२०७७ का फिल्मी न्यूज मेकरहरू



वर्ष २०७७ कोरोना महामारीका कारण न्यून संख्यामा मात्र फिल्म प्रदर्शनमा आए । फिल्म प्रर्दशनको संख्या नै न्यून भएकाले यसको नाफा–घाटाका बारेमा चर्चा हुने कुरै भएन ।

तर यो वर्ष थुप्रै नेपाली फिल्मकर्मीहरू भने आफ्नै व्यक्तिगत व्यवहारले चर्चा र विवादमा तानिए । थुप्रै कलाकारहरू न्यूज मेकर बने ।

‘नाम होस्, बदनाम होस् तर गुमनाम नहोस् ।’ नेपाली फिल्मकर्मीको पनि मानसिकतामा गडेको फर्मुला हो यो । वर्ष २०७७ मा उनीहरूले यो फर्मुलाको उच्चतम प्रयोग गरेको देखियो । अर्थात् ‘न्यूज मेकर फिल्मकर्मी’ आजको हाम्रो रिपोर्टको विषय हो ।

पूजा शर्मा/प्रकाश सुवेदी

यस वर्षको न्यूज मेकरको लिस्टमा नायिका पूजा शर्मा र टेलिभिजनकर्मी प्रकाश सुवेदी पहिलो नम्बरमा परेका छन् । पूजा शर्माले कलाकार संघ, चलचित्र पत्रकार संघ लगायतका संघ–संस्थामा कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीविरुद्ध उजुरी नै गरेकी थिइन् ।

कार्यक्रममार्फत आफूलाई होच्याएको भन्ने उनको दुखेसो थियो । अन्तर्वार्ताको नाममा बोलाएर अन्टसन्ट प्रश्न गर्दै आफ्नो बेइज्जती सार्वजनिक गरेको नायिका शर्माको भनाई थियो ।

उनीहरूको यो विवादले चलचित्र क्षेत्र केही समय पक्ष र विपक्षमा उभियो । यस विषयले मिडियामा निकै समय प्रमुखता पायो । अन्ततः प्रकाश सुवेदीले आफूले नाम तोकेर कसैलाई नहोच्याएको भनी माफी नै माग्नु पर्यो ।

यी दुई पात्र एक महिनाजति भाइरल नै बनेका थिए ।

भुवन केसी/साम्राज्ञी राज्यलक्ष्मी शाह

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक सञ्जालमार्फत फिल्म सुटिङको क्रममा नायक भुवन केसीले आफूमाथि ह्यारेस्मेन्ट गरेको आरोप लगाएकी थिइन् ।
त्यसपछि उनको पक्षमा रहेर धेरैले प्रतिक्रिया दिए । र, यो विषयलाई लिएर अत्याधिक न्यूज पनि बने ।

साम्राज्ञीले ह्यारेस्मेन्टको आरोप लगाएपछि भुवन केसीले साम्राज्ञीले उनलाई लगाएको आरोपविरुद्ध जिल्ला अदालतमा मुद्धा समेत दायर गराएका थिए । भुवनले मुद्धा दायर गरेपछि यो विषयले अर्कै मोड लिएको थियो ।

उनीहरूबीच ठूलै विवाद भयो, एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने क्रम धेरै समयसम्म चलिरह्यो ।

दीपाश्रीः महानायक उपाधि माथिको प्रश्न

एक अन्तर्वार्ताको क्रममा नायिका तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमालको महानायक उपाधिमाथि प्रश्न उठाएपछि उनी ठूलो विवादमा तानिइन् ।

उनले ‘राजेश हमाल पनि महानायक हो र ?’ भनेर एक अन्तर्वार्तामा भनेपछि, उनको यो कुरालाई लिएर उनी सामाजिक सञ्जालमा धेरै ट्रोल भइन् । यो विषयलाई लिएर अनेक न्यूज बने । यो विषय सामाजिक सञ्जलमा निकै भाइरल भयो ।

अभिनेता राजेश हमालले समाजिक सञ्जालमार्फत् दीपाश्रीलाई माफी दिन अनुरोध गरेपछि यो विवाद अलि सेलाएको थियो ।

श्वेता खड्काः विवाह र माझी बस्ती

नायिका श्वेता खड्काले गएको वर्ष मंसिर २२ गते प्रेमी विजेन्द्र सिंह रावतसँग विवाह गरिन् । उनको पहिलो विवाह नायक श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीकृष्णको निधनपछि श्वेताले विजेन्द्रसँग विवाह गरिन् । उनको दोस्रो विवाहको कुराले पनि निकै चर्चा पायो । उनीहरूको विवाहमा भएको खर्चको कुराले पनि अनेक न्यूज बने ।

श्वेताले सिन्धुपालचोकको ‘एकीकृत माझी बस्ती’ निर्माण कार्यमा गरेको ढिलासुस्तीलाई लिएर पनि ठूलो विवाद भयो । यो कुरालाई लिएर उनी निकै भाइरल भइन् ।

उनले बनाउँछु भनको एकीकृत माझी बस्ती नबनाएको आरोप प्रत्यारोपको विषयमा पनि थुप्रै समाचार बने । उनी पनि यो वर्ष न्यूज मेकरको लिस्टमा पर्छिन् ।

छक्का पन्जा टिम तथा जितु नेपाल

लामो समयदेखि छक्का पञ्जा टिममा रहेर काम गर्दै आएका जितु नेपाल टिमबाट बाहिरिएको कुरालाई लिएर नेपाली रजतपट तरंगित बन्यो । ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौला बाहिरिएपछि यो विवाद बढेको थियो ।

दीपाश्री निरौला महानायकको विषयमा विवादमा रहेको बेला उनी मुन्द्रेको कमेडी क्लबबाट पनि बाहिरिएपछि, समस्यामा परेकी उनलाई साथ नदिएको भन्दै छक्का पञ्जा टिम जितुसँग रिसाएको थियो ।

छक्का पञ्जा टिमको ‘धनिया के होली’ गीतमा जितु नेपाल नदेखिए पछि यो विषय अझै सेलाएको छैन भन्ने देखिन्छ ।

सुष्मा कार्की/ उत्सव रसाइली

नायिका सुष्मा कार्की पनि यो वर्ष न्यूज मेकरको लिस्टमा पर्छिन् । उनले अन्तरर्वार्तामा बोलेका केही विषयलाई लिएर यो वर्ष उनी ट्रोलको सिकार भइन् ।
त्यस्तै सुष्मा कार्की तथा उत्सव रसाइलीबीच भएको विवादले पनि अनेक थरी न्यूज बन्यो ।

आफूमाथि कुटपिट भएको भन्दै उनले प्रहरीमा उजुरी गरेकी थिइन् । अभिनेत्री श्वेता खड्ककी बहिनी आरती खड्का तथा चलचित्र पत्रकार उत्सव रसाइलीले आफूलाई गाली गरेको र हातपात गरेको भन्दै उनले उजुरी गरेकी थिइन् ।

यो विषय पनि यो वर्ष सामाजिक सञ्जालमा निकै भाइरल भयो । उत्सव रसाइलीले माफी मागेपछि घटना सेलाएको थियो ।

वर्षा राउतः भारतीय साथीहरूसँग कसरी कुरा गर्नु

नेपाल–भारतबीच भएको सीमा विवादको विषयमा नायिका वर्षा राउतले दिएको एउटा अभिव्यक्तिले पनि ठूलै चर्चा बटुल्यो । उनले एक अन्तरर्वार्तामा ‘मेरो इन्डियन साथीहरूसँग मैले कसरी फेस गर्ने’ भनेपछि उनको यो कुरालाई लिएर ट्रोलको शिकार भइन् ।

नेपाल–भारतबीच सिमा विवाद चलिरहेको बेला उनको यो अभिव्यक्तिले उनलाई निकै भाइरल बनायो । उनले यो विषयलाई लिएर माफी समेत माग्नु पर्यो ।

आँचल शर्माः टिकटकले केटीहरू क्रियटिभ

नायक आँचल शर्मा पनि यो वर्ष विवादबाट टाढा रहन सकिनन् । उनले एउटा अन्तर्वार्तामा ‘केटाहरूले पब्जी खेलेर औंला चलाउनुभन्दा केटीहरूले टिकटक नै बनाए पनि क्रियटिभ हुन्छन्’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । उनको यो भनाई सामाजिक सञ्जालमा निकै भाइरल भयो । यो कुराले उनी धेरै ट्रोल पनि भइन् ।

पल शाहः तारिफ र विवाद

नायक पल शाह भने यो वर्ष राम्रो काम गरेर तथा विवादमा रहेर न्यूज मेकर भए । पल शाह र हाम्रो टिम नेपालले कालिकोटको नरहरिनाथ गाउँपालिकामा बाढी पहिरोका पीडित परिवारलाई गरेको सहयोगको विषयलाई लिएर थुप्रै चर्चा परिचर्चा भयो । पलको प्रशंसकहरूले उनले पीडितहरूलाई गरेको सहयोगकको विषयलाई लिएर तारिफ गरे ।

त्यस्तै, अर्को घटनामा उनी विवादित भए । चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि कुटपिट गरेको भन्दै पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए । सामाजिक सञ्जालमा पनि यो विषयको राम्रै चर्चा भयो । यो विषयलाई लिएर पनि थुप्रै समाचार बने ।

प्रियंका कार्कीः एनिभर्सरी तथा बेबीबम्प तस्विर

नायिका प्रियंका कार्की पनि न्यूज मेकरको लिस्टमा छुटाउनै नमिल्ने नाम हो । प्रियंका तथा आयुष्मानको २०७६ मा विवाह भए लगत्तै कोरोनाले गर्दा लकडाउन भयो, उनीहरू हनिमुन पनि जान पाएनन् ।

यसै वर्ष फागुनमा एनिभर्सरी तथा प्रियंका कार्कीको जन्मदिनको अवसर पारेर माल्दिभ्स गएका थिए । त्यहाँबाट उनीहरूले शेयर गरेको फोटोले निकै चर्चा बटुल्यो ।

प्रियंकाले भर्खरै बेबीबम्प देखाएको तस्विर सार्वजनिक गरेकी थिइन् । उनको बेबीबम्प वाला फोटोले पनि अधिक चर्चा बटुल्यो । यो वर्ष उनको बेबीबम्प फोटो भाइरल नै भयो ।

नीता ढुङ्गाना/हरिहर अधिकारी

नायिका नीता ढुङ्गाना र नायक तथा युवा ज्योतिष हरिहर अधिकारीको प्रेम सम्बन्धको चर्चाले पनि राम्रै समाचार बन्यो । भारतमा एकसाथ रहेको तस्विर सार्वजनिक भएपछि उनीहरूको प्रेम सम्बन्धलाई लिएर फेरि चर्चा हुन थाल्यो ।

उनीरूको प्रेम सम्बन्धको विषय धेरै वर्ष अघिदेखि नै चर्चामा आए पनि यो वर्ष भने उनीहरूको सम्बन्धको विषयले सामाजिक सञ्जालमा धेरै चर्चा पायो ।

सागर लम्साल/प्रिज्मा खतिवडा

‘सक्कीगोनि’ का हास्य कलाकार सागर लम्साल बले तथा टिकटकबाट भाइरल भएकी प्रिज्मा खतिवडाबीचको प्रेम सम्बन्ध पनि समाचारका विषय बने ।

म्युजिक भिडियोहरूमा संगै काम गर्ने यी दुईको जोडीलाई दर्शकहरूले पनि धेरै मन पराइरहेका छन् ।

स्वस्तिमा खड्का (साउथ इन्डियन फिल्म)

नायिका स्वस्तिमा खड्का पनि यो वर्ष धेरै चर्चामा रहिन् । उनलाई साउथ इन्डियन फिल्म खेल्ने प्रस्ताव आएको कुरालाई लिएर बधाईको ओइरो लाग्यो ।

यद्यपि उनले फिल्मको प्रस्ताव आए पनि कागजी सम्झौता नभएको बताएकी थिइन् । साउथ इन्डियन फिल्ममा खेल्ने कुरालाई लिएर उनको चर्चा अझै सेलाएको छैन ।

धुर्मुस/सुन्तली

धुर्मुस–सुन्तली फाउन्डेशनले चितवनमा बनाउदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको विषयमा पनि २०७७ मा धेरै समाचार छायो । रंगशाला बनाउन लाग्ने खर्चको अभाव भएको भन्दै धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले मेची–महाकाली अभियान सुरु गरे ।
उनीहरूले मागेर समाजसेवा गरे भनेर धेरैले विरोध पनि गरे । सिताराम–कुञ्जनाले सामाजिक सञ्जालमार्फत ‘गाली गरे पनि गर्नुस् तर हामीलाई सहयोग गर्नुस्’ भनेको भिडियो केही समय भाइरल भयो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदयपुरकी सिता (नाम परिर्वतन) लाई चिनेजानेकाले सामुहिक बलात्कार गरे । ४ छोराछोरीकी आमा समेत रहेकी सिता असार १५ को राति

एमालेको १०औं महाधिवेशन उद्घाटनका लागि चितवनको नारायणी नदी किनारमा मञ्च तयार छ । देशभरबाट नेता कार्यकर्ता चितवनमा उर्लिएका छन् । स्वास्थ्य

चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ । विसं

चितवनमा शुक्रबारबाट नेकपा एमालेको १०औँ महाधिवेशन हुँदैछ । मुलुकका विभिन्न स्थानबाट आएका नेता कार्यकर्ताहरूले चितवनका होटल भरिभराउ भएका बेला जनकपुर,