English

सरकार दिउँसो कोरोना सर्दैन ?

सार्वजनिक स्थलमै मास्क लगाउँदैनन् अधिकांश काठमाडौंवासी



कोरोना भाइरसको संक्रमण अहिले दिनप्रतिदिन बढिरहेको छ । आइतवार यताको तथ्याङ्क हेर्ने हो भने पहिलो दिन १ हजार ९६, सोमवार १ हजार २ सय ८१, मंगलवार १ हजार ७ सय ३६, बुधवार २ हजार ३ सय ५१ र बिहीवार २ हजार ४ सय २८ जनालाई कोरोना संक्रमण पुष्टि भयो । साथै केही दिन यता संक्रमितको मृत्यु पनि त्यत्तिकै मात्रामा बढिरहेको देखिन्छ । यो तथ्याङ्कले के देखाउँछ भने नेपालमा कोरोनाको दोस्रो लहर बढ्दोे छ ।

२०७८ साल लागेयता मात्रै ५९ जना संक्रमितको मृत्यु भइसकेको छ । सरकारले पनि सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन गरेको थियो । तर, आम मानिसले भने अझै पनि मापदण्ड पालना गरेको पाइदैन । यो दृश्य हेर्न कतै टाढा जानै पर्दैन । काठमाडौं उपत्यकाका भीडभाड हुने स्थान, ठमेल, रत्नपार्क, वसन्तपुर, स्वयम्भू र बौद्ध आदि ठाउँमा छरपस्ट रूपमै मास्क नलगाइ हिँडेका मानिसको भीड देख्न सकिन्छ ।

ट्राफिक प्रहरी र नेपाल प्रहरीले सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाउनका लागि चेक जाँचमा कडाइ गरिरहेको छ । तैपनि मानिसहरू अरुको अनि आफ्नै स्वास्थ्यमाथि खेलवाड गर्न छाडेका छैनन् ।

काठमाडौं उपत्यकाका भीडभाड हुने स्थान, ठमेल, रत्नपार्क, वसन्तपुर, स्वयम्भू र बौद्ध आदि ठाउँमा छरपस्ट रूपमै मास्क नलगाइ हिँडेका मानिसको भीड देख्न सकिन्छ ।

बिहीवार दिउँसो माथि उल्लेखित ठाउँहरूमा अत्याधिक भीडभाड थियो । मास्क नलगाइ हिँड्ने, मास्क गोजीमा बोक्ने, चिउँडोमा मास्क लगाउने, हातमा राख्ने र प्रहरीले चेक गर्न आएमा मात्र लगाउने गरेको दृश्य देखियो । (यी ठाउँहरूमा मेरो लाइफस्टाइलको टीम पुग्दा कैद गरेको तस्विर हेर्नुहोस् ।)

मुख्य सहरमै पालना भएन स्वास्थ्य मापदण्ड

काठमाडौंको भीडभाड हुने स्थानमा पर्दछ, स्वयम्भूनाथ क्षेत्र । यो क्षेत्रमा हरेक दिन स्वदेशी तथा विदेशी पर्यटकहरूले भीड लाग्छ । तर अहिले सबैका लागि चिन्ताको कोरोना र सार्वजनिक स्थानमा चासोको विषय मास्क, स्यानिटाइजर र सामाजिक दूरी पालना नगर्नेहरूको जमात कम छैन । त्यहाँ पुग्दा धेरै मानिसहरू मास्क नलगाइ बसिरहेका थिए । जब प्रहरीसहित मिडिया त्यहाँ पुगेर क्यामेरा र माइक तेर्सायो, त्यसपछि कसैले चिउँडोको मास्क मुखमा तान्न थाले भने कसैले गोजीको मास्क निकालेर लगाउन थाले । यसरी स्वास्थ्यको खेलवाड गर्नेहरू किशोरकिशोरी, युवादेखि वृद्धवृद्धासम्म पर्छन् । स्वयम्भू क्षेत्रमा भेटिएका एक वृद्ध भन्छन्, ‘भर्खर हिँडेर आएको, स्याँ स्याँ भएँ र मास्क खोलेको हो, लाइहाल्छु ।’

यतिसम्म कि कसैले त मास्क बोकेका पनि छैनन् । यसरी लापरवाही गर्नेहरूसँग मेरोलाइफस्टाइलले किन मास्क लगाउनु भएन भनेर सोध्दा उनीहरू अनुत्तर रहे भने कतिपयले हिँडेर स्याँ स्याँ भएको, सेल्फी खिच्न खल्तीमा राखेको भन्ने बहाना पनि बनाउन भ्याए । ‘फोटो खिच्न खोलेकी हुँ, अब लगाउँछु,’ वसन्तपुर क्षेत्रमा मास्क नलगाउने एक किशोरी भन्छिन् ।

मेरोलाइफस्टाइलले किन मास्क लगाउनु भएन भनेर सोध्दा उनीहरू अनुत्तर रहे भने कतिपयले हिँडेर स्याँ स्याँ भएको, सेल्फी खिच्न खल्तीमा राखेको भन्ने बहाना पनि बनाउन भ्याए ।

यस्तै लापरवाही गर्ने मानिसहरू काठमाडौंको मुटु मानिने वसन्तपुर र ठमेलमा पनि भेटिन्छन् । यो क्षेत्र पर्यटकले जुनकुनै बेला पनि भरिभराउ देखिन्छ । अझ विशेष वसन्तपुर क्षेत्रमा अहिले सेतो मच्छिन्द्रनाथको जात्रा चलिरहेको छ । त्यहाँ रथ तान्ने र रथ नजिक सयौँ भेला भइरहेको देखिन्छ । तर, त्यस्तो भीडमा पनि मास्क विनाको जमात ठूलो छ । ती दृश्यले कोरोनालाई गिज्याइरहेको आभास गराउँछ ।

बौद्ध क्षेत्रमा पनि दिनमा सयौँ पर्यटक जाने गर्दछन् । शान्त वातावरणमा रहेको यो क्षेत्रमा मानिसहरूको बाक्लो उपस्थिती हुन्छ । तर, कोरोनाको संक्रमण बढिरहेको अवस्थालाई वेवास्ता गर्दै स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेहरूको भीड बौद्धमा पनि छ । बिहिबार वौद्धमा भेटिएका मानिसमध्ये कसैले मास्क नै लगाएका थिएनन् भने मास्क लगाउनेहरू पनि कसैको चिउँडोमा, कसैको हातमा देखिन्थ्यो । बौद्ध क्षेत्रमा प्रवेश गर्ने मुख्यद्वारमै मास्क बिना प्रवेश निषेध लेखिएको छ । त्यो पढ्छन्, तैपनि मास्क नलगाई हेपाई पारामा स्तुपा प्रवेश गर्ने गरेको पाइयो ।

बौद्ध क्षेत्रमा प्रवेश गर्ने मुख्यद्वारमै मास्क बिना प्रवेश निषेध लेखिएको छ । त्यो पढ्छन्, तैपनि मास्क नलगाई हेपाई पारामा स्तुपा प्रवेश गर्ने गरेको पाइयो ।

रात्रिकालीन व्यवसाय, स्कूल र कलेज बन्द

सरकारले कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेकोले यसलाई नियन्त्रण गर्न भन्दै भीडभाड नगर्न, स्कूल र कलेज बन्द गर्न भनिसकेको छ । साथै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बनाएका स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ । तर, आम मानिसले भने यसलाई लापरवाही गरिरहेको पाइन्छ । स्कूल र कलेज भर्चुअल माध्यमबाट सञ्चालन भइरहेका छन् भने पूर्व निर्धारित परीक्षा सञ्चालन भइरहेका छन् । त्यस्तै कोरोनाबाट प्रभावित जिल्लामा रात्रिकालीन व्यवसाय बन्द गर्न भनिएको छ । तर, कतिपय व्यवसायीहरूले भने सरकारको यो निर्देशन विरुद्ध उत्रिएका छन् ।

ठमेलका व्यवसायीको प्रश्नः सरकार दिउँसो कोरोना सर्दैन ?

सरकारले गरेको रात्रिकालीन व्यवसाय बन्दको निर्णयमा अधिकांश व्यवसायी सहमत छैनन् । गत सोमवार सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गर्यो । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डंगोल सरकारले गरेको यो निर्णयप्रति प्रश्न गर्दै भन्छन्, ‘ए सरकार, दिउँसो कोरोना सर्दैन ?’

यदि दिउँसो कोरोना सर्दैन भने राती किन बन्द ? उनी सरकारसँग यसको उत्तर जान्न चाहन्छन् । काठमाडौं उपत्यकाका अत्याधिक भीडभाड हुने स्थानमा आफूले नियाल्दा दिउँसै मास्क नलगाएर हिँड्ने मानिस डंगोलले धेरै देखेका छन् । कोरोना लाग्छ भने दिउँसो पनि लाग्छ । राती व्यवसाय गर्न नपाउने भए दिउँसो कसरी कोरोना सर्दैन भन्ने प्रमाण उनी सरकारसँग माग्छन् । सरकारले प्रमाण दिन नसक्ने हुँदा ठमेलका व्यवसायी सरकारले गरेको निर्णय मान्ने पक्षमा छैनन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार