English

सामुदायिक वनमा भएको कर वृद्धिले उपभोक्ता मारमा



‘हरियो वन, नेपालको धन’ भन्ने आहान व्यवहारमा लागू हुन नसकेका बेला वनको उपयोग र संरक्षण गर्ने उपभोक्ता र सरकारबीच द्वन्द्व बढ्दै गएको छ । सरकार वनमा करको दायरा बढाउँदै छ भने त्यसको विरोधमा उपभोक्ता उत्रिएका छन् । वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार सामुदायिक वन व्यवस्था भएअनुरूप यसलाई विधिवत रूपमा समुदायमा हस्तान्तरण गरियो । यसले वनको रेखदेख र संरक्षणमा उपभोक्ताको दायित्व बढ्दै गयो ।

समुदायमा हस्तान्तरणपछि संरक्षण र उपभोग गर्न पाउने नीतिका साथमा उपभोक्ता समूह दर्ता गरियो । वन संरक्षणमा उपभोक्ताले चासो र जिम्मेवारी पनि बढाउँदै गए । आर्थिक लाभ लिने बेला भने विभिन्न ऐन–नियमावलीले आफूहरूलाई अप्ठ्यारो परिस्थिति सिर्जना आइपरेको छ ।

वन उपभोगमाथि राज्यले अंकुश लगाउने नियमावली बनाएपछि यतिखेर देशव्यापी रूपमा सामुदायिक वनका उपभोक्ता आन्दोलित बनेका छन् । मेहनतको फल लिने बेला सरकारले उपभोक्ताको अधिकार कुण्ठित पार्ने खालका नियम ल्याउन थालेको आरोप सामुदायिक वन महासंघ रामपुर, पाल्पाका अध्यक्ष मित्रा ढकाल लगाउँछिन् । ‘वनलाई हुर्काउन र संरक्षण गर्न उपभोक्तालाई त्यति सजिलो थिएन, तैपनि आफैँले जन्माएका सन्तान झैँ ठानेर बिरुवा हुर्काएर वन ठूलो बनाइयो तर अहिले उपभोग गर्ने बेला राज्यले हामी उपभोक्ताको अधिकारलाई कुल्चेर कुण्ठित पार्ने काम गरेको छ’, उनले भनिन् ।

सामुदायिक वनको अवधारणा आएपछि नाङ्गा र उजाड डाँडा अहिले हरियालीमय बनेको छ । सामुदायिक वन ऐन २०४९ ले स्वायत्त अधिकार दिए पनि अहिले राज्यले त्यसलाई कुण्ठित पार्न खोजेको आरोप लगाइएको छ ।

वनलाई हुर्काउन र संरक्षण गर्न उपभोक्तालाई त्यति सजिलो थिएन, तैपनि आफैँले जन्माएका सन्तान झैँ ठानेर बिरुवा हुर्काएर वन ठूलो बनाइयो तर अहिले उपभोग गर्ने बेला राज्यले हामी उपभोक्ताको अधिकारलाई कुल्चेर कुण्ठित पार्ने काम गरेको छ ।

आफैँले बिरुवा रोपी हुर्काएर ठूलो बनाएको रूख आवश्यक परेका बेला उपभोग गर्न नपाउने गरी राज्यले ल्याएको ऐन, नियमावली उपभोक्ताको हितविपरीत भएको राम्चे सामुदायिक वन समूहका अध्यक्ष दयाराम गैह्रे बताउनुहुन्छ । उहाँका अनुसार वनमा साल प्रजातिका रूख प्रशस्तै भए पनि अहिले कटानी गर्न पाइँदैन, बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ ।

सङ्घीय सरकारले खारेज गरिसकेको १५ प्रतिशत सङ्घीय वन पैदावार शुल्कसमेत सामुदायिक वन उपभोक्ता समूहलाई सरकारी सञ्चित कोषमा तिर्न बाध्य पारिएको छ । सामुदायिक वनमा सङ्घीय सरकारले आय कर तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय तहले १० प्रतिशत वन पैदावार शुल्क लगाउँदै आएको अवस्था छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश वन ऐन २०७८ मा सामुदायिक वनमा २५ प्रतिशत वन पैदावार शुल्क लगाउने व्यवस्था गरी कर तिर्नका लागि सबै सामुदायिक वन उपभोक्ता समूहमा ताकेता गरेको छ ।

यस्ता कार्य रोकी कर फिर्ता गर्न र सामुदायिक वन पैदावार खरिदकर्ताले नै मूल्य अभिवृद्धि कर तिर्नुपर्नेमा सोसमेत समूहलाई तिर्न लगाइएकाले यस्ता निर्णय रोक्न उपभोक्ताको माग छ । यसरी सामुदायिक वनमा तीन तहका सरकारले लगाएको तेहेरो कर तत्काल खारेज गर्न माग गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश वन ऐन २०७८ मा सामुदायिक वनमा २५ प्रतिशत वन पैदावार शुल्क लगाउने भनी गरिएको व्यवस्था नेपालको संविधानको धारा ६० विपरीत भएको जनाउँदै प्रदेश कानुनमा गरिएको व्यवस्था तत्काल खारेज गर्न महासङ्घद्वारा माग गरिएको छ ।

‘सङ्घीय सरकारले संविधान र सङ्घीय वन ऐन २०७६ विपरीत सामुदायिक वनको अधिकार खोस्ने गरी तर्जुमा गरेको वन नियमावलीको मस्यौदा खारेज गरी ऐनबमोजिम नियमावली तर्जुमा गर्नुपर्ने’ उपभोक्ताको जोड छ ।

नेपालभरि करिब २२ हजार ४०० सामुदायिक वन छन् । पाल्पामा मात्रै ७ सय १० समूह सामुदायिक वन तथा निजी ४६, धार्मिक चार र कबुलियती २ सय २९ वन समूह छन् । जिल्लामा करिब ४० हजार ७ सय ८० हेक्टर क्षेत्रफल सामुदायिक वनले ओगटेको छ ।

महिलाको नेतृत्वमा सञ्चालन भएका वन समूहका गतिविधि प्रभावकारी देखिएको छ । अहिले वन अधिकार र उपभोगका निम्ति सामुदायिक वनका उपभोक्ता ऐक्यबद्धता जनाउँदै देशव्यापी विरोधका कार्यक्रममा सक्रिय बनेका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घकी केन्द्रीय अध्यक्ष भारती पाठकले उपभोक्ताको हितविपरीत राज्यले बनाएको वन ऐन, नियमावली विरोधस्वरुप महासङ्घको नेतृत्वमा देशव्यापी कार्यक्रम आयोजना गरिएको बताइन् ।

उनले सरकारले सामुदायिक वन उपभोगमा उपभोक्ताको अधिकारमाथि अङ्कुश लगाउने काम गरेको बताउँदै तीन तहका सरकारमा बुझाउनुपर्ने करले उपभोक्तालाई भार थोपर्ने कार्य गरेको भनी आपत्तिसमेत जनाएकी छिन् ।

सामुदायिक वन खोसी राज्य नियन्त्रित संरक्षित क्षेत्र घोषणा तथा विस्तार रोक्नुपर्ने तथा वन पैदावारको सङ्कलन, सदुपयोग र ओसारपसारमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लगाइँदै आएको प्रतिबन्ध हटाउनुपर्ने माग वन उपभोक्ता महासङ्घले गरेको छ ।

उपभोक्ता समूहले सामुदायिक वन संरक्षण र दिगो व्यवस्थापनका लागि उल्लेखनीय योगदान दिएका छन् । वनका माध्यमबाट जैविक विविधता र वातावरणको संरक्षण, गरिबी न्यूनीकरण, वन उद्यम र पर्यापर्यटनको विकास, महिला सशक्तीकरण, सामुदायिक विकासलगायत कार्य गरी दिगो विकास र जलवायु परिवर्तन न्यूनीकरण एवं अनुकूलनमा समेत सघाउ पुगेको छ ।

यस्तो अवस्थामा सङ्घीय र प्रदेश सरकारबाट सामुदायिक वन उपभोक्ता समूहको अधिकार हनन हुने गरी वन नियमावली तर्जुमा गर्ने, संविधानविपरीत सामुदायिक वनमा तेहरो कर लगाउने, सामुदायिक वन खोसेर संरक्षित क्षेत्र विस्तार गर्ने, वन पैदावार उपयोगमा प्रतिबन्ध लगाउने जस्ता कार्यले उपभोक्ताले प्रत्यक्ष मार खेपिरहेका छन् ।

सरकारले वैज्ञानिक वनलाई प्रश्रय दिँदै सामुदायिक वनलाई पाखा लगाउने काम गरेको आरोप लगाउँदै सामुदायिक वन महासङ्घ पाल्पाका अध्यक्ष निरञ्जन भुसालले वन समूहले गरेको कुल आम्दानीको ५० प्रतिशत सरकारलाई बुझाउने नियमावली उपभोक्ताको हितविपरीत भएको बताए ।

वन ऐन २०७६ मा मन्त्रिपरिषद्को निर्णयविना वन क्षेत्रको भू–उपयोग परिवर्तन गर्न नपाइने व्यवस्था भए तापनि भूमिसम्बन्धी र वातावरण संरक्षण कानुनमा सजिलै किसिमले वन क्षेत्रको भूउपयोग परिवर्तन गर्न पाइने व्यवस्था गरिएकाले खासगरी बसोबास र आवासका नाममा निरन्तर वन क्षेत्रको भूउपयोग परिवर्तन हुने जोखिम सम्बोधनका लागि ऐनमा स्पष्ट व्यवस्था छैन ।

अहिले बाहिरबाट आयातित काठ प्रयोग गर्न उपभोक्ता बाध्य छन् । सरकारले उपभोक्ताभन्दा वन्यजन्तुलाई प्राथमिकता दिएको उनको आरोप छ । विसं २०७८ असोज १६ गते जारी गरिएको स्थानीय निकाय सञ्चालन नियमावलीमा आम्दानीको १० प्रतिशत स्थानीय सरकारलाई बुझाउनुपर्ने ऐन बने पनि कार्यान्वयन हुन सकेको छैन । पाल्पाको तिनाउ गाउँपालिकाले सो ऐन लागू गर्ने कोशिस गरेको तर कार्यान्वयनमा ल्याउन नसकेको वन कार्यालयले जनाएको छ ।

उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ वन ऐन २०७६ मा वन स्वायत्त हुने र एकद्वार प्रणालीबाट कर लिने व्यवस्था रहे पनि अहिले स्थानीय तहले मात्रै नभई सङ्घीय सरकारले लिने कर नीति बाझिएको हुँदा आन्दोलनमा उत्रनुपरेको बताउँछन् ।

यसैगरी, सामुदायिक वन समूहमा यहाँका ६० हजार ६३६ उपभोक्ता आश्रित रहेको जिल्ला वन कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताए । जिल्लामा रहेका २ सय ४७ सामुदायिक वनको नवीकरण हुन सकेको छैन । यसबाट बैंक खाता सञ्चालन गर्न नपाउँदा उपभोक्ताले आर्थिक कारोवार गर्न नपाएको उनको गुनासो छ ।

जिल्लाका विभिन्न स्थानमा घुम्ती शिविर सञ्चालन गरेर नवीकरण व्यवस्था मिलाउने, बाक्लो जङ्गललाई गोडमेल गर्ने तथा वन समूहलाई सुशासनको पालना गराउने वन कार्यालयको योजना छ ।
वन कार्यालयका अनुसार एकभन्दा बढी समूहमा आबद्ध उपभोक्ताले एकमा मात्रै वन पैदावार उपभोग गर्न पाउने तथा ससाना समूहलाई एकै ठाउँमा गाभ्ने कार्य अगाडि बढाइँदैछ ।

विसं २०१३ मा सरकारीकरण भएपछि वन मासेर जग्गा बनाउने काम भएको थियो । विसं २०४७ मा प्रजातन्त्र पुनस्र्थापनापछि नयाँ प्रजातान्त्रिक वन ऐन २०४९ तथा नियमावली २०५१ अनुसार सामुदायिक वन व्यवस्था भएअनुरूप विधिवतरूपमा समुदायमा हस्तान्तरण गरिएको थियो । तर, वन ऐन २०७६ मा गरिएको वन संरक्षण क्षेत्रसम्बन्धी व्यवस्था भूपरिधि क्षेत्रमा समेत लागु गर्न सकिने भएकाले यसको प्रभाव सामुदायिक वनलाई पर्ने औँल्याइएको छ ।

नेपाल सङ्घीय संरचनामा गएसँगै सामुदायिक वनमा पछिल्लो समय चुनौती बढेको छ । वैज्ञानिक वन व्यवस्थाले गर्दा पनि सामुदायिक वन क्षेत्रमा धेरै असर गरेको छ । अहिले नीतिनियम संशोधनका नाममा सामुदायिक वनलाई विभिन्न किसिमबाट प्रहार भएको जनाइएको छ ।

वन ऐन २०७६ मा मन्त्रिपरिषद्को निर्णयविना वन क्षेत्रको भू–उपयोग परिवर्तन गर्न नपाइने व्यवस्था भए तापनि भूमिसम्बन्धी र वातावरण संरक्षण कानुनमा सजिलै किसिमले वन क्षेत्रको भूउपयोग परिवर्तन गर्न पाइने व्यवस्था गरिएकाले खासगरी बसोबास र आवासका नाममा निरन्तर वन क्षेत्रको भूउपयोग परिवर्तन हुने जोखिम सम्बोधनका लागि ऐनमा स्पष्ट व्यवस्था छैन ।

संवैधानिक व्यवस्थासंँग तालमेल मिलाउने नाममा सिमसार क्षेत्रको व्यवस्थापन सङ्घीय सरकारले गर्ने भनी गरिएको व्यवस्थाले सामुदायिक वन क्षेत्रमा रहेका सिमसार क्षेत्रको व्यवस्थापन योजना बनाउँदासमेत सङ्घीय सरकारको सहमति लिनुपर्ने अवस्था सिर्जना भएको छ । यसले सामुदायिक सिमसार व्यवस्थापन पद्धतिलाई प्रभावित गर्नेछ । उपभोक्ता समूहले वन व्यवस्थापन र सामुदायिक वनको स्रोत परिचालन गर्दा स्थानीय तहसंँग परामर्श र समन्वय गर्नुपर्ने व्यवस्था गरिए पनि सो प्रावधान स्पष्ट नगरिएकाले स्थानीय तह र उपभोक्ता समूहबीच विवाद सिर्जना हुन सक्ने अवस्था छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले