English

गठबन्धनमा किन हुन सकेन संयुक्त चुनावी सभा ?



स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न ७५ भन्दा बढी कार्यक्रममा सहभागी भए । त्यसका लागि पूर्वको मोरङदेखि पश्चिमको धनगढीसम्म पुगे । जहाँ उनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका उम्मेद्‌वारलाई विजयी गराउन अनुरोध गर्दै सार्वजनिक भाषण गरे ।

अधिकांश कार्यक्रममा पाँच दलीय गठबन्धनबाटै चुनाव लड्ने उनको दाबी थियो । हरेक स्थानीय तह तालमेल गर्दै अघि बढ्ने र त्यही अनुरूप तयारी गर्न सबै नेता कार्यकर्तालाई उनको निर्देशन थियो ।

पाँच दलीय गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मिति घोषणा भएसँगै ४० भन्दा बढी कार्यक्रममा सहभागी भइसके । पार्टीले आयोजना गरेको भन्दा सरकारी कार्यक्रममा गएर उनले पनि चुनावी तालमेल गरेरै अघि बढ्ने दाबी गरे ।

कांग्रेस एक्लै चुनाव लड्दा विगतमा कस्तो अवस्था भोगेको स्मरण गराउँदै तालमेलबाहेकको चुनावमा जान नसकिने उनको तर्क थियो ।

पाँच दलीय गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा नेता कार्यकर्ता यतिबेला चुनावी दौडाहमा छन् । उनीहरूले आफ्ना उम्मेदवारलाई भोट हाल्न अपिल गर्नुका साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई भोट नदिन भन्नसमेत भ्याए ।

यति मात्र नभएर कुनै कुनै कार्यक्रममा गएर माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरूमाथि गठबन्धनभित्रबाट अपमान भइरहेको समेत बताए । अपमान भइरहे सहन नसकिने भन्दै गठबन्धनबाट बाहिरिनेसमेत उनीहरूको चेतावनी थियो ।

पाँच दलका शीर्ष नेतादेखि तल्लो स्तरका नेताहरूसम्म चुनावी दौडाहामा छन् । तर, पाँच दलले भने अहिलेसम्म संयुक्त चुनावी सभासमेत आयोजना गर्न सकिरहेका छैनन् ।

पाँच दलले यही २९ चैतमा संयुक्त अपिल जारी गरेका थिए । जसमा उनीहरूले एक-अर्कालाई सहयोग गर्नेदेखि लिएर एकअर्काको विरुद्ध नलाग्ने सम्मको प्रतिबद्धता जनाएका थिए ।

गठबन्धनलाई अझै छैन तालमेलमा विश्वास

यहि ११ र १२ गते वैशाखमा उम्मेद्‌वार मनोनयन दर्ताको समय तोकिएको छ । मनोनयन दर्ता गर्ने समय नजिकिँदै गर्दा पनि दलहरूले एउटा पनि संयुक्त चुनावी सभा आयोजना गर्न नसकेका हुन् ।

गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँटबारे निर्णय गर्न सकिरहेका छैनन् । गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेका उनीहरूको गतिविधि हेर्दा एक्ला एक्लै लड्नेजस्तो देखिन्छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले विविध कारणले संयुक्त चुनावी अभियान गर्न नसकिएको बताए ।

नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले तालमेलको व्यावहारिक निर्णय गर्न बाँकी रहेकोले संयुक्त चुनावी सभा गर्न नसकिएको जानकारी दिए । स्थानीय तहको सिटको बाँडफाँटबारे निर्णय भएपछि संयुक्त चुनावी सभा गरिने उनको भनाइ छ ।

गठबन्धनमा आबद्ध दलहरूलाई अझै पनि तालमेलसहित चुनाव लड्नेमा विश्वास छैनन् । एक अर्काप्रति विश्वास नहुँदा उनीहरू एक्ला एक्लै चुनावी सभाहरू गर्दै आएका छन् ।

नेपाली कांग्रेसले धेरै स्थानहरूमा तालमेल नगर्ने निर्णय गर्दै आफ्नै उम्मेद्‌वार घोषणा गरिरहेको छ । पालिका, जिल्ला र प्रदेशस्तरमा निर्णय गर्दै चुनावी तालमेलको विपक्षमा निर्णय गर्न थालेका हुन् । गठबन्धन तोड्दै उनीहरू स्वच्छ प्रतिपस्पर्धामा जाने निर्णयमा पुग्न थालेका हुन् ।

चुनावी तालमेलको निर्णयको अवज्ञा हुँदा हुन थालेपछि गठबन्धनका शीर्ष नेताहरूले अर्को उपाय पनि अघि सारेका छन् । त्यो सबै दलसँगको सहमति नभए पनि जो जसको जोसँग सहमति हुन्छ त्यही अनुसार तालमेल गर्ने ।

यसका लागि गठबन्धनको बैठकमा प्रस्तावकै रूपमा आएको छ । नेताहरूले त्यसलाई सबैको सहमति नजुटेको खण्डमा विकल्पको रूपमा हेरेका छन् । सबै दलहरूबीच भागबण्डा र तालमेलको विषयमा सहमति जुटेपछि मात्रै संयुक्त चुनावी सभा गर्ने विषयमा बैठकमा छलफल भएको थियो ।

यो पनि…
गठबन्धनका तीन चुनौती, तीन स्वार्थ
चुनावी तालमेलबारे थप निर्णय गर्दै गठबन्धन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested