English

सेलिब्रेटीका गाँजा अनुभव

कुन कलाकारले गाँजा खाएर के गरे !



छिनमै हाँस्ने छिनमै रुने गर्न थालेछु
दुर्गेश थापा, गायक

‘गाँजा छ गाँजा शिवरात्री आज, डमरुको तालमा नाच्न मन छ आज’

माथिको गीतको अंश गायक दुर्गेश थापा र योगेश काजीको स्वरमा रहेको ‘सलाई छ सलाई’ बोलको गीतबाट लिइएको हो । शिवरात्रीको छेको पारेर सार्वजनिक यो गीत यतिबेला युट्युबको ट्रेन्डिङमा छ । गाँजा र शिवरात्रीको प्रसंग एक अर्काको पर्याय जस्तो भइसक्यो । यहाँ केही सेलिब्रिटीका गाँजा अनुभव समेटिएको छ ।

गायक दुर्गेश थापाले गाँजा गीतको भिडियोमा अभिनय गरेजस्तै, उनीसँग गाँजा अनुभव पनि उस्तै छ । थापालाई गाँजा तान्न शिवरात्री कुर्नै पर्दैन । कहिलेकाहिँ साथीभाई भेट भयो भने एकदुई ‘पप’ तान्दिहाल्छन् । अझ शिवरात्रीमा त गाँजाको नशामा मज्जैले झुम्ने गरेको थापा बताउँछन् । तीन वर्ष अघिको कुरा हो । शिवरात्रीको दिन उनले साथीहरूसँग गाँजाको एक दुई सर्को के तानेका थिए, दुनियाँ नै अर्को देख्न थाले । गाँजा अनुभव सुनाउँदै उनी भन्छन्, ‘छिनमै हाँस्ने छिनमै रुने गर्न थालेछु । साथीहरूले मेरो अवस्था देखेपछि अस्पताल लैजाने तयारी गरेछन् । मलाई अस्पताल लैजाने भन्ने थाहा पाएपछि त झनै डराएर डाँको छोडेर रोएको थिएँ । केही घन्टापछि गाँजाको नशाले छोडेपछि आफैंलाई लाज लाग्यो ।’

कसैले मार्छ कि भन्ने भावना मनमा आउँछ
रेखा थापा, अभिनेत्री

अभिनेत्री रेखा थापाले विगत १५ वर्ष यता शिवरात्री धुमधामले मनाउँदै आएकी छिन् । त्यसैले, उनीसँग त झन् गाँजाको अनुभव नहुने कुरै भएन । गाँजा लागेपछि उनको मनमा नकारात्मक विचार उब्जन थाल्छन् । अरु माथि शंका गर्न थाल्छिन् । उनलाई आफू अघि बसेको मान्छेले हेर्‍यो भनेपनि यसले मलाई मार्ने पो हेरेको हो कि भन्ने जस्ता विचार आउने उनी बताउँछिन् ।

रेखालाई गाँजा लागिसकेपछि कि बोलिरहन्छिन् कि त गीत गाउन थाल्छिन् । केही वर्ष अघिको गाँजा अनुभव सुनाउँदै उनले भनिन्, ‘शिवरात्रीमा गाँजा खाइयो । एकैछिनमा झ्याप बनायो । त्यसपछि गीत गाउन थालेछु, निरन्तर एक घन्टासम्म गीत गाएछु । त्यतिबेला गीत गाउँदा आफ्नो फ्यान आफैं हुन्थें ।’

पृथ्वी नै हल्लाए जस्तो भयो
दीपाश्री निरौला, अभिनेत्री तथा निर्देशक

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले केही वर्ष अघि होलीको समयमा भाङ हालेको घोटुवा खाइन् । सुरुमा चाख्नेमात्र सोचेकी थिइन् । तर, असाध्यै मीठो लागेपछि उनले घोटुवा थपेर खाइन् । भाङ हालेको घोटुवा खाएको केही समयमै उनलाई रिंगटा लाग्न थाल्यो । साथै, वाकवाकी लाग्ने, पृथ्वी नै हल्लाएको जस्तो हुने जस्ता लक्षण देखिएको उनी बताउँछिन् । ‘त्यो दिन सम्झँदा अहिले पनि रिंगटा लाग्छ,’ उनी भन्छिन्, ‘जे होस् मसँग भाङ खाएपछि हुने परिणामको राम्रै अनुभव छ ।’ उनले गाँजा भने अहिलेसम्म सेवन गरेकी छैनन् । उनीसँग गाँजा सेवन गरेको अनुभव नभएपनि गाँजाको प्रतिबन्ध फुकुवा गर्नुपर्नेमा उनको जोड छ । ‘नेपालमा गाँजालाई प्रतिबन्ध लगाइएको छ, त्यो खुला गरिनुपर्छ,’ उनी भन्छिन्, ‘यसलाई नियमन गर्दै लागूऔषधको रूपमा नभएर औषधिको रूपमा प्रयोग गर्न सकियो भने यसले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याउनेछ ।’

साक्षात महादेवसँगै कुराकानी गरें
प्रदिप भट्टराई, निर्देशक

निर्देशक प्रदीप भट्टराईको गाँजा अनुभव भने अलि बेग्लै छ । उनले १० वर्ष अघि साथीहरूको लहलहैमा गाँजा सेवन गरेका थिए । एकदुई सर्को के तानेका थिए, उनलाई महादेव नै अघि आएर मैले खाने चिजले तँलाईं लाग्यो भनेको जस्तो अनुभव भएको उनी बताउँछन् । मेरो लाइफस्टाइल डटकमसँग गाँजा अनुभव सुनाउँदै उनले भने, ‘घरको छतमा बसेर साथीहरूसँग पहिलोपटक गाँजा तानेको एकदुई सर्कोमै झ्याप भएछु । छतबाट तल कोठासम्म आइपुग्न पनि काशी जानभन्दा बढी कठिन भयोे । त्यसपछि तल ओर्लिएर ओछ्यानमा सुतेको त पुरै हावामा उडेको जस्तो अनुभव हुन थाल्यो । अनि निन्द्रा लाग्ला जस्तो भयो । निदाएँ भने त सास फेर्नै बिर्सन्छु होला भन्ने डरले निदाउन सकिनँ ।’

सबै कुरा सपना लाग्न थाल्यो
पशुपति शर्मा, गायक

गायक पशुपति शर्मासँग पनि २०६० सालताका भाङ खाएको अनुभव छ । उनले त्यतिबेला साथीहरूकै लहलहैमा भाङको लड्डु ५ वटा एकैपटक खाइदिए । भाङ खाएको केही समयमा उनलाई सबै कुरा सपना जस्तो लाग्न थाल्यो । साथीबाट छुट्टिएर उनी गोंगबु चोकबाट गाडी चढेर कोठामा गए । कोठासम्म पुगेको पनि उनलाई सपनाजस्तो लाग्न थाल्यो । त्यसपछि उनलाई टन्न पानी खाएर मुखमा औंला घुसाएर बान्ता गर्‍यो भने ठीक हुन्छ भन्ने लागेर त्यसै गरे । त्यसपछि बिस्तारै भाङले छोडेको उनी बताउँछन् ।

पुरै एकोहोरो
दीपकराज गिरी, अभिनेता

अभिनेता दीपकराज गिरी गाँजासँग निकै नजिक छन् । उनी विभिन्न अवसरमा गाँजा सेवन गर्छन् । गाँजा सेवन गर्दा दिमागलाई एकाग्रता गराउने हुँदा कहिलेकाहीँ गाँजा सेवन गर्ने गरेको उनी बताउँछन् । त्यसैले गाँजालाई वैधानिक मान्यता दिनुपर्ने उनको तर्क छ । ‘नेपालमा गाँजालाई वैधानिक मान्यता दिनुपर्छ,’ उनी भन्छन्, ‘रक्सीभन्दा गाँजा धेरै राम्रो चीज हो । तर, हामी कहाँ रक्सीलाई बैधानिक गरिएको छ, गाँजालाई प्रतिबन्ध गरिएको छ ।’

