English

तपाईं केही जान्न चाहनुहुन्छ ? एक्लै बस्नुहोस्



यति तपाईं एक्लै हुँदा पनि दिक्क मान्नुहुन्छ र दिन बित्दै जाँदा, दुःखी महसुस गर्नुहुन्छ भने, तपाईं एकदमै खराब सङ्गतमा हुनुहुन्छ । तपाईंको आधारभूत प्रश्न यही हो— “मेरो समस्या के हो ? मेरा हात-खुट्टाहरू ठीकै छन्, म देख्न सक्छु, सुन्न सक्छु, सुँघ्न सक्छु, चाख्न सक्छु, फेरि मेरो समस्या के हो ?” हो, त्यही तपाईंको समस्या हो । यो तपाईंलाई तबमात्र थाहा हुन्छ, जब तपाईं एक्लै बस्नुहुन्छ ।

जब तपाईंको सेरोफेरोमा मानिसहरू हुन्छन्, तपाईं बहानाहरू भेट्टाउनु हुन्छ । यदि तपाईं अरू कसैसँग रहनुहुन्छ भने, त्यसबेला सजिलै यो भन्न सक्नुहुन्छ, “यो मान्छे खत्तम छ, त्यसैले म चिढिएको हुँ । ऊ ठीक छैन, यो ठीक छैन, त्यो ठीक छैन ।” तर, जब तपाईं एक्लै बस्नुहुन्छ, अनि तबपनि समस्या जहीँको त्यहीँ रहन्छ भने, समस्याको जड के हो भनेर थाहा हुन्छ ।

एक्लै बस्नु र गल्फ खेल्नु उस्तै-उस्तै

यो गल्फ खेल जस्तै हो । अचेल थुप्रै मानिसहरू गल्फ खेलमा थुप्रै कुराहरू चाहिन्छ, यो अरू खेल जस्तो होइन भनेर बढाइचढाइ गर्छन्, उनीहरू यसको गुणगान गाउँछन् । थुप्रै मानिसहरू यसलाई सबैभन्दा कठिन र असम्भव खेल ठान्छन्, किनकि उनीहरू बललाई हान्न खोज्दाखेरि प्रायः भुइँमा हिर्काउँछन् । त्यसैले, उनीहरू यो खेलमा एकदमै बढी एकाग्रता र ध्यान आवश्यक छ भन्ने सोच्दछन् ।

कुनै पनि खेल हेर्नुभयो भने, ती खेलहरूमा बल तपाईंतर्फ आइरहेको हुन्छ । फरक-फरक वेगहरूमा, कोणहरूमा अनि फरक-फरक तरिकाले घुम्दै बल आइरहेको हुन्छ अनि तपाईंले एक पलमै अनुमान लगाएर त्यसलाई हिर्काउनु पर्ने हुन्छ । यता गल्फमा भने बल त्यहीँ थुचुक्क बसिरहेको हुन्छ ! तपाईंसँग समय नै समय हुन्छ । तपाईं सोच्न सक्नुहुन्छ, उभिन सक्नुहुन्छ, घरी यसरी घरी त्यसरी गर्दै भिन्न-भिन्न स्थितिमा रहन सक्नुहुन्छ, त्यो बल जहीँको त्यहीँ हुन्छ ! यति हुँदा समेत थुप्रै मानिसहरू बलको सट्टा भुईंमा हिर्काउँछन् । एक्लै बस्नु भनेको पनि ठीक त्यस्तै हो । तपाईंले न त पहाड चढ्नु पर्ने हो, न गीत गाउनु पर्ने हो, न त विशाल समस्या समाधान गर्नुपर्ने हो । तपाईंले गर्नुपर्ने भनेको यत्तिकै बस्नु हो । वास्तवमा यही ध्यान हो, केही पनि नगर्नु; यत्तिकै बसिरहनु । यो नै सबैभन्दा सजिलो कुरा हो, होइन र ? तर, तपाईं आफैँ हेर्नुहोस् यत्तिकै एक्लै बस्दा तपाईंलाई कति धेरै कठिनाइ भइरहेको छ !

सबैथोक अनावश्यक रूपमा यति धेरै जटिल देखिनुको कारण के हो भने जसलाई हामी “आफू” भन्छौँ, त्यसमा हामीले ध्यान नै दिएका छैनौँ । यसमा कुनै पनि कुरा जटिल छैन । यो वास्तवमा एउटा सुन्दर यन्त्र हो । यो शान्त हुँदा पनि राम्रो छ, खैलाबैला मच्चाउँदा पनि राम्रो छ । यदि तपाईंले यसलाई ठीकसँग राख्नुभयो भने, यसले दुवै कुरा राम्रोसँग गर्न सक्छ । यदि तपाईंले यसलाई ठीकसँग राख्नुभएन भने, शान्त हुनुपर्ने बेलामा यसले भित्र खैलाबैला मच्चाउँछ, अनि खैलाबैला मच्चाउनु पर्ने बेलामा बाहिर केही पनि निस्किँदैन ।

मूर्खताको लागि कुनै बहाना चल्दैन


तपाईं एक्लै बस्नुपर्छ— यो अपरिहार्य छ । उसलाई मात्रै दिव्यताले साथ दिनेछन्, जसले अरूको साथ खोज्दैनन् ! यदि तपाईंसँग बाँड्नको लागि केही छ भने, त्यो बेग्लै कुरा हो । तर, यदि तपाईं कसैको साथ खोज्दै हुनुहुन्छ भने, दिव्यताले पनि सोच्ने छन् कि “ठीकै छ, उसले अरू कसैको साथ खोजिरहेको छ । अब मेरो आवश्यकता नै छैन !”

मलाई यो कुरा धरै चाँडै अनुभूति भयो— जबसम्म तपाईं एक्लै बस्नुहुन्न, तपाईंले केही पनि जान्नुहुन्न । अरू मानिसहरूसँग रहँदा तपाईं थुप्रै कुराहरू लुकाउन सक्नुहुन्छ । तर, जब तपाईं एक्लै बस्नुहुन्छ, तपाईंले आफ्नो बुद्धिको परीक्षामा खरो उत्रिनुपर्ने हुन्छ, जुन सबैभन्दा भयानक हुन्छ । तपाईं त्यसबाट पन्छिन सक्नुहुन्न । सबैभन्दा उत्तम यही हुन्छ कि तपाईं आफ्नो जीवनमा जतिसक्दो चाँडो सम्भव भएसम्मको कठोर र कठिन परिस्थितिबाट गुज्रिनुहोस् । अन्यथा, तपाईंको उमेर ढल्किँदै जाँदा तपाईं झन् मूर्ख बन्दै जानुहुनेछ । जवान छँदा मूर्ख हुनु ठीकै हो, तर तपाईं मूर्ख रहरै बूढो हुनुहुँदैन । जवान मूर्खलाई सहन सकिन्छ, तर उमेर छिप्पिएका अनुभवी मूर्खहरूका निम्ति कुनै बहाना चल्ने छैन !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो