English

के चाहिन्छ ! सगरमाथा चढ्न ?

अतिथि कलम


फूर्बा तेन्जिङ शेर्पा, सगरमाथा आरोही

मलाई धेरैले गर्ने प्रश्न हो, ‘सगरमाथा चढ्न के चाहिन्छ’ ?

र, मैले सवैलाई दिने एउटै जवाफ हो– ‘ उद्धेश्य, धैर्यता, फिजिकल्ली–मेन्टल्ली ‘कन्फिडेन्स्’ र पैसा नै हो । १४ पटक सगरमाथा चढ्दा र चढाउँदाको अनुभव हो, यो मेरो ।

सगरमाथाको सफल आरोहण गर्न सवैभन्दा पहिला राम्रो कम्पनी, गाइड र आरोही शेर्पालाई छान्नुपर्छ । कम्पनी छनौट गरेपछि उसैले ‘ट्रेनिङ’ दिन्छ । ‘ट्रेनिङ’ कै सिलसिलामा ६ हजार मिटरसम्मका हिमाल पनि चढाउँछ । शारीरिक र मानसिक आत्मबल बढाउनु यो ‘ट्रेनिङ’को मुल उद्धेश्य हुनेछ ।

लगभग एक महिना लाग्ने यस्तो ‘ट्रेनिङ’कालागि सवैभन्दा महत्वपूर्ण कुरा धैर्यता र लगनशिलता हो । धैर्यता नभएकाहरु वीचैवाट भागेका धेरै उदाहरण छन् मसँग ।

‘ट्रेनिङ’मा के हुन्छ ?

हिमाल चढ्ने ‘ट्रेनिङ’मा सिक्ने कुरा धेरै छन् । उता जानुअघि काठमाडौंमा ‘रक क्लाइमिङ’ सिकाइन्छ । डोरी कसरी गाँठो पार्ने ? सम्पूर्ण रुपमा कसरी ‘मेनेज’ गर्ने डोरी देखि लिएर ‘हाइ अल्टिच्यूट’वाट कसरी जोगिने भन्ने सम्मका कुरा ‘ट्रेनिङ’का विषय हुन्छन् ।

सधैं ब्यायम गर्ने, कुद्ने, ‘हाइकिङ’गर्ने तथा जवानलाई धेरै सजिलो हुन्छ, ‘ट्रेनिङ’मा । लगभग ८ केजी जति भारी बोकेर हिमाल चढ्नु पर्ने भएकाले यसको पनि तयारी अनिवार्य नै छ ।

नितान्त पर्सनल सामग्री जस्तो, चस्मा, पञ्जा, सक्स, मेडिकल फस्टएड, चकलेट–बिस्कुट, दुई-तीन लिटर पानी (इनर्जी पार्ट) लगायतको वजन ५ केजी जति हुन्छ । ‘लाष्ट मिसन’मा पुग्ने वेलामा ३ केजी जति अक्सिजन आफैंले बोक्नु पर्छ । ढिलो हिड्नेलाई तीन केजी अक्सिजनले पनि नपुग्न सक्छ । शेर्पाले त ३० केजीभन्दा बढी नै बोकेर चढिरहेका हुन्छन् ।

अरु आरोहीहरुले पनि ८ केजीजति भारी बोकेर हिमाल चढ्न सक्ने बनाउनु ‘ट्रेनिङ’को मुल उद्धेश्य हो ।

प्रायः एक महिनामा सकिन्छ, ‘ट्रेनिङ’ । धेरै समय लगायो भने नभ्याउन पनि सकिन्छ । किनभने सगरमाथा चढ्ने स्वीकृति लिएको ७५ दिनभित्र चढिसक्नु पर्छ । सामान्यतया ४५–५० दिनमा सकिन्छ पनि । खासगरेर आरोही अनुसार गर्न सकिन्छ, समयको लेखाजोखा ।

मेरो टिममा सहभागि हुने आरोहीहरुलाई दोलखाको ‘रोल्बालिङ’ क्षेत्रमा ट्रेनिङ दिने गर्छु । ट्रेनिङका लागि यो ठाउँ निकै उपयुक्त समेत छ । ट्रेनिङको समयमा कुनै किसिमको आपतकालिन उद्धार गर्नु परेमा राजधानीवाट सबैभन्दा नजिक यही क्षेत्र पर्छ । यो क्षेत्रमा ट्रेनिङको समयमा लाग्ने खर्च अन्य क्षेत्रको भन्दा कम पनि रहेको छ । यस्तै यो क्षेत्रमा ट्रेनिङ गर्दा आरोहीले ४ हजार देखि ७ हजार मिटरका हिमालहरु समेत आरोहण गरेर अभ्यास गर्न सक्छन् ।

रोल्वालिङ क्षेत्र प्राकृतिक रुपमा सौन्दर्यले भरिपूर्ण छ । यहाँ रहेको छोरोल्पा ताल, दुध पोखरी, रोल्वालिङ भ्याली, हाईपासको यात्राले आरोहीलाई रोमाञ्चकता दिलाउछ भने यहाँको आतिथ्यताले उनीहरुलाई झनै मोहित समेत बनाउछ ।

खर्चको पाटो

‘हिमाल चढ्न कति खर्च लाग्छ’ ? भन्ने प्रश्न पनि धेरैले गर्छन् । लाग्ने खर्च भनेको सरकारले लिने ‘रोयल्टी’ पहिलो हो । त्यसपछि आरोहणको सम्पूर्ण बन्दोबस्त मिलाउने कम्पनीले लिने शुल्क अर्को पाटो छ । त्यसैगरी तेस्रो शीर्षक चाहिँ चढ्दा लगाउने ‘ड्रेसअप’ र ‘इक्यूपमेन्ट’ हो ।

खर्च नं १

सरकारले विदेशी नागरिकलाई ११ हजार डलर (लगभग साढे १२ लाख रुपैयाँ) र स्वदेशीलाई ७५ हजार रुपैयाँ ‘रोयल्टी’ लिन्छ । यसवापत सरकारले के गर्छ भन्ने प्रश्न गर्नुभयो भने जवाफ केही छैन । उल्टै सरकारले एकजना ‘लियोजन अफिसर’ को भारी पनि बोकाउँछ । उसलाई लाग्ने ३ देखि ४ लाख रुपैयाँको खर्च पनि एजेन्सी मार्फत आरोहीले नै ब्योहर्नु पर्छ ।

यो वाहेक प्रत्येक आरोहीले आईसफल फी ६ सय डलर, रोप फिक्सिङ फी २५० डलर, शेर्पा ईन्स्युरेन्स २२५, हेलिकोप्टर रेस्क्यू ७५० डलर पनि तिर्नु पर्छ । यो शुल्क तिरेपछि बल्ल आरोहणको अनुमति सरकारले दिन्छ ।

खर्च नं २

हिमाल आरोहण गराउने एजेन्सी दर्ताको हिसावमा त हजारौं छन् । त्यसमध्ये विश्वसनीय र सक्रिय एजेन्सीको संख्या बढीमा १५ वटा होला । यी मध्येपनि कतिपयले १२–१५ लाखमा चढाउँदै आएका छन् भने कतिपयले ५० लाखसम्म लिन्छन् ।

एजेन्सीलाई तिरिने ४५ लाख रुपैंयामा आरोहणको अनुमति, आरोहीको यातायात, आरोहणको अवधिमा गरिने खानपिन, बसोबास लगायत आरोहणको समयमा लाग्ने अक्सिजन र आरोहणमा सहभागि हुने शेर्पाको शुल्क समेत रहन्छ ।

मेरो जस्तो कम्पनीले नेपाली नागरिकलाई २५ देखि ३० लाख रुपैंया र बिदेशी नागरिकलाई ४५ लाख रुपैंयामा ‘ट्रेनिङ’ गराएर सगरमाथाको सफल आरोहण गराएर फर्काउँछ । कम्पनी पनि ‘ह्याप्पी’, आरोही पनि ‘ह्याप्पी’ । कम्पनीको मुल उद्धेश्य यस्तो हुनुपर्छ । हाम्रो लागि आरोहीको सुरक्षा र सन्तुष्टि नै पहिलो धर्म र पहिलो प्राथमिकता हो ।

टोली सानो भयो भने खर्च बढ्न सक्छ । टोली ठूलो भयो भने खर्च बच्न सक्छ । बढीमा १५ जनासम्मको टोलीले स्वीकृति पाउँछ ।

खर्च नं ३

ब्यक्तिगत ‘ड्रेसअप’ र ‘इक्यूपमेन्ट’मा पनि ठूलै खर्च निस्कन्छ । यो शीर्षकले १० लाखजति भेट्छ । किनभने यसमा कम्प्रमाइज नगरेकै राम्रो । ज्यान जोगाउने, अंगहरु जोगाउने वा संभावित विभिन्न किसिमका दुर्घटनावाट जोगाउने बस्तु हुन् यी ।

एजेन्सीलाई दिने रकम चढ्नुअघि नै दिइसक्नु पर्छ । त्यसमा उधारो चल्दैन ।

सामान्यतया हिमाल चढ्नेले ४०–४५ लाख रुपैयाँसम्मको जोहो गर्नुपर्छ । ‘इन्स्यूरेन्स’ हुन्छ । तर, एजेन्सी र गाइडले तयार गरेको ‘इथिक्स’ नमान्नेहरुलाई ‘इन्स्यूरेन्स’ले छुँदैन ।

१० लाखमा आरोहण गराउँछु भन्ने कम्पनी पनि छन् । तर, मुल कुरो पैसा मात्र पनि होइन । त्यो कम्पनीको ‘ट्रयाक रेकर्ड’ बुझ्नु पर्छ । शेर्पा (गाइड) राम्रो हुनुपर्छ । लफडावाला कम्पनी पनि छन् । ‘क्लाइन्ट’ले विभिन्न ढंगले ‘ब्ल्याकमेलिङ’ गरेर धुत्ने कम्पनीसँग होसियार हुनुपर्छ ।

छोटकरीमा भन्दा हिमाल चढ्न चाहिने मुल गुण ‘पूर्ण अनुशासन, दृढता र पैसाको जोहो’ नै हो ।

(सगरमाथाको १४ औं पटक सफल आरोहण गरेका फूर्वा तेन्जिङ शेर्पासंग गरिएको कुराकानीको सम्पादित अंश)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य निक्षेप ७४ खर्ब रुपैयाँको हाराहारीमा छ । यो रकम मुलुकको कुल गार्हस्थ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested