English

विपद्को भयले त्रसित मनहरू



गत वर्षको भिषण वर्षासँगै सिन्धुपाल्चोकको हेलम्बुका पहाड खसेर आएको कल्पनीय बाढीले ठूलो क्षति ब्यहोरेकी मेलम्ची नगरपालिका–११ की मैया दुलाललाई वर्षा शुरु हुनै लागेकाले फेरि चिन्ता बढेको छ । उही पुरानै शैलीमा मेलम्ची उर्लिने पो हो कि भने चिन्ता उनलाई छ । आकासमा कालो बादल देख्नासाथ उनलाई त्यही त्रासदीपूर्ण दिनको भयले सताउँछ । त्यस बाढीले उनको घरको दुई तलासम्म पुरिदिएको थियो ।

क्षणभरमै आएको बाढीले घर सम्पत्तीको नामोनिसानै मेटाइदिएको हेलम्बु गाउँपालिका–२ गणेशबगरका स्थानीय राम तामाङको चिन्ता पनि उस्तै छ । त्यस गाउँका ४५ परिवार क्षणभरको बाढीले घरबार विहिन भए । उनीहरू मात्रै होइन हेलम्बु र मेलम्चीका हजारौँ परिवार कतिबेला मेलम्चीमा बाढी आउने हो र विगत झैँ विलखबन्दमा परिने हो चिन्तामा छन् । विगतको पीडादायी यादमा रात बिताउँदै छन् उनीहरू ।

गत वर्षको असार १ गते त्यसरी भिषण बाढी आउला भन्ने कसैले कल्पना गरेको थिएन । दिनभरिजसो चहकिलो घाम लागेको त्यस साँझदेखि पर्न थालेको अबिरल वर्षासँगै मेलम्ची नदीमा उर्लिएको भेलले हेलम्बु र मेलम्चीबासीका धेरै सपना उडाएको थियो । कैयौँका थातथलो मेलम्ची नदीको बगरभित्रै बिलाए । बास उठेपछि सबैको चिल्लीबिल्ली भयो । राम्ररी भौतिक संरचना नबनेको र खोलालाई व्यवस्थित गर्न नसकिएकाले गतवर्षको घटना दोहोरिने हो कि भन्ने चिन्ता अहिले पनि कायमै छ ।

विपद् व्यवस्थापन विज्ञका अनुसार जल तथा मौसम विज्ञान विभागको बढी पानी पर्ने आँकलनसँगै नेपालको भूबनोट, विगतमा आएका ठूलाठूला बाढी, पहिराले पुर्याएको असर तथा जलवायु परिवर्तनका कारण नचिताएको ठाउँमा हुने गरेका आकस्मिक रुपका अतिवृष्टिलगायतका कारण यो वर्षको मनसुनी समय पनि सकारात्मक देखिएको छैन ।

तीनै तहको सरकार नीति क्षेत्र तथा स्थानीय समुदायको प्रभावकारी समन्वय, आवश्यक प्रतिकार्य योजना, समयमै सूचना प्रवाह, स्थानीय समुदायमा भरपर्दाे सूचना र जानकारी तथा आवश्यक पूर्वतयारीका सामग्री र राहत, उद्धार तथा पुनःस्थापनका लागि चाहिने बन्दोवस्तीका सामान बेलैमा जोहो गर्नुपर्नेमा विज्ञहरूले सुझाएका छन् । यसपालि मनसुन अगावै जमिन गल्ने गरी पानी परिसकेकाले केही हप्तामै नेपाल प्रवेश गर्ने मनसुनमा सामान्य पानी पर्ने बित्तिकै बाढीपहिरो जोखिम बढ्ने देखिन्छ ।

मुलुकमा २०६८ यताको विपद्जन्य घटनाबाट भएको मानवीय क्षतिको विवरण हेर्दा गएको दुई वर्ष बाढी, पहिरो र त्यसबाट निम्तिएको अकल्पनीय विपत्तीको स्थिति सामान्य छैन । विपद्जन्य घटनाबाट भएका २०७७ मा ५सय ९१ र २०७८ मा ४ सय ९० जनाको मृत्यु भएको थियो । २०६८ देखियताको तथ्याकंमा मृत्य ४ सय ५० नाघेको थिएन । २०६६, २०७१,२०७३ र २०७४ मा मृतक संख्या ४ सय नाघे पनि अन्य वर्ष त्यसभन्दा तलै थियो । तर पछिल्लो दुई वर्षमा ह्वात्तै बढेको पाइन्छ ।

यस वर्षको मनसुन (जेठ १८–असोज १४) को समयमा पनि औसतभन्दा बढी नै वर्षा हुने आँकलन गरिएको छ । नेपाल सरकारको मनसुुन प्रतिकार्य योजनामा यस वर्ष प्राकृतिक विपद्बाट १७ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । नेपालको पश्चिम तराई केन्द्रित वर्षा हुने र त्यसले बाढी, पहिरो र डुवानको समस्या बढाउने र विनास निम्त्याउन सक्ने विपद व्यवस्थापन विज्ञहरूको चेतावनी छ । विपद व्यवस्थापनविज्ञ डा कृष्णचन्द्र देवकोटा औसतभन्दा बढी पानी पर्छ भन्ने वित्तीकै हामीकहाँ बाढीपहिराको समस्या त्यसै बढ्ने बताउँछन् ।

देवकोटाका अनुसार केही वर्षको तथ्याकं हेर्दा केन्द्रिकृत वर्षा बढी भएको छ । उनले विगतमा डाँडापाखामा सहज निकास हुनेमा अहिले सडक खन्दा पानी जाने प्राकृतिक बाटो खद्यबलिएर सडकबाट पानी गई कुनै ठाउँमा जम्मा हुने र त्यसले विस्तारै जमिनलाई कमजोर बनाएर पहिरो खसाउने गरेको बताउँछन ।

विज्ञका अनुसार २४ घण्टामा १४२ मिलिमिटर पानी पर्यो भने पहिरो जाने प्रक्षेपण छ । तर त्यो पानी ५/१० घण्टामा पर्यो भने झन् बढी जोखिम हुन्छ । विगतका हेलम्बुलगातका केही क्षेत्रका घटनाले त्यस्तै अतिवृष्टि गराएको छ ।

यसपालि तराई केन्द्रित वर्षा हुने आँकलन भएकाले चुरे पर्वतको जोखिम बढेर गएको र त्यहाँबाट गेगर र लेदो बढी तल्लो तहमा जानसक्छ । यस्तो बेला यस्तो अवस्थामा नागरिक पनि आफैँ सचेत हुनुपर्छ भने विपद व्यवस्थापन प्राधिकरण, जलतथा मौसम विज्ञान विभाग, गृहको आपतकालीन कार्य सञ्चालन केन्द्रको सूचनाहरू नियमित ध्यान दिनुपर्छ, त्यही आधारमा क्रियाकलाप गर्नु पर्नेहुन्छ ।

पानी आएर डुवान हुनसक्छ भन्ने सूचना प्राप्त भयो भने जलमग्न नहुने ठाउँमा स्थानान्तरण हुन सकिन्छ । उनका अनुसार स्थानीयले झपपट झोला तयारीमा राख्नुपर्यो, त्यसमा केही दिनलाई पुग्ने खानेकुरा, आवश्यक कागजातहरू राख्नुपर्छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल सोहीअनुसारको प्रदेश तथा राष्ट्रिय प्रतिकार्य योजनाको तयारी भइसकेको बताउँछन ।

विगतको प्रतिकार्य योजनाको मूल्याकंन र विश्लेषण समेत गरेर योजना बनाइएको प्राधिकरणको दाबी छ ।

विगत दुई वर्षका विपत्तीका असर अहिले पनि बाँकी नै छ । मनाङलगायत जिल्लामा वितन्डा निम्त्याइरहेका बेला प्रकृतिले हेलम्बुका पहाड खसाल्यो र मेलम्ची बजारसहितका तल्लो भेग छिनभरमै तहसनहस बनायो । मेलम्चीमा हजारौँ टन गेगर थुप्रिएर बसेको छ । विगतमा पहिरो खसेको ठाउँ जोखिमयुक्त छ । सानो पानी पर्दा नै बगाएर लैजाने त्रास छ ।

विगतका विपत्तीका घटनाले नसोचेको परिणामहरू दिएको छ । २०७८ मा आँकलनअनुसार नेपालमा औसतभन्दा १५ प्रतिशत बढी वर्षा भई अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरियो ।

नेपालीको महान चाड दसैँको मुखमा मनसुन बाहिएिपछि नेपालीले धुमधामसँग चाड मनाए । मनसुन सकिएकाले अब भारी वर्षा हुन्छ भन्ने अनुमान नभएका बेला असोज ३१ देखि मुलुकका विभिन्न जिल्लामा भारी वर्षाले थन्क्याउन ठीक्क परेको धानबालीमा ठूलो क्षति गरायो ।

जलवायु परिवर्तनको असरका कारण कतिबेला के हुन्छ थाहा हुन्न, मौसममा अदलीबदली चाहिँ डरलाग्दो हिसाबले भइरहेको छ ।

कात्तिक १, २ र ३ को विपद्ले १०१ जनाले ज्यान गुमाए भने ४१ जना बेपत्ता भए । झण्डै २० जिल्लामा भौतिक संरचना, सडक, पुल, विद्युत्, टेलिफोन सेवा नराम्ररी प्रभावित भएको छ । यस्तै २०७७ को जुगल, पर्वत, म्याग्दीलगायतका क्षेत्रमा ओइरिएको भेल, पहिरो नचिताएका घटना हुन् । जलवायु परिवर्तन विज्ञ तथा नेपाल पानी सदुपयोग फाउन्डेसनका अध्यक्ष डा. ङमिन्द्र दाहाल भन्छन्, ‘जलवायु परिवर्तनको असरका कारण कतिबेला के हुन्छ थाहा हुन्न, मौसममा अदलीबदली चाहिँ डरलाग्दो हिसाबले भइरहेको छ ।’

नेपालमा हिमाली क्षेत्र माथिबाट आएको पहिरो र त्यसपछिको बाढीले तहसनहस बनाइरहेका बेला तराईमा डुबानका साथै ठूला नदीले धार परिवर्तन गर्न खोज्नु अर्काे चुनौतीको विषय बनेको छ ।

यस्तो छ वर्षाको अनुमान

जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन सार्वजनिक गरिसकेको सन्दर्भमा अझै चनाखो हुनुपर्ने देखिएको छ । विभागले प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने बताएको छ । ती क्षेत्रहरूमा बढी वर्षा हुने सम्भावना (३४ देखि ६५ प्रतिशत) रहेको छ ।

यही जेठ १८ देखि असोज १४ सम्म चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर विभागले उक्त आँकलन सार्वजनिक गरेको हो । विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर–पूर्व, गण्डकी प्रदेशका दक्षिण भूभाग, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका उत्तर–पश्चिम र सुदूरपश्चिमका उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने छ ।

सुदूरपश्चिमको पूर्वी भूभाग,कर्णाली प्रदेशका मध्य, गण्डकी प्रदेशका मध्यपश्चिम, प्रदेश १ को मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (४५ देखि ५५ प्रतिशत) रहेको छ । यस्तै गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) रहेको छ ।

विभागका महानिर्देशक कमलराम जोशीले गत वर्षको मनसुनका अवधिमा जम्मा छ वटा मौसम प्रणाली मात्रै सक्रिय भएकामा यस पटक भने धेरैजसो क्षेत्रमा सक्रिय हुने आँकलन गरिएकाले पूर्वतयारी र प्रतिकार्य योजना बनाउन जरुरी रहेको औँल्याउछन् ।

११ वर्ष जे भयो

२०६८ देखि २०७८ सम्मको ११ वर्षको विपद्जन्य घटनाको तथ्याङक हेर्दा भयानक परिदृष्य देखिएको छ । विपदका घटनामा समेत परिवर्तन हुँदै अकल्पनीय घटनाहरू निम्तिएका छन् ।

११ वर्षको अवधिमा विपदका २८ हजार २८३ विपदजन्य घटना भएको तथ्याङ्क राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा छ । प्राप्त विवरणानुसार उक्त अवधिमा चार हजार ५४६ को मृत्यु भएको छ भने ८२३ वेपत्ता भए । कुल नौ हजार १९४ घाइते भएका छन् । ती घटनाहरूबाट १२ हजार ४६१ परिवार प्रभावित भएका र ४१ अर्ब बढीको आर्थिक क्षति भएको छ । त्यसमा सबैभन्दा बढी मानवीय क्षति पहिरोले गराएको छ ।

पछिल्लो ११ वर्षमा २ हजार २६५ पहिरोमा परेर एक हजार ३८७ को मृत्यु भएको छ । विपदजन्य घटनाहरूमा सबैभन्दा बढी मानवीय क्षति पहिराले गराएको छ ।

दोस्रोमा चट्याङले एक हजार ५५ जनाको ज्यान लिएको छ । बाढीले ८५७ र आगलागीबाट ८०२ को अकालमा ज्यान गएको छ ।

२०६८ देखि २०७८ सम्म विभिन्न विपदजन्य घटनामा परेर ८ सय ८३ वेपत्ता भएका छन् । सबै भन्दा बढी बाढीले ५सय ४८ जना वेपत्ता बनायो । पहिरोमा परेर ३ सय ३० जना हराएका छन् ।

२०७८ मा बाढीबाट ६३ र पहिरोबाट १सय ८२ सहित ४ सय ९० को मृत्यु भएको छ । बाढीबाट ३४ र पहिराबाट ३३ सहित ७० जना वेपत्ता भएका छन् । २०७७ मा बाढीबाट ४२ र पहिरोबाट ३ सय १ सहित ५सय ९१ को मृत्यु भएको छ । यस्तै बढीबाट ३७ र पहिरोबाट ६४ सहित १ सय १ जना वेपत्ता भएका तथ्याकं प्राधिकरणमा छ ।

बजेटमा विपद्

यसपालिको बजेटमा नेपालको भूवनोट र जलवायु परिवर्तनका कारणबाट सिर्जित प्रतिकुल प्रभावको असरलाई न्युनिकरण गर्दै विपद्का कारण हुने मानवीय र भौतिक क्षति कम गर्न प्रदेश र स्थानीय तहको सहकार्यमा जोड दिइएको छ ।

पूर्वाधार निर्माणका ठूला आयोजनामा विपद् जोखिम न्यूनीकरण गर्न जलवायु परिवर्तन अनुकूलन कार्यक्रमका उपाय अवलम्बन गरिने तथा बजेटमा विपद जोखिम न्युनीकरण गर्न वहुप्रकोपीय पूर्व चेतावनी राष्ट्रिय प्रणाली र वहुप्रकोपीय जोखिम आँकलन प्रणाली स्थापना गर्ने योजना अघि सारिएको छ ।

सरकारले राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका लागि एक अर्ब ६१ करोड रुपैंया बजेट विनियोजन गरेको छ । प्रभावितको राहत र उद्धारलाई प्रभावकारी बनाउन क्षमता अभिवृद्धिका लागि स्रोतको व्यवस्थापन गरिने, सरकारले विपद्को पूर्वतयारी, खोज, उद्धार, राहत तथा पुनःस्थापना गर्न स्थानीयको सहभागिताका बढाउन स्वयंसेवक परिचालनसमेत गर्ने कुरा पनि बजेटमा समावेश छ ।

यस्तै हिमाली क्षेत्रमा परिरहेको असरको वैज्ञानिक अध्ययन गर्ने, हिममौसमी प्रणालीलाई निरन्तर अनुगमन गर्न हाल सञ्चालित नौ हिमकेन्द्रलाई पूर्ण स्वचालित रियल टाइम प्रणालीमा स्तरोन्नति गर्ने, हिमतालहरूको सतह घटाउने लगायतका कार्यक्रम बजेटमा आएको छ ।

यो पनि…
बगरबाट घर खोतल्दै मेलम्चीवासी
विपद् अवस्थाबाट उठ्न चाहन्छ मेलम्ची बजार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,