एक सय एक वर्षे जोशी अझै लिन्छन् एक पेग



लामो समयसम्म बाँच्ने रहर कसलाई हुँदैन ? हामी सबै निरोगी रहेर लामो समयसम्म बाँच्न चाहन्छौँ । तर सोचेझैँ जिन्दगी हुन्छ भन्ने हुँदैन ।
कहाँ, कहिले र कुन बेला हामी मृत्युशैय्यामा पुग्छौं, त्यो कुरा भविष्यको गर्भमै लुकेको छ । हामी नेपालीहरुको औसत आयु अहिले ७० वर्ष पुगेको छ । तर यो समयसीमालाई नै चुनौति दिएका छन्, वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले । जोशीले १ सय १ वर्ष टेकेका छन् । उनी मात्रै नभएर उनकी धर्मपत्नी राधादेवी जोशीले औसत आयुको समयसीमालाई चुनौति दिएकी छन् । श्रीमती जोशी पनि अहिले ९६ वर्षकी भएकिछन् । यो एउटा उदाहरण हो । हामीले आफ्नो स्वास्थ्यमा ध्यान दियौँ भने निरोगी बनेर लामो आयु जीउन सक्छौँ । प्रस्तुत छ, दीर्घायुको रहस्य बारेमा शताब्दी पुरुष सत्यमोहन जोशीसँग मेरो लाईफस्टाईलका लागि अनुपम भट्टराईले गरेको कुराकानीको केही अंश–

अहिलेको दिनचर्या कसरी बितिरहेको छ ?

नर्मल । म पहिले जस्तो थिएँ, अहिले पनि उस्तै छु । कुनै त्यस्तो किसिमको, धार्मिक प्रवृत्तिको पूजाआज गर्ने मान्छे, मेरो परम्परा छ, त्यसलाई पनि छोडेको छैन, त्यसैमा पनि लागिराखेको छैन । पहिले जे जस्तो छ, त्यहि गरेर साधारण किसिमले हिड्डुल गर्छु, साधारण किसिमकै खाना खान्छु । अलिअलि लौरो टेकेर हिँड्ने गरेको छु, त्यो पनि अहिले त सक्दिन । तर अहिले पनि कतै जानुपर्यो भने यहि लौरो बोकेर जान्छु, गाडि दिएको छ, कतै जानुपर्यो भने, तर मलाई डर लाग्छ क्या, त्यसैले नजिक छ भने लौरो टेकेरै साथी लिएर हिँड्ने गरेको छु ।

बिहान उठेदेखि बेलुका नसुतेसम्म तपाईंले नगरि नहुने कामहरु ?

त्यस्तो पनि केहि छैन, पहिले यो ठाउँमा दुबै दुबो लगाएको थिएँ, म चाइनामा जाँदाखेरि त्यहाँ एकजना मान्छेसँग, चिन्या त होइन, त्यो मान्छे पाकिस्तानी हो, त्यहि बेला दुबोको सन्दर्भमा, दुबोमा ड्यूड्रफ्स हुन्छ माथि, बिहान उठ्ने बित्तिकै त्यो ड्यूड्रफ्समा हिँड्यो भने, शरीर चाँहि बडो चङ्गा हुन्छ भन्ने सुनेको थिएँ, त्यसैले मैले पनि यहाँ दुनियाँ गरेको थिएँ । अब यो सारा कुरा बिग्रेकोले रोग पनि छैन, केहि पनि छैन, त्यो पनि हरायो अब, सक्दा पनि नसक्ने भयो, त्यसैले एक्सरसाइज पनि साधारण तरिकाले हात यताउति गरेर योगाभ्यास जस्तो गरेर गर्ने चाँहि गर्छु, त्यो पनि अब चाँहि गर्न सकिएन ।

के-के खानुहुन्छ ?

अहिले पनि कहिलेकाँही एक पेग चाँहि हान्छु, भन्दा त हँसायो भन्ने हुन्छ, तर म एक पेग रक्सी खान्छु, सुत्ने बेला तर अहिले त त्यो पनि त्यति खाने गरेको छैन । अरु खानेकुरा भनेको सामान्य नै हो, दाल, भात, तरकारी अनि कुन समय भन्नु, बिहान बेलुका कुन बेला मिल्छ, एक मुठि दूध चाँहि पिउँछु, सधैँभरी । अरु के खानु र सबैले कसरी यति धेरै लामो भयो आयु, के खानुहुन्छ, के गर्नुहुन्छ भनेर नै सोध्छन्, अब के खान्छु भन्नु, सधैँ मासुभात खाने कुरा भएन, फलफूल, दाल भात त्यहि त हो, हामी नेपालीहरुको खोनकुरा । खासै त्यस्तो स्पेशल खाने भन्ने केहि छैन, सबै सामान्य नै हो । नढाँटी भन्नुपर्छ एक गिलास गाईको दुध हरेक दिन पिउँछु । पहिला पहिला त मासु धेरै खाइन्थ्यो । एक पटक काम गर्दा तनहुँ तिर हुनुपर्छ, ललितपुरको मान्छे आफू कतै बाहिर ननिस्केको, खानेकुरा पनि गाउँमा के नै हुने हो र हामी यताकालाई सधैँ मासुभात चाहिने, त्यहाँका मान्छे नै धेरै मासुभात खोजेकाले चकित भएका थिए ।

लङलाइफ जीउन आम मानिसका लागि केहि सुझाव छन् की ?

अब तपाईहरुलाई भनिराखिएकै छ, आजभोलि योगा गर्नुपर्छ भनिन्छ, योगा गरियो भने स्वस्थ भइन्छ । मेरो नि यहाँ छोरी छ, योगा टिचर हो, तर उसले अरुलाई सिकाउँछ, मलाई सिकाउँदैन, म आफ्नै तरिकाले हात मर्काएर योगा गर्छु । त्यो साधारण नै भयो, पहिला धेरै हिँडेको हो त्यो चाँहि म मान्छु, हिँड्न पनि पर्ने रहेछ भन्ने कुरा थाहा भयो, कहिँ कतै जानुपर्यो भने पनि हिँडेर जान्थेँ । अब उमेर धेरै भइसक्यो हिँड्न पनि साध्य भएन, त्यसैले लौरो लिएर थोरै हिँडेजस्तो गर्छु ।

निरोगी बन्न के-के गर्नु पर्दोरहेछ ?

मैले एक पेग रक्सी खान्छु त्यहि पनि खान्न थिएँ, निन्द्रा नपर्ला भनेर खाएको हो । त्यो खायो भने शान्त हुन्छ, औषधिको रुपमा खाने हो, त्यो भन्दा बढी खान्न । अहिले त त्यस्तो लगातार खाँदिन, एकताका चाँहि खान्थे, अहिले चाँहि यो बुढो शरीर, मरेपनि मरोस्, बाँचे पनि बाँचोस् । अब कहाँको टन्टा गरिराख्नु, अब यो घरको ठेगान पनि छैन, बसिराख्यो यहाँ, कहिले के कहिले के हुन्छ, अहिले पनि मासु कहिले काँहि दिनदिनै होइन,दाल, भात, तरकारी र रोटी खान्छु बाँचिरहेको छु । बास्तवमा भन्दा खाएर लामो आयु हुने होइन, यो सबै मिल्यो भने चाँहि लामो आयु हुन्छ । ब्यालेन्स मिलाएर गर्यो भने हुन्छ, धेरै खाएर यता उति गरेर औषधि उपचार गरेर धेरै बाँच्ने भन्ने कुरा होइन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

माहामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि विश्वभर खोप अभियान चलिरहेको छ । नेपालमा पनि कोरोनाको पहिलो र दोश्रो डोज

दोस्रो लहरको कोरोना संक्रमणका कारणले निषेधाज्ञा जारी छ । मान्छेहरु घरमै दिन बिताइ रहेका छन् । यस्तो अवस्थामा असहज महसुस,

पछिल्लो एकवर्ष बढी समयदेखि विश्वनै कोरोना कहरबाट ग्रुजिरहेको छ । जतिसुकै जटिल परिस्थिती किन नहोस् सारा विश्वलाई आतंकित पारेको यो

एकै बाबुआमाका दर्जन छोराछोरी । दोलखाकोे रोल्वालिङ जस्तो दुर्गम गाउँ । त्यहाँ माथि गरिबीले गिजोलेको परिवार । गाउँलेले भन्थे फलानाले