English

कक्षा १० र १२ का विद्यार्थी भन्छन्, ‘मानसिक तनाव भइराछ’



कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेसँगै सरकारले जेठ १३ गतेबाट सुरु हुने कक्षा १० को एसईई र जेठ २६ बाट सुरु हुने कक्षा १२ को परीक्षा स्थगित ग-यो । त्यसो त उज्जल भविष्यको सपना सजाएका विद्यार्थीहरुमा निराशा छाएको छ ।

यसपाली ५ लाख १७ हजार विद्यार्थीले एसईई र करिव ४ लाख विद्यार्थी कक्षा १२ को परीक्षाको तयारीमा छन् । परीक्षा स्थगित भइसकेपछि विद्यार्थी घरमै बस्न बाध्य छन् । राम्रो पढ्ने विद्यार्थीका लागि फेरि गत वर्षकै जस्तो आन्तरिक प्रणालीबाट नतिजा सार्वजनिक हुने त होइन ? भन्ने चिन्ताले सताउन थालेको छ ।

खोटाङका शाहस मगर काठमाडौँको गीतान्जली अंग्रेजी विद्यालयमा कक्षा १२ मा पढ्छन् । उनी हाल लाजिम्पाट बस्दै आएका छन् । १२ कक्षाको परीक्षा दिएर सिङ्गापुर प्रहरीकोे तालिममा भर्ना हुने उनको योजना थियो । उनको योजना तत्कालका लागि टरेको छ । त्यसो त उनी निराश छन् । भन्छन्, ‘सिङगापुर पुलिस फोर्सको लागि तालिममा भर्ती हुने योजना थियो । कोरोनाले सपना उडाइदेला जस्तो छ ।’

कोराना कारणले परीक्षा स्थागित भएसँगै अनलाइन कक्षामा उनको दिनचर्या बितिरहेको छ । तर, भौतिक कक्षामा जति परीक्षाको चिन्ता हुन्थ्यो । ‘अनलाइन कक्षा सुरु भएपछि त्यसप्रतिको लगाव र मेहनत कम हुने रहेछ,’ उनी भन्छन्, ‘परीक्षामा सोचे जस्तो नतिजा हासिल गर्न नसक्ने हो कि भन्ने कुराले चिन्तित छु ।’

सरकारले परीक्षा स्थगित मात्र गरेर विद्यार्थीको भविष्य माथि थप अन्यौलाता ल्याएको शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला बताउँछन् ।

बेलौरी नगरपालि–२ गोकुलपुरकी शान्ती चौधरी कक्षा १२ को व्यवस्थापन संकायका परीक्षाको तयारीमा थिइन् । कक्षा १२ को परीक्षापछि अहेबको लागि तयारी गर्ने उनको योजना थियो । तर, परीक्षा स्थगित भएपछि उनी घरकै काम गरेर समय बिताउन थालेकी छिन् । उनी भन्छिन् ‘परीक्षा दिएर अहेबको तयारी गर्ने योजना थियो तर अब त्यो पुरा नहोला कि भन्ने चिन्ता लाग्न थालेको छ, ’ उनले भनिन् ।
अहिले अधिकांश विद्यालयले अनलाइनमार्फत परीक्षा गराइरहेका छन् । यसले राम्रो पढ्ने विद्यार्थीहरुलाई मर्का पर्ने उनको धारणा छ । ‘अनलाइन परीक्षा दिँदा चिट गर्ने सम्भावना बढी हुन्छ त्यसैले मेहेनत गरेर पढेका विद्यार्थीलाई त्यसले ठूलो धोका दिन्छ ।’

काठमाडौं दक्षिणढोकाकी एन्जल बोहोराको एसईई परीक्षाको तयारीमा छिन् । परीक्षा स्थगित भएपनि उनलाई फेरि परीक्षा हुन्छ भन्ने आशा छ । त्यसो उनी यतिबेला अनलाइन कक्षामा समय बिताइरहेकी छिन् ।

परीक्षाका लागि निकै मेहेनत गरेकी एन्जललाई कतै परीक्षा नहुने पो हो कि भन्ने चिन्ताले सताउन थालेको छ । ‘गत वर्ष जस्तै परीक्षा नहुने हो कि भनेर तनाव हुन थालेको छ,’ उनी भन्छिन्, ‘त्यसैले होला पढाईमा ध्यान कम भएको महशुस गर्छु ।’ परीक्षाबारे समाजिक सन्जालमा आउने अपुष्ट समाचारले उनलाई झनै चिन्तित बनाएको छ । त्यसो त परीक्षा हुने नहुने विषयमा सरकारले जतिसक्दो छिटो ठोस निर्णय गर्नुपर्ने उनको धारणा छ ।
दोलखाकी समिक्षा लोप्चन धापासी बस्दै आएकी छिन् । उनी बाँसबारी माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्छिन् । एसईई परीक्षाको निकै मेहेनत गरिहेकी उनलाई पनि परीक्षा स्थगित भएसँगै तनाव हुन थालेको छ ।

‘परीक्षाका लागि गरिएको तयारी खेर गएको महशुस भएको छ । पहिलाको जस्तै परीक्षाको तयारी गर्न नसक्ने र सोचे जस्तो नतिजा आउदैनकी भन्ने चिन्ता लागेको छ,’ उनले भनिन् । अबको परीक्षा र प्रश्न पत्रको मोडल कस्तो हुने र परीक्षा कहिले हुने भन्ने विषयमा सरकारले छिटो निर्णय गर्नुपर्ने उनको माग छ । परीक्षा सकेपछि ढुक्कले नृत्य सिक्ने उनको योजना थियो । त्यो पनि पुरा नहोला कि भन्ने चिन्ताले उनलाई सताउन थालेको छ ।

‘परीक्षाका तयारीमा बसेकाहरु परीक्षा कस्तो होला, कहिले होला भन्ने कुराले दोधारमा पर्न सक्छन्,’ गोपाल ढकाल भन्छन्, ‘त्यसैले सरकारले यस्तो परिस्थितिमा छिटो निर्णय लिएर विद्यार्थीमाथि पर्न सक्ने मनोवैज्ञानिक असरलाई कम गर्न प्रयत्न गर्नुपर्छ ।’

के भन्छन् शिक्षाविद् र मनोविद् ?

कोरोनाका कारण स्थगित भएको परीक्षाको बारेमा कुनै ठोस निर्णय नहुँदा अभिभावक र विद्यार्थी अन्यौलमा परेका छन् । सरकारले परीक्षा स्थगित मात्र गरेर विद्यार्थीको भविष्य माथि थप अन्यौलाता ल्याएको शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला बताउँछन् । ‘राज्यले परीक्षा स्थगन गरेर मात्र हुँदैन समयमा उचित निर्णय लिन आवश्यक छ,’ कोइराला भन्छन्, ‘कक्षा १० को परीक्षा लिने जिम्मा स्कुललाई र कक्षा १२ को स्थानीय सरकारलाई दिनु पर्छ ।’ संविधानमा उल्लेख भए अनुसार मावि तहसम्मको शिक्षा निःशुल्क र व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई भएपनि संघिय सरकारले हस्तक्षेप गरी विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको उनको आरोप छ ।

हालको कोरोना महामारीको अवस्थामा विश्वमै स्तरीय परीक्षाको व्यवस्था ल्याइएको छ र त्यो नेपालमा पनि आवश्यक रहेको उनी बतउँछन् । ‘स्तरीय परीक्षाको लागि आन्तरिक शिक्षकलाई जिम्मा दिएर, विद्यार्थीलाई अनुसन्धानात्मक कार्य दिने र अवस्था अनुसारको मूल्यांकन गर्नु पर्ने आवश्यक छ,’ उनले भने, ‘स्तरीय परीक्षा गर्दा विद्यार्थी जुनसुकै ठाउँमा हुँदा परीक्षा दिन सक्छन् । जसले विद्यार्थीको सृजनशिलतामा पनि वृद्धि हुन्छ ।’

यस्तै, परीक्षा स्थगित भएसँगै विद्यार्थीलाई मनोवैज्ञानिक असर परेको कोरोना मनोविश्लेषक गोपाल ढकाल बताउँछन् । उनी भन्छन्, ‘हालको तनाव पुर्ण अवस्थामा परिक्षा स्थगित हुँदा विद्यार्थीलाई बढी असर पर्नु स्वभाविक हो ।’

गत वर्ष अन्तरिक परीक्षाबाट विद्यार्थीको मूल्यांकन गरिएको थियो । यो वर्ष पनि त्यसरी नै मूल्यांकन हुन सक्ने भएकाले विद्यार्थीमा अन्यौलता देखिएको छ । ‘परीक्षाका तयारीमा बसेकाहरु परीक्षा कस्तो होला, कहिले होला भन्ने कुराले दोधारमा पर्न सक्छन्,’ उनी भन्छन्, ‘त्यसैले सरकारले यस्तो परिस्थितिमा छिटो निर्णय लिएर विद्यार्थीमाथि पर्न सक्ने मनोवैज्ञानिक असरलाई कम गर्न प्रयत्न गर्नुपर्छ ।’



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested