English

सात दशकको क्यानभासमा एक कर्मयोगी (भिडियो पनि)



आमाबुबाको आशिर्वाद–‘राजाले चिन्ने र प्रजाले मान्ने हुनु’ । आखिर भयो पनि त्यस्तै । उनले जति फिल्म बनाए सबै नेपाली दर्शकको मनमा बस्यो । उनी सबैका प्रिय फिल्मकर्मी बने । जीवनको राजमार्गमा पटक–पटक आइपर्ने घुम्तिमा उनले के पो गरेनन् ! फिल्म निर्देशन गरे, अभिनय गरे, क्यामेरा चलाए, गीत लेखे, सम्पादन गरे । जहाँ–जहाँ हात हाले त्यहाँ–त्यहाँ अब्बल ठहरिए । सही अनुमान । उनलाई तुलसी घिमिरे भनेर चिनिन्छ ।

म जन्मिँदा आमा लामो प्रसव पीडाले छट्पटिनु भयो रे, जब मेरो च्याँ…..आवाज आमाको कानमा पर्यो ती सबै पीडामा मल्हमपट्टी लागेको अनुभव आमाले सुनाउनुहुन्थ्यो । त्यसैले म आमालाई परिभाषित गर्न सक्दिनँ ।

उमेर के हो र ! केवल अंकको कुरा न हो । आज उनी ७१ औं जन्मदिन मनाउँदैछन् । तर, उनको जोस, जाँगर, स्मरण क्षमतासँग परिचित हुनेका लागि कता–कता उनी लक्का जवान झैं लाग्छन् । अझै उनी केही फिल्म बनाउन् चाहन्छन्, जुन युगसम्म सबैको स्मृर्तिमा ताजै रहोस् । केही सपना छन् अरु पनि उनले देखेका । निदाएर होइन, ब्युझिँएर सपना देख्ने उनी हतारमा छन्,सपनालाई विपनामा बदल्न ।

जन्तरे सन्तानको रुपमा जन्म

भारतको कालिम्पोङको एउटा सानो बस्ती, सिन्देबोङ । त्यही बस्तीमा थियो, एउटा सानो घर । त्यहीं जन्मिए, तुलसी । बुबा थिए, धोजमन र आमा थिइन,नर्बदा (हाल दुवैको निधन) । आमाले नौ सन्तानलाई जन्म दिइन् । सातौं अर्थात् जन्तरे सन्तानको रुपमा धर्तीमा आइपुगे,तुलसी । त्यतिबेला न नजिकको अस्पताल न छर–छिमेकमा सुडेनी ।

आमाको कठोर प्रसव पीडाका बीच जन्मिएका थिए रे, तुलसी । आमाले सुनाएको प्रसव पीडा उनले साझा गरे । सम्झिए, ‘म जन्मिँदा आमा लामो प्रसव पीडाले छट्पटिनु भयो रे, जब मेरो च्याँ…..आवाज आमाको कानमा पर्यो ती सबै पीडामा मल्हमपट्टी लागेको अनुभव आमाले सुनाउनुहुन्थ्यो । त्यसैले म आमालाई परिभाषित गर्न सक्दिनँ ।’

किसान परिवारमा जन्मिएका तुलसीको बाल्यकाल सिन्देबोङमै धुलीमाटी गर्दै बित्यो । गाउँले परिवेशमा हुर्किएका उनलाई सुख–दुःखको जाँतो कसरी घुम्छ भन्ने हेक्का छ । नहोस् पनि कसरी ! आखिर पृथ्वीलोकमा उनी सात दशकदेखि हिँडिरहेका यात्री जो हुन् । जुझारु हुन् र धैर्य गर्न प्रकृतिले नै उनलाई सिकायो । विचलन उनको शब्दकोषबाट छुमन्तर छ ।

गुरुको आज्ञाभन्दा दोब्बर चलचित्र बनाइसकेँ, एउटा निर्देशकले २५ वटा चलचित्र बनायो भने गाइदान गर्नु पर्दैन रे क्या ! सिधै बैतरणी तरिन्छ रे ।

गाउँकै स्कुल स्कोटिस युनिभर्सिटिज् मिसन इन्स्टिच्युसनबाट स्नातक गरेका तुलसीलाई वैंशमै फिल्मतिर रुची जाग्यो । त्यो हुटहुटीले उनलाई मुम्बई पुर्यायो । अनि,त्यहाँबाट नेपाल । मुम्बइमा फिल्म अध्ययन गर्दा गुरु (कमलाकर कारखानीज)बाट ‘१० वटा नेपाली चलचित्र बनाएस्’ भन्ने आशिर्वाद पाए ।

त्यसलाई उनले गुरुको आशिर्वादका रुपमामात्र लिएनन्, निर्देशन नै ठाने । परिणाम तुलसी नेपाली सिने क्षेत्रका एउटा युग हाँक्ने निर्देशक बने । कला र प्रविधिको उम्दा ज्ञान भएका तुलसीले नेपाली चलचित्रका लागि खुला विश्वविद्यालय बने ।

‘बाँसुरी’ देखि ‘दर्पण छायाँ–२’ सम्म आइपग्दा तुलसीले २३ वटा चलचित्र बनाइसकेछन् । अब २ वटा उम्दा चलचित्र निर्माण गरेर यस क्षेत्रबाट बिदा लिने उनको सपना छ । ‘गुरुको आज्ञाभन्दा दोब्बर चलचित्र बनाइसकेँ,’ ठट्यौली पारामा उनी भन्छन्, ‘एउटा निर्देशकले २५ वटा चलचित्र बनायो भने गाइदान गर्नु पर्दैन रे क्या ! सिधै बैतरणी तरिन्छ रे ।’

फिल्मका कुरा यत्ति । अब उनका जन्मदिनका कुरा सुनौं ।

आमा–बाबाको आशिर्वाद, साथीहरुको उपहार

७१ औं वसन्तमा उकालो लाग्दै गरेका तुलसीलाई अहिलेसम्म भब्य जन्मदिन मनाएको याद छैन । जन्मदिन भनेको के हो ? भन्ने पनि थाहा नपाउँदै बाआमाले आज तेरो जन्मदिन भन्दै टीका लगाएर आशिर्वाद दिएकोसम्म उनको मानसपटलले ठम्याउँछ ।

‘सानै थिएँ गाउँमा कसैको जन्मदिनमा टीका लगाएर आशिर्वाद दिएको आमाले देख्नुभएछ,’ उनले सम्झिए, ‘आमालाई पनि रहर लागेछ, बाआमाले मलाई पनि टीका लगाइदिँदै ‘राजाले चिन्ने, प्रजाले मान्ने हुनु’ भन्दै आशिर्वाद दिनुभएको याद छ ।’

त्यसपछिका वर्षहरुमा पनि जन्मदिन आयो, गयो । वास्तै भएन । तर, स्कुल जान थालेपछि साथीहरु उमाशंकर पेरिवाल, मंगल सिंह, कृष्ण क्षेत्री लगायतले उनलाई जन्मदिनमा उपहार पो दिए । ती उपहारलाई तुलसीले अझै पनि सजाएर राखेका मनमामात्रै होइन, घरमा पनि । ‘साथीहरुले मलाई अटोग्राफ बुक, स्कार्फ गिफ्ट दिन्थे,’ घिमिरे नोस्टाल्जिक भए, ‘ती गिफ्टमा आत्मियता छ, अझै पनि सजाएर राखेको छु ।’

५० औं वर्षमा काटे केक

५० औं वसन्तसम्म आइपुग्दा तुलसीले जन्मदिनमा कहिल्यै केक काटेनन् । उनलाई सबैभन्दा गाह्रो लाग्ने काम नै त्यही हो । ‘केक काट्ने त हाम्रो संस्कृति होइन नि,’ उनी भन्दै थिए, ‘जन्मदिनमा हामीलाई कहिल्यै पनि बत्ति निभाएर केक काट्न सिकाइएन, टीका लगाएर आशिर्वाद लिन सिकाइयो ।’

तर, ५० औं वर्षमा आइसकेपछि तुलसी बाध्यतामा परे । श्रीमती (भारती), छोरीहरु (पञ्चमी, भावना)ले पहिलोपटक केक काटेर तुलसीको बर्थ डे मनाउने रहर गरे । ‘परिवारको खुसीलाई नकार्न सकिनँ,’ उनले भने, ‘केक काटे रमाइलो गरेँ तर, बत्ती निभाइन ।’

जीन्दगीको नयाँ वसन्तलाई स्वागत गरेका तुलसीका आगामी कर्म ‘तुलसी’ जस्तै सबैका लागि सधैंका लागि उपयोगी बनिरहोस् । ७१ बर्षको युवालाई जन्मदिनको शुभकामना !

त्यसयता उनी हरेक वर्ष परिवारको खुसीका लागि केक काटेर रमाइलो गर्छन् । तर, हरेक जन्मदिनले उनलाई समयको महत्व सिकाएर जान्छ । ‘समयले त हामीलाई पर्खँदैन त्यसैले हरेक जन्मदिनमा आफैंलाई मूल्यांकन गर्छु अनि फेरि जीन्दगीको अर्को एक वर्ष गयो भन्ने सोच्छु,’ उनी भन्छन्, ‘हरेक एक वर्षमा आफूलाई मूल्यांकन गर्दा दुई-चार कदम अघि नबढेको पाएँ भने ३६५ दिन खेर गएको अनुभूति गर्छु । कहाँ निर गल्ती कमजोरी भयो त्यसलाई सुधारेर अघि बढ्छु ।’

अब आजबाट ७१ औं वर्षलाई स्वागत गर्दै तुलसीले अर्को प्रतिज्ञा गरेका छन् । अझै चार वर्ष नेपाली चलचित्र क्षेत्रमै कम्मर कस्ने उनको सोच छ । ‘यो उमेरसम्मका सिकेका अनुभव र सम्झनालाई यही क्षेत्रमा छोडेर जाने इच्छा छ,’ घिमिरे सुनाउँछन्, ‘अब ४ वर्ष मज्जाले काम गर्छु त्यसपछि के हुन्छ मलाई नै थाहा छैन ।’

जीन्दगीको नयाँ वसन्तलाई स्वागत गरेका तुलसीका आगामी कर्म ‘तुलसी’ जस्तै सबैका लागि सधैंका लागि उपयोगी बनिरहोस् । ७१ बर्षको युवालाई जन्मदिनको शुभकामना !

तस्विर/भिडियो : राजकुमार श्रेष्ठ/मेरो लाइफस्टाइल

(यो सामाग्री नेपाली पात्रोमा पनि उपलब्ध छ ।)

याे पनि :
मनोजको बाँसुरी धुनमा स्रोता मुग्ध
राजनीतिमा हाम्रा कलाकार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested