English

गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ को गीति सङ्ग्रह ‘चुपचाप मन पराएँ’



लामो समयदेखि गीत रचनाको क्षेत्रमा सक्रिय गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा रचना गरिएका आधुनिक गीतहरूको पहिलो गीति सङ्ग्रह ‘चुपचाप मन पराएँ’ काठमाडौँमा आयोजित एक विशेष समारोहमा लोकार्पण गरिएको छ ।

गीतकार प्रमोद भट्टराई प्रतीकको शुभ जन्मोत्सवको अवसर पारेर खीर खाने दिन अर्थात् साउन १५ गते सोमबार गीतकार संघ नेपालले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको उक्त साङ्गीतिक समारोहमा सुगम सङ्गीतमा आधारित सात वटा गीतहरू सङ्गृहीत उक्त गीति सङ्ग्रह लोकार्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सभापति गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, तथा विशेष अतिथिहरू संघका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, साहित्यकार डा. नवराज लम्साल, गीतकार विश्व वल्लभ, गीतकार चिन्तामणि सिवाकोटी तथा गीतकार प्रतीकले संयुक्त रूपमा उक्त सङ्ग्रह लोकार्पण गरेका हुन् ।

गीतकारलाई आफ्नो गीतको अत्यन्त माया हुन्छ, सङ्गीतकारलाई पनि उत्तिकै माया हुन्छ, गायकहरूलाई भने गीतको माया नै हुँदैन, थुप्रै गर्लफ्रेन्ड भएको ब्वाइफ्रेन्ड जस्तो । आयो, गायो, पैसा लियो, हिँड्यो ।

विमोचन समारोहमा गीतकार प्रतीकलाई शुभकामना दिँदै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले आफूलाई पनि विगतमा गीत रचनामा निकै रहर लाग्ने गरेको बताए । आफैँले रचना गरेर गाएको ‘अरबौँ मान्छेको भिडमा’ गीत श्रोताको मनमा बस्न अर्थात् लोकप्रिय हुन ३२ वर्ष लागेको स्मरण गर्दै अहिले साङ्गीतिक क्षेत्रमा सबैभन्दा अन्यायमा पर्ने पक्ष नै गीतकार भएको बताए । रेडियोका कार्यक्रम प्रस्तोताले गीतकार तथा सङ्गीतकारको नामै नलिने गरेको गुनासो गर्दै श्रेष्ठले भने– ‘गीतकारलाई आफ्नो गीतको अत्यन्त माया हुन्छ, सङ्गीतकारलाई पनि उत्तिकै माया हुन्छ, गायकहरूलाई भने गीतको माया नै हुँदैन, थुप्रै गर्लफ्रेन्ड भएको ब्वाइफ्रेन्ड जस्तो । आयो, गायो, पैसा लियो, हिँड्यो ।’

साहित्यकार डा.नवराज लम्सालले गीतकार प्रतीकद्वारा रचना गरिएका गीतहरूको प्रशंसा गर्दै यी गीतहरू कालजयी बन्न सम्भावना बोकेको धारणा व्यक्त गरे ।

गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले नेपाली गीतका सबै गीतकारहरू एकजुट भएर नेपाली साङ्गीतिक क्षेत्रलाई उचाइमा पुर्याउनु पर्ने धारणा व्यक्त गरे । गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणि देवकोटाले गीतकारहरूलाई प्रोत्साहनको खाँचो रहेको औँल्याए ।

म्युजिक भिडियो निर्देशक कृष्ण देव रुपाखेतीले नेपाली साङ्गीतिक क्षेत्रमा गीतकार नै सबैभन्दा बढी मारमा परेकाले आफू लगायत सम्पूर्ण सर्जकले गीतकारलाई प्रोत्साहन गर्नु पर्ने धारणा व्यक्त गरे ।

गीतकार प्रतीकले भने आफूले धेरै अघिदेखि नै डायरीमा मुक्तक, गीत, कविता रचना गर्दै थन्क्याएर राखिरहेको भए पनि अब भने ती गीतहरू आम दर्शक तथा श्रोतामाझ आउन बाटो खुलेको बताए । उनले आफूले रचना गरेका गीतहरूको पहिलो सङ्ग्रह ‘चुपचाप मन पराएँ’ मा प्रेमका विभिन्न आयामहरूका बारेमा वर्णन गरिएका गीतहरू समावेश गरिएको जानकारी गराए ।

बैंकिङ क्षेत्रमा क्रियाशील रहँदा नै मुक्तक, कविता तथा गीत रचनामा रुचि राख्नुका साथै डायरीका पानामा आफ्ना भावनाहरू सङ्गृहीत गर्दै आएका गीतकार भट्टराईद्वारा रचना गरिएको गीतको पहिलो रेकर्डिङ २०७७ सालमा गरिएको थियो । लोकप्रिय गायक राजेश पायल राईले गीतकार भट्टराईको रचनाको पहिलो गीत ‘माया जोख्ने तुलो’ रेकर्ड गरेका थिए । उक्त गीतको लिरिकल भिडियो म्युजिक नेपालको युट्युब च्यानलमा उपलब्ध छ । यो गीतमा कृती न्यौपानेको सङ्गीत छ ।

लोकार्पण गरिएको गीति सङ्ग्रह ’चुपचाप मन पराएँ’ मा लोकप्रिय गायक–गायिकाको स्वरमा रेकर्ड भएका सात वटा गीतहरू समावेश गरिएका छन् । एल्बममा समावेश गीतहरूमा राजेश पायल राई, प्रमोद खरेल, शिव परियार, प्रवीण बेडुवाल, निशान भट्टराई, मेलिना राई तथा रचना रिमाल लगायतका लोकप्रिय गायक–गायिकाहरूको स्वर रहेको छ ।

यी गीतहरूमा सङ्गीतकार कृती न्यौपाने (दिवाकर शर्मा) द्वारा सङ्गीतबद्ध छ वटा गीतहरू समावेश गरिएका छन् भने एउटा गीतमा सरोज कोइरालाको सङ्गीत निर्देशन छ ।

एल्बममा समावेश गीतहरूलाई पुरुषोत्तम सुवेदी, विकास सुनार, राजु कार्की तथा विनोद भुजेलको सङ्गीत संयोजन छ । यी गीतहरू प्रज्ञा स्टुडियो (रेकर्डिष्ट शम्भु तण्डुकार) तथा फाइन ट्युन (रेकर्डिष्ट पुष्कर खत्री) मा रेकर्ड गरिएका हुन् ।

एल्बममा समावेश गीतका म्युजिक भिडियोहरू पनि तयार पारिएका छन् । ती भिडियोहरूलाई नवल नेपाल, कृष्णदेव रुपाखेती, हेमप्रभास अधिकारी, विनोद बम, ओमप्रकाश अवस्थीले निर्देशन गरेका छन् ।

समारोहमा एल्बममा समावेश सात वटै गीतका म्युजिक भिडियोका अंशहरू प्रदर्शन गरियो ।

एल्बममा समावेश मदनकृष्ण श्रेष्ठको स्वरको ‘माया रोपे माया फल्छ’ बोलको गीतको म्युजिक भिडियोमा मदनकृष्ण आफैँले अभिनय गरेका छन् भने कृष्णदेव रुपाखेतीले यसलाई निर्देशन गरेका छन् ।

सङ्ग्रहको शीर्षक गीत ‘चुपचाप मन पराएँ’ मा भने गायक प्रमोद खरेलको स्वर छ भने यसको भिडियोलाई ओमप्रकाश अवस्थीले निर्देशन गरेका छन् । रोहित बस्नेत तथा एन्जेला बानियाले यो गीतको भिडियोमा अभिनय गरेका छन् ।

‘ज्योतिषीले भनेको’ गीतमा निशान भट्टराई तथा मेलिना राईको स्वर तथा कृति न्यौपानेको सङ्गीत छ । विनोद बमले यसको भिडियो निर्देशन गरेका छन् । ‘समयले जुरायो’ गीतमा शिव परियारको स्वर तथा सरोज कोइरालाको सङ्गीत छ । यो गीतको भिडियोलाई फिल्म निर्देशक नवल नेपालले निर्देशन गरेका छन् । ‘प्रेमको भाषा’ बोलको गीतमा कृति न्यौपानेको सङ्गीत तथा गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ ।

लोकार्पण समारोहको उत्तरार्द्धमा गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ लाई निर्देशक रुपाखेतीको केडि फिल्म्सले सर्प्राइज दिँदै जन्मदिनको केक काट्ने वातावरण तयार पारेको थियो ।

यो पनि…
फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ सार्वजनिक (फोटो फिचर)
बगानमार्फत निर्देशनमा सरोज खनालको पाइला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested