English

मधेशले पाएको अधिकारलाई सुरक्षित राख्नु नै अहिलेको चुनौती



काठमाडौं, पुस ६ गते । विदेशमा बस्ने नेपालका मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले शनिबार काठमाडौंमा जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक परिवेशमा केन्द्रित रहेर विचार मन्थन कार्यक्रम आयोजना गरेको छ । परिवर्तनशील समयमा मधेश भन्ने शीर्षकमा आयोजना गरिएको विचार मन्थन कार्यक्रममा बोल्दै जनमत पार्र्टीका अध्यक्ष डा. सिके राउतले जेनजी आन्दोलनपछि मधेश कहाँ छ भनी आफूहरुले खोजिरहेको बताउनुभयो । डा. राउतले जेनजी आन्दोलनपछि आफू र आफ्नो पार्टीका सांसदले राजीनामा दिएको, तर पछि संघीयता र संसदीय व्यवस्थामाथि नै प्रहार हुन थालेको आफूले पाएको बताउनुभयो ।

जेनजी आन्दोलनपछि आफूले मधेश खोज्न थालेपछि एक शीर्ष जेनजी नेताले आफूलाई धम्की दिएको उहाँले बताउनुभयो । मधेश आन्दोलन त्यतिकै भएको होइन, मधेशले पहिचान त्यतिकै पाएको होइन, त्यसका लागि धेरैले बलिदानी दिएको राउतले बताउनुभयो । मधेश आन्दोलनले ल्याएको समानुपातिक निर्वाचन प्रणालीले नै मधेशी, दलित, मुस्लिम, जनजातिहरु संसदसम्म पुगेको र समानुपातिक व्यवस्थाकै कारणले मधेशी, आदिवासी जनजाति, दलितलगायतका समुदायले मुलुकमा आरक्षण पाएको उहाँको भनाइ थियो । जेनजी आन्दोलनपछि नेपाली सेनाले देशको राजनीति आफ्नो हातमा लिएर सम्झौता गर्दा मधेशले कुनै ठाउँ नपाएको उहाँले बताउनुभयो । उहाँले नेपाली सेनाले मधेसीलाई प्रधानमन्त्री किन नबनाएको भनी प्रश्न पनि गर्नुभयो । उहाँका अनुसार मधेशबाट आवाज नउठेको भए जेनजी आन्दोलनपछि संघीयता पनि समाप्त हुन्थ्यो । तर पछिल्लो समय जेनजीले सरकारसँग गरेको सम्झौतामा मधेसी, थारु, आदिवासी जनजाति र दलितलगायतलाई सम्बोधन गरेकोले त्यो सकारात्मक रहेको उहाँको भनाइ थियो । त्यसैगरी राजनीति विश्लेषक सिके लालले जेनजी आन्दोलनमा मधेस कतै नदेखिएको बताउनुभयो ।

विचार मन्थन कार्यक्रममा बोल्दै लालले जेनजी आन्दोलनमा मधेसी सहभागी भएपनि त्यसबाट केही नपाएको बताउनुभयो । जेनजी र सरकारबीच भएको सम्झौतामा मधेसी दर्शक भएर मात्र बसेको बताउदै उहाँले मधेसीलाई अझै नेपाली नमानेको बताउनुभयो । देशको अवस्था मधेशको अनुकूल नरहेको उहाँको भनाइ थियो । उहाँले अनुकूलताका लागि प्रतीक्षा गर्नबाहेक केही उपाय नरहेको बताउनुभयो । नवयुवाले परिवर्तन गर्न चाहेका छन् तर त्यस्तो परिवर्तन कस्तो हुन्छ त्यो सोचनीय कुरा रहेको बताउँदै विश्लेषक लालले सन् १९९० मा जे अवस्था थियो त्यस्तै अवस्था अहिले पनि रहेको बताउनुभयो । वर्तमान संविधान मधेशीको पक्षमा नरहेको बताउदै उहाँले यो संविधान पुनर्लेखन नभएसम्म वा संशोधन नभएसम्म मधेसीको अधिकार सुरक्षित नहुने बताउनुभयो । आगामी निर्वाचनबाट पनि मधेसीहरुलाई आफ्नो अधिकार प्राप्त नहुने भन्दै लालले अधिकारका लागि नयाँ ढंगले संघर्ष गर्नुपर्ने बताउनुभयो । मधेसमा असल नेतृत्वको आवश्यकता छ र त्यस्तो नेतृत्व स्थापित हुन केही समय लाग्ने बताउदै उहाँले नेतृत्व र नेता एकदिनमा नजन्मिने बताउनुभयो । त्यसैगरी अर्का विश्लेषक तुलानारायण साहले हरेक आन्दोलनले राज्यसँग सम्झौता गर्ने गरेको तर ती सम्झौताहरुले मधेसलाई गौण राख्ने गरेको बताउनुभयो ।

उहाँले हरेक आन्दोलनको नेता हुन्छ तर जेनजी आन्दोलनको नेता नै रहेको बताउनुभयो । जेनजी आन्दोलनको एजेन्डा सुशासन र पुस्तान्तरका लागि भएको थियो तर त्यहाँ मधेस कहाँ छ भनी प्रश्न उठेको बताउदै साहले जेनजी आन्दोलनपछि मधेसी दलमा पुस्तान्तरको कुरा नउठेको बताउनुभयो । मधेस आन्दोलनले काठमाडौंमा आफ्नो स्थान खोजेको उहाँले बताउनुभयो । तर जेनजी आन्दोलनपछि भएको सम्झौतामा मधेस कतै पनि नरहेको उहाँको भनाइ थियो । यो आन्दोलनको अदृष्य एजेन्डा भनेको संघीयता खर्चिलो भयो भन्ने हो, यदि मधेशमा त्यसको विरोध नभएको भए संघीयता नै प्रभावित हुने अवस्था आएको उहाँको भनाइ छ । मधेशले पाएको अधिकारलाई सुरक्षित राख्नु नै अहिलेको चुनौती रहेको उहाँले बताउनुभयो ।

बहुमुखी प्रतिभाका धनी आनन्द गुप्ताले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजका प्रवक्ता दीपेन्द्र चौबेले विद्वान वक्ता तथा दर्शकहरुलाई स्वागत गर्नुभएको थियो । मधेशी एकता समाजका संस्थापक अध्यक्ष एवं अन्तर्राष्ट्रिय समिति संयोजक डा. रविन्द्र कुमार यादवले विषय प्रवेश गराउँदै समाजको योगदान र भावी कार्ययोजनाबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सामाजिक अभियन्ता राकेश मिश्रा, विश्लेषक राजेश विद्रोही, मिथिला चित्रकार रन्जु यादव, जेनजी नेता शिव यादव, अभियन्ता आभास गुरु, युवा अभियन्ता माजिद अन्सारी र फिल्म अभिनेत्री सरिता साहले पनि आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नुभएकी मधेशी एकता समाजकी नेपाल संयोजक डा. बबी सिंह यादवले सबैलाई धन्यावाद दिनुका साथै मधेशको संघर्ष, एकता र भविष्यबारे कविता सुनाउनुभएको थियो ।



सम्बन्धित खबरहरु

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

Latest










Popular
Suggested