English

होली भन्नेबित्तिकै के सम्झिन्छन् कलाकार ?



‘होली’ अर्थात् रङ्गहरूको पर्व । रङ्गको पर्व होलीले कलाकारहरूलाई नछुने त कुरै भएन । रङ्गीन दुनियाँमा रमाएका नेपाली सेलिब्रिटीहरूले फागुपूर्णिमा (होली) हरेक वर्ष धूमधामसँग मनाउँदै आएका छन् ।

कोरोना महामारीको कारण अघिल्ला दुई वर्ष खुलेर होली मनाउन नपाएका कलाकारहरूको यो वर्षको योजना के छ ? होली भन्नेबित्तिकै उनीहरू के सम्झन्छन् त ?

करिश्मा मानन्धर

हरेक वर्षको ‘होली’ परिवार तथा साथीभाइसँग भव्यसँग मनाउने गर्छु । अन्य चाडपर्वमा परिवारको सदस्यहरूसँग मनाइन्छ । तर, होलीमा भने साथीभाइसँग पनि जमघट हुने भएकोले मलाई होली विशेष लाग्छ ।

वसन्त ऋतुको आगमनसँगै रङ्गहरूको वहार ल्याएर यो पर्व आउँछ । अघिल्लो दुई वर्ष कोरोना महामारीको कारण राम्ररी होली मनाउन पाइएन । त्यसैले, यो वर्ष भव्यताको साथ होली मनाउने योजना छ ।

रमेश उप्रेती

‘होली’ सत्यमाथि असत्यको जित भएको दिन । होली नजिकिँदै छ भन्नेबित्तिकै एउटा छुट्टै पोजेटिभ भाइभ आउँछ । मेरो मानसपटलमा बाल्यकालको होली पनि आइहाल्छ । बाल्यकालमा जति खुलेर होली खेलिन्थ्यो अहिले त्यसरी कमै खेलिन्छ । साथीहरूलाई जबरजस्ती रङ्ग लगाइदिने, लोला हान्ने र सिल्भर कलर अनुहार भरी लगाएर पनि हिँडिन्थ्यो ।

अहिले पनि म साथीभाइसँग रमाइलो गरेर होली मनाउँछु । तर, होलीको योजना भने बनाउँदिन । होलीकै दिन प्लान बन्छ । होली मात्र हैन हाम्रा अन्य पर्वहरू पनि भव्य र सभ्य तरिकाले मनाउन मन पराउँछु । हाम्रो धर्म संस्कृतिलाई हामीले नै जगेर्ना गर्ने हो, त्यसैले अरूलाई पनि भव्य र सभ्य तरिकाले पर्व मनाउन आग्रह गर्छु ह्यापी होली ।

बेनिशा हमाल

‘होली’ रङ्गहरूको पर्व भएको हुनाले होली आउँदै छ भन्नेबित्तिकै एक प्रकारको राम्रो अनुभूति हुन्छ । होली भन्नेबित्तिकै बाल्यकालको होली याद आउँछ । बाल्यकालको होली एकदमै सभ्य र शान्त हुन्थ्यो । होलीको दिन आमाले बिहानै उठेर सबैलाई रातो टिका लगाइदिनुहुन्थ्यो । वरपरका छिमेकीहरूलाई पनि रातो लगाइदिएर होलीको शुभकामना दिनुहुन्थ्यो ।

बाल्यकाल पछिको केही वर्षको होली भने मलाई राम्रो लाग्दैन थियो । होली आउनु भन्दा एक दुई हप्ता अघिदेखि नै बाटोमा हिँड्न मन लाग्दैन थियो । लोला हानेर हैरान पार्थे । तर, अहिले ४–५ वर्ष यता भने फेरि होली सभ्य हुन थालेको छ । साथीभाइसँग मिलेर होली खेल्न रमाइलो लाग्छ । यो वर्ष होलीमा के गर्ने भनेर प्लान नै त बनाएको छैन । तर, साथीहरूसँग नै मिलेर होली खेल्छु होला ।

पूजा शर्मा

‘होली’ रङ्गहरूको पर्व । साथीभाइ तथा आफन्तहरूसँग मिलेर होली मनाइन्छ । मेरो बाल्यकालको धेरै वर्षको होली स्कुलको होस्टेलमा बित्यो । होस्टेलको कौसीहरूबाट पानी छ्याप्ने कलर छ्याप्ने गरिन्थ्यो । साथीहरूसँग होली खेलेको साह्रै याद आउँछ । पछिल्लो केही वर्ष भने मलाई होली त्यति धेरै मन पर्दैन थियो । बाटोमा हिँड्दा लोला हान्ने अनुमति बिना नै कलर लगाई दिने यस्ता क्रियाकलापहरूले गर्दा होली सभ्य लाग्दैन थियो ।

अहिले बाल्यकालजस्तो रमेर होली खेल्ने मौका पाएको छैन । होली आउनु अगाडि देखी नै होलीको प्लान पनि बनाउने गरेको छैन । तर, यो वर्षको होली सायद ‘ए मेरो हजुर २’ को टिमसँग नै मनाउँछु होला ।

लक्ष्मी बर्देवा

सानैदेखि अन्य पर्वजस्तो ‘होली’ पर्व मलाई त्यति धेरै विशेष लागेन । अरूले होली खेलेको हेर्न मन पर्छ तर आफूलाई भने खेलिहालौँ जस्तो लाग्दैन । करिब ६ वर्ष अघि मण्डला थिएटरमा साथीहरूसँग मिलेर होली खेलेको थिएँ । त्यसपछि भने मैले होली खेलेको छैन । यो वर्ष पनि होलीको केही योजना छैन ।

होली मन नै नपर्ने होइन । मन त पर्छ, तर बाल्यकालदेखि नै होलीमा म धेरै रमिनँ । रङ्ग मन पर्नेहरूले होली सभ्य तथा रमाइलो तरिकाले मनाउनुहोला ह्यापी होली ।

जितु नेपाल

‘होली’ले गर्मी लागेको सङ्केत गर्छ । पानी तथा रङ्गको प्रयोग गरेर होली खेल्दा एक आपसमा भाइचारा आदान–प्रदान हुन्छ । होली एकदमै रमाइलो पर्व हो । बाल्यकालमा होलीमा खुब लोला हानाहान गरियो । अहिले भने परिवार तथा छिमेकीहरूसँग सभ्य तरिकाले होली खेल्छु ।

अहिले म ‘ह्यारीकी प्यारी’ फिल्म सुटिङको लागि जनकपुर आएको छु यता गर्मी एकदमै बढेको छ । केही दिनलाई सुटिङ सार्ने कि भन्ने सल्लाह पनि भइरहेको छ । सुटिङ सकेको खण्डमा परिवारसँग होली मनाउँछु । यदि, सुटिङ सरेन भने फिल्मको टिमसँग नै होली मनाउँछु ।

रचना रिमाल

कोरोनाले गर्दा दुई वर्षयता राम्ररी ‘होली’ खेल्न पाएको छैन । यो वर्ष पनि होली खेल्न नमिल्ने भएकोले केही प्लान बनाएको छैन । तर, बाल्यकालमा भने खुब होली खेलिन्थ्यो । गाउँका साथीहरूलाई खेदाई–खेदाई रङ्ग लगाइन्थ्यो ।

गाउँमा सबैसँग मिलेर होली खेल्नुको मज्जा नै बेग्लै थियो । सानोमा पिचकारी चाहियो भनेर पनि खुब झगडा गर्थे र पिचकारी पाएपछि साथीहरूलाई भिजाउँथे । यो वर्ष हाम्रो होली त खेल्न मिल्दैन, तर केही कार्यक्रममा भने सहभागी हुन्छु ।

हरिश निरौला

‘होली’ साथीभाइसँग खुसी मनाउने पर्व । म सानो हुँदा सोलुखुम्बुमा होली खेल्ने चलन त्यति धेरै थिएन । त्यसैले, बाल्यकालमा रमेर होली खेल्ने अवसर जुरेन । रङ्गहरू सर्वसुलभ थिएन त्यसैले पनि हामी होली खेल्दैन थियौँ ।

तर, पछि अलि ठूलो भएपछि साथीहरूसँग मिलेर कालो कलर बनाएर होली खेल्थ्याँै ।

काठमाडौं आएपछि भने धेरै वर्ष ‘भद्रगोल’ टिमसँग होली खेलेँ । दुई वर्षयता कोरोनाले गर्दा होली खेलिनँ । यो वर्ष पनि प्लान त बनाएको छैन । तर, ‘सक्किगोनी’ टिमसँग र अन्य साथीभाइसँग भेटघाट र शुभकामना आदान–प्रदान भने हुन्छ होला ।

महेश काफ्ले

रङ्गहरू मनपर्ने भएकोले होला मलाई ‘होली’ एकदमै मनपर्छ । होलीको दीन मानिसहरू कलर लगाएर हिँडेको देखेर रमाइलो लाग्छ । मलाई आफू खेल्नुभन्दा पनि अरूले होली खेलेको हेर्न एकदमै मनपर्छ । मेरो बाल्यकाल सिन्धुलीमा बित्यो त्यहाँको होली काठमाडौंको भन्दा अलि फरक हुन्छ । धेरै नै महत्व दिएर मनाइन्छ ।

एसएलसी दिएपछिको एक वर्ष भने साथीभाइसँग राम्ररी होली मनाएको थिएँ । त्यसपछिका होलीहरूमा भने म साधारण तरिकाबाट नै होली मनाउँछु । यो वर्ष पनि होली विशेष योजना केही छैन । एउटा कार्यक्रममा सहभागी हुन्छु यसरी बित्छ मेरो यो वर्षको होली ।

दिपिका प्रसाईं

‘तिहार’ र ‘होली’ यी दुई पर्व मलाई असाध्यै मनपर्छ । म धनगढीमा हुर्किएको भएर होला तराईको होली झन् विशेष लाग्छ मलाई । साथीभाइ तथा आफन्तहरू बीच रङ्ग लगाएर शुभकामना आदान प्रदान गर्ने र माया र सद्भाव साटासाट गर्ने पर्व हो यो ।

बाल्यकालमा हामी रमाउँदै होली खेल्थ्यौँ त्यो एकदमै याद याद आउँछ । अहिलेको होलीमा त्यति मज्जा आउँदैन जति बाल्यकालमा आउँथ्यो । अघिल्लो वर्ष पनि होली एकदमै रमाइलो नै भएको थियो ।
यो वर्ष भने त्यस्तो केही प्लान बनाएको छैन । मैले त ४ गते होली भन्ठानेको थिए भोलि नै पो रहेछ अब भोलि नै बन्छ होला प्लान ।

यो पनि…
होली मनाउनुस्, संयमित हुनुस्
खुसी साटासाट गरी मनाइँदै होली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।