English

पूर्वराजा ज्ञानेन्द्र सहभागी कुम्भमेलामा पुगेका महामण्डलेश्वरको निधन, सयौँ संक्रमित



भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा पुगेका एक महामण्डलेश्वरको कोरोना भाइरसका कारण निधन भएको छ । निरञ्जनी अखडाका ६५ वर्षीय महामण्डलेश्वर कपिल दास देवको कुम्भमेलामा सहभागी बनेपछि मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो कुम्भ मेलामा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी थिए । उनी सहभागी मेलामा पुगेका सयौँ व्यक्ति अहिले कोरोना संक्रमित भएको बताइएको छ ।

मेला प्रशासनका अनुसार बिहीवार मात्रै ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मेलामा सहभागी भइ कोरोना संक्रमणबाट निधन भएकाहरूको आँकडा भने आफूसँग नरहेको मेला प्रशासनले जनाएको छ । प्रशासनका अनुसार १२ अप्रिलपछि ७९ हजार ३०१ जनाको परीक्षण गरिएको छ, जसमा एक हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । कोरोनाको बढ्दो प्रकोपपछि २ महिनासम्म चल्ने भनिएको मेला १७ अप्रिलबाट समाप्त गरिने भएको छ । कुम्भमेला आधिकारिक रूपमा ३० अप्रिलमा सकिँदै छ भने अर्को शाही स्नान २७ अप्रिलमा हुने बताइएको छ ।

पूर्वराजा ज्ञानेन्द्र थिए सहभागी

दुई महिनासम्म चल्ने भनिएको उक्त कुम्भमेलामा मंगलवार ३० लाखभन्दा धेरै मानिसले गंगास्नान गरेका थिए । बुधवार पनि नौ लाख भन्दा बढी मानिसले गंगा नदीमा स्नान गरेको आयोजकले जनाएको छ । मंगलवार ३० लाखले स्नान गर्दा नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह पनि सहभागी थिए । साथै उनको साथमा रहेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि थिए । आदित्यनाथले आफूलाई कोरोना संक्रमण भएकोले क्वारेन्टाइनमा रहेको बताइसकेका छन् ।

स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्रले स्नान गरिरहेको भिडियो र फोटो भाइरल बनेको थियो । उनले हरिद्वारबाटै भारतीय सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएको भिडियो पनि देख्न सकिन्छ ।

भारतीय सञ्चारमाध्यमलाई नेपाली भाषामा दिए प्रतिक्रिया

भारतीय सञ्चारमाध्यमहरूको प्रश्नमा पूर्वराजा ज्ञानेन्द्रले नेपाली भाषामा बोल्दै आफूले पहिलो पटक हरिद्वारको भ्रमण गरेको र यसवर्ष कुम्भमेलामा पनि सहभागी बन्न पुगेको बताएका थिए । मंगलवार गंगाको स्नानपछि उनी सडकमार्गबाट दिल्ली फर्किएका थिए । उनी आईतवार नेपाल फर्किने योजनाअनुसार हरिद्वार गएका थिए । उनले हरिद्वारमा साधुसन्तसँग समेत भेटघाट गरेका थिए ।

हरिद्वारमा राजाकै हैसियतमा सम्मान

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतमा राजाकै हैसियतमा सम्मान दिइएको थियो । धार्मिक भ्रमणको क्रममा भारतको उत्तर प्रदेश पुगेका उनलाई भारतका केन्द्रीय राज्यमन्त्री साध्वी निरञ्जन ज्योतिले राजाकै हैसियतमा सम्मान प्रकट गरेकी थिइन् । उनले मंगलवार पूर्वराजा ज्ञानेन्द्रसँगको भेटका तस्विर शेयर गर्दै पतञ्जली योगपीठमा नेपाल नरेश श्री ज्ञानेन्द्र वीर विक्रम शाहजी एवं पूज्य योगी श्री रामदेव र आचार्य बालकृष्णजीको पावन सान्निध्यमा पतञ्जली योगपीठद्वारा आयुर्वेद क्षेत्रमा नवीन अनुसन्धान र सेवा कार्यको विषयमा विशेष जानकारी मिलेको बताएकी थिइन् ।

उनले मात्र होइन, पूर्वराजा ज्ञानेन्द्रलाई रामदेवले पनि राजाकै रूपमा सम्बोधन गरेका थिए ।
उनले तस्विरसहित ट्वीट गर्दै भनेका छन्, नेपालका राजा ज्ञानेन्द्र वीर विक्रम शाहजीले आज पतञ्जली योगपीठमा आएर सेवा कार्यको अवलोकन गर्नुभयो ।

त्यस्तै रामदेवका सहयोगी एवं पतञ्जली योगपीठका सहसंस्थापक आचार्य बालकृष्णले पनि उनलाई राजाकै रूपमा सम्बोधन गरे ।

के भन्छन् मेलामा सहभागी ?

कुम्भमेलामा मंगलवार र बुधवार गरी करिव ४० लाख मानिसले गंगा नदीमा स्नान गरेका थिए, जसमध्ये त्यहाँ उपस्थित केही मानिसलाई कुम्भ र कोरोनाको बारेमा प्रश्न सोधिएको थियो । जसमा धेरैको जवाफ सबै भगवानको भरोसामा आएको र भगवानले नै जे चाहन्छन्, त्यो गर्छन् भन्ने थियो । भारतमा केही दिन यता कोरोना संक्रमितको संख्या बढिरहेको छ, जसका कारण केही अस्पतालमा अक्सिजन र बेडको अभाव भएको छ । भारतमा यो समाचार तयार पार्दासम्म १ करोड ४२ लाख २४ हजार १३९ जनालाई संक्रमण भएको छ भने १ लाख ७४ हजार ३३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख १६ हजार ८५० जनालाई कोरोना संक्रमण भएको छ भने १ हजार १८३ जनाको मृत्यु भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,