English

नयाँ पुस्ताका लागि भरोशा र आशालाग्दा अनुहार



नेतृत्वमा युवावर्गलाई ल्याउन हत्तपत्त हाम्रो समाज स्वीकार्दैन । त्यसका अनेक आयाम र कारण छन् । पुरातन सोचलाई चिर्दै युवा नेतृत्व अघि सार्ने हो भने परिणाममूलक काम बढाउन सकिन्छ भन्ने उदाहरण सञ्चारजगत्मा देखिन्छ । नेपाली सञ्चारमाध्यमको अनुगमन, नियमन, निरीक्षण गर्ने प्रमुख निकाय प्रेस काउन्सिल नेपालका पछिल्ला गतिविधि हेर्दा आशाका किरण स्पष्ट देखिन्छन् । समयको परिवर्तनसँगै आएका सुधार त छँदैछ, त्यसको नेतृत्वमा युवा अनुहार र कार्यशैली अहिले चर्चाको विषय बनेको छ । दुई वर्षअघि सम्म बालकृष्ण बस्नेतको परिचय एक श्रमजीवी पत्रकार र अधिवक्ताको रूपमा मात्र थियो । सनसनी र खोजी समाचारको पछि दगुरेर सञ्चारक्षेत्रमा अब्बल र कुशल पत्रकारको रूपमा चिनिएका बस्नेतलाई तत्कालीन सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षको जिम्मेवारी जब दियो, त्यसपछि बहस सुरू भयो, सञ्चारमा युवा नेतृत्व र यसको परिणतिबारे ।

सिंगो सञ्चारमाध्यमको राम्रो/नराम्रो पक्ष केलाउने अर्धन्यायिक निकायको प्रमुखमा ४३ वर्षीय पत्रकार बस्नेत पुगेका थिए । आउँदो जेठमा उनले पद सम्हालेको दुई वर्ष पुग्दैछ । यो बीचमा काउन्सिलको सक्रियता र त्यसले सञ्चारजगत्मा पारेको प्रभावले के देखाउँछ भने अब कुनै पनि क्षेत्रको नेतृत्वमा युवालाई निर्धक्क अघि सार्दा झन बढी परिणाम हासिल गर्न सकिन्छ । बस्नेत र उनी नेतृत्वको युवा टीमले काउन्सिललाई चलायमान बनाएको छ । पत्रपत्रिकाको अनुगमनमा मात्र बढी केन्द्रित भई खुम्चिएको निकायबाट ऐन, कानुन र नीतिगत व्यवस्था सुधार्दै सञ्चारमाध्यमका सबै विधामा उच्च निगरानी हुन थालेको छ । कुनै अनलाइन सञ्चारमाध्यम होस् या युट्युबमार्फत समाचारजन्य सामग्री दिने च्यानल हुन्, प्रेस काउन्सिलको पत्रबाट सचेत हुने, कारबाहीको भयले संयमित हुन थाल्नु आफैँमा उपलब्धि हो ।

यो बीचमा बस्नेतले देखाएको सबैभन्दा राम्रो पक्ष भनेको समन्वयकारी र सन्तुलित भूमिका नै हो । २५ वर्षभन्दा बढी समयको पत्रकारिताबाट खारिएका उनले नेपालका प्रायः सबै सम्पादक, प्रकाशक र विभिन्न समाचार कक्षका अगुवासँग नजिकै रहेर सहकार्य गरेका छन् । कहिले साप्ताहिक, मासिक र कहिले दैनिक पत्रिकामा तथा कहिले अनलाइन तथा टीभीमा काम गरेको उनको अनुभव छ । त्यस्तै पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघको नेतृत्वदायी भूमिकामा रही देशभरका विभिन्न जिल्लाका पत्रकारको दुःख, पीडा, समस्या उनले नजिकैबाट बुझेका छन् । त्यस अनुभवलाई उनले काउन्सिलमा बसेर पूरापूर सदुपयोग गर्दै नेपाली प्रेसको समुन्नतिका लागि काम गरिरहेका छन्।

झण्डै २० वर्ष कान्तिपुर दैनिक र इकान्तिपुर डट कमको प्रभावशाली भूमिकामा रहँदा बस्नेतले आफूलाई पत्रकारितामा निखारेका हुन् । सँगै वकालत पेशालाई पनि जोडेका थिए । सोही कारण कतिपय सन्दर्भमा विवादै विवादले झेलिएको इतिहाससमेत बोकेको काउन्सिल यो बीचमा सबैको सम्मानयोग्य निकायको रूपमा स्थापित बनेको छ । गत स्थानीय तहको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सञ्चारमाध्यमको अनुगमनमा काउन्सिलको प्रभावकारी र सन्तुलित भूमिका देखियो । पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिताभित्रै राख्न, युट्युबसहित सामाजिक सञ्जालबाट हुने गालीगलौज रोक्न विभिन्न सन्देशमूलक अभियान, अमुक दललाई भोट हाल्न सञ्चार संगठन स्वयंले जारी गरेको वक्तव्यलाई निस्तेजजस्ता कामले काउन्सिलको गरिमा थपेको छ ।

त्यसैगरी रोकिएका पत्रपत्रिका वर्गीकरण नतिजालाई समयमै प्रकाशन गर्ने, वर्गीकरणका मापदण्ड वैज्ञानिक र पारदर्शी बनाउने, हुबहु सार्ने अनलाइन,, पत्रपत्रिकालाई कारबाही गर्ने, बार्गेनिङ पत्रकारितालाई निरुत्साहित गर्न बस्नेतले निडर भई काम देखाइरहेका छन् । पत्रकारिताको आवरणमा गलत काम गर्ने पत्रकार, प्रेस पास र पँहेलो ज्याकेटको दुरुपयोग गर्नेलाई काउन्सिलले उच्च निगरानीमा राख्दै कालो सूचीमा राख्ने तहसम्मको कारबाही गर्दै आएको छ ।

आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र पत्रकारलाई काउन्सिलमै बोलाई कक्षा लिन लाउने कामको थालनी भएको छ । नयाँ खुल्ने अनलाइनलाई अभिमुखीकरण कक्षा लिनैपर्ने, मिल्दोजुल्दो नाममा अनलाइन चलाउन नपाइनेजस्ता कामले काउन्सिलको प्रभावकारिता बढाएको छ । प्रेस काउन्सिलको पुरानो ऐनलाई सुधार गर्न, प्रदेशस्तरका सञ्चारमाध्यमविरोधी कानुन सच्याउन, आम सञ्चारसम्बन्धी संघीय सरकारले ल्याउने विधेयकलाई सञ्चारमाध्यममैत्री बनाउन बस्नेतनेतृत्वको काउन्सिलले विभिन्न रचनात्मक सुझाव दिएको छ । छापाखाना र प्रेसको इतिहासका लागि प्रेस संग्रहालय बनाउनेदेखि अनुसन्धानमूलक पुस्तकको तयारी, सञ्चारमाध्यमको अंग्रेजी भाषामा वर्ष पुस्तकको सुरूवातले बस्नेतलाई थप चिनाएको छ ।

विश्व प्रेस काउन्सिलको केन्यामा भएको सम्मेलनमा अध्यक्ष बस्नेतले अनलाइन र पत्रकारले चलाउने सामाजिक सञ्जाललाई मर्यादित बनाउन साझा खालको आचारसंहिता बनाउन नेपालको तर्फबाट प्रस्ताव राखे, त्यसबारे अरू देशमा समेत बहस भइरहेको छ । काउन्सिलमा पटक–पटक राजनीतिक हस्तक्षेप हुन खोज्दा पनि बस्नेतले नहड्बडाइकन गरेका कामको सञ्चारक्षेत्रमा थप चर्चा भएको छ । काउन्सिल जस्तो स्वायत्त र अर्धन्यायिक निकायमा एउटा सरकारले गरेको नियुक्ति नयाँ सरकार आउनासाथ हटाउन खोज्ने, दलनिकट कार्यकर्ता भर्ती गर्न खोज्ने प्रयासलाई उनले सन्तुलित भूमिका देखाएर रोके । पत्रकार महासंघ, काउन्सिलका अग्रज नेतृत्व, सम्पादकहरूको समूहले बस्नेतलाई साथ दिए । अदालतको समेत समर्थन काउन्सिलले पायो । यसले काउन्सिलको समेत प्रतिष्ठा बढाएको छ ।

दोलखाको भीमेश्वर–५, विसुन्टोलमा जन्मिएका बस्नेत पत्रकारिता करिअरमा नयाँ पुस्ताका लागि भरोशा र आशालाग्दा अनुहार बनेका छन् । पत्रकारिता करिअरमा विभिन्न मानवअधिकारवादी संस्था, नेपाल बार एसोसिएशनसहितबाट पुरस्कृत र सम्मानित भएका छन् । उनको नियुक्तिसँगै पछिल्ला सरकारले पनि सञ्चारक्षेत्रका अन्य निकायमा युवा अनुहारलाई नै नियुक्तिमा प्राथमिकता दिन थालेको छ– जुन आफैंमा सुखद पक्ष हो ।

यो पनि…
‘मिडियाप्रति भरोसा बढाउन संयमित र सन्तुलित हुनु जरुरी छ’
प्रेस काउन्सिलको ध्यान सामाजिक सञ्जालतिर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested