट जोड्ने तयारीमा अस्पताल रहेको छ ।

शुक्रराज अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले निषेधाज्ञा खुलेसँगै बिरामी बढ्दै गएको बताए । उनका अनुसार अहिले २२ जना आइसीयू, २० भेन्टिलेटर र ३५ जना कोभिड–१९ शय्यामा रहेका छन् । यस्तै पाटन अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा आशिष श्रेष्ठका अनुसार कूल १५१ बिरामीमध्ये २१ आइसीयूमा र १० भेन्टिलेटरमा रहेका छन् । यस्तै विगत २४ घण्टामा पाटन अस्पतालमा २२ सङ्क्रमित भर्ना भएका छन् । पाटनमा ३० आइसीयू, १५ भेन्टिलेटर शय्या रहेका छन् ।

काठमाडौँ उपत्यकामा आठ हजार ८९५ सक्रिय सङ्क्रमित रहेका छन् । देशभरि १५७ अस्पताल कोभिड–१९ का लागि सूचीकृत गरिएका छन् । ती अस्पतालमा दुई हजार ६०० आइसीयू रहेका र ६३० थप गर्ने प्रक्रियामा छन् । यस्तै ९०० भेन्टिलेटर र दुई हजार ७५ एचडीयू रहेका छन् । उपत्यकाका सरकारी अस्पतालमा ३११ आइसीयू र १३९ भेन्टिलेटर र साधारणसँगै एचडीयू दुई हजार ६६ शय्या रहेका छन् ।

देशभरिमा ६९० जना आइसीयु र १७५ भेन्टिलेटर, तीन हजार २२४ जना संस्थागत आइसोलेशन र २८ हजार ४०५ जना होम आइसोलेशनमा रहेका छन् । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले शय्या भरिन थालेको बताए । उनले अहिले १२२ जना सङ्क्रमित बिरामी उपचाररत रहेको जानकारी दिनुभयो । तीमध्ये ९१ जना साधारण शय्यामा, अक्सिजन दिएर आइसीयूमा ११ र भेन्टिलेटरमा १८ र दुई जना आकस्मिक सेवामा उपचार गराइरहेका छन् ।

उनले बिरामी आउन थालेकाले अब २२ वटा साधारण शय्या र एक वटा मात्र आइसीयू शय्या खाली रहेका बताए । अस्पतालमा १४५ शय्या कोभिड–१९ का सङ्क्रमितका लागि छुट्याइएको छ । त्रिवि शिक्षण अस्पतालमा पाँच एचडीयु र २२ आइसीयू बालबालिकाका लागि छुट्याइएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भीडभाड बढेकाले सङ्क्रमितसँगै बिरामी पनि बढेको जनाए । ‘अहिले केही दिनयता समाजमा सङ्क्रमण बढेका पाइएको छ ’, उनी भन्छन्, ‘सङ्क्रमितहरु दिनप्रतिदिन बढेका छन् । ’



...
विषादीयुक्त खाद्यवस्तुले स्वास्थ्यमा देखिन्छन् यस्ता समस्या, कसरी जोगिने ? « Mero LifeStyle

[…] […]

...
यी हुन् रक्तदान गर्नुका ५ फाइदा « Mero LifeStyle

[…] […]

...
कोरोना खोपका लागि एक वृद्धको सङ्घर्ष « Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । शुक्रबारदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै काठमाडौंसहित देशभरका चलचित्र हलहरु बन्द भए । करिव ५ महिना बन्द भएका हलहरु काठमाडौं

सामान्यतया मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र दिमागमा भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई स्ट्रोक अर्थात् पक्षघात भनिन्छ । पक्षघात हुँदा

डा.वासुदेव कृष्ण शास्त्री हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै वैज्ञानिक