एक सर्कोमै दुनियाँ अर्को बनाउने
प्रकाश सपूत, गायक

कतिपयले गाँजालाई रमाइलो पारामा ‘एक सर्को त दुनियाँ अर्को’ को संज्ञा पनि दिन्छन् । अझै पछिल्लो युवा जमातमा यो शब्द निकै लोकप्रिय छ । तर कतिपय मानिसहरू यस्ता पनि छन,् जसले आजसम्म गाँजाको अनुभव लिएका छैनन् । तर, उनीहरूको मनमा गाँजाको बारेमा खुलदुली भने असाध्यै हुने गर्छ । यसैमा पर्छन् गायक प्रकाश सपूत । उनीसँग गाँजा खाएको अनुभव छैन । तर, केही सर्जक तथा कलाकारहरूले मुड बनाउनका लागि गाँजा सेवन गर्ने गरेको भन्ने सुनेका छन् । त्यस्ता कुरा सुन्दा पढ्दा भने रमाइलो लाग्ने उनी बताउँछन् । ‘मैले अहिलेसम्म गाँजा खाएको छैन,’ उनी भन्छन्, ‘तर, अरुले गाँजा खायो भने दिमागमा बेग्लै स्फूर्ति आउँछ भनेको सुन्दा चाहिँ गाँजामा त्यस्तो तत्व के छ भन्ने खुलदुली भने निकै छ । तर, अहिलेसम्म एक सर्को गाँजा तान्ने चेष्टा गरेको छैन ।’

गाँजा खाएका मान्छे देख्दा रमाइलो लाग्छ
उपासनासिंह ठकुरी, अभिनेत्री

गाँजा नखाएको तर, यसको बारेमा खुलदुली लाग्ने गायक सपूतमात्र होइनन्, अभिनेत्री उपासनासिंह ठकुरीलाई पनि त्यस्तै लाग्छ । अझ उनलाई त गाँजा खाएको मान्छे देख्यो कि रमाइलो लाग्छ । ‘मलाई गाँजा खाएको मान्छेको क्रियाकलाप देख्दा निकै रमाइलो लाग्छ,’ उनी भन्छिन्, ‘सबै ठिकठाक भएको मान्छे एक सर्को गाँजा तान्ने बित्तिकै फरक तरिकाले प्रस्तुत हुन थाल्छ । त्यसैले यो गाँजा भन्ने चिज कस्तो होला भन्ने कौतुहलता छ ।’

पानीमा फ्याँकेपछि बल्ल होसमा
सलोन बस्नेत, अभिनेता

अभिनेता सलोन बस्नेतले ७ वर्ष अघि शिवरात्रीको दिन धतुरो मिसाएर बनाइएको घोटुवा खाए । त्यसले उनलाई एकैछिनमा झ्याप बनायो । कतिबेला कोठामा गएर सुते, उनलाई थाहा छैन । मध्यरातमा ब्युझिँदा पनि उनी झ्याप अवस्थामै थिए । घडीमा रातको तीन बजेको थियो, उनले बिहानको साँढे ८ बजेको देखेछन् । त्यतिबेला होस्टल चलचित्रको सुटिङ चलिरहेकाले ढिलो भयो भनेर उनी घरबाट निस्कन लागे । बुबाआमाले समाएर कोठाभित्र लगेर राखेको उनी बताउँछन् । ‘म त्यो दिन यति झ्याप भएछु कि भोलिपल्ट सुटिङमा पुग्दा पनि म होसमा थिइनँ,’ गाँजा अनुभव सुनाउँदै उनी भन्छन्, ‘स्क्रिप्ट सबै धमिलो देखेँ, अनमोल र गौरबले मलाई पानीमा फ्याक्नुपर्ने दृष्य थियो । जब उनीहरूले मलाई पानीमा फ्याँके, त्यसपछि बल्ल होसमा आएँ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,