English

रेन्बो ट्राउटलाई बजार अभाव



खोटाङको साकेला गाउँपालिका-३ खिदिमाको तावाभञ्ज्याङस्थित मखमलेका कृषक समूहले उत्पादन गरेका रेन्बो ट्राउटलाई बजार अभाव भएको छ।

पर्यटकीयस्थल तावाभञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटकको अध्ययन तथा भ्रमण गर्ने थलोका रूपमा विकास गर्दै कृषि पर्यटनको विकास गर्न मखमलेका स्थानीय बासिन्दाले रेन्बो ट्राउटको व्यावसायिक पालन सुरु गरेका हुन्।

रेन्बो ट्राउट माछा, भुरा तथा रेन्बो ट्राउटलाई दिइने दाना उत्पादन गर्ने स्रोत केन्द्रका रूपमा विकास गर्दै आर्थिक आयआर्जन गर्ने लक्ष्यका साथ ‘तावाहाङ रेन्बो ट्राउट कृषक समूह’ले सुरु गरेको रेन्बो ट्राउट फार्ममा अहिले करिब आठ क्विन्टल बिक्री गर्न लायक रेन्बो ट्राउट माछा छन्।

केही समयपछि फिसिङ तथा अर्डरअनुसार पोखरीस्थलमै पकाएर खान मिल्ने गरी उपलब्ध गराउने कृषक समूहको तयारी भए पनि अहिले उक्त माछालाई बजार अभाव देखिएको छ।

भुरा हालेको वर्ष दिनमा रेन्बो ट्राउट माछा बिक्रीयोग्य बनेपछि अहिले पोखरीबाटै प्रतिकेजी रु एक हजार ५०० का दरले बिक्री गर्न सुुरु गरिएको लगानीकर्ता निशन राईले बताए। ‘फार्ममा अहिले करिब ८०० केजी बिक्री गर्न लायक भएका माछा छन्,’ उनले भने, ‘बिक्री गर्न लायक भएका माछाले दैनिक रु तीन हजार ५०० भन्दा बढीको दाना खान्छ। समयमा बिक्री नहुँदा घाटा हुने सम्भावना बढेको छ।’

आधुनिक किसिमले पोखरी निर्माण गरेर व्यावसायिकरूपमा पालन सुरु गरिएको रेन्बो ट्राउट फार्ममा अहिले दक्ष प्राविधिकसहित दुई जना हेरालु कामदार कार्यरत छन्। दक्ष प्राविधिकलाई मासिक रु १८ हजार र हेरालुलाई रु मासिक १२ हजार तलब दिने व्यवस्था गरिएको कृषक समूहले जनाएको छ।

रेन्बो ट्राउट पालनका लागि १९ वटा (रेस–वे) पोखरी र फिल्टर ट्याङ्क निर्माण गरेर २०७७ साल चैत ६ गते १५ हजार भुरा हालिएको थियो। आर्थिक वर्ष २०७७/७८ मा खिदिमाको मखमलेमा रु ५० लाख १० हजारको लगानीमा स्थानीय यपोसी खोलाको पानी प्रयोग गरेर रेन्बो ट्राउट पालन सुरु गरिएको हो।

विसं २०७४ मा खिदिमाका स्थानीयवासी आफैंले रु नौ लाख उठाएर रेन्बो ट्राउट पालनका लागि काम थालेका थिए। आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारअन्तर्गतको मत्स्य विकास निर्देशनालयको रु २५ लाख, वडा कार्यालयको रु पाँच लाख, गाउँपालिकाको रु चार लाख र तावाहाङ रेन्बो ट्राउट कृषक समूहको रु १६ लाख १० हजार लगानीमा रेन्बो ट्राउटपालन सुरु गरिएको हो।

कृषक समूहको एक्लो प्रयासमा पोखरी निर्माण सम्पन्न नहुँदै भुरा ल्याइएपछि घाटा बेहोरेको तावाहाङ रेन्बो ट्राउट कृषक समूहले पुनः मत्स्य विकास निर्देशनालय, गाउँपालिका र वडा कार्यालयको सहयोगमा रु ५० लाखको योजना बनाएर १९ वटा पोखरी निर्माण गरिएको छ।

सबै पोखरीमा पर्यटकीयस्थल तावाभञ्ज्याङ नजिकै रहेकाले रेन्बो ट्राउट फार्ममार्फत कृषि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने साकेला गाउँपालिकाका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए।

‘प्रदेश सरकारको क्रमागत योजनामा परेको तावाभञ्ज्याङमा निर्माण गरिने आधुनिक तथा नमूना कृत्रिम तालका लागि गत वर्ष गाउँपालिकाबाट रु ७० लाख बजेट विनियोजन गरिएको थियो,’ उनले भने, ‘करिब रु ५६ करोड लागतमा कृत्रिम ताल निर्माण सम्पन्न हुने अनुमान गरिएको छ।’

पर्यटन प्रवद्र्धनका लागि तावाखोलाको शिरमा रहेको तावाभञ्ज्याङमा बाँध हालेर कृत्रिम ताल निर्माणका लागि डिपिआरसमेत तयार भइसकेको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङमा रहेको खाली ठाउँमा १ नं प्रदेशकै नमूना तथा ठूलो कृत्रिम ताल निर्माण गर्ने तयारीका साथ डिपिआर तयार गरिएको हो।

समुद्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाइमा रहेको तावाभञ्ज्याङमा साढे ६०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ रहनेगरी कृत्रिम ताल निर्माण हुने डिपिआरमा उल्लेख छ । प्राकृतिकरूपमै पर्यटकीयस्थल रहेको तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माण हुने भएपछि स्थानीयवासीसमेत हर्षित बनेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested