English

रहस्यमय बन्यो गायिका सुनारको मृत्यु प्रकरण



लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररुपमा अनुसन्धान थालेको छ ।

गायिका सुनार काठमाडौँको बाँनियाटारस्थित आफ्नै कोठामा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न गाह्रो भएको र जतिबेला जे पनि हुनसक्छ भनेर स्टेटस सार्वजनिक भएको थियो ।

उक्त स्टाटसमा आफूले नै यो कदम चालेको र कसैलाई दोष नदिन अनुरोधसमेत गरिएको छ, तर स्टाटसभन्दा घटना प्रकृति निक्कै फरक रहेको र आत्महत्या जस्तो नदेखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीको भनाइले पनि उक्त विषयलाई पुष्टि हुने देखिन्छ । उनले घटना रहस्यमय रहेकाले थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

घटना शङ्कास्पद देखिएको छ, शव परीक्षण रिपोर्ट आएपछि थप कुरा खुल्छ, अहिले प्रहरीले अनुसन्धान जारी राखेको छ ।

‘घटना शङ्कास्पद देखिएको छ, शव परीक्षण रिपोर्ट आएपछि थप कुरा खुल्छ, अहिले प्रहरीले अनुसन्धान जारी राखेको छ,’ मैनालीले भने । गायिका सुनारको शवलाई अहिले परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मैनालीका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा एक जना पक्राउ परे पनि नाम खुलाइएको छैन । प्रहरी स्रोतले गायिका सुनारको हत्या आशङ्का गरेको छ । त्यसैले अहिले घटनामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलेसमेत अनुसन्धान थालेको छ ।

सुर्खेत घर भएकी गायिका सुनारका एक छोरा रहेका जनाइएको छ । पतिसँग डिभोर्स गरेर एक्लै बस्दै आएको खुलेको छ । गायिका सुनारसँग एक जनाको सम्बन्ध रहेको र उसैले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शनिबार बिहान काठमाडौँको बाँनियाटारस्थित उनको कोठामा ती व्यक्ति पुगेको पाइएको र त्यही आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।

न्यायपूर्ण ढङ्गले छानबिन होस् र दोषीलाई कारवाही होस् भनेर नै हामी प्रहरीमा आइपुगेका हौँ ।

गायिका सुनारको मृत्युको विषयमा निष्पक्ष छानविनका लागि लोकदोहोरी कलाकारले प्रहरीमा दबाव दिन थालेका छन् । उनीहरुले प्रहरीवृत्त बालाजु पुगेर घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर कारवाहीको माग गरेका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले घटना कर्तव्य गरेर मारिएको जस्तो देखिएकाले आफू सत्यतथ्य छानविनको मागसहित प्रहरी कार्यालयमा आएको जानकारी दिए । अध्यक्ष बिजीले आफन्त आइसकेपछि जाहेरी दिने तयारी गरिएको पनि बताए ।

प्रहरी स्रोतका अनुसार घटनास्थलमा गायिका सुनारको मोबाइलसमेत भेटिएको छैन । घाँटीमा डोब देखिए पनि घटनास्थलभन्दा बाहिर सल फेला परेकाले पनि घटना थप शङ्कास्पद बनाउन बल पुर्याएको छ । ‘न्यायपूर्ण ढङ्गले छानबिन होस् र दोषीलाई कारवाही होस् भनेर नै हामी प्रहरीमा आइपुगेका हौँ,’ बिजीले भने ।

मोबाइल नभेटिएकाले मृत्युपछि स्टेटस अरुले नै लेखेको पनि हुनसक्छ या मृत्यु अघि धम्क्याएर लेख्न लगाएको पनि हुनसक्छ त्यसबारे गम्भीर अनुसन्धान हुनु जरुरी छ ।

गायिका सुनारको स्टेटसमा आफैँले घटना घटाएकाले कसैलाई दोष नदिन भनिए पनि त्यो दबावमा लेखिएको वा अरुले नै लेखिदिएको हुनसक्ने आशङ्का गरिएको छ । अध्यक्ष बिजीले भने, ‘मोबाइल नभेटिएकाले मृत्युपछि स्टेटस अरुले नै लेखेको पनि हुनसक्छ या मृत्यु अघि धम्क्याएर लेख्न लगाएको पनि हुनसक्छ त्यसबारे गम्भीर अनुसन्धान हुनु जरुरी छ ।’

सुनार लाइभ तथा अनलाइन दोहोरीमा सक्रिय गायिका थिइन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले केही समय अघि काठमाडौँमा आयोजना गरेको छैठौँ खुला राष्ट्रिय रनिङशिल्ड लोकदोहोरी गीत प्रतियोगितामा सुनार उत्कृष्ट गायिका घोषित भएकी थिइन् । गायिका सुनार राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सुर्खेतको सदस्य थिइन् ।

यो पनि…
चर्चित भारतीय गायिका लता मंगेशकरको निधन
सामाजिक सञ्जाल : नियन्त्रण होइन, नियमन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो