English

वास्तविक जीवनसँग जोडिन के गर्ने ?



कोही पनि व्यक्ति ज्ञान प्राप्त गर्नको लागि असक्षम हुँदैनन् । यदि तपाईं जान्नको लागि असक्षम हुनुभएको भए, म तपाईंमाथि आफ्नो समय बर्बाद गर्ने थिइनँ । विश्वास गर्नुहोस्, म यी कुराहरूप्रति एकदमै कठोर छु । यदि तपाईं पूर्ण रूपमा असक्षम हुनुहुन्छ भने, कुनै सम्भावना नै होइन, तसर्थ म तपाईंसँग एक क्षण पनि खेर फाल्ने छैन । के तपाईंले मलाई कहिल्यै भ्यागुतोलाई ध्यान सिकाउने कोसिस गरेको देख्नुभएको छ ? मैले जीवविज्ञान (बायोलोजी) को कक्षामा बाहेक भ्यागुतासित एक क्षण पनि व्यर्थै बिताएको छैन । किनकि म त्यसमा कुनै सम्भावना देख्दिनँ ।
त्यसैले, प्रश्न यो होइन कि तपाईंमा सामर्थ्य छ वा छैन, प्रश्न यत्ति हो कि तपाईंमा इच्छुकता छ वा छैन ? अरू कसैले तपाईंमा इच्छुकता थोपर्न सक्दैनन्, यो तपाईंबाटै आउनुपर्छ । अरूले तपाईंलाई खाना पस्किन सक्छन्, तर जबसम्म तपाईंमा खाने इच्छा हुँदैन, अरूले पस्किएर खानको लागि अनुरोध गर्न मात्र सक्छन् । त्योभन्दा बढी केही गर्न सकिँदैन ।

यो पनि ठीक त्यस्तै हो, तर झन् सूक्ष्म रूपमा हुन्छ । हामी यसलाई तपाईंसामु अर्पण गर्न मात्र सक्छौँ, तर तपाईं स्वयं इच्छुक बन्नुपर्ने हुन्छ । अरू कुनै तरिका नै छैन । तब, स्वाभाविक रूपमा यो प्रश्न उठ्छ, ″इच्छुक हुनको निम्ति मैले के गर्नुपर्छ त ?″ यसरी हेर्नुको सट्टा तपाईंले आफूलाई अनिच्छुक बनाउनको लागि के-के गरिरहनु भएको छ भन्ने कुरामा ध्यान दिनु नै उत्तम हुन्छ ।

आफ्नो शरीर, श्वास, हृदय, कलेजो वा मृगौलालाई अनिच्छुक बनाउनु भएको भए, तपाईं मर्नु हुने थियो । तपाईंको जीवनको लागि अत्यावश्यक पर्ने चीजहरूलाई प्रकृतिले आफ्नो हातमा राखेकी छिन् । प्रकृतिले तपाईंको हातमा एउटा सानो चीज थमाएकी छिन्, तर त्यसलाई समेत तपाईं अस्तव्यस्त पार्न चाहनुहुन्छ ।

इच्छुक हुनु जीवनको स्वाभाविक प्रक्रिया हो । यतिखेर, तपाईंको छेउमा बसिरहेको व्यक्ति तपाईंलाई मन नपर्न सक्छ, तैपनि उसले श्वासको रूपमा छोडेको हावा आफूभित्र लिन भने तपाईं इच्छुक हुनुहुन्छ, होइन र ? खासमा भन्ने हो भने, जब तपाईंको वरपर मन नपर्ने व्यक्ति बसिरहेको हुन्छ, त्यसबेला तपाईं झन् गहिरो श्वास फेरिरहनु भएको हुन्छ ।

जीवनको मूल प्रक्रिया नै इच्छुकता हो । यो श्वासको स्तरमा मात्रै हुने होइन । यदि तपाईंले परमाणुको स्तरमा हेर्नुभयो भने, परमाणु अनि बाँकी अस्तित्वबिच निरन्तर आदान-प्रदान भइरहेको हुन्छ । तपाईं जसलाई जीवन भन्नुहुन्छ, त्यो इच्छुक हुने प्रक्रिया हो । तपाईं इच्छुक हुने वा नहुने भनेर रोज्न सक्ने एकमात्र स्थान भनेको तपाईंको मन हो तर, तपाईं त्यसलाई जथाभावी प्रयोग गर्दै हुनुहुन्छ ।

यदि तपाईंले आफ्नो शरीर, श्वास, हृदय, कलेजो वा मृगौलालाई अनिच्छुक बनाउनु भएको भए, तपाईं मर्नु हुने थियो । तपाईंको जीवनको लागि अत्यावश्यक पर्ने चीजहरूलाई प्रकृतिले आफ्नो हातमा राखेकी छिन् । प्रकृतिले तपाईंको हातमा एउटा सानो चीज थमाएकी छिन्, तर त्यसलाई समेत तपाईं अस्तव्यस्त पार्न चाहनुहुन्छ । तपाईंसँग यो मन छ, जहाँ तपाईं केही गर्न सक्नुहुन्छ । तपाईं यसलाई जीवनको प्रक्रियाप्रति कि त इच्छुक बनाउन सक्नुहुन्छ वा अनिच्छुक । अरू सबै चीजहरूको सन्दर्भमा तपाईंसँग कुनै विकल्प हुँदैन, यसैपनि ती स्वतः इच्छुक छन् ।

म तपाईंको निम्ति समस्त अस्तित्व सम्हाल्ने छु, तर यो एउटा चीज— आफ्नो मन— लाई तपाईं आफेँले सम्हाल्नुपर्छ । तपाईंको मन अनिच्छाको स्थितिमा हुनुहुँदैन । ″हैन, हैन, म यो गर्न चाहन्छु, तर…″ । यही ′तर′ अनिच्छा हो । तपाईंले यो ′तर′ सित काम गर्नुपर्छ । यो ′तर′ लाई हटाउनको लागि तपाईंले आफ्नो जीवनलाई स्पष्ट रूपमा हेर्नुपर्छ— आखिर, तपाईं यहाँ किन हुनुहुन्छ ?

यो यस्तो प्रश्न हो, जुन थुप्रै मानिसहरू उपेक्षा गर्छन्— एक पलको लागि पनि आफूमाथि यो प्रश्न तेर्स्याउँदैनन् । यदि तपाईंले आफ्नो निम्ति केही समय निकाल्ने हो भने— यदि तपाईं परिवारका सदस्यहरूबाट टाढै रहेर, टिभी वा किताबमा नभुलिकन अथवा यहाँ सम्म कि झ्यालबाट बाहिर नहेरिकनै २४ घण्टासम्म यत्तिकै चूपचाप बस्नुभयो भने, यो प्रश्न तपाईंसामु विशाल रूपमा प्रकट हुनेछ, ″आखिर मेरो अस्तित्व के हो ?″ तपाईं यसलाई बेवास्ता गर्न सक्नुहुन्न ।

तर, तपाईं आफ्नो लागि अलिकति पनि समय निकाल्नुहुन्न । संसारलाई तपाईंको कामको आवश्यकता भएर तपाईंले आफूलाई व्यस्त राख्नुभएको होइन । तपाईं चाहे जोसुकै भएपनि, तपाईंबिना संसार चल्न सक्छ । तपाईं र मबिना यो संसार चल्न सक्छ । संसारलाई खाँचो भएकोले तपाईंले काम गरिरहनु भएको होइन; तपाईंले काम गर्नुको कारण के हो भने, तपाईंमा केही न केही गर्नैपर्ने बाध्यात्मक प्रवृत्ति छ । तपाईं यसलाई रोक्न सक्नुहुन्न । यसो कोसिस गरेर हेर्नुहोस्: तपाईंले आफ्नो शरीर र मनमा जे-जति गरिरहनु भएको छ, के तपाईं ती सबैलाई रोक्न सक्नुहुन्छ ?

तपाईं वास्तवमा जो हो, यदि त्यसलाई जान्नको लागि तपाईं साँच्चिकै इच्छुक हुनुहुन्छ भने, यदि तपाईंभित्र त्यसप्रति गहिरो इच्छा छ भने, तपाईं जोसुकै भएपनि, जहाँसुकै रहेपनि, म तपाईंसँगै हुनेछु । तपाईंले आफ्नो परम वा वास्तविक खुसियालीमा ध्यान दिनुपर्छ । यदि तपाईंले यो जीवनले वास्तवमै के चाहिरहेको हो भन्नेप्रति ध्यान दिनुभयो भने, तपाईं अवश्य जोडिनु हुनेछ ।

बाध्यात्मक रूपमा केही गर्नु भनेको छुकछुके बाँदर जस्तो व्यवहार गर्नु हो । मनुष्यको प्रकृति भनेको त सचेत भई सक्रिय हुनु हो— अर्थात्, आवश्यकता अनुरूप कार्य गर्नु । हामीले संसारमा गर्नैपर्ने थुप्रै कामहरू छन्, तर कसैलाई पनि त्यसमा चासो छैन । थुप्रै मानिसहरू केही गरेझैँ देखाउनको लागि मात्रै काम गर्न रुचि राख्छन् । यसले कुनै पनि रूपमा मानिसहरूको जीवनलाई समृद्ध बनाउँदैन ।

आफ्नै जीवनलाई हेर्नुहोस्: तपाईंले जहिलेदेखि काम गर्न शुरु गर्नुभयो, तपाईं बढी खुसी हुनुभएको छ वा झन् कम । त्यही जागिर पाउनु तपाईंको सपना थियो । दश वर्षसम्म काम गरिसक्दा, के तपाईं पहिलेभन्दा झन् बढी आनन्दित व्यक्ति हुनुभएको छ ? अधिकांश मानिसहरूको जवाफ हुन्छ, ″अहँ छैन ।″ यसलाई मनन गर्नुहोस्: ″मेरो जीवनको प्रकृति के हो ? आखिर मैले चाहिरहेको कुरा के हो ?″ यदि तपाईंले यसलाई गहिरेर हेर्नुभयो भने, तपाईं जीवनसँग जोडिनु हुनेछ, अर्को कुनै तरिका छैन । तपाईं जोडिनै पर्ने हुन्छ ।

तपाईं वास्तवमा जो हो, यदि त्यसलाई जान्नको लागि तपाईं साँच्चिकै इच्छुक हुनुहुन्छ भने, यदि तपाईंभित्र त्यसप्रति गहिरो इच्छा छ भने, तपाईं जोसुकै भएपनि, जहाँसुकै रहेपनि, म तपाईंसँगै हुनेछु । तपाईंले आफ्नो परम वा वास्तविक खुसियालीमा ध्यान दिनुपर्छ । यदि तपाईंले यो जीवनले वास्तवमै के चाहिरहेको हो भन्नेप्रति ध्यान दिनुभयो भने, तपाईं अवश्य जोडिनु हुनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested